काठमाडौं । नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंकलाई कारवाही गरेको छ । राष्ट्र बैंकले नियामकीय प्रावधान उल्लंघन गरेको भन्दै एनआईसी एशिया बैंकलाई कारवाही गरेको हो । एनआईसीले राष्ट्र बैंकबाट जारी निर्देशन बारम्बार उल्लंघन गर्दै वित्तीय विवरण प्रकाशन गरेको तथा लिखित आदेश पालन नगरेको पाइएपछि तत्कालीन अध्यक्ष तुलसीराम अग्रवाल र प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ (दफा १०० (२) (ग)) अनुसार जनही दुई लाख रुपैयाँ नगद जरिवाना गरेको छ ।

यसरी नियामकीय प्रावधान नै उल्लंघन गरेको खुलासा भएपछि बैंकलाई कारवाही गर्न राष्ट्र बैंक बाध्य भएको छ । राष्ट्र बैंकले यसअघि पनि नियम उल्लंघन गरेको भन्दै विभिन्न बैंक तथा वित्तीय संस्थाहरूलाई कारवाही गरेको थियो ।
चालु आर्थिक वर्षमा एनआइसी एसिया बैंकको वित्तीय अवस्था झनै कमजोर भएको छ । नाफा घट्नु, सञ्चालन मुनाफा झर्नु र गैरबैंकिङ सम्पत्ति बढ्दै जानु बैंक भित्र दबाब र चुनौती बढाएको छ । कर्मचारी र विश्लेषकहरूले सीईओ सुजित शाक्यको नेतृत्वमा आवश्यक सुधार र असुली प्रक्रियामा प्रभावकारी कदम नउठाएपछि बैंकको दीर्घकालीन वित्तीय स्थायित्वमा प्रश्न उठेको औँल्याएका छन् ।
एनआइसी एसिया बैंक हाल कठिन वित्तीय परिस्थितिको सामना गर्दैछ । बैंकको गैरबैंकिङ सम्पत्ति लगातार बढिरहेको छ, जसले बैंक भित्र आन्तरिक दबाब र जोखिम बढाएको विश्लेषकहरू बताउँछन् । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकले १३ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ, अघिल्लो वर्षको १५ करोड १७ लाखको तुलनामा १३.५४ प्रतिशतले घटेको छ । सञ्चालन मुनाफा ४२.१६ प्रतिशतले घटेर १९ करोड ७७ रुपैयाँमा सीमित भएको छ ।
पछिल्ला वर्षहरूमा बैंकले आक्रामक कर्जा विस्तार नीति अपनाएको थियो । तत्कालीन व्यवस्थापनको गलत नीतिका कारण बैंकको गैरबैंकिङ सम्पत्ति व्यवस्थित रूपमा घटाउन सकेको छैन । बैंकका नयाँ सीईओ सुजित शाक्यले यसलाई प्राथमिकतामा राखेको भनेपनि व्यवहारमा सुधार अपेक्षाअनुसार देखिएको छैन । कर्मचारीहरूको अनुभव अनुसार, गैरबैंकिङ सम्पत्ति व्यवस्थापन, असुली प्रक्रिया र धितो मूल्यांकनमा बैंक अझै प्रभावकारी कदम चाल्न नसकेको छ ।
कर्जा तिर्न असफल ऋणीको घर, जग्गा र भवन लिलामी मार्फत बिक्री गर्ने प्रयास पटक–पटक असफल भएको छ । बजार सुस्त हुनु, खरिदकर्ताको अभाव, र समग्र अर्थतन्त्रको गति कमजोर हुनु बैंकका चुनौती बनेको छ । यसले बैंकलाई नगद प्रवाहमा आवश्यक सुधार ल्याउन कठिन बनाएको छ । वित्तीय विश्लेषकहरूको मत छ कि बैंकले असुली प्रक्रियालाई तीव्र बनाउनुको साटो, साना कर्जा विस्तारमा बढी ध्यान दिइरहेको छ, जसले दीर्घकालीन समाधानमा प्रभाव कम पार्नेछ ।
सीईओ शाक्यको नेतृत्वमा बैंकले गैरबैंकिङ सम्पत्ति व्यवस्थापन, असुली प्रक्रिया र धितो मूल्यांकनमा अपेक्षित प्रभावकारी कदम चाल्न सकेको छैन । बैंकभित्र निर्णय प्रक्रिया अझै अध्यक्ष र सञ्चालक समितिको प्रभावमा बढी निर्भर छ, जसले संस्थागत स्वतन्त्रता र रणनीतिक निर्णय क्षमता कमजोर बनाएको छ । यसले कर्मचारी र बजारको विश्वासमा नकारात्मक असर पु¥याएको बताइएको छ ।
बैंकका कर्मचारीहरू भन्छन् कि लिलामी मार्फत सम्पत्ति बेच्ने प्रयासले ग्राहकसँग सम्बन्ध बिगारेको छ । उच्च ब्याज दर, असुलीमा मात्रै ध्यान दिने प्रवृत्ति, र नगद प्रवाह कमजोर हुनु बैंकविरोधी भावना बढाउने मुख्य कारण बनेको छ । यसले बैंकको दीर्घकालीन वित्तीय विश्वसनीयता र बजार प्रतिष्ठामा नकारात्मक प्रभाव पारेको छ ।











