Logo
Logo

सुध्रिएला नेपाल–भारत सम्बन्ध ?


- श्याम रिमाल


– श्याम रिमाल

भेटका क्रममा उहाँ(सामन्तकुमार गोयल)ले नेपाल–भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा आफ्नो धारणा राख्नुभयो ।

  • सूर्य थापा, प्रधानमन्त्रीका प्रेस सल्लाहकार, ६ कात्तिक २०७७

… प्रकृति र संस्कृतिले नजिक राखेका दुई राष्ट्रहरू नेपाल र भारतबीचको सम्बन्धलाई मित्रवत् र बलियो राख्न दुवै देशले निरन्तर मेहनत गर्नुपर्ने सम्माननीय राष्ट्रपतिले सो अवसरमा बताउनुभयो ।

  • टीका ढकाल, राष्ट्रपतिका सूचना तथा सञ्चारविज्ञ, २० कात्तिक, २०७७

… भेटवार्ताका क्रममा प्रधानमन्त्रीले नेपाल र भारतबीच असल मित्रता रहेको र कतिपय विषयमा दुई देशबीच रहेका समस्या संवादमार्फत समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

  • डा राजन भट्टराई, प्रधानमन्त्रीका परराष्ट्रमामिला सल्लाहकार, २१ कात्तिक,२०७७

सामजिक सञ्जाल फेसबुक र ट्वीटरमा यति कुरा नेपालका सम्बन्धित पदाधिकारीले राखेपछि नेपाल र भारतका सम्बन्धमा अहिले देखापरेको सीमा विवादका कुरा पक्कै उठेको हुनुपर्छ । नेपालले भारतीय प्रतिनिधि र पदाधिकारीलाई विवादित सीमाका विषयमा वार्ता गर्न भारतीय सरकारलाई आह्वान गरेको सन्देश दिएकै हुनुपर्छ । भारतको हिन्दूस्तानटाइम्स डटकमले यदि बैठक राम्रो हुँदै गयो भने, नरवणेको भ्रमणपछि भारतीय विदेश सचिव हर्ष श्रीङ्गलाको नेपाल भ्रमण यसै महिना हुने र भारतले संयुक्त प्राविधिकस्तर सीमा समितिको बैठकमा सहभागिता जनाउने बताएको छ ।

भारतीय सेनापति नरवणेले नेपाल आउन लागेकामा प्रसन्नता व्यक्त गर्दै “दुई सेनाले परिपोषित गरेको सम्बन्ध र मैत्रीलाई अझ सुदृढ गर्न यो भ्रमण अझ सहायक हुनेमा म विश्वस्त छु”, एशियन न्युज इन्टरनेशनल (एएनआई)सँग नेपाल आउनु एक दिनपूर्व भनेका थिए । सुनिएअनुसार उनी राजनीतिक विषयवस्तुका कुरामा भने निकै सतर्क थिए । उनले भने जस्तै उनी र गोयलको भ्रमणले विश्वशक्ति हुने दाउमा रहेको, ठूलो प्रजातन्त्र र एक अर्ब ३८ करोड जनसङ्ख्याको भारतलाई नेपाल जस्तो करीब तीन करोड जनसङ्ख्याको मुलुकसँग सम्बन्ध सुधार्न उसको भूमि फिर्ता गरेर अझ बढी अन्तरराष्ट्रिय इज्जत पाउन भारतीय नेतृत्वलाई ठूलो सन्देश दिएकै हुनुपर्छ ।

त्यसो त भारतले गत वर्ष जम्मु र कश्मिर तथा लद्दाखलाई समेटेर नोभेम्बर २(कात्तिक १६)मा नयाँ नक्शा जारी गर्दा नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत आफ्नो भूमिमा पारेको र पछि मे८(वैशाख २५)मा उत्तराखण्डको पिथौरागढदेखि लिपुलेक भएर मानसरोवर जाने बाटो उद्घाटन गरेपछि सीमा विवाद चुलिएको थियो । दुई देशबीचको सम्बन्ध तिक्ततामा परिणत हुँदै जाँदा अगष्ट १५(साउन३१)मा ७४ औँ भारतीय स्वतन्त्रता दिवसमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना दिँदै सम्बन्ध सुधारका लागि ‘आइसब्रेक’ भइसकेको थियो । त्यसको दुई दिनपछि नेपालमा भारतबाट सञ्चालित योजनाहरुको प्रगति विवरण प्रस्तुतिमा परराष्ट्र सचिव शङ्करदास वैरागी र भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटघाट भयो । नेपाललाई कोरोना महामारी नियन्त्रणमा भारतीय सहयोग पनि जारी रहेको थियो । तथापि, नेपालले सीमा विवाद सल्टाउन राखेको औपचारिक वार्ताका लागि भारतले गरिरहेको आलटालबीच भारतीय प्रधानमन्त्री मोदीको मातहत रहेको बाह्य मामिलासम्बन्धी खुफिया एजेन्सी रिसर्च एण्ड एनालायसिस विङका प्रमुख सामन्तकुमार गोयल र नेपालको मानार्थ प्रधानसेनापति दर्जा ग्रहण गर्न स्थलसेनाध्यक्ष मनोजमुकुन्द नरवणेले नेपाल भ्रमण गरेका छन् । यो भ्रमणले सीमा विवाद समाधानका लागि औपचारिक वार्ता हुने केही आशा जगाएको छ । भारतीय मिडियाले पनि भारत नेपाल सीमा विवादका बीच भएको नरवणेको भ्रमणले दुई सेना र सरकारीस्तरमा सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने जनाएका छन् ।

हालैका वर्ष कोभिड महामारीकै बीच भारतले चीनसँग सीमामा भइरहेको भीडन्तका माझ धेरैपटक वार्ता गरिसकेको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंह र विदेशमन्त्री सुब्रहण्यम जयशङ्कर रुस पनि पुगिसकेका छन् भने टु प्लस टु डायलगमा सहभागी भई सैन्य सहमति गर्न अमेरिकाका रक्षा र विदेशमन्त्री र त्यसअघि फ्रान्सेली विदेश तथा अन्तरराष्ट्रिय सहयोगमन्त्री भारत आइसकेका छन् । अझ सन् २०२० कै शुरुतिर फेबु्रअरी २४ –२५ (फागुन १२ –१३) मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो चुनावी वर्षमै भारत आए । यसरी भारत विश्वमञ्चमा छाइरहँदा नेपाल जस्तो छिमेकी मुलुकसँग वार्ताको प्रसङ्ग चल्यो कि कोभिडको महामारीपछि भनी पन्छिने गर्दा नेपाललाई चिसो पस्नु स्वाभाविक हो ।

आफ्नो भूमि अरुले गाभ्दा पनि नेपाल टुलुटुलु हेरेर बस्ने स्थिति थिएन । नागरिक समाजको दवावले नयाँ नक्शा बनाउन सरकार तयार भयो । संसद्बाट पारित गराई अहिले आफ्नो हो भन्ने साहस राखिसकेको छ । नक्शालाई भौगोलिक रुपमा नै मूर्त रुप दिन अर्थात्, नेपालको स्वामित्वमा पार्न सानोतिनो राजनीतिक, कूटनीतिक र सैनिक चातुर्यले पुग्दैन । आफूले वर्षाैँदेखि छिमेकीको भूमि मिची आफ्नै भूमि हो भने जस्तो पारेर बसेको भारत नेपालसँगको एकदुई पटकको बसाइ र सानातिना वार्ताले गलिहाल्ने होइन । कालीपूर्व नक्कली काली मन्दिर बनाएर नक्कली काली नदीलाई सीमा हो भनेर भारतीय पक्षले झुक्याइरहेको थियो ।

नेपाल भारतसँग कति लचिलो छ भन्ने कुरा त भारतले उद्घाटन गरेको लिपुलेक बाटोको नेपालले विरोध गर्नाको कारण अरु कसैको इशारामा(मे १६ । जेठ३) भन्ने भारतीय स्थल सेनाध्यक्ष नरवणेलाई नै नेपाली सेनाको मानार्थ महारथी उपाधि दिन निम्त्यायो । विसं २००२ तिर जुद्धशम्शेरकै पालादेखि नै एक अर्को देशको प्रधान सेनापतिलाई मानार्थ उपाधि दिने चलन चले पनि उनको भनाइ नेपाली जनताले बिर्सेका छैनन्, थिएनन् । भलै आफ्नो भनाइलाई उनले केही समयपछि सच्याई नेपालसँग भारतको सम्बन्ध निकै बलियो रहेको र पछि पनि बलियो रहने (देहरादून, १३ जुन । जेठ३१) जनाएका थिए ।

अमेरिकालगायत अन्य विकसित देशमा पनि सैन्य र सुरक्षा अधिकारी देशको प्रतिनिधि भएर सम्बन्ध सुधार्न हिँडेका छन् । हालै बडादशैँकै समय(कात्तिक ५)मा भारतको बाह्य क्षेत्र हेर्ने संस्था रिसर्च एण्ड एनालायसिस(र)का प्रमुख सामन्तकुमार गोयलको नेपाल भ्रमण त्यही नेपाली फराकिलो हृदयको प्रतिविम्ब हो । अहिले नेपाल भारत सम्बन्ध त्यही लिपुलेक, कालापानी र लिम्पियाधुरामा गएर अड्किएको छ । जुन नेपालमा विधिवत् फिर्ता गराउने अभियानमा नेपाल लागेको छ । यतिबेला सांस्कृतिक वा आर्थिक वा व्यापारिक सम्बन्ध जति बलियो भए पनि भूमिकै विषयमा नेपालले एकसूत्रीय अभियान चलाउनुपर्छ । त्यसैले कोरोना भाइरसको महामारी खेपेको भारतले राजनीतिक, कूटनीतिक, सैनिक वा गुप्तचर जुनसुकै प्रतिनिधि नेपाल पठाए पनि स्वीकार्नुपर्ने बाध्यता नेपाललाई छ । गोयलको हैसियत, उनी यहाँ आएको समय, आगमनको अपारदर्शिता जेजस्तो भए पनि प्रधानमन्त्रीले पक्कै पनि नेपाली भूमि फिर्ता सम्बन्धमा आफ्नो अडान कडासँग नै राखेका छन् ।

दुई वर्षअघि नै तयार भएको नेपाल भारत सम्बन्धका विविध पक्ष र आयाम समेटिएको भनिएको इपिजी प्रतिवेदन लिन अझै तयार नहुने उसको नियतसँग नेपाल राम्रैसँग परिचित छ । नेपालको वर्षेनी करीब रु सात खर्ब व्यापार घाटा भारतसँग मात्र छ । यस्तो अवस्थामा नजीकको छिमेकीले अर्को छिमेकीको व्यापार घाटा घटाउन सहयोग गर्नुपर्नेमा नेपाली निर्यातका वस्तु चिया, अलैँची, अदुवा आदि निर्यात आयातमा भारतले अनेक अल्झन नेपाललाई दिएको छ । नेपालमा सञ्चालन गरेका थुप्रै परियोजनामा अलि तीव्रता दिएको हालैका वर्षमा मात्र हो । आफ्नो भूमि आफ्नो नक्शामा पारिसकेको नेपालले अब पछाडि फर्कने कुरै आउँदैन । यसका लागि अङ्ग्रेजलाई लखेट्ने गान्धी जस्तै सहनशील भई कदम चाल्ने हो कि, चौतर्फी दवाव दिएर वार्तामा बसाउन बाध्य हुने हो, त्यो चाल र कूटनीतिक चातुर्य नेपालले देखाउन सक्नुपर्छ । यसलाई मौसमी आवाज नबनाई हरेकखाले मञ्चमा नेपालले उठाएको उठाय्यै गर्नुपर्छ । कालापानी, सुस्ता मात्रै होइन अब त रामजन्मभूमि विषय पनि नेपालमा भएको विषयमा प्रधानमन्त्री ओलीले दाबी गरिसकेका छन् । त्यसको पनि छिनोफानो गर्नुपर्ने देखिन्छ ।

भारतीय सेनापति नरवणेले नेपाल आउन लागेकामा प्रसन्नता व्यक्त गर्दै “दुई सेनाले परिपोषित गरेको सम्बन्ध र मैत्रीलाई अझ सुदृढ गर्न यो भ्रमण अझ सहायक हुनेमा म विश्वस्त छु”, एशियन न्युज इन्टरनेशनल (एएनआई)सँग नेपाल आउनु एक दिनपूर्व भनेका थिए । सुनिएअनुसार उनी राजनीतिक विषयवस्तुका कुरामा भने निकै सतर्क थिए । उनले भने जस्तै उनी र गोयलको भ्रमणले विश्वशक्ति हुने दाउमा रहेको, ठूलो प्रजातन्त्र र एक अर्ब ३८ करोड जनसङ्ख्याको भारतलाई नेपाल जस्तो करीब तीन करोड जनसङ्ख्याको मुलुकसँग सम्बन्ध सुधार्न उसको भूमि फिर्ता गरेर अझ बढी अन्तरराष्ट्रिय इज्जत पाउन भारतीय नेतृत्वलाई ठूलो सन्देश दिएकै हुनुपर्छ ।

[email protected]

 

प्रतिक्रिया दिनुहोस्