
वर्ष २०८२ नेपाली राजनीतिमा उथलपुथल, पुस्तान्तरण र असन्तुष्टिको विस्फोटको वर्ष बन्यो । माइतीघरबाट सुरु भएको जेनजी आन्दोलनले करिब दुई तिहाइको कांग्रेस–एमाले सत्ता ढालिदियो । गत भदौ २४ को राज्यविहीन अवस्थाबाट निर्वाचन हुँदै देश लिकमा फर्किएको छ । पुराना दल कांग्रेस, एमाले संसदीय राजनीतिको किनारामा पुगेका छन् भने, नयाँ दल रास्वपाले करिब दुई तिहाइ मतसहित शासनको बागडोर सम्हालेको छ । यस्तो सन्दर्भमा आजबाट नेपाली नयाँ वर्ष ०८३ सुरु भएको छ । नयाँ वर्षलाई आशा र अपेक्षाको वर्षको रूपमा हेरिएको छ ।
पटक पटक राजनीतिक परिवर्तन भोगेका जनताले अब आर्थिक–सामाजिक रूपान्तरण खोजेका छन् । निर्वाचन जित्नु आफैँमा उपलब्धि होइन, त्यो त केवल सम्भावनाको ढोका मात्र हो । त्यसैले सुशासन, स्थिरता र समृद्धितर्फ अघि बढ्न सकियो भने मात्र त्यसले सकारात्मक परिणाम दिन्छ । त्यसका लागि सरकारले थालेका प्रत्येक कामलाई तार्किक निष्कर्षमा पु¥याउनुको विकल्प छैन ।
नेपाली राजनीतिमा अस्थिरताको कथा धेरै पटक दोहोरिएको छ । आन्तरिक द्वन्द्व, स्वार्थ र अविश्वासका कारण एकल बहुमतका सरकार पनि पाँच वर्ष टिक्न नसकेका उदाहारण छन् । त्यसबाट पाठ सिकेर सरकार अघि बढ्दा ०८३ ले स्थिरताको आधार निर्माण गर्न सक्छ । स्थिरता भनेको केवल सत्ता जोगाउनु मात्र होइन, नीतिगत निरन्तरता, दीर्घकालीन योजना र संस्थागत विश्वास कायम गर्नु हो ।
जनविश्वास कायम राख्दै अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनासहित सुशासनको प्रत्याभूतिले मात्र जनतामा आशा जगाउन सकिन्छ । जेनजी आन्दोलनको मूल मर्म भनेकै भ्रष्टाचार अन्त्य, सुशासन कायम, उत्तरदायित्व शासन हो । जेनजी आन्दोलनको बलमा बनेको यो सरकारले यी कुरा भुल्न मिल्दैन । जनताले परिणाम खोजेका छन् । सार्वजनिक सेवा प्रवाहमा सुधार, भ्रष्टाचार प्रकरणमा निष्पक्ष अनुसन्धान, नीति निर्माणमा पारदर्शिता, राज्यको स्रोतको न्यायोचित उपयोगले मात्र सुधार गर्न सक्छ ।
युवामय संसद् र मन्त्रिपरिषद्ले सर्वसाधारणमा ऊर्जा र आशा जगाएको छ । तर, ऊर्जा मात्र पर्याप्त हुँदैन, त्यसलाई अनुभव र विवेकसँग पनि संयोजन गर्नुपर्छ । ०८३ ले पुस्तान्तरण केवल उमेरको परिवर्तन मात्र होइन, कार्यशैली र संस्कृतिको परिवर्तन पनि हो भन्ने कुरा प्रमाणित गर्नुपर्छ । परिपक्व निर्णय क्षमता प्रदर्शन गर्न सके त्यसले दीर्घकालीन उपलब्धि हासिल हुने छ ।
०८३ आर्थिक पुनरुत्थानको वर्ष पनि बन्नुपर्छ । राजनीतिक परिवर्तनले जनतालाई भावनात्मक सन्तुष्टि दिए पनि रोजगारी, उत्पादन, लगानी र बजारको सुधारले मात्र जीवनस्तर उकास्छ । युवालाई स्वदेशमै अवसर सिर्जना, उद्यमशीलताको प्रवद्र्धन, कृषि र उत्पादनमुखी क्षेत्रको आधुनिकीकरण, वैदेशिक रोजगारीमा निर्भरता घटाउने रणनीति आवश्यक छ । राजनीतिक स्थिरता आर्थिक विश्वासको पूर्वशर्त हो ।
आर्थिक सूचकहरू सकारात्मक दिशामा अघि बढे भने मात्र राजनीतिक परिवर्तन सार्थक ठहरिन्छ । सरकारले सार्वजनिक गरेको सय दिने कार्यसूची इमानदारिताका साथ कार्यान्वयन गरेर सुधारको थालनी गर्नुपर्छ । नेपालमा विगतदेखिकै समस्या कार्यान्वयनमा हो । कार्यान्वयन फितलो भयो भने जस्तासुकै नीति ल्याए पनि केही हुँदैन । त्यसैले कानुन निर्माणदेखि प्रशासनिक सुधारका निर्णय तथा कार्यान्वयनमा सरकारले देखाउने तत्परताले नै आगामी बाटो तय गर्नेछ ।
०८३ आशाको वर्ष हो । तर त्यसका लागि सरकार सुझबुझपूर्ण रूपमा चल्नुपर्छ । उत्तरदायित्व र परिपक्वताले मात्र परिणाम दिन्छ । बालेन सरकारले जनादेशको अर्थ बुझ्दै जिम्मेवारीका साथ आफ्नो कर्तव्य निभाउनुपर्छ । सत्तालाई अवसर होइन, जिम्मेवारी हो । तब मात्र ०८३ सुशासन, स्थिरता र समृद्धिको आधार वर्ष बन्न सक्छ । ०८२ मा शासन बदलियो अब जनताको अवस्था बदलियोस् ।











