Logo
Logo

बदलिँदो विश्व राजनीति


डा. दीपेश केसी

378
Shares

अमेरिका र चीनबीच विश्वभर टकराब बढ्दो छ । अमेरिकाले सूचना प्रविधि र सैन्य बलबाट आफ्नो प्रभाव बचाइराख्न प्रयास गरिरहँदा चीन आक्रामक अर्थ रणनीतिसहित प्रविधि र पूर्वाधार विकास परियोजनामार्फत् विश्वभर शक्ति विस्तार गरिरहेछ ।

विश्वको सर्वाधिक धनी अमेरिका र दोस्रो धनी चीनबीच जतिसुकै टकराब भएपनि आर्थिक मुद्दामा दुवै सहमतिको बिन्दुमा आइहाल्छन् । विश्वमा सैन्य शक्तिको वृद्धिको आधार नै पूँजी र व्यापार नै भएको छ । यसकारण आर्थिक स्वार्थलाई केन्द्रमा राखेर शक्तिशाली देशहरूले आफ्ना कदमहरू विश्वभर चाल्ने गरेको छर्लङ्ग छ । आर्थिक तथा सैन्य स्वार्थमा अमेरिका र चीनले चाल्ने कदम होस्, आपसी सहमति या टकराबले विश्व राजनीति प्रभावित हुँदै आएको छ ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प युद्ध र शान्ति दुवैमा व्यापार गर्छन् भने विभिन्न देशमा अमेरिकाले ट्रम्पको कार्यकालमा गरेका आक्रमण र अभिव्यक्तिबाट छर्लङ्ग हुन्छ । ट्रम्पले इरान युद्धको बचाऊ गर्दै अमेरिकाको तेल र हतियार उत्पादक कम्पनीको व्यापार बढेर ठूलो कर प्राप्त हुँदा आर्थिक लाभ भएको बताएका थिए । यसैपनि कच्चा तेलको मूल्यवृद्धि र हतियार किनबेचले अमेरिकालाई आर्थिक लाभ भएको छ । भेनेजुएलाका तत्कालीन राष्ट्रपति निकोलस मदुरोलाई निवासबाट उठाएर सत्ता परिवर्तनपछि ट्रम्पले त्यहाँको तेलमा नियन्त्रण बनाए । यसबाट आर्थिक लाभ भएको खुलेरै बोले ।

अमेरिका र चीन दुई प्रतिद्वन्द्वी देशका नेताहरूको निकटता जति चासोको विषय छ उति नै संवेदनशील पनि । उनीहरूले आ आफ्नो देशको स्वार्थका लागि संवाद गरे बेइजिङमा । ट्रम्प र सीबीचको भेटवार्ताले विश्व राजनीति र अर्थतन्त्रको तत्कालको भविष्य निर्धारण गरेको छ । सामरिक स्वार्थका विषयमा छलफल निकै महत्त्वपूर्ण रह्यो ।

विशेषगरी इरान र ताइवानको विषयमा केन्द्रित गरेर दुई पक्षले वार्ता गरेका छन् । ताइवानको स्वतन्त्रता विरोधी ट्रम्पको अभिव्यक्ति, इरानलाई आणविक हतियार प्राप्त गर्न नदिने र स्ट्रेट हफ हर्मुज खुल्ला गर्नेबारे भएको सहमति ह्वाइट हाउसको विज्ञप्तिमा उल्लेख भएको घटनाले एशियाको मात्र नभई विश्व राजनीतिलाई नै तरंगित गरेको छ ।

इरान र ताइवानको मामलामा लेनदेनको सङ्केतहरू बुझ्न सकिन्छ । इरानलाई आणविक कार्यक्रम रोक्न लगाउने, चीनले हतियार नदिने देखि ताइवानलाई अमेरिकी हतियार किन्नबाट रोक्नेबारे पनि संवाद भएको छ । यी विषय विश्वको भूराजनीतिमा प्रभाव पार्ने खालको मात्र नभई युद्ध, तेल र आइटीसम्बन्धी व्यापारलाई असर गर्ने पनि हुन् ।

ट्रम्पले ताइवानको स्वतन्त्रताबारे जुन अभिव्यक्ति दिए त्यसबाट इरानको मामलामा पनि चीन केही ‘ब्याक’ भएको संकेत मिलेको छ । इरान मामलामा चीन अमेरिकी आक्रमणको विरोधी हो । उसले इरानलाई सहायता दिँदै आएको छ । ताइवान मामलामा चीन अमेरिकाको कडा आलोचक मात्र होइन कुनैपनि बेला आक्रमण गर्ने लक्ष्य बनाइआएको छ । जबकि, अमेरिका चीनलाई ताइवानमाथि हमला नगर्न चेतावनी मात्र दिदैन हतियार पनि बेच्छ । यसकारण अमेरिका र चीन ताइवान र इरान मामलालाई लेनदेनको विषय पनि बनाइआएका छन् ।

युद्ध र शान्ति

अमेरिकाका लागि चीन आवश्यकतासँगै चुनौती पनि हो । अमेरिकालाई आर्थिक र सैन्य शक्तिमा उछिन्ने महत्वाकांक्षा बोकेको छ चीनले । यसकारण चीन विश्व राजनीतिमा अमेरिकाको मुख्य प्रतिस्पर्धी बनिसकेका छन् । चीनको उदयलाई शताब्दीकै मुख्य भूराजनीतिक चुनौतीका रूपमा परिवर्तन गर्न खोजेको भन्दै सीआइए निर्देशक बिल बर्नस र एम आई सिक्सका प्रमुख रिचर्ड मुरेले संयुक्त रूपमा लेखेको लेख फाइनान्सियल टाइम्समा सन् २०२४ मा प्रकाशित भएको थियो ।

एकातर्फ अमेरिकाले चीनलाई मुख्य चुनौती मान्छ, अर्कोतर्फ उनीहरूबिच आर्थिक पहुँच र प्रभाव बढाउने प्रतिस्पर्धा पनि चलिरहेको छ । तर, आर्थिक स्वार्थकै लागि यी दुई मित्र शक्ति पनि बनिहाल्छन् । दुवै देशका नेताहरूबिच आर्थिक र रणनीतिक स्वार्थमा कुराकानी चलिरहन्छ ।

चीनको तीव्र आर्थिक विकाससँगै भारतको बढ्दो प्रभाव अमेरिकाका लागि चुनौती बन्दै गएको छ । उसले यो परिस्थितिको सामना गर्न पनि चीन र भारतलाई धेरै नजिक हुनुलाई सहज मान्दैन । विश्वको एक तिहाइ जनसङ्ख्या भएका भारत र चीनको बजार गुम्नु भनेको अमेरिका ठूलो संकटमा पर्नु हो । यसै पनि पश्चिमाहरूको अवन्नतिसँर्ग पूर्वको उन्नतिलाई चिनियाँहरूले प्राथमिकताका साथ उठान गरिरहे । शक्ति सन्तुलन बदलिएर विश्व शक्तिको स्थानान्तरणको विषय उठिरह्यो । जोखिम बढ्दै गएपछि ट्रम्पले दोस्रो कार्यकालमा सैन्य बल लगाएर आक्रामक बनाउँदै लगे अमेरिकालाई । अमेरिका विश्वभर कमजोर देखिँदै जाँदा उनले भेनेजुएलामा मदुरोको शासन अन्त गरिदिए ।

इरानमाथि बमबारी गरेर मध्यपूर्वलाई संकटमा पारे । उनले टारिफ लगाएर संसारभर शक्ति प्रदर्शन गरे । चीनको विश्वव्यापी प्रभाव बढाउने रणनीतिलाई रोक्न आर्थिक र सैन्य बलसहितको रणनीति चाले । यो निकै जोखिमयुक्त कदम थियो ट्रम्पको । इरान युद्धमा अमेरिका अघि बढ्न पनि नसक्ने पछि हट्न पनि नसक्ने भएको छ । बाघमाथि सवार भएको छ अमेरिका । यसकारण पनि अमेरिकाले अघोषित रूपमा चीनको साथ खोजेको छ इरान युद्ध अन्त गर्न । हेरौँ ट्रम्पको चीन भ्रमणपछि इरान, अमेरिकी सम्बन्ध के हुन्छ ।

हरेक देशका नेताले मुनाफा र नोक्शान हेरेर कूटनीतिक र रणनीतिक कदम चाल्ने विश्व राजनीतिमा ट्रम्पको चीन यात्राले प्रभाव देखाइसकेको छ । अब रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र त्यसपछि पाकिस्तानी राष्ट्रपति सहवाज सरिफको चीन भ्रमणमा हुने व्यापार र सुरक्षा मामलामा के कस्तो सहमति बन्छ त्यसले विश्व राजनीतिमा अर्को छाल ल्याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्