Logo

प्रलेसमा सिर्जनात्मक क्षयीकरण ?


Published On : 5 February, 2019

माक्र्सवादी सौन्दर्य शास्त्रीय समग्र र गहन अध्ययन , चिन्तन र चरित्र बिनाको नेतृत्व पिँध बिनाको लोटा सरह हुन्छ र यस्तो नेतृत्वले गुण र गुणीलाई कदापि ग्रहण गर्दैन बरु कथित गुटलाई राम्ररी काखी च्याप्छ । त्यो गर्दा मात्र उसको ठालूपन सुरक्षित रहन्छ । प्रलेसमा अहिले पनि सबै खालका अतिवादी दायाँ वायाँ भड्काउको नेतृत्व देखिन्छ ।

श्याम प्रसाद शर्माको अध्यक्षतामा २००९ सालमा गठित प्रगतिशील लेखक सङ्घ, सतसट्ठी वर्षमा प्रवेश गरेको देखिन्छ । अहिले संघको ११ औँ राष्ट्रिय सम्मेलन आगामी चैत्र २२ र २३ गते काठमाडौँमा हुन गइरहेको छ तर पनि प्रलेस अहिलेसम्म थातबास विहीन हुनु दुर्भाग्य देखिन्छ ।
विगतका तमाम सकारलाई संरक्षण र सम्बर्धन गर्दै संघलाई गाउँ र नगर सम्म पनि विस्तारित गर्दै समयानुकूल बनाउनु जरुरी देखिन्छ । तर प्रगतिशील लेखक संघको केन्द्रमा नै यससम्बन्धी चिन्तन र सिर्जनात्मक क्षमतामा क्षयीकरणको गम्भीर आशंका भएको छ । वर्ग पक्षधरताका मुखौटाहरु व्यवहारमा वर्गच्यूत र वर्ग स्खलित देखिन्छन् ।
०७५ साल आषाढ २९ गते देखि ३१ गतेसम्म भएको त्रिदिवसीय भानु जयन्तीका अवसरमा प्रलेसका केन्द्रीय पूर्व अध्यक्ष र वर्तमान अध्यक्ष सहितले गोष्ठीमा व्यक्त विचार र सिर्जनाबाट यस्तो अनुभूति हुनगएको हो ।
प्रलेस केन्द्रद्वारा आयोजित सबाल्टन विषयक विमर्श कार्यक्रममा एक प्रलेसका पूर्व अध्यक्ष तथा प्राज्ञले बोल्ने क्रममा निषेधको निषेध नियम मकैको गेडोमा मात्र लागू हुने विषय बताउँदा यो लेखक अचम्मित भयो । हुन त उनले मोदनाथ प्रश्रितद्वारा लिखित योग प्राणायाम विषयक कृतिको टिप्पणीमा आध्यात्मिक रचना भनेका थिए ।
यस लेखकले निषेधको निषेध नियम अनुसार संविधानमा उल्लेख सांस्कृतिक रुपान्तरण स्रष्टा आफैँबाट सुरु गर्नुपर्छ भन्दा प्रतिवाद स्वरुप ती प्राज्ञले उक्त विचार व्यक्त गरेका थिए ।
सकार र नकार प्रकृति, पदार्थ, विचार र संस्कृतिमा पनि हुन्छ । प्रगतिशील प्रगतिवादी सर्जकले तिनमा निहित सकार स्वीकार, संरक्षण तथा सम्बर्धन गर्नु पर्छ र नकारलाई निषेध गर्नु पर्छ । अझ कला, साहित्य र संस्कृतिका क्षेत्रमा यस्तो निषेध जननेता मदन भण्डारीका अनुसार कलात्मक हस्तक्षेपका साथ सम्पन्न गर्नुपर्छ ।
अझ त्यस दिन चन्द्रागिरिमा समेत सम्पन्न भएको भानु जयन्ती विषयमा नकारात्मक टिप्पणीमय माहौल बनाउन यही लेखकको उपस्थितिका कारण सम्भव हुन नसकेको संकेत पाइयो ।
हुन पनि चीनको एकीकरण गर्ने चिनियाँ सम्राट शी ह्व ह्वाङलाई माओले सलाम गर्थे भन्ने जस्ता द्वन्द्ववादी महान् शिक्षा सूचनाका अभावमा भानुलाई सरापको समुद्र मात्र बर्साउने अद्वन्द्ववादी लेखकको कमी हुने कुरो पनि भएन ।
प्रलेसमा अहिले मात्र होइन पछि सम्म पनि सन्तुलित सही माक्र्सवादी सोचका सर्जकको नेतृत्व होला भन्ने आशा देखिन्न । माक्र्सवादी सौन्दर्य शास्त्रीय समग्र र गहन अध्ययन , चिन्तन र चरित्र बिनाको नेतृत्व पिँध बिनाको लोटा सरह हुन्छ र यस्तो नेतृत्वले गुण र गुणीलाई कदापि ग्रहण गर्दैन बरु कथित गुटलाई राम्ररी काखी च्याप्छ । त्यो गर्दा मात्र उसको ठालूपन सुरक्षित रहन्छ ।
प्रलेसमा अहिले पनि सबै खालका अतिवादी दायाँ वायाँ भड्काउको नेतृत्व देखिन्छ । वरिष्ठ लेखक आर.सी. न्यौपानेले काठमाडौँका केही लेखक भनाउँदाहरुको वैचारिक, सैद्धान्तिक लगायत बहुआयामिक गम्भीर विचलन र अपचलनका बारेमा यस लेखकलाई विस्तृत रुपमा बताएका छन् । प्रलेस, केन्द्रीय कार्यालय काठमाडौँमा सम्पन्न सबाल्टन गोठीमा ओली सरकारको नकारात्मक चर्चा चुलिएको थियो ।
संघीय लोकतान्त्रिक तथा गणतान्त्रिक मुलुकको नीति, थिति, विधि, पद्धति र प्रणाली स्थापित गर्ने कुरा त कामै होइन भनेझैँ उपल्ला तहका सर्जकले आलोचनात्मक कटाक्ष गरेको देखेर तिनको दृष्टिकोण प्रति दया लागेको थियो ।
दुई तिहाइको कम्युनिष्टको सरकार भए पनि संविधान, नियम र कानून अनुसार नीति, विधि, पद्धति र प्रणाली अनुसार काम गर्नु पर्छ र अहिलेको प्रतिगामी कर्मचारी संयन्त्रबाट कति र कसरी काम गरिँदैछ भन्ने अतिसामान्य कुरा ख्याल नगरी तिनले बोलेका थिए । विगतदेखिका भ्रष्टाचार र अनियमितता जस्ता विषयहरु सरकारले व्यापक रुपमा खोतलेर कार्यवाहीको प्रक्रियामा ल्याउँदा यो पक्ष धेरै उजागर भएको भन्ने समेत नबुझी कान नछामी दगुर्ने लेखकसित खै भन्नु र ?
यस लेखकले गोयवल्स शैलीका कारण यो सरकारका विरुद्ध प्रायोजित प्रचार प्रोपगण्डा गरिएको हुँदा यसमा प्रगतिशील लेखक, चिन्तक र सर्जकहरु अत्यन्त सचेत हुनु पर्ने कुरा बताएको थियो । जनता हिलोमा छ भने हिलोमा पसेर भए पनि आम जनतालाई अग्रगामी दिशा, दृष्टि र चेतना दिनुपर्छ र संगठित गर्नुपर्छ भन्दा त्यहाँ ने.क.पा. सम्बद्ध उपल्ला तहका सर्जकहरुका तर्फबाट नै व्यङ्ग्य मिश्रित अर्ध मुस्कान लहराएको देख्दा सिद्धान्त र सिर्जनात्मक चेत लज्जित भएको अनुभव भयो ।

प्रा.डा. बद्रीविशाल पोखरेल

त्यसैगरी काठमाडौँमा भएको एउटा महत्वपूर्ण कवि गोष्ठीमा ओली सरकारले चीन र भारतसित सम निकट सुमधूर दौत्य तथा मित्र सम्बद्ध विकसित गरेको विषयमा प्रलेसका अध्यक्षले चीन वा भारत पन्थ भनेर कटाक्षपूर्ण कविता वाचन गरेर समानान्तर लेखक श्रोताको त वाहवाही पाए तर आम लेखकहरुलाई सन्तुलित, सही माक्र्सवादी सिद्धान्त र सिर्जना प्रवाह गर्नु पर्ने जिम्मेवार लेखकमा रहेको सिर्जनात्मक तथा सैद्धान्तिक क्षयीकरण देख्दा सरम लाग्यो ।
माओले कला, साहित्य बहुसंख्यक जनसमुदाय वा मजदुर, किसान र सिपाहीका लागि तथा तिनकै उपयोगिताका लागि हुन् भने, तर कवि भवानी घिमिरे प्रतिष्ठानको आयोजनामा बिर्तामोड, झापामा यही माघ १८ र १९ गते भएको मितेरी गोष्ठीमा केन्द्रका कार्यपत्र प्रस्तोता, टिप्पणीकार वक्ता अतिथि लगायत चालिसौँ स्रष्टा आए, धुलो उडाए र गए । त्यहाँ प्रदेशका वरिष्ठ स्रष्टा लेखकहरु मात्र श्रोता दीर्घामा थपडी बजाएर बसे । मजदुर, किसानहरु र तिनका प्रतिनिधिले त त्यहाँ प्रवेश पनि पाएनन् । त्यहाँ संविधान अनुसार समाजको रुपान्तरणमा कला, साहित्य, संगीतले खेल्नु पर्ने भूमिका कुनै उल्लेख भएन । सतही गोष्ठीमा साधन, स्रोत र समयको व्यापक लगानी भयो । प्रतिफल केन्द्रबाट आउनेले हवाइ लगायत यातायात सुविधा लिए, गए ।
प्रलेसका उपल्ला तहका पदाधिकारीहरुमा नै माक्र्सवादी सौन्दर्यशास्त्रीय चेत न्यून मात्र होइन शून्य हुँदै जाने अवस्था देखियो । अहिले त मृत आत्माको चीर शान्तिको कामना गर्ने लेखकहरु यत्रतत्र देखिन्छन् । माओले बन्दुक विहीन शत्रु झन खतरनाक हुन्छन् भनेका छन् उनले भनेअनुसार बिषालु झारपात रुपी शत्रुलाई उखेल्नु पर्नेमा उल्टै परोक्ष रुपमा तिनैका पछिपछि लाग्दा समाजवाद उन्मुख नेपाल होला र ?
कार्लमाक्र्सका अनुसार हरेक युगमा शाषक वर्गका विचार प्रभावी हुन्छन्, बुद्धि र बौद्धिक शक्ति पनि उसैको हुन्छ । यसो गरिएन भने समाजिक तथा सांस्कृतिक रुपान्तरण असम्भव हुनेछ । यसका लागि पठन, मनन, चिन्तन र लेखन सबल बन्नु जरुरी देखिन्छ । अहिले त लेखक संघमा मात्र होइन लेखकीय तथा कलाकारिता जस्ता प्राज्ञिक क्षेत्रको अध्यक्ष वा पदाधिकारी हुन एक दुई कविता वा संग्रह लेखे हुन्छ भन्ने मनोविज्ञान बाँकी छ । समग्र र सघन सौन्दर्य शास्त्रीय तथा सिर्जनात्मक चेत, चिन्तन र चरित्र नै चाहिँदैन भनेझैँ देखिन्छ । उच्च उदात्त सिर्जनशील श्रेष्ठ पानी र बानी माथिबाटै नआउँदा तल मरुभूमि हुने नै भयो ।
महामना मोदनाथ प्रश्रित, निनु चापागाईं, डा. ऋषिराज बराल, चैतन्य, प्रदीप ज्ञवाली, प्राज्ञ विष्णु प्रभात, प्रा.राजेन्द्र सुवेदी, प्रा.डा.देवीप्रसाद गौतम, आदि अनेक व्यक्तत्वहरु छन् । तिनबाट प्रशिक्षित हुने र गर्ने परिपाटी भए पनि केही सिक्न र सिकाउन सकिन्थ्यो । यस खालका व्यक्तित्वहरु प्रदेशमा पनि नभएका होइनन् । तिनलाई सक्रिय बनाई सैद्धान्तिक वैचारिक प्रशिक्षण सञ्चालन गर्दा बन्जर वाँझो धर्ती खोस्रिन सकिन्थ्यो तर यस खालको चुरो कुराको कसैलाई कुनै मतलब देखिन्न ।
माओका अनुसार सन्तोष अध्ययनको शत्रु हो तर पठन र लेखनमैत्री लेखक कति होलान् ? जननेता मदन भण्डारीका अनुसार पनि वैचारिक विरोधलाई वैचारिक रुपमा परास्त नगरेर बल प्रयोग गर्नु दुर्बलता हो । अनि तदनुसार सशक्त र सबल बौद्धिक क्षमता विकास नगरेर प्रलेस भित्र भिन्न विचारलाई ठेगान लगाउन खोज्नु अर्को दुर्बलता हो ।
सम्मेलनका अवसरमा भए पनि प्रायः सुस्त, शिथिल र असरल्ल परेका जिल्ला शाखाहरुमा सम्मेलनको सतही लहर पनि चलेको देखिन्छ । यही मौकामा लेखक संघका नेताहरु जिल्ला र प्रदेशका दौडाहा व्यस्त देखिन थालेका छन् । तर त्यहाँ औपचरिक वा अनौपचारिक भेलामा संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख विचार, चिन्तन, सिर्जना र संस्कृति विषयमा खासै प्रशिक्षित हुने गरी कायक्रम भएको जस्तो देखिन्न ।
शरीर र वस्त्रमा लागेको फोहोरमैला साबुन तथा सर्फले धोएर जान्छ तर मनको मैलो सफा गर्न हर्दम कला, साहित्य, शिक्षा, संस्कृति, गीत र संगीतको श्रवण, अध्ययन र पूर्ण अनुराग अपरिहार्य हुन्छ । यस अनुसार समाजको गुणात्मक परिवर्तनमा स्रष्टा समाज लागेको छ ? कला साहित्य नै मनको मैलो सफा गर्ने अद्भूत साबुन हो ।
संविधानमा धर्म, परम्परा, रीति, तथा संस्कारका नाममा हुने सबै प्रकारका असमानता, शोषणको अन्त गर्ने उद्घोष गरिए अनुसार सारा सिर्जनाहरु केन्द्रित गर्नुपर्छ ।
माओका अनुसार कला साहित्य मार्फत् जनतालाई शिक्षित, संगठित तथा एकताबद्ध पार्ने काम गर्दा मात्र शत्रुसित जुध्न मद्दत गर्ने शक्ति प्राप्त हुन्छ । त्यसलाई मूल मन्त्र नमानी दुई गधाहरु एक आपसमा अहो रुपम् अहो ध्वनिम् भनेर गुणगान गरेझैँ गर्ने हो भने यसको काम छैन । प्रलेसले माओले नै गलत राजनैतिक दृष्टिकोण भएका कलाकृतिको विरोध, पोस्टर र नाराबाजी शैलीको विरोध गरेको कुरालाई ख्याल गरेर अगाडि बढ्नुपर्छ । माओले भने अनुसारका अहिलेका सेना भनेका संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि हुन् तिनलाई माओका अनुसार सांस्कृतिक चेत दिन सकिएन भने ती सेना बाधा हुन्छन् र यसले शत्रुलाई हराउन सक्तैनन् । प्रगतिशील स्रष्टाहरुले सामन्तवादी तथा भ्रष्ट पुँजिवादी पुरातन सिद्धान्त, संस्कार र सिर्जनात्मक चेत, चिन्तन र चरित्र त्याग्न सकेनन् भने सुखी नेपाल र समृद्ध नेपाल मात्र सपना हुनेछ ।
(लेखकः प्रलेस, केन्द्रका पूर्व सल्लाहकार हुन्)

प्रतिक्रिया दिनुहोस्