Logo
Logo
समाचार टिप्पणी

कम्युनिष्ट आदर्श र महाराजा शैलीको विवाहोत्सव


- दृष्टि संवाददाता


काठमाडौं, २१ माघ । प्रदेश १ का मख्युमन्त्री शेरधन राईले ४९ वर्षको उमेरमा वैवाहिक जीवन सुरु गरे । तीन दशक बढी कम्युनिष्ट आन्दोलनमा विताएका मुख्यमन्त्री राईको विवाहउत्सवले दुनियाँलाई चकित बनायो ।

कम्युनिष्ट स्कुलिङ्का मुख्यमन्त्री राईको राजा, महाराज शैलीको वैवाहिक समारोहले कम्युनिष्ट आदर्शमै प्रश्न उब्जायो । अविर र मालामा विवाह सम्पन्न गर्ने ती कम्युनिष्ट र महाराज शैलीमा विवाह गर्ने यी कम्युनिष्टबीच तुलना हुँदैन । तर, जतिले कम्युनिष्ट आदर्शको आलोकमा मुख्यमन्त्री राईको विवाहलाई हरे ती तीनचित्त भए ।

विवाह हुने भएपछि मुख्यमन्त्री राईको हरेक गतिविधि यति परिवर्तन भयो कि उनी कम्युनिष्ट आदर्शमा हुर्केका नेता हुन भनेर बिर्सनुपर्ने दिन आयो । हात जोडेर जनतालाई नमस्कार गर्दै हिँड्ने कम्युनिष्ट नेता राई एकाएक पर्दाका हिरोझैँ हात समाएर रोमान्स गर्दै हिँड्ने अभिनेतामा परिणत भए ।

श्रीमती ज्याङ्मु शेर्पासँग हात समाएर पुष्पगुच्छाहरुको स्पर्श गर्दै रमाएको पल रिलमा कैद गरेर दुनियाँलाई देखाउन भ्याए । परिवर्तित पहिरनसहित छिन छिनमा सामाजिक संजालमा देखिएका मुख्यमन्त्री राईको अवतारहरुले भुवन केसीहरु चित खाए !

अझ रमाईलो त के भने मुख्यमन्त्री राईको एउटा यस्तो भिडियो सामाजिक संजालमा भाइरल भयो, जनु भिडियो हेर्दा उनी आफ्ै लाजले रातोपीरो हुँदै होलान् । एक ‘इस्पा’मा मुख्यमन्त्री राईको सृङ्गार यस्तो चल्दै थियो, जुन भिडियोले लोक लज्जित भए ।

सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङले आफ्नो विवाहोत्सवमा पाँच हजार जनाका लागि निम्तो–पत्र छापेको बेला–बेला चर्चा हुन्छ । मुख्यमन्त्री राईको विवाहोत्सवको निम्तो त्यो भन्दा कम थिएन । विवाहभोज नै विराटनगर र काठमाडौंमा आयोजना गरियो । शहरका चिनेगुनेका सबैको हातमा मुख्यमन्त्रीको विवहामा आमन्त्रण गरिएको निम्तो–पत्र थियो । पूर्वयुवराज पारस शाहले कम्युनिष्ट नेता शेरधन राईको विवाहभोज देखेको भए पक्कै आफ्नो विवाहभोज फितलो मान्ने थिए ।

विराटनगर र काठमाडौं गरी दुई ठाउँमा आयोजना गरिएको विवाहभोजमा कम्तीमा पाँचहजार मान्छे सहभागी थिए । ‘जनताबाट लिएको सियो नै किन नहोस् फिर्ता गर्नुपर्छ’ भन्ने कम्युनिष्ट आर्दशमा हुर्केका कम्युनिष्ट नेतालाई राजामहाराजा शैलीमा विवाहोत्सव गर्ने खर्च कहाँबाट आयो होला ?

नेपाल कम्युनिष्ट पार्टीले नेता कार्यकर्ताका लागि ११ बुँदे आचारसंहिता जारी गरेको छ । आचारसंहितामा भनिएको छ– ‘विवाहलाई सरल, मितव्ययी बनाउनुपर्छ । विवाह, जन्मदिन, व्रतबन्ध, पास्नी जस्ता परम्परागत संस्कारलाई घरपरिवारमा सीमित गर्नुपर्छ ।’ तर, कम्युनिष्ट नेताबाट रिल दुनियाँका सुपरस्टारमा रुपान्तरित राईको विवाहोत्सवले कम्युनिष्ट पार्टीको आचारसंहिता धुलोमा मिलायो ।

समाजलाई निरन्तर प्रगतिशीलतातिर उन्मुख गराउने गतिविधिमा लाग्नु कम्युनिष्ट नैतिकता मानिन्छ । तर, मुख्यमन्त्री राईको विवाहोत्सवले पुरातन शैलीको बुर्जुवा खालमा पुर्यायो । आफूलाई कम्युनिष्ट भनेर चिनाउनेहरूको जीवनशैली, रहनसहन, आचरण लगायतबारे समाजमा टिप्पणी हुँदै आएको छ । ठूला–ठूला स्वरमा सिद्धान्त फलाक्नेहरूको जीवन व्यवहार भने ठीक उल्टो भएको भन्दै आलोचना गर्नेहरुलाई मसला मिल्यो ।

नेपाली समाजमा जन्म, विवाह र मृत्युलाई तीन महत्वपूर्ण संस्कार मानिन्छ । संस्कार सम्पन्न गर्ने सवालमा सैद्धान्तिक वैचारिक आधारमा फरक–फरक दृष्टिकोण छन् । सांस्कारिक गतिविधिमा कम्युनिष्ट स्कुलिङले प्रगतिशील धार आवश्यक ठान्छ । तर, मुख्यमन्त्री राईको रोमाञ्चकारी विवाह शैलीले त कम्युनिष्टलाई शीर निहुर्याउन बाध्य तुल्यायो ।

प्रतिक्रिया दिनुहोस्