Logo
Logo
टिप्पणी

ओलीलाई गिज्याउने ओलीसभाको नारा


- मिलन लिम्बू


काठमाडौं, २२ माघ । असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेर राजनीतिक संकट निम्त्याएका प्रधानमन्त्री केपी शर्मा ओली २४ माघ (भोलि) राजदरबार अगाडि भाषण गर्दैछन् ।

कम्युनिष्ट आदर्शबाट च्यूत भएर अति हिन्दुवादी कित्तामा सरेका ओलीले राजदरबार (हाल नेपाल ट्रष्ट) अगाडि सभा आयोजना गर्नुलाई अर्थपूर्ण मानिएको छ । ओलीको पछिल्लो धार्मिक गतिविधि, हिन्दु तथा राजावादीको हर्सोत्सव र राजदरबार अगाडि ओलीसभाको तयारीले धेरै कुराको संकेत गरेको छ ।

ओलीबाट संविधानमाथि भएको हमला र त्यसपछिका हरेक गतिविधिले हिन्दुसापेक्षित राष्ट्रतर्फ गतिविधि उन्मुख रहेको विश्लेषण हुँदैैछ । राजदरबार अगाडि सभा गरेर ओलीले सोही कदमको संकेत दिन खोजेको बुझिन्छ ।

नत्र, दरबार अगाडि नै सभा गर्नुपर्ने त्यस्तो खास कारण छैन । राजदरबार अगाडि उभिएर ओलीले के बोल्छन्, त्यो भोलि नै थाहा होला । तर, कार्यक्रमका नारा चाहिँ गज्जबको छ । सबैभन्दा पहिले ओलीसभाको नारा पढौं– ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ !

अब ओली सभाको नारा र त्यो समूहको चरित्र, अनि व्यवहारलाई तुलना गरौं । ओलीसभाको नारा ‘अराजकताको अन्त्य’ र ओली समूहको चरित्र रमाईलो छ । ओलीराज सुरु भएपछि भएका हरेक गतिविधि हेर्दा थाहा हुन्छ को अराजक भनेर ।

ओली समूहका हरेक नेता कार्यकर्ताको गतिविधि अराजक छैन भनेर कसैले भन्न सक्छ ? उनीहरू आफैलाई आफ्नो गतिविधि सभ्य लाग्नु बेग्लै हो । नत्र हरेक गतिविधि अराजक छन् । विधि विधानको त मतलब नै छैन । उनीहरू नै अराजकता अन्त्य गर्न लागिपर्ने भएपछि सभ्य समाजको नागरिक बन्ने अवसर कसो नमिल्ला !

ओली सभाको अर्को रमाइलो नारा हो ‘संविधानको रक्षा’ । जसले वर्तमान व्यवस्था नै ‘कोल्याप्स’ गर्ने योजना सहित संविधानको हत्या गर्ने प्रयास गरे उसैले संविधानको रक्षा गर्छु भन्नु लज्जाको विषय हो ।

असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेर पतनको बाटो रोजेका ओलीले संविधानको रक्षा गर्छुभन्दा लोक पत्याउनेवाला छैन । ओलीसभाको यो नाराले ओली आफैलाई गिज्याउँदै छ । ओलीलाई देश र संविधानको माया लगेको भए यो अवस्था नै आउने थिएन ।
ओली समूहले ‘राजनीतिक स्थायित्व’ एउटा नारा तय गरेको छ ।

जसले राजनीतिक अस्थिरताको विजारोपण गरे उसैलाई राजनीतिक स्थायित्व चाहिने कस्तो अचम्म ! ओलीले संविधानको मर्म र भावना विपरित काम नगरेको भए देशमा वर्तमान राजनीतिक संकट आउने नै थिएन । राजनीतिक संकट नहुँदो हो त देश राजनीतिक अस्थिरतातर्फ धकेलिने थिएन । तर आज, उनै ओलीलाई राजनीतिक स्थायित्व चाहिएको छ ।

कुनै दिन केपी शर्मा ओलीले ‘विकास र समृद्धि’ शब्दमा ‘प्याटन राइटस्’ दावी गरे आश्चर्य मान्नु पर्दैन । ओलीका हरेक शब्दमा विकास र समृद्धि छुट्दैनन् । झन्, ओलीसभाको नारामा के छुट्थ्यो ! तर, विकास र समृद्धि शब्दमा ‘प्याटन राइटस्’ दावी गर्न सक्ने ओलीको पालामा न विकासको मार्गचित्र नै बन्यो न समृद्धिको सम्भावना नै देखियो । भए त केवल झुटा आश्वासन बाड्ने काम । उनै ओलीलाई ‘विकास र समृद्धि’का लागि सभा गर्नुपरेको छ । कसैले उनै ओलीलाई सुनाए हुन्थ्यो ‘विकास र समृद्धिका लागि गफ होइन काम गर्नु पर्छ’ भनेर ।

ओलीलाई ताजा जनादेश चाहिएको छ ! पाएको जनादेश व्यवस्थाविरुद्ध प्रयोग गर्ने अनि ताजा जनादेश खोज्ने ? व्यवस्था मास्न ताजा जनादेश खोज्ने ओलीले आँफू उभिएर भाषण गर्ने थलोको पछाडी फर्केर हेरे पुग्छ । जुन थलोमा बसेर राज गर्नेको हालत के भयो भनेर सम्झे पुग्छ ।
ओली सभाको पूर्वसन्ध्यामा साइबर सेनाको मार्चपास हेर्न लायक थियो ।

राजधानीका साँघुरा सडकमा केहि युवा दौडाएको देखेर ज्ञानेन्द्र शाह चिन्तित होलान् । सम्झदै होलान्, २०६२/६३ को जनआन्दोलनताका शाही सेना दौडाएको । मनमनै भन्दै होलान् ‘नागरिक सडकमा आइसकेपछि दुनियाँको केहि लाग्दैन । जसरी मेरो केहि लागेन त्यसरी नै ओलीको पनि केहि लाग्ने छैन ।’

निर्वाचनमार्फत दुई तिहाई ल्याउने ओलीको धाकले एक पटक माले–एमाले विभाजन स्मरण गराउँछ । जुन समय चोइटिएको मालेको हालत ताजै छ । त्यो घटनाले भन्छ– ‘संस्थापन इतरलाई निर्वाचनले बेहाल बनाइदिन्छ ।’ उक्त घटनाको साक्षी ओली आफै निर्वाचनमा जान खोज्दैछन् । कसैले भनिदिए हुन्थ्यो ‘हाल मालेको जस्तै हुन्छ’ भनेर ।

माले–एमाले विभाजनको समयमा मालेसँग राष्ट्रहितको मुद्दा थियो । तर पनि निर्वाचनमा मालेको बेहाल भयो । अहिलेको अवस्था त्यस्तो पनि होइन । कम्युनिष्ट आन्दोलनको मुलप्रवाहबाट बाहिरिएको ओली समूहसँग मुद्दा छ भने केवल प्रतिगमनको । चोरलाई चावी दिने भनाइ जस्तै प्रतिगमनलाई मत दिन आम नागरिक कसो तयार होलान् ?

निर्वाचन, लोकतन्त्रको आधार स्तम्भ हो । तर, सधैं निर्वाचन लोकतन्त्रको आधार स्तम्भ नहुँदो रहेछ ! संविधानतः समयमा हुने निर्वाचनले लोकतन्त्रलाई बलियो बनाउँछ तर गलत अभिप्रायले गरिने निर्वाचनले लोकतन्त्र नै मास्छ । ओलीले घोषणा गरेको निर्वाचन पनि त्यतैतिर उन्मुख छ ।

प्रतिक्रिया दिनुहोस्