Logo
Logo

माधव पक्षले बहिस्कार गरेपछि ओलीले भने- ‘एक थरी पार्टीका साथीहरूले चियापान देखेनन्’


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नाममा कुनै पनि गुटगत भेला नगर्न/नगराउन आग्रह गरेका छन् ।

पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरुका लागि प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजना गरिएको चियापान समारोहमा उनले कुनै पनि गुटगत भेलामा सहभागी नभई पार्टी एकताका पक्षमा रहन सबैलाई आग्रह गरे ।

‘एमाले आबद्ध कोही पनि नेता वा कार्यकर्तालाई भोलिको गुटगत भेला नगराउन/नगर्न, त्यस्तो भेलामा सरिक नहुन, नजान र सहभागी नबन्न म सबै नेता कार्यकर्तालाई सचेत गराउन चाहन्छु, उनले भने, ‘सबैलाई पार्टी एकताका पक्षमा बस्न आग्रह गर्न चाहन्छु ।’

पार्टी २०५३ जेठ ३ गते भन्दा अगाडिको स्थितिमा फर्के पनि केही साथीहरु छुट्टै भेला बैठक गरेर निहुँ खोजिरहेको उनले भने ।

पार्टी अध्यक्ष ओलीले एउटै पार्टीभित्र अराजकता, अनुशासनहिनता, पार्टीको विधि विधान विपरीत काम र एकता विरोधी क्रियाकलाप गर्न छुट नभएको धारणा राखे । ‘पार्टीलाई पार्टीको रुपमा चल्न नदिने, जहिले पनि भाँडभैलो मच्चाउने, यो हुन सक्दैन’, उनले भने, ‘पार्टीमा हामी सवैले आआफ्ना हिसावले एकतावद्ध, विचारमा केन्द्रीत भएर काम गर्नुपर्दछ ।’

उनले पार्टी अध्यक्षले बोलाएको चियापानमा सहभागी नहुनु राम्रो लक्षण नभएको स्पष्ट पार्दै भोलिको भेला स्थगित गर्ने केही समय बाँकी रहेकोले स्थगन गर्न आग्रह गरे । उनले कसैले पार्टीलाई धम्क्याएर ठेगान लगाउँछु भन्ने सोचेको भए त्यस्तो नसोच्न समेत आग्रह गरे । सत्यसँग नलड्ने र निहुँ खोज्नेसँग नझुक्ने समेत स्पष्ट पारे ।

बुधबार र विहिबार काठमाडौमा पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्दैछन् ।

एक थरी पार्टीका साथीहरुले चियापान नदेखेको भन्दै उनले भने, ‘पार्टी अध्यक्षको निमन्त्रणामा चियापानमा नजाने पार्टीका साथीहरु कस्को निमन्त्रणमा जानुहुन्छ त ?’

एमाले अध्यक्ष ओलीको चियापान कार्यक्रमलाई एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले वहिष्कार गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्