Logo
Logo

कारवाही गरेर देखाउन केपी ओलीलाई योगेश भट्टराईको चुनौती


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले केपी ओलीको कारबाही भोग्न आफूहरु तयार रहेको बताएका छन् ।

बुधवार शुरू हुने माधव नेपाल पक्षधर राष्ट्रिय कार्यकर्ता भेलाको सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले इतिहासले ओलीलाई निर्मम कारबाही गर्ने चेतावनी दिंदै आफूलाई कारवाही गर्न चुनौती दिएका हुन् ।

भट्टराईले भने, ‘आज उहाँले बालुवाटारबाट हामीलाई कारबाहीको धम्की दिनुभएछ । हामी एकपछि अर्को कारबाही भोग्न लामबद्ध भएका छौं । इतिहासले तपाईंलाई पनि कठोर कारबाही गर्नेछ र त्यो बेला तपाईंका निम्ति दुई थोपा आँशु झार्ने मान्छे पनि हुने छैनन् । त्यसैले धम्कीको भाषा नाबोलौं, दुई वर्ष बालुवाटारमा चैनका साथ बस्नुस्, बारुदका गन्ध नफैलाउनुस् ।’

भट्टराईले कार्यकर्ता भेलाको प्रमुख अतिथि भएर उद्घाटन गर्न ओलीलाई आग्रहसमेत गरे । फागुन २८ गते ओली पक्षको एकलौटी निर्णयप्रति असन्तुष्टि जनाउँदै नेपाल र गौतम समूहले मंगलबार ओलीले आयोजना गरेको चियापान कार्यक्रम बहिष्कार गरेका थिए ।

सोमबार मात्रै अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भेटवार्ता भएको थियो । नेताहरुले उक्त भेट सकारात्मक भएको बताए पनि दुवै पक्ष आफ्ना अडानबाट पछि हट्न सकेनन् ।

सोमबारको भेटमा अध्यक्ष ओलीले नेपाललाई चैत ४ र ५ गते डाकिएको राष्ट्रिय भेला रोक्न आग्रह गरेका थिए । तर नेपालले भने फागुन २८ गते गरेको एकपक्षीय निर्णय सच्याए मात्रै उक्त भेला रोक्न सकिने ओलीलाई जवाफ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्