Logo
Logo

चैत ५ पछि कांग्रेस, माओवादी र जसपाको सरकार बन्छ : वर्षमान पुन


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले चैत ५ गतेपछि नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर नयाँ सरकार बन्ने बताएका छन् ।

माओवादी केन्द्रको संसदीय दलको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै नेता पुनले चैत ५ गते जसपाको बैठक रहेको र त्यो बैठकपछि नयाँ सरकार बन्ने दाबी गरेका हुन् ।

‘चैत ५ गते जसपाको बैठक छ। त्यो बैठकपछि सत्ता समीकरणले मुर्त रूप लिन्छ,’ उनले भने, ‘कांग्रेस, माओवादी केन्द्र र जसपाका बीचमा गठबन्धन बन्छ।’ उनले भने । मंगलबार बसेको संसदीय दलको बैठकले दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नै कायम राख्ने निर्णय गरेको उनले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि सडक आन्दोलनमा उत्रिएका तीनवटा दलबीचको गठबन्धनमा सरकार बन्ने पनि उनको दावी छ ।

‘हामी सबैले प्रधानमन्त्रीले चालेको कदम असंवैधानिक हो, यसलाई सच्याउनुपर्छ भनेर एकै ठाउँमा उभिएर त्यसबारेमा एउटै धारणा बनाएको सन्दर्भमा, आ–आफ्नो ढंगले आन्दोलन गरेको सन्दर्भमा र संसद पुनर्स्थापना भइसकेको सन्दर्भमा यो एउटा प्राकृतिक गठबन्धन पनि हो’ पुनले भने ।

नेता पुनले प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेका कारण विश्वासको मत लिने र कार्यकारी प्रमुख हुने नैतिक आधार गुमिसकेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्