Logo
Logo

झलनाथ–माधव समूहको राष्ट्रिय कार्यकर्ता भेलामा के हुनेछ ?


दृष्टि संवाददाता


काठमाडाैं । नेकपा (एमाले) को झलनाथ–माधव समूहले भोलि र पर्सी दुई दिन काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएको छ ।

मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा बदलिँदो परिस्थितिमा छलफल गर्न, एकीकृत धारणा बनाउन र देशव्यापीरुपमा पार्टी पङ्क्तिलाई त्यस आधारमा अघि बढाउनका लागि राष्ट्रिय कार्यकर्ता भेला गर्न लागेको जानकारी दिइएको हो । भेलाकोे सम्पूर्ण तयारी पूरा भएको समेत जनाइएको छ ।

यस्ता छन् माधव–झलनाथ समूहकाे भेलाकाे एजेन्डा 

समूहका प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार राष्ट्रिय कार्यकर्ता भेलामा पार्टीलाई सुदृढ, एकताबद्ध, क्रियाशील र विधान सम्मतरुपमा अघि बढाउने सम्बन्धमा छलफल हुनेछ । भेलामा केन्द्रीय कमिटीका तर्फबाट एक अवधारणात्र प्रस्तुत गरिने, टोली विभाजन गरी सबै सहभागीले आफ्ना मत राख्न पाउने गरी छलफल र पारित गरिने उल्लेख छ ।

भेलामा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय निकाय र केन्द्रीय विभागका सदस्य, प्रदेश कमिटीका सदस्य, केन्द्रीय कमिटीका पूर्वसदस्य, सङ्घ तथा प्रदेशका सांसदलगायत दुई हजारभन्दा बढी अगुवा कार्यकर्ताको उपस्थिति रहनेछ ।

यस्तै, पार्टी एकता विरोधी, विधान प्रतिकूल र एकलौटी कदमले सिर्जना गरेका पार्टी एकताका चुनौतीलाई एकताबद्धरुपमा प्रतिवाद गर्दै असफल पार्न आम पार्टी पङ्क्तिलाई आह्वानसमेत गरिने छ ।

यस बाहेक विज्ञप्तिमा जनताको बहुदलीय जनवादको मूल्य र मान्यताको रक्षा गर्दै पार्टीलाई एकाधिकारवाद, गुटवाद र विभाजनबाट बचाउँदै लोकप्रिय, क्रान्तिकारी र लोकतान्त्रिक शक्तिका रुपमा विकास गर्नका लागि सबै नेता, कार्यकर्ता र आम जनमुदायको एकताबद्ध प्रयास यसबेला थप खड्किएको उल्लेख छ ।

सर्वोच्च अदालतको आदेशबाट नेकपा (एमाले) पुनःस्थापना हुनुको अर्थ कुनै व्यक्ति विशेषको मात्र पुनःस्थापना नभई सिङ्गो पार्टीको पुनःस्थापना भएकाले त्यसअनुसार पार्टी पंक्तिलाई परिचालन गरेर मात्र पाटी बलियो हुने उक्त समूहको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्