Logo
Logo

सर्वदलीय बैठकमा प्रधानमन्त्रीमाथि खनिए नेता


प्रदीपराज दाहाल


काठमाडौं । मंगलबार अपराह्न चार बजे राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा सर्वदलीय बैठक बस्यो । सोमबार नै राति सबै दललाई बैठक आह्वान गरिएको सूचना पुगेसँगै मंगलबार बैठक बसेको थियो ।

पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमलाई लिएर राष्ट्रपतिले सर्वदलीय बैठक बोलाएकी थिइन् । यसअघि पनि राजनीतिक दलबीच तिक्तता हुँदा कुनै मुख्य विषयमा छलफल गर्नुपर्ने भएमा राष्ट्रपतिले सर्वदलीय बैठक आह्वान गर्ने प्रचलन छ । सोही प्रचलनलाई निरन्तरता दिँदै बैठक बसेको थियो ।

कोको भए उपस्थित ?

लामो समयपछि बोलाइएको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने ठूला देखि साना सबै दलको उपस्थिति थियो । बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री श्री शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री श्री पुष्पकमल दाहाल तथा जनता समाजवादी पार्टीका अध्यक्षहरू महन्थ ठाकुर र श्री उपेन्द्र यादव तथा नेता राजेन्द्र महतो उपस्थित थिए ।

त्यसैगरी नेकपा (एमाले)का तर्फबाट रामबहादुर थापा, ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ, विष्णुप्रसाद पौडेल, नेपाली कांग्रेसका तर्फबाट रामचन्द्र पौडेल, विमलेन्द्र निधि, डा. शशांक कोइराला, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का तर्फबाट नारायणकाजी श्रेष्ठ र देवप्रसाद गुरुङको उपस्थिति थियो ।

मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी कार्यक्रममा उपस्थित थिए । यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेता जनकराज शर्मा तथा नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालको पनि उपस्थिति थियो ।

के भयो बैठकमा ?

बैठकको सुरुवातमा राष्ट्रपति विद्यादेवी भण्डारीले सबै दलबाट प्रतिनिधित्व गरेर आएकालाई स्वागत गरिन् । राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा राष्ट्रपति भण्डारीले मुुलुकको राजनीतिक सौन्दर्य आपसी संवाद, सहकार्य र एकता रहिआएको परिवेशमा संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणका लागि राजनीतिक दलहरू बीचको सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएकी थिइन् ।

राष्ट्रपतिले नेपालको अतिक्रमित भू–भाग सामेल गरी गत जेठ महिनामा नयाँ राजनीतिक नक्सा प्रकाशन गर्न दलहरूले प्रदर्शन गरेको अभूतपूर्व राष्ट्रिय एकताका सन्दर्भमा यसैगरी सर्वपक्षीय भेटघाटको आयोजना गरेको स्मरण गर्दै सबै दलका नेताहरूप्रति धन्यवाद पनि दिइन् ।

जब प्रधानमन्त्री बोल्न थाले…

स्वागत मन्तव्य लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा आफ्नो धारणा राखे । उनले बैठकमा पुनः ताजा जनादेशमा जानुको विकल्प नभएको बताए । त्यसलगत्तै दलका नेताहरू ओलीमाथि खनिन थाले । प्रधानमन्त्री ओलीको बोली खस्न नपाउँदै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले ओलीको भनाइको प्रतिवाद गरे ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनःस्थापना भएसँगै बसेको प्रतिनिधिसभा बैठकले सुरुवातको दिनदेखि नै काम गर्न नसकिरहेको बताएपछि नेता पौडेल कड्किए । पौडेलले संसद सुरु गर्नेबाहेक अरु विकल्प नरहेको भन्दै यस्तो पहल राष्ट्रपतिले पहिले नै लिनुपर्ने बताए । अहिले प्रधानमन्त्रीले लिनुपर्ने पहल नलिएको पौडेलले प्रतिक्रिया दिए ।

पौडेल बाहेक अन्य नेताले ‘ताजा जनादेशमार्फत नै दुई तिहाइ मतसहितको सरकारको नेतृत्व तपाइँले नै गर्नु भएको होइन र ?’ भन्दै प्रश्न गरे ।नेताहरूको प्रश्नपछि प्रधानमन्त्री ओलीले ‘तपाईँहरुले अरु केही भन्नु छ । यो त बितेका कुरा हुन् ।’ नेताहरुको जवाफ दिन नसकेपछि ओली आरोप प्रत्यारोपमा उत्रिएका थिए ।

बैठकको खास अन्तर्य के थियो ?

मंगलबार बोलाइएको सर्वदलीय बैठकलाई राष्ट्रपतिको बंगलादेश भ्रमणलाई केन्द्रित गरिएको बताइएपनि खासमा बैठक प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहज रूपमा अघि बढाउन दलहरूलाई मिल्न राष्ट्रपतिबाट आग्रह गर्नु थियो ।

त्यसमाथि सबै दलको नयाँ सरकार गठनका सन्दर्भमा पनि मनसाय बुझ्नु बैठकको ध्येय थियो । त्यसैले बैठकमा प्रधानमन्त्रीले घुमाउरो ढंगमा संसद विघटन गरेर ताजा जनादेशमा जाने प्रस्ताव अघि सारे । जसको बैठकमा विरोध हुन पुग्यो । बैठकलाई सहज रूपमा अघि बढाउन राष्ट्रपतिले अन्ततः कुरा मोड्नु पर्‍याे ।

यद्यपी, प्रतिनिधिसभा विघटन गर्दा होस् वा अध्यादेश ल्याउँदा सर्वदलीय बैठक बोलाएर परामर्श गर्ने काम राष्ट्रपतिबाट एकपटक पनि नहुँदा मंगलबारको बैठकले भने सुखद सञ्चार गरेको राजनीतिक वृत्तमा चर्चा चुलिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्