Logo
Logo

प्रधानमन्त्रीको दाबेदार टुंगिएपछि मात्रै सरकारलाई दिएको समर्थन फिर्ता : दिनानाथ शर्मा


दृष्टि संवाददाता


काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का नेता तथा राष्ट्रियसभाका संसदीय दलका नेता दिनानाथ शर्माले नयाँ प्रधानमन्त्रीको उम्मेद्वार अघि नसरेसम्म आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नलिने स्पष्ट पारेका छन् ।

उनले आफूहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मात्रै समस्याको समाधान फिर्ता नहुने जिकिर गर्दै नयाँ प्रधानमन्त्रीको दाबेदार टुंगिएपछि समर्थन फिर्ता लिने बताएका हुन् ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता शर्माले भने,‘समस्याको समाधान हामीले समर्थन फिर्ता लिएर मात्रै हुँदैन । प्रधानमन्त्री हुन को तयार छ ? नभए ओलीजी नै हुनुहुन्छ । अरु दलहरुले हिम्मत गर्नुपर्यो । प्रमुख प्रतिपक्षी दल वेटिंग ईन गभर्मेन्ट हो । सत्ता पक्षले राज्य सञ्चालन गर्न सकेन भने, प्रतिपक्षी हिम्मत गरेर आउनुपर्यो नि । हामी त नेकपा सरकारमै थियौं ।’

उनले नयाँ सरकार गठनको लागि सहमतिको आधारमा छलफल चलिरहेको सुनाए । तर, प्रधानमन्त्रीको टुँगो नलाग्दासम्म आफ्नो पार्टीले ओली सरकारलाई दिएको समर्थन फिर्ता नगर्ने जिकिर गरे । शर्माले भने,‘नयाँ सरकार बन्ने बाटो सिर्जना नभएसम्म समर्थन फिर्ता लिँदैन् । संकट निम्त्याउने मान्छे हामीलाई चाहिएको छैन् । ओलीजीले संसद फेश गर्नुभएन । त्यो उहाँको एउटा कमजोरी भयो । संसद् पूनःस्थापना भएपछि उहाँ पछि फर्किएको भए, राजनीतिक एउटा सही बाटोबाट अघि बढ्थ्यो ।’

उनले पार्टीको नाम परिवर्तनबारे बैठकमा छलफल भएपनि त्यो एजेण्डा नभएको सुनाए । उनले अहिले आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने कुरामा कुनै दाबी नगरेको पनि जिकिर गरे । कांग्रेस र जसपाले सहमति गरेर आउँदा आफूहरुको समर्थन हुने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्