Logo
Logo

आन्तरिक विवादमा फँसेको जसपाको आज बस्ने बैठकले के गर्ला ?

संसदीय दलको नेता चयनमै विवाद


दृष्टि संवाददाता


काठमाडौं । सत्ता समीकरणमा निर्णायक बनेको जनता समाजवादी पार्टी (जसपा) ले आज कार्यकारिणी समितिको बैठक बोलाएको छ । सत्तारुढ एमाले वा कांग्रेस/माओवादी केन्द्र गठबन्धन कसलाई साथ दिने भन्ने विवादमा अल्झिएको जसपाको आजको बैठकले ठोस निर्णय लिने नेताहरुले जानकारी दिएका छन् ।

जसपाका नेता राजकिशोर यादवले आज बोलाइएको बैठकले पार्टीको अन्योल हटाउने दृष्टिन्यूजलाई जानकारी दिए । उनले भने, आज कार्यकारिणी समितिको बैठक बस्दैछ । यसले कसलाई समर्थन गर्नेभन्नेबारेमा ठोस निष्कर्ष निकाल्छ ।’

अहिले जसपामा पूर्वराजपा नेताहरू सत्ता समीकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग नजिक देखिएका छन् भने पूर्वसमाजवादी पार्टीका नेताहरू विपक्षी नेपाली कांग्रेस र माओवादी केन्द्र सँग नजिक देखिएका छन् । ठाकुर र महतो ओलीको पक्षमा देखिएका छन् भने अर्का अध्यक्ष यादव र संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई कांग्रेस र माओवादी नजिक छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयास जसपालाई फकाएर वा फुटाए आफ्नो तर्फ ल्याएर माओवादी केन्द्र निस्किए पनि सरकारको नेतृत्व गरिरहने भन्‍ने नै छ । यही कारण पनि दलको नेता को बन्छ भन्‍ने विषयले सत्ता समीकरण कस्तो बन्छ भन्‍ने निर्धारण गर्ने प्रायः निश्‍चित रहेको जसपाका नेताहरू बताउँछन् । यो विषयमा अध्यक्षद्वय ठाकुर र यादव बोल्न चाहँदैनन् । अन्य माथिल्ला नेताहरू छलफल भइरहेको मात्र बताउँछन् ।

माओवादी केन्द्रले समर्थन फिर्ता गर्ने वित्तिकै प्रमुख प्रतिपक्ष रहेको कांग्रेसले प्रधानमन्त्री ओलीलाई समर्थन नगर्ने भएकाले जसपा निर्णायक बनेको हो ।

जसपा यतिबेला सत्तामा जानका लागि निलम्बित सांसद रेशम चौधरी सहित आ–आफ्ना नेता कार्यकर्ता रिहाइ गर्नुपर्ने, उनीहरु विरुद्धको मुद्दा खारेज, संविधान संशोधन जस्ता माग पुरा गरेको खण्डमा मात्र समर्थन गर्ने प्रस्ताव राखेको छ ।

अहिले प्रतिनिधि सभामा जसपाको ३४ सिट छ । त्यसमध्ये पूर्वसमाजवादी पार्टीबाट हरिनारायण रौनियार र पूर्वराजपाबाट रेशम चौधरी निलम्बनमा छन् । बाँकी ३२ सिटमा राजपाको १६ र समाजवादी पार्टीको १६ सांसद संख्या छ ।

जसपामा संसदीय दलको नेता चयनमै विवाद

गत बैशाख ११ गते राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच एकीकरण भएर बनेको जसपाले अहिलेसम्म संसदीय दलको नेता र प्रमुख सचेतक चयन गर्न सकेको छैन ।

यो दलको अहिलेसम्म सिंहदरबारमा रहेको प्रतिनिधिसभा सचिवालयमा राजपा र समाजवादी पार्टीका छुट्टाछुट्टै दलका कार्यालय छन् । र दलको नेता र प्रमुख सचेतकको हैसियतमा दुवै दलबाट नेताहरूले सचिवालयबाट सेवा सुविधा लिइरहेका छन् ।

पार्टी एकीकरण भएको ११ महिनापछि दल एकीकरण भएको घोषणा गरिएको थियो । २५ फागुनमा बसेको दलको बैठकमा संसदीय दल एकीकरण भएको घोषणा गरिएको थियो ।

र जेष्ठ सदस्यको हैसियतमा त्यो बैठकको अध्यक्षता पार्टी अध्यक्ष महन्थ ठाकुरले गरेका थिए । र बैठकमा एकीकृत दलको विधानको मस्यौदा पनि पार्टीका सांसदहरूलाई बाडियो ।

पार्टीले तत्कालिन राजपा नेता तथा सांसद अनिल झा र तत्कालिन समाजवादी पार्टीका नेता तथा सांसद रामसहाय यादवलाई दलको विधानको मस्यौदा बनाउने जिम्मेवारी दिएको थियो । तर, विधानले पूर्णता नपाएको भन्दै गत शुक्रबारको बैठकले पारित गरेन ।

सदस्यहरूलाई पूरा गरेर ल्याउन निर्देशन दियो । यसलाई नै आधार बनाएर दलको नेता चयन गर्न नसकिएको नेताहरुले बताउँने गरेका छन् । तर, मस्यौदा बनाउने जिम्मेवारी पाएका नेताहरुले भने दलको नेता चयन र प्रमुख सचेतक चयनमा कुनै समस्या नरहेको बताउँने गरेका छन् ।
अहिले दलको नेतामा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव तथा नेता महतोले आकांक्षा देखाइरहेका छन् । यहाँ विवाद रहेको छ । पार्टी एकीकरणका बेला अध्यक्षद्वयले दलको नेतामा दाबी नगर्ने अनौपचारिक सहमति भएको थियो ।

तर, अहिले अध्यक्षद्वय त्यो अनौपचारिक सहमतिविपरीत आफूहरू नै संसदीयदलको बन्‍न भन्दै हिडिरहेका छन् । नेताहरूका अनुसार पार्टी एकीकरणका बेला नेता राजेन्द्र महतोलाई दलको नेता बनाउने अनौपचारिक सहमति भएको थियो ।

अहिले महतोले अनौपचारिक सहमति सम्झाउँदै आएका छन् भने यादव भने आफू नै बन्‍नुपर्ने पक्षमा छन् । भित्री रूपमा ठाकुरले आफू बन्‍न कसरत गरिरहे पनि महतो पक्षका पार्टी नेता कार्यकताहरूसँग आफूले दलको नेतामा दाबी नगर्ने बताउँदै आएका छन् ।

ठाकुर र महतो तत्कालिन राजपामा थिए । दलको नेता को हुने भन्ने विषयले नै सत्ता समीकरणको यात्रा तय हुनसक्ने जसपाका नेताहरु बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्