Logo
Logo

माधव-झलनाथ समूहकाे निष्कर्ष : ओलीविरुद्धको संघर्ष एक मात्र विकल्प


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता माधव नेपाल समूहको बुधबारबाट सुरु भएको राष्ट्रिय कार्यकर्ता भेलाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर राजनीतिक अस्थिरता निम्त्याएको निष्कर्ष निकालेको छ ।

बिहीबार भेलाको समापनपछि आयोजित पत्रकार सम्मेलनमा भेलाले १७ बुँदे प्रस्ताव पारित गरेको जानकारी गराउँदै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर राजनीतिक अस्थिरता ल्याएको निष्कर्ष निकालेको हो । एमाले अध्यक्ष ओलीबाट पार्टी विधान विपरित भएका काम र गुटबन्दी र राष्ट्रियहित विरुद्ध अग्रसर हुन पनि सो समूहले कार्यकर्तालाई निर्देशन दिएको छ ।

पत्रकार सम्मेलनमा नेता विष्णु रिजालले भेलाले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका विधानविपरितका सबै निर्णय अस्वीकार गर्ने निष्कर्ष निकालेको जानकारी दिए । उनले विधान अनुसार अगाडि बढ्न सबै नेता र कार्यकर्तालाई अनुरोध गर्दै एमालेलाई गुट र सत्ताको धम्की नदिनसमेत भेलाले ओलीलाई आग्रह गरेको उनले बताए ।

नेपाल पक्षको राष्ट्रिय भेला एमालेका पूर्वअध्यक्ष तथा वरिष्ठ नेता कमरेड झलनाथ खनालको अध्यक्षतामा बुधबार सुरु भएको हो । बैठकमा भेलामा वरिष्ठ नेता माधवकुमार नेपालले केन्द्रीय कमिटीका तर्फबाट ९ पृष्ठ लामो अवधारणापत्र प्रस्तुत गरेका थिए ।

नेता नेपालले प्रस्तुत गरेका अवधारणापत्रमा पार्टीमा स्वेच्छारिता, व्यक्तिवाद, एकाधिकारवाद र दक्षिणपन्थी प्रवृत्ति हुर्किएका कारण अहिलेको अवस्था उत्पन्न भएकाले तिनका विरुद्धमा दृढतापूर्वक लड्नुबाहेक पार्टी एकता र कम्युनिस्ट आन्दोलनलाई बचाउने अरु कुनै उपाय नभएको उल्लेख गरिएको छ ।

पारित भएको प्रस्तावको बुँदा नम्बर आठमा ‘राष्ट्रिय कार्यकर्ता भेलामा उपस्थित हुनुभएका नेता कार्यकर्ताहरुलाई केपी शर्मा ओली पक्षबाट सार्वजनिकरुपमा दिइएको धम्की तथा यो राष्ट्रिय कार्याकर्ता भेलामा सहभागी नहुन दिइएको कथित निर्देशनलाई अस्वीकार गर्दै हजारौं हजार पार्टी सदस्यहरुको अथक परिश्रमबाट निर्माण भएको नेकपा एमालेलाई गुट र सत्तास्वार्थमा दुरुपयोग नगर्न यो भेला सम्बन्धित सबैलाई सचेत गर्न चाहन्छ,’ भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्