Logo
Logo
माधव–झलनाथ समूहको भेला

अदालत र निर्वाचन आयोगलाई संविधान र कानुन अनुसार चल्न आग्रह


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माधव–झलनाथ समूहको दुई दिने भेलाले सर्वोच्च अदालत र निर्वाचन आयोगलाई संविधान र कानून अनुसार चल्न आग्रह गरेको छ ।

दुई दिने भेलाले पारित गरेको १७ बुँदे प्रस्ताव सुनाउन आयोजित पत्रकार सम्मेलनमा माधव–झलनाथ समूहले अदालत र आयोगलाई संविधान र कानूनसम्मत चल्न भनेको हो ।

यस्तै, भेलाले फागुन २८ गते अध्यक्ष केपी ओलीले एकतर्फी गरेका निर्णयको भर्त्सना गर्दै पार्टी एकताको पक्षमा सवै नेता कार्यकर्ताहरूलाई उभिन आग्रह गरेको छ । त्यस्तै भेलाले ओलीका तर्फबाट भएका कथित सवै निर्णय रद्द गरेको छ ।

पत्रकार सम्मेलनमा पार्टी केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईले नवौं राष्ट्रिय महाधिवेशनले पास गरेको कार्यक्रम जनताको बहुदलीय जनवादको मर्म र भावनालाई रक्षा गर्दै समाजवादको दिशामा अघि बढ्ने कुरालाई पुनर्पुष्टि गरेपनि अध्यक्ष ओलीले त्यसलाई पक्रन नसकेको बताए ।

त्यस्तै नवौं महाधिवेशनले गठन गरेका पार्टी कमिटीको बदलामा बनाएका कमिटीहरु नस्वीकार्ने भेलाको निष्कर्ष छ । त्यस्तै जबजको मर्म अनुसार देशभर पार्टीका संगठनात्मक कार्यक्रम सञ्चालन गर्ने निष्कर्ष निकालिएको नेता भट्टराईले पत्रकार सम्मेलनमा जानकारी दिए ।

त्यस्तै, ओली पक्षबाट पार्टीका नेता कार्यकर्तालाई धम्क्याउने प्रयास भएकोमा त्यसको भर्त्सना गर्दै नेकपाले स्थापनाकालदेखि नै राष्ट्रिय स्वाधिनताको पक्षमा रहेको भन्दै नेपालको भौगोलिक अखण्डतामा आँच आउन नदिन सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्