Logo
Logo

प्रधानमन्त्रीले अभिभावकत्व लिएका ठिल्लेले पढाइ छोडिन


दृष्टि संवाददाता


काठमाडौं । निकै तामझाम र प्रचारबाजी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुकी एक विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका थिए । तर, ३ वर्षवितिसक्दा ठिल्ले साङमु लामाले अभावका कारण विद्यालय नै जान छोडिन ।

प्रधानमन्त्रीले विर्सिएपनि उनलाई प्रधानमन्त्रीकी छोरी भनेर साथीभाइले जिस्क्याउन छाडेका छैनन् । ओलीले ठिल्लेको परिवारलाई जम्मा २० हजार नगद र केही लत्ताकपडा मात्र पठाए ।

अभाव र तनावका कारण निकै तीक्षण क्षमता भएकी ठिल्लेको विद्यालय यात्रा टुंगिने चिन्तासमेत बढेको छ । यसले अभिभावकत्व ग्रहण गरिएका बाँकी बालबालिकाको अवस्था के होला सहजै बुझ्न सकिने अवस्था पनि देखिएको छ ।

कर्णाली रारा पर्यटन वर्ष २०७५ मा प्रधानमन्त्री ओलीले रारा तालको किनारमा पुगी लामालाई अभिभावकत्व ग्रहण गरेका थिए । तर अहिले २ वर्ष बितिसक्दा पनि पढाइ खर्चलगायत गाँस, बास, कपास प्रतिबद्धता व्यक्त गरेअनुरुप सहयोग नगर्दा पछिल्लो समय लामालाई अध्ययनमा समेत समस्या भएको छ भने विद्यालय जाँदा प्रधामन्त्रीकी छोरी भनेर साथीभाइले जिस्क्याउने गरेको नेपाल समाचारपत्रले उल्लेख गरेको छ ।

लामा अहिले बुद्ध माध्यमिक विद्यालयको कक्षा ४ मा अध्ययनरत छिन् । उनको दिमाग तीक्षण भए तापनि पठनपाठनमा आवश्यकता पर्ने स्टेसनरीका सामान कापी, कलम, नहँुदा विद्यालयमा बिरलै जाने गरेको विद्यालयले जानकारी दिएको छ ।

यता बुद्ध माध्यमिक विद्यालय माग्री गाउँका प्रधानाध्यापक टीकाप्रसाद उपाध्यायले लामाका अभिभावकसँग बुझ्दा दुईपटक मात्र सहयोग गरेको तर बाँकी सहयोग कुनै निकायबाट समेत नभएको बुझिएको बताए ।

प्रतिक्रिया दिनुहोस्