Logo
Logo

डोजरले जिउँदै मान्छे पुर्ने चालक पक्राउ


दृष्टि संवाददाता


काठमाडौं । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका घटनाका दोषी जेसिबी चालक भीमबहादुर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ । बुढाथोकीले गत फागुन १७ गते एक महिलालाई जिउँदै पुरेका थिए ।
घटनापछि फरार बुढाथोकीलाई केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीका डिएसपी अनिल घिमिरेको टोलीले भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो । सिआइबीले शुक्रबार पत्रकार सम्मेलन गरी अभियुक्त पक्राउबारे जानकारी दिएको हो ।
धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ मा रहेको खोल्सी भन्ने स्थानमा भित्री सडक सफा गर्दै गर्दा सोही स्थान बस्ने ४० वर्षीय सरस्वती कुमाललाई ठक्कर दिई घाइते बनाएपछि खाल्डो खनेर पुरिएको थियो ।
प्रदेश नम्बर ३–०१–००३ क ६५६४ नम्बरको जेसिबीले माटो फाल्ने क्रममा डोजरको बकेटले लागेर घाइते भएकी महिलालाई खाल्डो खनेर जिउँदै पुरेको प्रहरीको दाबी छ । तर, खाल्डो खनेर पुर्दै गरेको अवस्थामा स्थानीयले देखेपछि उनको उद्दार गरिएको थियो । यद्यपि उद्धारकै क्रममा महिलाको मृत्यु भएको थियो ।
हत्यापछि धादिङबाट फरार भएका चालकलाई झण्डै सातापछि भारतको हरिद्वारबाट पक्राउ गरेको हो ।
घाइते भएकी सरस्वतीलाई जिउँदै गाड्दै गरेको देखेपछि स्थानीयले हारगुहार गर्दै उद्दार गरेका थिए । तर, उद्दारका क्रममा उनको मृत्यु भएपछि स्थानीयले डोजरमा आगो लगाएका थिए । सोलगत्तै डोजर चालक बुढाथोकी भागेका थिए ।
डोजर चालक बुढाथोकीको लाइसेन्ससमेत नभएको पाइएको छ । लाइसेन्स नभएको व्यक्तिले चलाएको डोजरबाट सरस्वतीको मृत्यु भएको कारण उनलाई कर्तव्य ज्यानमै मुद्दा चल्न सक्नेछ । साथै लाइसेन्स नभएको व्यक्तिलाई सवारी चलाउन दिने डोजर मालिकलाई पनि मुद्दा चल्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्