Logo
Logo

ओलीका कारण राजनीति बदनाम भयाे : पम्फा भुसाल


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रकी नेतृ पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण राजनीति बदनाम भएको बताएकी छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा फागुन ११ गते सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि प्रधानमन्त्रीले नैतिकता देखाउने अपेक्षा गरे पनि प्रधानमन्त्रीले मिचाहा प्रवृत्ति देखाएको उनले बताइन् ।

‘११ गतेको फैसलापछि त्यो राजनीतिक नैतिकताको पालना गरिनेछ भन्ने अपेक्षा थियो, अहिले पनि जिताहा शासकजस्तो गरेर हिँड्ने कुराले आम नागरिकमा के पर्छ होला ? उनले भनिन्, ‘यस्ता अनैतिक जिम्मेवारी नलिने, आत्मसमीक्षा नगर्ने मान्छेका कारणले राजनीति बदनाम छ । मान्छेहरुले राजनीति भनेपछि फट्याईँ नै हो भन्ने ठानेका छन् ।’

उनले नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरिन् । भुसालले प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने नेतालाई समेत आत्मसमीक्षा गर्न पनि आग्रह गरिन् ।

ओली नेतृत्वकै सरकारका तत्कालिन कानुनमन्त्रीले सार्वजनिक कार्यक्रममा बोल्दा एउटा शब्द गलत प्रयोग गरेको आधारमा राजीनामा दिएको र तत्कालिन सञ्चारमन्त्रीले कमिसनसम्बन्धी अडियो टेप सार्वजनिक भएपछि राजीनामा दिएको स्मरण गर्दै उनले सोधिन् ‘प्रधानमन्त्रीले चाहिँ नैतिकता देखाउनुपर्दैन ?’

प्रतिक्रिया दिनुहोस्