‘नेपाल राजनीतिक हिसाबले द्वन्द्वमुक्त’ « Drishti News – Nepalese News Portal
Logo

‘नेपाल राजनीतिक हिसाबले द्वन्द्वमुक्त’


दृष्टि संवाददाता


काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल राजनीतिक हिसाबले द्वन्द्वमुक्त भएको बताएका छन् ।
प्रतिनिधिसभाको शुक्रबार बैठकमा दलीयरुपमा भाग लिँदै मन्त्री ज्ञवालीले तराईमा चलेको पृथकतावादी र हिंसात्मक गतिविधि चलाउने समूह शान्तिपूर्ण राजनीतिको मूलधारमा आएसँगै नेपाल द्वन्द्वमुक्त भएको बताए ।
‘यो महत्वपूर्ण उपलब्धि हो’, उनले भने । संसद्को प्रारम्भमै पेश हुनुपर्ने अध्यादेशका विषयमा सबै राजनीतिक दलबीच एकै मत र समान धारणा हुनुपर्ने उल्लेख गर्दै मन्त्री ज्ञवालीले निश्चित व्यक्ति प्रधानमन्त्री हुन पाए अग्रगमन नभए प्रतिगमन भन्ने बुझाइ अन्त्य हुनुपर्ने धारणा राखे ।
प्रतिनिधिसभा पुनःस्थापनापछि नयाँ ढङ्गले जान खोजे पनि अहिलेको वातावरणले अझै राम्रो सङ्केत नगरेको मन्त्री ज्ञवालीको भनाइ थियो । सर्वोच्च अदालतको फैसलापछि यही संसद्बाट नै राजनीतिक स्थायित्व खोज्ने बाध्यात्मक स्थिति आएको भन्दै उनले सरकारले अदालतलाई कुनै आक्षेप नलगाएको बताए । उनले विसं २०७२ मा संविधान जारी गरेर महत्वपूर्ण उपलब्धि हासिल गरेको भन्दै अहिले संविधान सबैको सर्वस्वीकार्य दस्तावेज बनेको उल्लेख गरे ।
मन्त्री ज्ञवालीले सरकारले तीन वर्षमा महत्वपूर्ण काम गरेको स्पष्ट पार्दै नेपालको निधारमा लागेको अल्पविकसितको टीका निकट भविष्यमै हट्ने विश्वास व्यक्त गरे ।
मन्त्री ज्ञवालीले नेपालले बाह्य मुलुकसितको सम्बन्धमा उल्लेख्य उपलब्धि हासिल गरेको बताए । नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुराको मुद्दा प्रखररुपमा उठाएको उल्लेख गरे । सो अवसरमा मन्त्री ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीको आशन्न बङ्गलादेशको मैत्रीपूर्ण औपचारिक भ्रमणबारे सदनलाई जानकारी गराउनुभएको थियो ।
राष्ट्रपति भण्डारीले यही चैत ९ देखि १० गतेसम्म गर्ने बङ्गलादेशको भ्रमणबाट दुई देशको सम्बन्ध थप सुमधुर हुने उनले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्