Logo
Logo

किसान महासंघमा पनि समानान्तर कमिटि


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेको जनसंगठन अखिल नेपाल किसान महासंघमा पनि समानान्तर बैठक बोलाएको छ । शुक्रबार एमालेका उपाध्यक्ष तथा किसान महासंघका अध्यक्ष वामदेव गौतमले ललितपुरको धोबिघाटमा किसान महासंघको राष्ट्रिय समितिको बैठक राखेका छन् ।
सर्वोच्च अदालतको फैसलाबाट नेकपा एमाले पूर्ववत अवस्थामा ब्युँतिएपछि गौतमले शुक्रबार महासंघको अध्यक्षको हैसियतमा बैठक राखेका हुन् । एमाले र माओवादी केन्द्रबीच एकता अगाडि गौतम महासंघका अध्यक्ष थिए । तर, पार्टी एकीकरण पछि गौतम महासंघको इन्चार्ज बनेका थिए, हरि पराजुली अध्यक्ष बनेका थिए ।
तर, सर्वोच्च अदालतले एमालेलाई पूर्ववत अवस्थामा ब्युँताइदिएपछि गौतमले पुन अध्यक्षको हैसियतमा बैठक राखेका हुन् ।
यस्तै, एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समूहले पनि अखिल नेपाल किसान महासंघको नाममा बैठक बोलाएको छ । ओलीले शनिबार किसान महासंघको स्थायी कमिटी र आइतबार राष्ट्रिय समितिको बैठक बोलाएको छ । महासंघका उपाध्यक्ष रहेका प्रेम दंगाललाई ओलीले अध्यक्षको जिम्मा दिइएको छ ।
ओली समूहले किसान महासंघको ४४५ सदस्यीय केन्द्रीय कमिटी र ७५ सदस्यीय स्थायी कमिटी बनाएको छ । तर, खनाल र नेपाल समूहले भने किसान महासंघमा छुट्टै कमिटी नबनाउने एमाले सचिव योगेश भट्टराईले जनाए ।

प्रतिक्रिया दिनुहोस्