Logo
Logo

बालुवाटारमा एमालेको बैठक, झलनाथ–माधव समूह सहभागी नहुने


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको केन्द्रीय कमिटी बैठकअघि संसदीय दलको पनि बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री नजिकका एक नेताका अनुसार केन्द्रीय कमिटी बैठकमा झलनाथ–माधव पक्षले गर्दै आएको अलगै भेला लगायतका विषयमा छलफल हुने भएको छ । यस्तै संसदीय दलको बैठकमा पनि बोलाइएको छ । यो बैठकमा अनुशासनको कारवाहीका सन्दर्भमा समेत छलफल हुने एक सांसदले जानकारी दिए ।

अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा झलनाथ–माधव पक्ष सहभागी नहुने भएको छ । यो समूहले विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री निवासमा बैठक राखेर दललाई निजीकरण गर्न खोजिएको र २८ फागुनको बैठकका निर्णय खारेज नभएसम्म ओलीले बोलाएका कुनै पनि बैठकमा सहभागी नहुने उल्लेख गरेको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘विगतमा संसदीय दलको बैठक दलको कार्यालय, सिंहदरबार वा संसद् भवन, बानेश्वरमा बस्दै आएकोमा यसपटक प्रधानमन्त्रीको निवासमा राखेर दललाई निजीकरण गर्न खोजिएकाले त्यसमा सहभागी नहुने । बैठक दलको कार्यालय वा संसद् भवनमा आयोजना गरी उपयुक्त एजेन्डा र प्रक्रिया अवलम्बन गरिएमा विचार गर्ने ।’

त्यस्तै केन्द्रीय कमिटी बैठकका नाममा आफ्ना गुटका मानिसलाई मात्र खबर गरी फागुन २८ गते अवैध ढंगले भेला गरी विधान उल्लंघन गरिएकाले उक्त बैठक खारेज नभएसम्म केन्द्रीय कमिटीको बैठक बस्न नसक्ने झलनाथ–माधव समूहले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्