Logo
Logo

महिलाको हत्या गरी शरीरका अंग बेच्ने गिरोह पक्राउ


दृष्टि संवाददाता


कपिलवस्तु । तान्त्रिक प्रयोजनको लागि महिलाको हत्या गर्ने संगठीत गिरोहलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ ।

तान्त्रिक कामका लागि मानिसको औँला चाहिने र औँला काटेर ल्याए प्रति औँला ८० लाखसम्म बिक्री हुने भन्दै संगठीत गिरोहले रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ५ मनहरपुर बस्दै आएकी सरजहा दर्जीको हत्या गरेको प्रहरीले जनाएको छ ।

गत चैत २० गते कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं. ६ स्थित बेतिया नदिमा एक महिलाको शव हत्या गरि फालेको अवस्थामा फेला परेको थियो । शव खोलामा डुबोस् र कसैले पत्ता नपाओस् भनेर हत्यामा संलग्नले बोरामा ढुंगासमेत राखेर शवलाई राखेर फालेका थिए ।
स्थानीयले बोराभित्र राखिएको शव खोलामा तैरिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । खोलाबाट निकाल्दा शव सडिसकेको थियो भने हातका औँलाहरु काटिएको अवस्थामा थिए ।

झण्डै दुई साता बढीको अनुसन्धानपछि महिलाको हत्या तान्त्रिक प्रयोजनको लागि औँला बिक्री गर्ने योजनाका साथ भएको पत्ता लगाएको प्रहरीले जनाएको छ ।

कपिलवस्तुका प्रहरी प्रमुख नवराज अधिकारीले लामो अनुसन्धानपछि हत्या गर्ने र औँला राख्ने सबैलाई पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ पर्नेहरुमा ३९ वर्षिय अव्दुल कलाम मुसलमान र ४५ वर्षिय बेलाल अहमद मुसलमानसँगै शुद्धोधन ५ का ५५ वर्षीय रामहरव यादव, रूपन्देही सैनामैना नगरपालिका वडा नं १ बनकट्टाका ६७ वर्षिय कर्णबहादुर सुनार र नवलपरासीको मध्यविन्दु नगरपालिका ७ घर भई हाल बुटवल उपमहानगरपालिका वडा नं ९ शिबनगर डेरा गरी बस्ने ६७ वर्षिय खेमबहादुर मल्ल रहेका छन् ।

पक्राउ परेकाले मानिसको एउटै औँलालाई ७०÷८० लाख रूपैयाँसम्ममा विक्री हुने भन्दै महिलाको हत्या गरि औँला काटेर राखेको बताएको प्रहरीले जनाएको छ । उनीहरुलाई संगठीत अपराध, कर्तव्य ज्यान तथा मानव बेचविखन तथा ओसारपसार कसुरमा म्यादथप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्