Logo
Logo

बालुवाटारमा सर्वदलीय बैठक : प्रचण्ड नजाने, माधव र बाबुरामलाई बोलाइएन


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बोलाएको सर्वदलीय बैठकमा नेकपा माओवादी केन्द्र सहभागी नहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको सर्वदलीय बैठकमा अध्यक्ष प्रचण्ड सहभागी नहुने उनको सचिवालयले जनाएको छ ।

ओलीले शुक्रबार प्रचण्डलाई टेलिफोन गरेर सर्वदलीय बैठकमा बोलाएका थिए । प्रतिनिधिसभामा सहभागी सबै दलका शीर्ष नेतालाई बैठकमा बोलाइएको छ ।
बैठकमा नेपाली कांग्रेस सभापति शेरवहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका दलका नेताहरु सहभागी हुँदैछन् ।

तर, बैठकमा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादवलाई बैठकको जानकारी दिइएको छैन । जसपाका अध्यक्ष महन्थ ठाकुरसँग नियमित संवादमा रहेका प्रधानमन्त्रीले बाबुराम र उपेन्द्रलाई बोलाउन नचाहेको अनुमान पार्टीका नेताहरुले गरेका छन् ।

यस्तै, अहिले बस्न गइरहेको सर्वदलीय बैठकमा नेकपा एमालेका बरिष्ठ नेता माधव नेपाल पक्षलाई पनि खबर गरिएको छैन । माधव पक्षका एक नेताका अनुसार आज बस्ने सर्वदलीय बैठकबारे खबर नै गरिएको छैन ।
पछिल्लो समय देशव्यापी समानान्तर कमिटी गठनलाई तिव्रता दिँदै आएको नेता नेपाललाई प्रधानमन्त्री ओलीले बोलाउन नचाहेको स्रोतको भनाइ छ ।

आज बस्ने सर्वदलीय बैठकमा प्रधानमन्त्रीले संसदको वर्तमान समसामयिक राजनीति र पछिल्लो समय कोरोना संक्रमणको दोस्रो लहरले प्रभाव पार्न सक्ने सम्भावनाबारे दलहरुसँग सुझाव लिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्