Logo
Logo

अर्थशास्त्री र व्यवसायीको नजरमा भरतमोहन अधिकारी


- दृष्टि न्युज/संवाददाता


उहाँ भद्र र शालिन व्यक्तित्व हुनुहुन्थ्यो- पृथ्वीबहादुर पाँडे

पृथ्वीबहादुर पाँडे

स्वर्गीय भरतमोहन अधिकारीको निधनले मलाई अत्यन्तै दुःखी बनाएको छ । उहाँजस्तो सरल, मृदुभाषी र भिजन भएको नेता कमै भेटेको छु । उहाँ पहिलोपटक नौ महिने अर्थमन्त्री हुँदा बेलाबेलामा छलफल गर्न अर्थ मन्त्रालयमा बोलाउनु हुन्थ्यो । सबैको कुरा सुन्नुहुन्थ्यो । त्यति मात्र होइन, फोनै गरेर तपाईंले आजको बैठकमा अत्यन्तै राम्रो कुरा उठाउनु भयो भनेर धन्यवाद पनि दिनुहुन्थ्यो । उहाँको त्यस्तो बोली व्यवहारले हामीजस्ता बैंकरलाई ऊर्जा प्रदान हुन्थ्यो । हौसला बढ्थ्यो । उहाँको यस्तै व्यवहारका कारण उहाँ सफल अर्थमन्त्री बन्नुभयो । उहाँको भिजनका कारण ज्येष्ठ नागरिकले उहाँलाई सदा सम्झना गर्नेछन् । उहाँ दिवंगत भएर जानु भए पनि उहाँले सुरु गर्नुभएको राम्रा कामले देशको मुहार फेरिने आशा राखेको छु ।

हामीले आफ्नै किसिमले बुझेका हौँला । तर, अर्थमन्त्रीको नाताले बजेट बनाउँदा हामीसँग जुन सल्लाह लिनुहुन्थ्यो, त्यसबाट हामीले सरकार जनताप्रति उत्तरदायी छ भन्ने महसुस गथ्र्यौ । अब त देशको आर्थिक विकास हुन्छ भन्ने कुरामा ढुक्क हुन्थ्यौँ । यो नै हाम्रो लागि एउटा ऊर्जा हो । त्यस्तो सालिन, भद्र र सरल व्यक्तिको निधनले बैंकिङ क्षेत्र दुःखी र मर्माहत बनेको छ । मैले एउटा अभिभावक गुमाएको महसुस गरेको छु ।

त्यसपछि पनि उहाँ पटक–पटक अर्थमन्त्री हुनुभयो । उहाँले फोन गरेरै बैंकिङ क्षेत्रका समस्याका विषयमा सोध्नुहुन्थ्यो । हामीले भोग्नुपरेका समस्या उहाँलाई बताइदिन्थ्यौं । एउटा अर्थमन्त्रीले एक जना बैंकरलाई फोन गरेर प्रतिक्रिया लिनु आवश्यक थिएन, तर पनि उहाँको यो महानता हो भन्ने मैले ठानेको छु । उहाँ राजनीतिबाट आएको नेता । हामी निजी क्षेत्रबाट आएका बैंकर । देशको अर्थतन्त्र उहाँले आफ्नै किसिमले बुझ्नुभएको होला । हामीले आफ्नै किसिमले बुझेका हौँला । तर, अर्थमन्त्रीको नाताले बजेट बनाउँदा हामीसँग जुन सल्लाह लिनुहुन्थ्यो, त्यसबाट हामीले सरकार जनताप्रति उत्तरदायी छ भन्ने महसुस गथ्र्यौ । अब त देशको आर्थिक विकास हुन्छ भन्ने कुरामा ढुक्क हुन्थ्यौँ । यो नै हाम्रो लागि एउटा ऊर्जा हो । त्यस्तो सालिन, भद्र र सरल व्यक्तिको निधनले बैंकिङ क्षेत्र दुःखी र मर्माहत बनेको छ । मैले एउटा अभिभावक गुमाएको महसुस गरेको छु ।

देशप्रति सधैँ चिन्तित नेता -अशोक अग्रवाल

अशोक अग्रवाल

उहाँका धेरै राम्रा कुरा थिए । एकदमै सरल र मिलनसार व्यक्ति हुनुहुन्थ्यो । जीवन अत्यन्त सादा थियो, तर विचार उच्च भएको राजनेता हुनुहुन्थ्यो । निजीक्षेत्र मैत्री हुनुहुन्थ्यो । सहज रूपमा प्राप्त हुने, सकेसम्म सबैलाई सहयोग गर्ने उहाँको स्वभावि थियो ।
उहाँमा राष्ट्रको आर्थिक विकासमा निजीक्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ भन्ने स्पष्ट भिजन थियो । उहाँले जतिजति बेला अर्थमन्त्रीको जिम्मेवारी पाउनुभयो, त्यतिबेला त्यो भिजन कार्यान्वयनका लागि प्रयत्न गर्नुभयो । राष्ट्रको समग्र विकासका लागि गाउँको विकास उहाँको पूर्वसर्त जस्तै थियो । गाउँमा विकास भयो भने त्यसले रोजगारी सिर्जना गर्छ । माग बढ्छ र आपूर्ति दुवै बढ्छ भन्ने कुरामा उहाँ स्पष्ट हुनुहुन्थ्यो । त्यसैले ०५१ सालमा नौ महिना अर्थमन्त्री हुँदा उनले ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ कार्यक्रम ल्याउनुभयो ।
दलित–उत्पीडित वर्ग, समुदाय, वृद्धवृद्ध, एकल महिलाका निम्ती केही न केही गर्नैपर्छ भन्ने हुटहुटी थियो । राज्य अभिभावक भएकाले कार्यक्रम ल्याएर उनीहरूलाई सम्बोधन गर्नुपर्छ भनेर नै उहाँले सामाजिक सुरक्षाको कार्यक्रम बजेटमार्फत ल्याउनुभयो । यस्तै, हरेक वर्ष जेष्ठ नागरिक दिवस मनाउनुपर्छ भनेर आफ्नो पालामा घोषणा पनि गर्नुभयो ।
अहिले नेकपाको सरकार छ । उहाँले देखेका धेरै सपना पूरा गर्ने अवसर यो सरकारलाई छ । हुन त सरकारले उहाँले ल्याएका धेरै कार्यक्रमलाई निरन्तरता पनि दिएको छ । अहिलेका अर्थमन्त्री विषयविज्ञ नै हुनुहुन्छ । उहाँको नेतृत्वमा भरतमोहन अधिकारीका सपना पूरा हुन्छन् भन्ने मलाई विश्वास छ ।
अन्तिम समयसम्म पनि उहाँ देशप्रति चिन्तित हुनुहुन्थ्यो । विरामी भएर मेडिसिटी अस्पताल भर्ना हुँदा उहाँलाई भेट्न गएको थिएँ । त्यहाँ पनि उहाँले देश, जनताकै चिन्ता गर्नुभएको थियो । आर्थिक विकासकै चर्चा गर्नुभएको थियो । उहाँको निधन सिंगो देशका निम्ती अपूरणीय क्षति हो । अझ निजीक्षेत्रले त उहाँलाई धेरै ‘मिस’ गर्नेछ । त्यस्तो राष्ट्रवादी, सरल नेता पाउन धेरै समय लाग्छ ।

मुलुकले राजनेता गुमायो – कृष्ण आचार्य

कृष्ण आचार्य

डाक्टरहरूले भेन्टिलेटरमा राख्ने निर्णय गरेपछि उहाँले मलाई बोलाउनुभयो । सायद परिवारका विषयमा केही कुरा गर्न खोज्नुभएको होला भन्ने सोचेर गएको थिएँ । तर, अन्तिम अवस्थामा पनि उहाँमा परिवारको भन्दा देश, जनता र पार्टीका चिन्ता थियो । ‘सायद मलाई भेन्टिलेटरमा राख्दैछन् । म नफर्कन पनि सक्छु । हाम्रो पार्टीका सबैजसो नेतालाई तपाईं चिन्नुहुन्छ । त्यसैले मेरो सन्देश पु¥याइदिनुहोला,’ उहाँले भन्नुभयो, ‘जनताले दुईतिहाइ मत दिएका छन् । ऐतिहासिक रूपले पार्टी एकता भएको छ । ठूलो पार्टी बनेको छ । यस्तो अवसर फेरि नआउन सक्छ । त्यसैले अवसर गुमाउन हुँदैन । नेताहरूलाई आपसी द्वन्द्वमा नपरी देश समृद्ध बनाउने सन्देश पु¥याइदिनुहोला ।’ यिनै उहाँका अन्तिम वाणी थिए ।
उहाँको सन्देश मैले पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता माधवकुमार नेपाल, उपप्रधानमन्त्री ईश्वर पोखरेल, पार्टी महासचिव विष्णु पौडेललाई सुनाएँ । प्रधानमन्त्रीसँग भेट्ने समय मिलेको छैन । आफैँलेसुनाउन पाएको छैन । तर, अन्य नेतामार्फत उहाँले सन्देश सुनिसक्नुभएको छ भन्ने लाग्छ । उहासँग ४ दशकदेखिको सानिध्यता थियो । अन्तिम वाणी सुन्ने सौभाग्य मलाई नै प्राप्त भयो । यसमा मलाई ठूलो सन्तोष छ ।
उहाँ समयको असाध्यै ख्याल गर्ने गर्नुहुन्थ्यो । विषयको गहन अध्ययन गर्ने, सधैँ विज्ञहरूका सल्लाह लिने र आफ्नो धारणा बनाउने उहाँको बानी थियो । आफू ‘कन्भिन्स’ भएपछि त्यसमा अरुलाई ‘कन्भिन्स’ गराउन असाध्यै मेहनत गर्ने कसैप्रति कहिल्यै पूर्वाग्रह नराख्ने बानी थियो । गुटगत स्वार्थभन्दा माथि उठेर सामूहिकताको भावना बोक्नुहुन्थ्यो । जीवन अत्यन्त सरल थियो । सामान्य अवस्थामा होस् या मन्त्री हुँदा होस् न खानपान रवाफिलो थियो, न लुगा लगाई, न व्यवहार नै रवाफिलो थियो । उहाँजस्तो सरल मान्छे पाउन गाह्रो छ । उहाँको निधनमा देशले कुशल अर्थमन्त्री गुमायो । संयोजनकारी भूमिका खेल्ने राजनीतिज्ञ गुमायो । दूरदृष्टि राख्ने राजनेता गुमायो ।

सबैलाई मिलाउन सक्ने नेता – केशव आचार्य

केशव आचार्य

म भरतमोहन अधिकारीबाट सबैभन्दा धेरै प्रभावित भएको उहाँको क्रियाशीलता र ऊर्जाबाट हो । मभन्दा १९ वर्ष जेठो मान्छे, हरेक दिन १६–१७ घण्टासम्म नथाकी खट्नुहुन्थ्यो । दोस्रो कुरा, उहाँको मनमा कुनै नयाँ विचार आयो भने सरोकारवाला सबै पक्षसँग गम्भीर छलफल गर्ने, एउटा निष्कर्षमा पुग्ने र त्यसको कार्यान्वयन गर्न कटिबद्ध हुने उहाँको बानी थियो । बुद्धिजीवीहरुसँग कुराकानी गर्ने । दसौँ तिरबाट मन्थ गरेर निष्कर्षमा पुग्ने उहाँको बानी थियो । तेस्रो कुरा, उहाँले कहिल्यै आफूलाई ठूलो देखाउनुभएन । आफू पार्टीको स्थायी समितिमा हुँदा वा मन्त्री हुँदा पनि अरुका विचारलाई प्राथमिकता दिनुहुन्थ्यो । समानताका आधारमा व्यवहार गर्ने गर्नुहुन्थ्यो ।
उहाँसँग २०२६, ०२७ सालतिर चिनजान भएको हो । त्यसताका उहाँ, कमल कोइराला र मोहनचन्द्र अधिकारी खुबै मिल्नुहुन्थ्यो । जतिबेलै सँगै हुने । पार्टीको काममा पनि सँगै निस्कने गर्नुहुन्थ्यो । निकै दोस्ती थियो । म बीचमा कीर्तिपुर पढ्न आएपछि सम्बन्ध भएन ।
०५१ सालको मध्यावधि निर्वाचनपछि बजेट बनाउन सहयोग गर्नुप¥यो भनेर उहाँले केही साथीलाई भन्नुभयो । म पनि जोडिएँ । त्यसबेला व्यापक छलफल हुन्थे । नीतिगत कुरामा उहाँ स्पष्ट हुनुहुन्थ्यो, हामीलाई पनि स्पष्ट पार्नुभएको थियो । त्यसैले राम्रा कार्यक्रम ल्याउन उहाँ सफल हुनुभयो ।
अहिलेको संविधानले तीनखम्बे नीति अख्तियार गरेको छ । त्यसमा उहाँको ठूलो योगदान छ । ग्रामिण अर्थतन्त्रलाई रुपान्तरण सहकारीले गर्छ भन्ने कुरा उहाँको आफ्ना बजेटमा सय ठाउँमा भन्दा बढी लेख्नुभएको छ । अहिले हेर्दा त्यो कति दूरगामी रहेछ भन्ने थाहा हुन्छ । एकातिर ठूला उद्योग–कलकारखाना, बजार अर्कोतिर ग्रामिण अर्थतन्त्र दुवैको एकसाथ विकास गर्नुपर्छ भन्ने उहाँको स्पष्ट भिजन थियो, अडान थियो । उहाँले त्यसै गर्नुभयो । अहिले पनि मुलुक त्यही बाटोमा हिँडिरहेको छ । पछाडि परेको सीमान्तकृत अर्थतन्त्र माथि नउठ्दासम्म अर्थतन्त्र टिकाउ हुन सक्दैन भन्ने उहाँको भनाइ थियो । त्यसैले उहाँका बजेटमा रुग्ण उद्योगलाई पनि हेर्नुभयो । ‘नौ स’ कार्यक्रम ल्याउनुभयो । वृद्धभक्ता ल्याएर सन्तुलत कायम गर्नुभयो ।
जहिले पनि अध्ययन गर्ने, कुरा सुन्ने, छलफल गर्ने उहाँको बानी थियो । कुनै नयाँ कुरा आए वा मनमा कुरा उब्जिए फोन गरेर बोलाउनुहुन्थ्यो, छलफल गर्नुहुन्थ्यो । कम्तीमा सातामा एक दिन त उहाँसँग त्यस्तो संवाद भइरहेको थियो । एकपटक वर्तमान अर्थमन्त्री युवराज खतिवडाजीले ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ कार्यक्रम मैले ल्याएको हुँ भन्नुभएको कुरा उहाँले कता सुन्नुभएछ र मलाई बोलाउनुभयो । अनि त्यो बजेट निर्माणका क्रममा को–को सम्लग्न थियौँ, के–के कुराकानी भएका थिए भनेर सम्झन लगाउनुभयो । युवराजजीको दावी उहाँलाई चित्त बुझेको थिएन । मैले ल्याएको कार्यक्रमलाई युवराजले किन आफ्नो भने भन्ने उहाँको खुब गुनासो थियो ।
नेकपाको बहुमतको सरकार बनेपछि बजेटमा सुझाब दिन भनेर उहाँले धेरै प्रयास गर्नुभयो । ०५१ सालमा अत्यन्त कमजोर सरकार, धेरै प्रतिकूलताका बाबजुद त्यस्तो लोकप्रिय बजेट ल्याएको व्यक्ति अहिलेको बलियो सरकारका निम्ती पक्कै केही राम्रा सुझाब दिऊ भन्नेमा हुनुहुन्थ्यो । त्यसैले अर्थमन्त्री र प्रधानमन्त्रीलाई भेट्न धेरै प्रयास गर्नुभयो । भेट्न नपाएपछि उहाँले पत्रपत्रिकामार्फत् बजेटबारे धारणा व्यक्त गरौँ भन्नुभयो र त्यसै गर्नुभयो ।
उहाँको निधनले मुलकले एउटा संयोजनकारी नेता गुमायो । जतिबेला पनि देश, पार्टी, पार्टी अर्थतन्त्रबारे चासो राख्ने अभिभाव गुमेको जस्तो लागिरहेको छ । विपरीत विचार राख्ने व्यक्तिसँग पनि कुरा गरेर सहमतिमा ल्याउन सक्ने संयोजनकारी क्षमता उहाँमा थियो । आफ्नो पार्टीमा मात्र होइन, अरु पार्टीमा पनि समस्या हुँदा उहाँ मिलाउनुहुन्थ्यो । उहाँले कयौँपटक तत्कालीन नेकपा एमाले र अन्य पार्टीबीच सम्बन्ध सुमधुर बनाउनुभएको छ ।
कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले त उहाँलाई निवासमै बोलाएर छलफल गर्नुहुन्थ्यो । उहाँको पार्टीभित्रको विवाद मिलाउन सल्लाह लिनुहुन्थ्यो । पार्टीभित्रका मामिला, विदेश मामिलामा पनि सल्लाह माग्नुहुन्थ्यो । सूर्यबहादुर थापाले समेत कतिपटक उहाँको त्यो संयोजनकारी क्षमताको लाभ लिनुभएको थियो । यसरी हेर्दा केन्द्रमा पार्टी एकता भएको, तलसम्म पुग्न नसकेको बेला नेकपाले अभिभावक गुमाएको छ । पार्टीलाई एकढिक्का बनाएर सरकारका नीति कार्यक्रम, बजेट कार्यान्वयन गर्न एकढिक्का बनाउन सक्ने नेता अब हाम्रोबीचमा रहनुभएन ।

प्रतिक्रिया दिनुहोस्