Logo
Logo

सरकार, एउटा बेड पाऊँ, प्लिज !

फोटो पत्रकारको डायरी


दृष्टि संवाददाता



काठमाडौं । कोरोनाका एक बिरामी शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको आँगनमा अक्सिजन लिँदै छटपटाइरहेका थिए । मैले तस्बिर खिच्ने क्रममा लेन्स घुमाउँदै गर्दा ती बिरामीले हातको इसाराले आफूतिरै बोलाए ।

म दोधारमा परेँ– जाऊँ कि नजाऊँ ? कोरोना महामारीको यो डरलाग्दो क्षण म कसरी जाऊँ रु जो कोरोना संक्रमणपछि अक्सिजन पाए पनि बेड नपाएर अस्पताल बाहिरै छटपटाइ रहेका छन् ।

सोचेँ– जान्नँ। ज्यानभन्दा ठूलो केही छैन ।

ती बिरामीले फेरि हातले इसारा गरेर बोलाए ।

मेरा पाइला अन्ततः बिरामी भएतिरै बढे। उनले समस्या बताउन थाले । मैले भौतिक दूरी कायम गरेर भिडियो खिच्न थालेँ । तर, अक्सिजनको एकोहोरो आवाजले राम्रो सुनिएन ।

उनले नजिकै मोबाइलमा रेकर्ड गरेर मलाई सुनाउन चाहे । तर, बोल्न गाह्रो भयो । तब उनले आफ्नो सहयोगीका रूपमा अस्पताल आएका छिमेकी सेख नजमुल हुदालाई इसारा गरे । हुदाले एकान्तमा लगेर बेली विस्तार लगाए ।

हुदाका अनुसार कोरोना संक्रमित योगेश केसी रहेछन् । केसी काठमाडौं महानगरपालिका वडा नम्बर १५ मा काम गर्छन् । नेपाल सफाइ श्रमिक संघका अध्यक्षसमेत रहेका केसीलाई महानगरमा काम गर्दागर्दै संक्रमण भयो ।

उनले भनसुन गर्दा पनि कुनै अस्पतालमा बेड पाएका छैनन् । अक्सिजन नहुँदा सास फेर्न गाह्रो भएपछि सोमबारै टेकु अस्पताल आएका रहेछन् ।

कुराकानीकै क्रममा उनका छोरासँग पनि भेट भयो । उनले भने, ‘मेरा बुवाले महानगरमा काम गर्दागर्दै घरमा कोरोना रोग ल्याउनुभयो । हामी परिवारका सदस्य सबै नौ जना नै संक्रमित छौं। मलाई अझै कोरोना निको भएको छैन । परिवार अनि बुवालाई बचाउन सकि नसकि हिँडिरहेको छु ।’

उनका अनुसार केसी अरूलाई पीरमर्कामा सहयोग गर्थे । ‘साथीहरूको समस्या सुन्दासुन्दै आज उहाँ आफैं संक्रमित हुनुभएको छ । हामीलाई पर्दा कसैले हेरेनन्’, उनले भने, ‘महानगरपालिकमा मेरा बुवाको राम्रो चिनजान छ । स्वयम्भू क्षेत्रमा सबैले चिन्छन् ।

राम्रो काम गरेको भनेर सबैले प्रशंसा पनि गरेको सुनिन्छ । तर, आज आपत् पर्दा महानगरका पदाधिकारीहरू कसैले वास्ता गर्दैनन् ।’, यो खबर आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्