तुम सबकी बिबी एकी हे ? « Drishti News – Nepalese News Portal
Logo
साहित्य

तुम सबकी बिबी एकी हे ?


तीर्थ सिग्देल


पहिलो रेल यात्रा
रेल यात्रा मेरो जीवनकै लागि पहिलो थियो । एक दिन जब हामी भारतको गोवाका लागि निस्केका थियौं । झण्डै १५ दिनसम्म देश छाडेर हिँड्दा गाह्रो भइरहेको थियो । त्यो भन्दा पनि यात्रामा लगातार रेलभित्रै बिताउनु पर्दा कताकता उकुसमुकुस भइरहेको थियो ।
सिलिगुडी एनजेपी रेल्वेबाट जब हाम्रो रेल छुटेको थियो । हामी नेपालीले रेल चढ्ने त कुरै छाडौं, धेरैले देखेको पनि हुँदैन । त्यै भएर होला, सुरुसुरुमा त निक्कै मजा आयो । रेल हेर्न पनि देशै छाड्नु पर्ने हुन्थ्यो । यो यात्राका दुई जना यस्तै रेल चढ्न र हेर्नका लागि देश छाड्ने मध्येका थियौं । अरु दुईजनाले यस्तो अनुभव यस अघि नै बटुलिसकेका कारण उनीहरुलाई कुनै असहज भएजस्तो लाग्दैनथ्यो ।

खासमा भारतीय रेल प्रणाली विश्वभरमै जोखिमयुक्त मानिन्छ । पुराना रेलले लगातार सेवा दिइरहँदा जोखिमको सम्भावना बढी नै हुन्छ । तरपनि भारतीयहरुलाई त्यस्तो नलाग्दो रहेछ । रेलमा यात्रा गरिरहँदा हामीलाई अति असहज हुन्छ, उनीहरुले त्यस्तो कुनै फिलिङ गरेको भान हुँदैनथ्यो । यस्तो लाग्छ, उनीहरु आफ्नै घरमा आरामसँग बसिरहेका छन् । बरु उनीहरु परिवारसँग रेलभित्रै हाँसिखुशी क्षण बिताइरहेका र आरामसँग निदाइरहेकोे देख्दा म जस्तो यात्रामा निन्द्रा नलाग्ने जन्तुलाई पीडा हुनु अस्वाभाविक होइन । म एउटा यस्तो प्राणी थिएँ, जो आफ्नो ओछ्यानभन्दा पर्तिर एक झप्को पनि निदाउन नसक्ने ।

तीन दिन तीन रातसम्म एउटै रेलको डिब्बाभित्र कोचिएर, तातोतातो ‘लू’ लाग्लाजस्तो हावाको सामना गर्दै गरेको यात्रा सुरुमा त निक्कै रमाइलो लाग्दो रहेछ । मान्छेको मन न हो, पहिले चाहेको कुरा पूरा गर्न मरिहत्ते गर्ने, प्राप्ति पछि बेवास्ता गर्ने । हो, हामी पनि यस्तै मान्छे थियौं । लुखुरलुखुर हिँडेर जीवन बिताइरहेका हामीहरु पहिलो पटक यस्तो महसुस गरिरहेका थियौं ।

मानौं हामी कुनै जेलका कैदी हौं ।
बस्ने, खाने, सुत्ने, उठ्ने फेरि सुत्ने । उज्यालो पार्ने, रात पार्ने फेरि उज्यालोको प्रतीक्षा गर्ने । यही नै मात्र काम थियो । बिच बिचमा टिटीले ए…टिकट, ए…टिकट भनेको आवाज सुन्ने र यात्रुहरुलाई हप्कीदप्की गरेकोे र खाना, नास्ता, चियाका लागि आफ्नो घरमा र ससुरालीमा भन्दा पनि बढी सत्कार गरेजस्तो गरेर क्षण-क्षणमा आइरहने मान्छेहरुको हल्ला त झन् निन्द्राका लागि शत्रु झैं भइगए । अझ रेलले प्रदान गर्ने अरु सेवा जस्तोः शौचालयको ब्यबस्थाले त निद हराम नै गराउँछ ।

विश्वमा ठूलो जनसंख्या भएको मुलुक भएर पनि होला या सोचमै गरिबी भएर हो । ठूलो देश भएर सानो विषयमा ध्यान नदिएर हो । आजपनि भारतका ग्रामीण बस्तीमा शौचालयको समस्या ठूलो छ । भारतका रेलहरुमा तपाइँ चढ्नु भयो भने यस्तै महसुस गर्न होइन, देख्न नै पाउनु हनेछ । रेलभित्र रहेका शौचालय गइसक्नुका हुन्नन् । अझ खुल्ला । त्यहाँबाट शौच रेलको लिकमै झर्छ । यो अवस्था त देख्दा उल्टी नै आउँछ ।

हुनत भारतीयहरुका लागि यस्तै भएपनि रेलको सेवा उत्तम रहेछ । उनीहरुका लागि यो विकल्पहीन विकल्प हो । किनकि त्यति ठूलो देश र त्यति धेरै जनसंख्या भएको मुलुकमा हरेक मानिसले न बसको यात्रा गर्न सम्भव छ न हवाई यात्रा गर्न । यही असम्भव यात्राका बिचमा भारतभरि आजपनि तिनै पुराना रेल कुदिरहेका छन् । उस्तै आवाज निकालेर । छुक…छुक…छुक …टूँ…

जेलजस्तै रेल
मानवीय आवागमनका लागि त यस्तो छ भने खाद्यान्न ढुवानीदेखि औद्योगिक उत्पादन, कच्चा पदार्थको ढुवानी र अत्यावश्यक वस्तुको सप्लाइको अवस्था कहालीलाग्दो छ । समुद्री बन्दरगाहबाट आउने सामानको सप्लाई चेनलाई भारतीय रेलहरुले धानेका छन् । त्यो चेनले उनीहरुका लागि मात्र काम गर्दैन नेपालजस्तो देशका लागि समुद्री बाटो हुँदै सामान बाटोका लागि पनि काम गरेको छ ।

यति लामो रेल यात्रा पूरा गरेपछि बल्ल हामी रेलमुक्त भयौं । जेलका बन्दी सरहको जीवन ब्यतित गरेर खुल्ला आकासमा विचरण गर्न पाउँदा खुशीको सिमै रहेन । लामो समयसम्म बिना कारण कैदी सरह जीवन बिताएर जेलमुक्त भएजस्तो भान भयो हामीलाई । यसरी रेलबाट छुटकारा पाएलगत्तै हामीले भारतको राजधानी नयाँ दिल्लीको गर्मीको सामना गर्नु पर्यो । नयाँ दिल्लीको तापक्रमले भने अर्को पीडा थपिरहेको थियो । तर, मान्छेको मन न हो, अघिको दुःखलाई भुलिदिने र क्षणिक सुखमा रमाइदिने । हामी पनि यस्तै प्राणी थियौं ।

रेलको डिब्बाबाट चिहाउँदा देखिने दृश्य सबै कहाँ मनमोहक हुन्थे र ? परबाट हेर्दा जुनसुकै चिज पनि सुन्दर र आकर्षक लाग्छ । रेलबाट देखिएका बिहारतिरका बस्तीहरु पनि सुन्दर देखिन्थे । बेलाबेला रेल रोकिएको बेला स्टेशनबाट देखिने दृश्यले भने मन खिन्न बनाउँथ्यो । त्यही सहर परबाट हेर्दा कति राम्रो देखिने तर नजिक पुगेपछि गन्धा र फोहर हुने । रेलभित्रबाट देखिने अरु दृश्य भन्दा फरक दृश्य ग्रामीण क्षेत्रका हुन्थे ।

अहिले सम्झन्छु, अक्षय कुमारको ट्वाइलेट एक प्रेमकथा चलचित्र, जहाँ भारतको चित्र झल्किन्छ । ट्वाइलेट मानिसका लागि, समाजका लागि कति अत्यावश्यक हुन्छ भन्ने बुझ्न त्यो चलचित्र हेरे हुन्छ । रेलका लिकहरुमा र छेउछाउका झाडीहरुमा पुच्छर फर्काएर बसिरहेका के पुरुष, के महिला । सबैको अभाव र आवश्यकता देखिन्छ त्यहाँ ।

बरु दिल्लीको सडकको गर्मी हाम्रा लागि निक्कै आनन्ददायक थियो । नयाँ ठाउँ, नयाँ सहर, नयाँ नयाँ दृश्य । ती दृश्यले मन भुलाइरहेको थियो । तर, नयाँ दिल्लीको सडकले हामीलाई एकदिन भन्दा बढी थेग्न सकेन । पाइलैपिच्छे पुदिनाको सर्बत किनेर खाँदा–खाँदा पनि हाम्रो पिसाव पहेंलै गइरहेपछि यहाँ बसिरहनु भन्दा अन्यत्र मोडिनुको विकल्प रहेन हामीसँग । अलिक बाँच्ने रहरले नै हो रहेछ मान्छेले प्रगति गरेको । हामी पनि अलिक समयसम्म बाँच्न चाहन्थ्यौं । यसरी फेरि पनि दिल्लीमै बसिरहने हो भने यो सिद्धान्तले काम नगर्ने पिरले हामीले त्यसपछि दिल्लीको सडक नापेनौं ।

नयाँ दिल्ली भारतको राजधानी मात्र नभएर घुम्न लायक गन्तव्य पनि हो । त्यसो त भारतकै तेस्रो ठूलो र प्राचीन सहर हो यो । यमुना नदीको किनारमा अवस्थित यो सहरले गौरवशाली पौराणिक इतिहास बोकेको छ ।

पुरातात्विक महत्वको यो सहरमा पुराना किल्ला, लाल किल्ला, लौह स्तम्भजस्ता थुप्रै प्राचीन कला अवलोकन गर्न पाइन्छ । लगभग सबै धर्मको प्रसिद्ध धार्मिक स्थलले यसलाई थप आकर्षक बनाएको छ । इन्डिया गेट, जामा मस्जिद, मुगल उद्यान, गार्डन अफ फाइभ सेन्सिस आदिले नयाँ दिल्लीको पर्यटकीय गरिमालाई उँचो बनाएका छन् । दिल्लीका ती प्रशिद्ध स्थानको सर्सर्ती अवलोकन गरेपछि हाम्रो यात्रा मोडियो आगरातिर । त्यतिबेला हामीलाई दिल्लीको गर्मीले भन्दा ताजमहलको हावाले तान्यो ।

आहा…ताजमहल
नामैले यति प्रख्यात ताजमहल अगाडि उभिएर फोटो खिचाउने सपना बल्ल पूरा भयो । यात्रा त एउटा सन्तुष्टि मात्र रहेछ । एउटा त्यही तस्बिर खिच्ने सपनाले मलाई आगरा पुर्याएको हो भन्दा फरक पर्दैन । सपना र योजना बरु ठूलो कुरा रहेछ ।

त्यही सपनाले हामीलाई ताजमहल अगाडि उभ्याएको थियो । जहाँ धेरैबेर उभिएर हामीले फोटो खिचिरह्यौं । त्यो भयानक ताजमहललाई सा…नो बनाएर पनि हामीले क्यामरामा हेर्यौं । ताजमहलको टुप्पो समातेर पनि फोटो खिच्यौं । गणेश पोखरेल, बिशाल नेम्बाङ, रितेश झा र मैले पालैपालो यस्ता तस्बिरमा ताजमहलको टुप्पो समात्यौं र भन्यौ, ताजमहल आज हाम्रो कैदी भएको छ ।


आगरा आफँले पर्यटक लोभ्याउने सामथ्र्य राख्छ । यमुना नदीको तटमा अवस्थित आगरा सहर खासगरी ऐतिहासिक स्मारकहरूका लागि प्रसिद्ध छ । मुगल शासनकै क्रममा निर्माण गरिएका सुन्दर स्मारकले आगरालाई आकर्षक बनाएको छ । यहाँको हस्तशिल्प एवम् सिंगमरमरमा कुँदिएका सुन्दर आकृतिले पर्यटकको मन यसै तान्छ ।

आगरामा थुप्रै दर्शनीय स्थल छन् । जस्तो कि, ताजमहल । दिल्लीका सम्राट शाहजहाँले महारानी मुमताजका लागि निर्माण गरिदिएको ताजमहल मानवनिर्मित विश्वकै सातौं आश्चर्यमध्ये एक हो ।

भारतको उत्तर प्रदेश प्रान्तमा पर्ने आगराको पहिचान छुटुटै छ । समुद्र तटदेखि यसको औसत उचाई करीब १७१ मीटर (५६१ फीट) छ । यो उत्तरमा मथुरा, दक्षिणमा धौलपुर, पूर्वमा फेरिजाबाद, शिकोहाबाद, दक्षिणपूर्वमा फतेहाबाद र पश्चिममा भरतपुरदेखि घेरिएको छ । आगरा उत्तर प्रदेशको तेस्रो सबैभन्दा ठूलो सहर हो । आगरा एक ऐतिहासिक नगर पनि हो ।

त्यस्तो त आगराको इतिहास मुख्यरूपले मुगल कालदेखि जानिन्छ । यसको सम्बन्ध महिर्शि अङिगरादेखि छ, जो १००० वर्ष ईसा पूर्वको हो । इतिहासमा आगराको नाम महाभारतका समयदेखि मानिन्छ, जब यसलाई अग्रबाण वा अग्रवनका नामले सम्बोधित गरिन्थ्यो । पहिला यो नगर आयकग्रहका नामले पनि जानिन्थ्यो । तौलमी पहिलो व्यक्ति थियो, जसले यसलाई आगरा नामले सम्बोधित गरेका थिए ।

आगरा सहरलाई सिकन्दर लोदीले सन् १५०६ ई. मा बसाएका थिए । आगरा मुगल साम्राज्यको चहेती स्थान थियो । आगरा १५२६ देखि १६५८ सम्म मुगल साम्राज्यको राजधानी रह्यो । आज पनि आगरामा मुगलकालीन संरचना र इमारतहरू जस्तैः ताज महल, लाल किला, फतेहपुर सीकरी आदिको एक विख्यात पर्यटन स्थल छ । यी इमारतहरू युनेस्को विश्व धरोहर स्थलको सूचीमा सामेल छन् ।

बाबर (मुगल साम्राज्यको जनक) ले यहाँ चौकोर (आयताकार एवम् वर्गाकार) बागहरूको निर्माण गराए । आगराको ताजमहलमा शाहजहाँको प्रिय बेगम मुमताज महलको मकबराजस्ता विश्वको सबैभन्दा प्रसिद्ध इमारतहरू छन् । यो विश्वका सात अनौठो मध्येको एक हो ।

ताजमहलको १६५३ मा निर्माण पूरा भएको थियो । यो मुगल बादशाह शाहजहाँले आफ्नो बेगम मुमताज महलको सम्झनामा बनाएका थिए । पूरै श्वेत सिंङ्गमर्मरमा बनाइएको ताजमहल विश्वको पनि अत्युत्तम कृतिका रुपमा चिनिन्छ । यो बनाउन २२ बर्ष लागेको थियो । यसलाई विश्व सम्पदाको सर्वत्र प्रशंसा पाउने अत्युत्तम मानवीय कृतिहरू मध्येको एक बताइएको छ ।

ताजमहललाई भारतको इस्लामी कलाको रत्न पनि घोषित गरिएको छ । साधारणतया देखिएको सिंङ्गमर्मरको पातोहरूको ठूलो ठूलो तहबाट छोप्न बनाएका भवनहरूको सरह नबनाएर यसको श्वेत गुम्बद तथा टाइल आकारमा सिङ्गमर्मरबाट छोपिएको छ । केन्द्रमा बनाइएको समाधिस्थलले आफ्नो वास्तु श्रेष्ठतामा सौन्दर्यको संयोजनको परिचय दिन्छ । ताजमहल भवन समूहको संरचनाको पूर्णतया समतिताकार छ । उस्ताद अहमद लाहौरीलाई यसको प्रधान डिजायनकर्ता मानिन्छ ।

अन्तर्राष्ट्रिय पाहुना बन्दा
यसरी कठिन रेल यात्रा गरेको केही बर्षपछि फेरि यस्तै यात्राको अवसर जुर्यो । एउटा अन्तर्राष्ट्रियस्तरको कार्यक्रममा भाग लिन पाउनु त सुखद् नै हो । तर, जब त्यही भारतीय रेलको यात्रा गर्नु पर्दाको पीडा म सम्झन्छु । त्यतिबेला मन खिन्न हुन्छ । के अब पनि उस्तै यात्राका लागि तयार हुन सकिन्छ ? भन्ने प्रश्न मनमा उब्जिन्छ ।

हैदराबाद ?
हो…हैदराबाद । दीपकको यो प्रस्ताव भने गलत थिएन । प्रस्तावलाई लत्याइहाल्न पनि मनले मानेन । ठाउँको नाम सुन्ने बित्तिकै हिँड्न मन लाग्ने तर उही रेलको यात्राले भने झस्काइरहने ।
तैपनि हामी निस्कियौं, उही रेल यात्रामा । उही स्टेशन, उही शैली । फेरि उस्तै रेलको सेवा, उस्तै दिन, उस्तै रात । उस्तै पानोरमा । उस्तै दृश्य । सिलिगुडीको एनजेपी रेल्वे स्टेशनबाट रेलले धुँवा छुटायो, आवाज निकाल्यो । आफ्नो गति देखायो । रेलले आफ्नो निर्धारित गन्तब्य तय गर्यो ।
यो पटकको रेल यात्रा पनि उस्तै थियो । फरक यियो त साथीसंगीहरुको साथ मात्र ।


बिशाल भारतको दक्षिणी राज्य (साउथ इण्डिया)को राजधानी हैदराबादका परिचय धेरै छन् । हैदराबाद तेलङ्गना र आन्ध्र प्रदेशको संयुक्त राजधानी हो । ६५० स्क्वायर किलोमिटर क्षेत्रफलमा रहेको यो सहर मूसी नदीको किनारमा अवस्थित छ । हैदराबादलाई निजामोहरुको सहर तथा मोतीहरुको सहर पनि भन्ने गरिन्छ । यो भारतको सर्वाधिक विकसित नगरहरु मध्ये एक हो । भारतमा सूचना प्रबिधि एवम् जैविक प्रविधिको केन्द्र बन्दै गइरहेको छ, हैदराबाद ।

हुसैन सागरबाट विभाजित, हैदराबाद र सिकन्दराबाद जुम्लिया सहर हो । यहाँको प्रसिद्ध चारमीनार प्लेग महामारीको अन्त्यको सम्झना स्वरुप मुहम्मद कुली कुतुब शाह ले १५९१ मा सहरको बीच भागमा बनाएका थिए । गोलकुन्डाको कुतुबशाही सुल्तानहरुद्वारा बसाइएको यो सहर आकर्षित इमारतहरु र जिब्रो रसाउने खानाहरुको कारणले प्रख्यात रहेको रहेछ । भारतको नक्सामा एउटा प्रमुख पर्यटकीय स्थलको रूपमा हैदराबाद बेग्लै पहिचान राख्दछ ।

मूलतः यो भारतमा मात्र नभएर विश्वमै फिल्म उद्योगका लागि प्रख्यात मानिन्छ । आजको भारतमा बनिररहेका धेरै फिल्म र बरिष्ठ कलाकारहरुको उद्गम् थलो साउथ नै हो । विश्वमै ठूलो फिल्म उद्योगकोे रुपमा बलिउडलाई मानिन्छ । त्यसपछि हलिउडको रुपमा मुम्बई चिनिन्छ । तर, साउथ इण्डियाले भारतमा बन्ने चलचित्रको धेरै प्रतिसत भार बोकेको छ । रामोजी फिल्म सिटी फिल्म निर्माण गर्ने ठाउँ हो । एउटा व्यक्तिले निर्माण गरेको त्यो फिल्म सिटीमा सबै किसिमका फिल्महरु बन्छन् ।

हैदरबाद नामको पछाडि धेरै धारणाहरु रहेछन् । एक प्रसिद्ध धारणा मानिएको छ कि, यस सहरलाई बसाइ सकेपछि मुहम्मद कुली कुतुब शाहले एक स्थानीय बंजारा केटी भागमतीसँग प्रेम गरेछन् । ती केटीसँगको विवाह पश्चात उनले इस्लाम धर्म स्वीकार गरे र उसका नयाँ नाममा हैदर महल बनाए । र, सहरलाई पनि नयाँ नाम दिए, हैदराबाद । अर्थात, हैदरद्वारा बसाइएको सहर ।

हैदराबाद पुग्ने र घुम्ने रहरले हामीलाई तानिरह्यो । त्यही लालसाले रेलमा रात पार्दै दिन झेल्दै अगाडि बढिरह्यौं । भलै, हाम्रो भ्रमणको उद्देश्य घुम्ने मात्र थिएन । अर्थात्, घुम्ने भनेर यायाबर झैं हुनु हुँदैन । बरालिएर हिँड्नु उचित हुँदै होइन । कुनै न कुनै बहानामा घुम्न निस्केमा मात्र यात्राको सार्थकता मिल्नेछ । नत्र भ्रमणको सार्थकता हुँदैन । घुम्नु त एउटा बहाना मात्र हो । यसका लागि कुनै निर्धारित कार्यक्रम चाहिन्छ । लक्षित योजना र सोच चाहिन्छ । त्यस पटकको यो यात्राका सहयात्री हामी थियौं । म, दीपक दास, उमेश अकौलिया र प्रबुल केशी क्षेत्री ।

दीपक भने यस अघि पनि यही बाटो भएर त्यहाँ पुगेको रहेछ । त्यै भएर मात्र मलाई उसको साथ दिन मन लागेको हो । धेरै जसो अनजान यात्रामा हिँड्नु त्यति उचित होइन । थाहा छैन, नत्र म जान तयार हुने थिएँ कि थिइन ? यस यात्रामा मैले नजाने बारेको एउटा निर्णयमा पुनर्विचार गरेको थिएँ । किनभने भारतभरिको रेलको यात्राले कष्ट महसुस गराउँछ । सम्झदै पनि नजाउँ नजाउँ लाग्ने । घण्टौंसम्म एउटै रेलको डिब्बाभित्र कोचिएर बस्नु पर्दाको पीडाको कतिपटक म बयान गरु ?

फेरि पनि भन्छु, घुम्नु केवल मनोरन्जनका लागि मात्र हुँदैन । त्यसका लागि कार्यक्रम, समय र अवसर जुर्नु पर्छ । अझ म निरुद्देश्य घुम्ने प्राणी पनि होइन । भ्रमणका लागि निस्कनुपूर्व त्यस यात्रा र ठाउँका बारेमा जानकारी लिने र योजनाबद्ध तरिकाले घुम्ने योजना बनाइएमा समस्या पनि हुँदैन रहेछ ।

यस पटक हामी थियौं, भारतमै शैक्षिक तालिम र मानव विकासको क्षेत्रमा प्रख्यात संस्था वाला विकासा नामक संस्थाको कार्यक्षेत्रमा । यो संस्थाको प्रधान कार्यालय भारतको तेलङ्गना राज्यको वारंङ्गल सहरमा । जब हामी त्यो संस्थाको कार्यालयमा पुग्यौं, हामी उनीहरुको अन्तर्राष्ट्रिय पाहुना बन्यौं ।

अहँ… त्यसपछि रेल चढिन
अहिले पनि भारतको रेलको यात्रा सम्झँदा झसंङ्ग हुन्छु । पहिलो पटकको हाम्रो भारतको रेल यात्राका क्रममा भोगेका दुःख र कठिनाईले मलाई श्रीलंका जाने बेलामा रेल चढ्न मन लागेन । श्रीलंका जानका लागि भारतको चेन्नई हुँदै जाने योजना बनाइएको भएपनि मैले त्यहाँसम्म पुग्नका लागि रेल नचढ्ने निर्णय लिएँ । जति नै खर्च बढी किन नलागोस्, त्यस पटक भने मैले रेल चढिनँ । बागडोगराबाट कलकत्ता । कलकत्ताबाट चेन्नई । चेन्नइबाट कोलम्बो । बरु एकैदिन मैले यो यात्रा पुरा गरें ।
अहँ… रेल चढिनँ ।

बरु भारतीय रेलका बारेमा खोज्न लागें ।

भारतीय रेल (आईआर) एसियाको सबभन्दा ठूलो रेलवे सञ्जाल रहेछ । यो भारत सरकारको एकल व्यवस्थापन अन्तरगतको यो विश्वको दोस्रो सबभन्दा ठूलो रेलवे सञ्जाल रहेछ । यो १५० वर्षभन्दा पनि धेरै समयसम्म भारतको यातायात क्षेत्रको मुख्य सम्बाहक बनेको पाइयो । यसमा १६ लाखभन्दा बढी कर्मचारी कार्यरत रहेछन् । भारतीय रेलको संजालले भारतकोे मूल संरचनात्मक आवश्यकताहरूलाई पूरा गर्नमा महत्वपूर्ण भूमिका निभाएको मात्र रहेनछ । छरिएका क्षेत्रलाई एक साथ जोड्न राष्ट्रिय विपत्तीको समयमा त्यस्ता क्षेत्रहरूमा राहत सामग्री पुर्याउन विशेष भूमिका खेलेको रहेछ ।

भारतीय अर्थव्यस्थामा अन्तर्देशीय यातायातको रेल मुख्य माध्यम बनेको छ । भारतीय रेल प्रणालीले भारतका मात्र नभएर कतिपय नेपालीहरुलाई पनि र टाढा टाढाका ठाउँबाट मानिसलाई एक साथ मिलाउनुका साथै व्यापार, दृश्य दर्शन, तीर्थयात्रा र शैक्षिक यात्रालाई जोडेको छ । गुजरातदेखि आसामसम्म र कस्मिरदेखि कन्याकुमारीसम्म फैलिएको, दैनिक २३ लाख मानिसहरुको आवागमन हुने, विश्वकै चोथो रेलवे नेटवर्क भएको मुलुक भारतमा रेलमन्त्री नै छन् । लालुप्रसाद यादव लामो समयसम्म रेलमन्त्री भएको भारतीय रेलका कथा हामीले सानैमा धेरै सुनेका हौं ।

हाम्रा बाबुबाजे भारततीर गएर आउँदा ल्याउने रेलको टिकट देख्दा हामी छक्क पर्दथ्यौं । त्योभन्दा पनि गाउँघरमा कुनै महिला सुत्केरी हुन नसक्दा रेलको टिकट सिरानीमा राख्दा बच्चा जन्मेका किस्सा सुन्ने गर्दथ्यौं । अहिले लाग्छ, के रेलको त्यो टिकटमा त्यस्तो के क्षमता थियो, जसले जन्मन नसकेको बच्चा जन्मन्थ्यो । नेपाली समाजमा हुर्किएको एउटा पुरातन प्रबृत्ति हो त्यो । जसका कारण धेरै सुत्केरीले अकालमा ज्यान गुमाए होला ।

यस्ता प्रश्नको उत्तर खोज्ने भ्रमणको उद्देश्य त थिएन तर मान्छेको मन न हो । अहिले सोच्यो, त्यो गरिहाल्यो । सायद मनोनेट भनेकै यही हो । मनले मनको कुरा बुझ्ने । एकबाट अर्कोमा संचार गर्ने ।

दिल्ली, मुम्बई, कोलकाता, हैदराबाद लगायतका सहरहरुको कुरा होइन । त्यहाँ त मेट्रो र मोनो रेल बनिसके । यो कुरा त भारतका ती गाउँमा बस्ने मान्छेहरुको मनको कुरा हो । जोखिपूर्ण रेल यात्रा भनेर धेरै पटक नभनौ तर भारतीय अर्थतन्त्रको बढी भार सहने भारतीय रेलको सुधार र सम्हारप्रति भारत सरकारले किन कम ध्यान दिएको होला ? अब भारतीय रेलको अवस्थामा कहिले सुधार होला ?

विश्वका अति सम्पन्न र सम्पन्नतातिर दौडिरहेका देशहरुले आफ्नो देशको यातायात प्रणालीलाई परिवर्तन गरिसकेका छन् । चिनमा बुलेट ट्रेन चल्छन् । जापान, सिंगापुर, थाइल्याण्ड, यूरोप र अमेरिकाको धेरै उदाहरण दिइरहन आवश्यक छैन । केही दशकमै आर्थिक प्रगतिका लागि विश्वमै अगाडि बढिरहेका मिडिल इष्टका देशहरु हुन् या कतिपय सयौं बर्षदेखि नै रेल संस्कृतिमै हुर्किएका राष्ट्रहरुका कथा हुन् । ती सबै देशले गरेको प्रगतिका कथा सुन्दा र पढ्दा हाम्रो देशमा उब्जेको रेलको सपना र जगाएको आशाले अलिकति भएपनि राहत मिल्छ ।

कुरा अर्को छ ।
अरु देशका सहरहरुमा तिब्र गतिमा चल्ने बुलेट, मेट्रो र मोनो रेलको यात्राले हसाउँछ, खुशी ल्याउँछ । उमंग छाउँछ । भारतीय रेल यात्राका केही प्रसंग र घटनाक्रमले पनि हसाउँछ, तर पीडा र दुःखद् हाँसो । भारतका रेलहरुमा यात्रा गर्ने यात्रुहरुले पाउने धेरै दुःख र कष्ठ मध्ये तेस्रोलिङ्गीहरुले गर्ने ब्यबहारले मान्छेलाई आजित बनाउँछ । मान्छेलाई हसाउँछ पनि । यसलाई रेलकै सेवा मान्ने हो भने उनीहरुले प्रदान गर्ने निःशुल्क सेवा र मनोरन्जनलाई के मान्ने ?

तेस्रोलिङ्गीहरुको देश
एक दिन ।
हामी मुम्बईबाट फर्कदै थियौं । कुनै रेल्वे स्टेशनमा रोकिएको रेल अगाडि बढ्यो । त्यसको केही बेरमै एक हुल तेस्रोलिङ्गी हामी बसेको डिब्बामा देखिए । यसै होमसिक भएर मन बुझ्न नसकेको बेला लगातार जसोको यात्रामा त्यस्ता अनुहारको दर्शन गर्न पाइरहँदा मन खल्लो भइरहेको थियो । खुद्रा पैसाको अभाबमा उनीहरुलाई फस्र्याउन गाह्रो परिरहको थियो । त्यसबेला हामीले एउटा जुक्ति निकाल्यौं । जब उनीहरु हात पड्काउँदै आउँछन् । त्यतिबेला निदाएको नाटक गर्ने ।

रेलमा म सुतिरहेको थिएँ । त्यतिबेला मलाई त निदाएको नाटक गर्न गाह्रो परेन । तर, तल्लो सिटमा ढल्केर बसेको विशाललाई भने गाह्रो परेछ । जब एउटा (?) तेस्रोलिङ्गी विशालको छेऊमा देखियो । तब विशालले निदाएको नाटक गरे । तर, त्यसले देखेछ । उसले दुई पटकसम्म देदे भन्दै हात पड्कयो । तर पनि विशालले आँखा नखोलेपछि उसले विशालको पाइन्टको त्यो ठाउँममा समात्यो र भन्यो, ए कान्छा… क्या नाटक करते हो … देन …दे । त्यसपछि विशाल झस्किए र १० रुपैयाँ निकालेर दिए । त्यतिबेला हामीमा हाँसो गुन्जियो । उनी कालोनीलो भए ।

त्यस्तै घटना सम्झदा आज पनि हाँसो उठ्छ । हैदराबादबाट फर्कदै गर्दा म कलकत्तासम्म मात्र रेलमा आएँ । त्यसबाटोमा पनि तेस्रोलिङ्गीहरु उत्तिकै थिए । मानौ, भारत तेस्रोलिङ्गीहरुको देश हो । जुन रेल चढेपनि, जुन स्टेशनमा उत्रेपनि तेस्रोलिङ्गी नै तेस्रोलिङ्गी । त्यो बाटोमा पनि तेस्रोलिङ्गीहरुले हैरान पारे । देन…दे भन्दै ।

बरु भारतीय वा हिन्दी भाषी भए केही जोगिन सकिने रहेछ । नत्र उनीहरुको फन्दामा परिहालिने । जस्तोः उनीहरुको पन्जाबाट बँच्नु सम्भब पटक्कै होइन कि पूरै असम्भब हो ।

यसरी पैसा मागेर जीविको चलाउनु उनीहरुको रहर होइन बाध्यता होला । तर, संसारको एउटा यस्तो मात्र देश भारत हो, जहाँ करोडौको संख्यामा तेस्रोलिङ्गी छन् । कस्तो अचम्म…? उनीहरुले मागेरै जीवन चलाउनु पर्ने ? कस्तो बाध्यता र कस्तो विपन्नता ? गरिबी त अपाङ्गतामा मात्र हुँदैन । अपाङ्गताले धनी र गरिब भन्दैन । धनी परिबारमा जन्मेको मान्छे पनि अपाङ्ग हुन सक्छ । सम्पन्न घरमा पनि तेस्रोलिङ्गी हुन सक्छन् । तर, भारतका रेलहरुमा केही दिन यात्रा गरेमा थाहा हुनेछ । यो मान्यता गलत हो । यो भनाइ सर्वथा झुठ हो । भारतका सबै तेस्रोलिङ्गीहरु गरिब छन् । विपन्न छन् । सडकमा सुतेका छन् । उनीहरुको चुल्हो बलेको छैन ।

के विश्वमै शक्तिको हुँकार गर्ने भारतमा पशुतुल्य जीवन बिताइरहेका ती तेस्रोलिङ्गीहरुको वैकल्पिक पेशाको ग्यारेन्टी गर्न सरकारले सक्दैन ? सामाजिक सेवा भावको दह्रिलो उदाहरण बोकेको भारतका एनजीओहरुको ध्यान त्यतातिर किन नपुगेको होला ? हाम्रो देशमा पनि तेस्रोलिङ्गीहरु छन् । तर, उनीहरुले सडकमा, बसमा वा सार्वजनिक स्थानमा गएर मागेको देखिएको छैन त । काठमाडौंमा, जिल्लाहरुमा पनि छन् उनीहरु । काठमाडौंमा व्लु डाइमण्ड सोसाइटी नै छ । जसले उनीहरुको रेखदेख र समन्वय गर्दछ । उनीहरुका पनि समस्या होलान् । कठिनाइ धेरै हुन सक्छन् । तर, उनीहरु सडकमै माग्न निस्केका छैनन् त ।

यस्तै सोच र विचार मनमा खेलिरहेको बेला फेरि उस्तै मान्छेहरु देखिए । उनीहरुबाट बँच्ने पुरानो शैली फेल भइसकेको थियो । नयाँ कुनै तरिका सोच्न पनि सकिएन । न त्यो शैली अपनाउन सकियो, न कुनै नयाँ आइडिया आयो । यद्यपि, स्टेशनै पिच्छे खुद्रा पैसा निकालेर बसिरहनु परेको बेला चारैजनाले एउटा जुक्ति निकाल्यौं र, भन्यौं, …हम सब एकी हे ।

यो भनाइ भुइमा खस्न नपाउँदै त्यो केटीको जस्तो अनुहार र शारिरिक बनावट भएकी तर पुरुषको जस्तो बोली निकालेर उसले भन्यो, क्या तुम सबकी बिबी एकी हे ? सब एकी बिबीके पास जाओगे क्या ?

त्यसपछि हामी अवाक् बन्यौं । हामीसँग उसलाई दिने कुनै उत्तर थिएन । हामीले एक अर्काबीच मुखामुख गर्र्यौ । त्यसपछि सबैले दश दश रुपैया निकाल्यौ र दियौं । उनीहरुले यतिसम्म गर्लान् भन्ने हामीले अनुमान गरेकै थिएनौं ।

सिग्देलको प्रकाशित यात्रा संस्मरण (एक दिन समय कथा) बाट

प्रतिक्रिया दिनुहोस्