
हामीले नेपाली समाजलाई रूपान्तरण गर्दै अघि बढ्ने क्रममा २०६२–०६३ मा नेपालमा पुँजीवादी जनवादी क्रान्ति सम्पन्न ग¥यौ । देशमा शताब्दीयौं देखि रहेको राजतन्त्रलाई उन्मूलन ग¥यौ । देशलाई लोकतान्त्रिक गणतन्त्र नेपालमा पु¥यायौं । त्यसपछि संविधान सभाको निर्वाचन ग¥यौं ।
संविधानसभाबाट सफलतापूर्वक नेपालको संविधान बनायौं । यी सबै हामी सबैका ऐतिहासिक उपलब्धिहरु थिए । संविधान घोषणा पछि २०७४ मा हामीले पहिलो आम निर्वाचन सम्पन्न ग¥यौ । वामपन्थी एकता गरेर भएको उक्त निर्वाचनमा हामी वामपन्थीहरूले १७७ सिट जित्यौ । करिब दुई तिहाई सिट जित्यौ ।
तत्कालीन दुई पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी) पार्टी बीचमा एकीकरण सम्पन्न भयो । त्यति मात्र होइन प्रदेशहरूमा बहुमत ल्याउनका साथै पालिकाहरूमा समेत हामीले ६०% सिट प्राप्त गरेका थियौं । त्यसपछि देशमा कमरेड के.पी ओलीको नेतृत्वमा एउटा शक्तिशाली सरकार गठन भयो । त्यो सरकार गठन हुने बित्तिकै आम जनतामा, श्रमिक र किसानहरूमा तथा युवा विद्यार्थी,पेशाकर्मीहरू, जनजातिहरू, दलित र अल्पसंख्यक जनतामा आशा र विश्वास चुल्लिएको थियो ।
अब मुलुक समाजवादी क्रान्ति र रूपान्तरणको दिशातिर अघि बढ्छ भन्ने सबैको आशा थियो । त्यस प्रक्रियामा अब देशमा भूमि सुधार हुनेछ,कृषि क्रान्ति हुनेछ र राष्ट्रिय औधोगिकरण हुनेछ । शिक्षा र स्वास्थ्यमा क्रान्तिकारी परिबर्तन र रुपान्तरण हुनेछ । अब श्रमिक,भूमिहिन,गरिब, मध्यम किसानका लागि रोजगारी र सुरक्षाको ग्यारेन्टी हुन्छ र देश ब्यापक आर्थिक रुपान्तरण तिर अघि बढ्नेछ भन्ने आम जनतालाई लागेको थियो । युवा र बिधार्थीहरु त्यति कै उत्साही र आशाबादी थिए ।
तर त्यो सरकारले जनताका आशा र आकांक्षा विपरीत पार्टीभित्रका ससाना अन्तरविरोधहरूलाई समाधान गर्न नसकी त्यही अन्तरविरोधका नाममा जनताले काम गर्नका निम्ति निर्वाचन गरेर खडा गरेको संसदलाई नै असंवैधानिक रूपले विगठन गर्न पुग्यो । भूमिसुधार, कृषिक्रान्ति, औद्योगिकरण, शिक्षा, स्वास्थ्यमा कुनै ठोस र आमूल सुधार वा परिवर्तन हुन सकेन ।
जनताका गाँस,बास, कपासका समस्याहरू, शिक्षा र स्वास्थ्यका समस्याहरू तथा रोजगारी र सुरक्षाका समस्याहरु कुनै पनि समाधान हुन सकेनन । त्यसले आम श्रमिक र किसान जनता र युवा विद्यार्थीलाई बृहद असन्तुष्ट बनायो । त्यसले गर्दा उनीहरुको ठुलो हिस्सा हर दिन बाहिर जान थाल्यो । ओली सरकार बिघटन भएर बनेका एकपछि अर्को गठबन्धनका सरकारहरुले पनि जनता र राष्ट्रका इच्छा र आकांशालाई झन बढी बेवास्ता गर्न थाल्यो । २०७९ मा भएको चुनाबबाट त्रिशंकु संसद बनेपछि यो प्रक्रिया झन ब्यापक बन्दै गयो । जीबन झन कष्टमय बन्दै गयो । महंगी बढ्दै गयो । उधोग धन्दा नँया खुल्न सकेनन । भएका उधोगहरु पनि बन्द हुन थाले । अझ पछिल्लो कालमा नेपाली काग्रेस र नेकपा (एमाले)को गठबन्धनको सरकार बनेपछि भ्रष्टाचार र कुशासन झन चरम अबस्थामा पुग्यो । त्यसले जनतालाई झन बढी असन्तुष्ट,बिरोधी र आक्रोशित पार्दै लग्यो । देशी बिदेशी प्रतिक्रियाबादीहरु यहि मौका खोजी रहेका थिए ।
बड्दो जन असन्तोष र रास्वपाको स्थापना
यसरी आम नेपाली जनताको बढ्दो असन्तुष्टिका बीच अमेरिकी साम्राज्यवाद र उनीहरूका नेपाली सहयोगीहरू मार्फत जनताको यो असन्तोषलाई उनीहरूको षड्यन्त्रपूर्ण उद्देश्यतिर मोड्न घनिभूत प्रयत्न गरिरहेका थिए । त्यही क्रममा नेपालमा २०७९ मा एउटा नयाँ पार्टी “राष्ट्रिय स्वतन्त्र पार्टी” स्थापना गरे । जसको चुनाव चिन्ह घन्टी राखियो ।
त्यसैलाई विकल्पका रूपमा प्रचार गर्न थालियो । त्यसलाई आधुनिक प्रविधि मार्फत असन्तुष्ट नेपाली जनता बीच पु¥याउन र उनीहरूलाई प्रभावित पार्न अनेक तरिकाहरु अपनाइयो । साथ लागे । यस प्रक्रियामा उनीहरूले सामाजिक सञ्जाललाई व्यापक रुपले प्रयोग गरे । त्यस मार्फत उनीहरूले गणतन्त्रका संस्थापक पार्टीहरू विरुद्ध, पार्टीका नेताहरूका विरुद्ध असाधारण रुपले घृणा फैलाउने काम गर्दै गए ।
यता देशको आन्तरिक परिस्थितिमा एमाले र कांग्रेसको गठबन्धनको सरकार बनेपछि त जनतामा त्यो असन्तोष र घृणा चरम चुल्लीमा पुग्न थाल्यो । जनताको त्यो असन्तोषलाई राजावादीहरूले समेत उपयोग गर्न खोजे । तर राजावादीहरूको चुरीफुरी आफै निस्तेज बन्न पुग्यो । आधुनिक प्रविधि र सामाजिक सञ्जाल मार्फत जनअसन्तोषलाई भने हर प्रकारले तीव्र र व्यापक बनाउँदै लगियो ।
सामाजिक सञ्जालको दुरुपयोग र प्रतिबन्ध
यसै बीच नेपालमा निर्बाध रुपले स्थापना गरिएका गैर सरकारी संस्था र अत्यन्त अराजक ढंगले सञ्चालित भइरहेका केही सामाजिक सञ्जालहरूले गरेका अश्लिल, फोहोरी र मर्यादाहीन प्रचारलाई व्यापक बनाउँदै लगिरहेका थिए । यस्ता सञ्जालहरूलाई सुरु देखि नै ऐन कानुनहरु बनाएर नियमनका आधारमा मात्र सञ्चालनमा ल्याउन स्वीकृति दिनुपर्ने थियो । सरकारले त्यस कुरालाई सुरुदेखि नै ध्यान दिन सकेन ।
परिणामस्वरूप सामाजिक सञ्जालका कतिपय संस्थाहरू बिल्कुलै बेलगाम ढङ्गले जे पायो त्यही प्रचार गर्न र पार्टी नेताहरुका विरुद्ध घृणा फैलाउने काम गरिरहेका थिए । त्यस्तो अवस्थामा कानुनी आधारहरु तयार गर्ने र सार्वजनिक जनमत बनाउने काम नगरिकन अचानक जस्तो १९ भदौ २०८२ मा मुलुकमा सञ्चालित २६ वटा सामाजिक सञ्जालहरूलाई एमाले कांग्रेसको सरकारले प्रतिबन्ध लगाउन पुग्छ । त्यो निर्णयले आम जनता, व्यवसायीहरु र सबैलाई प्रभाव पार्छ । सूचना प्रवाहहरू नै रोकिन पुग्छन । सरकारको यो कदम पार्टी र नेताहरूका विरुद्ध घृणा फैलाउने जमातका लागि एउटा सुनौलो औसर बन्न पुग्यो ।
सत्ताको उन्मादमा बसिरहेको झन्डै दुई तिहाइको “शक्तिशाली” सरकारले देशमा जनताको मनस्थिति के भइरहेको छ बिल्कुलै बुझ्न सकेन । त्यसले भूराजनीतिक शक्तिहरू नेपाल, नेपाली जनता र नेपाल राष्ट्रका विरुद्ध कस्तो षड्यन्त्र गरिरहेका छन र उनीहरू जनतामा विकास गरिरहेको असन्तोष र विरोधलाई कसरी उपयोग गर्ने खोजी रहेका छन भन्ने बारेमा सरकार बिल्कुल बेखबर रहेको थियो ।
“जेन्जी” आन्दोलन
त्यस्तो जटिल अबस्थामा सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको घटनालाई उपयोग गरेर देशमा “जेन्जी” आन्दोलनको योजना बनाइयो । म्ष्कअयचम माध्यममा पहिलेदेखि नै पोख्त बनेका र बनाइएका व्यक्तिहरू मार्फत युवा विद्यार्थीलाई विरोध प्रदर्शनमा उतार्ने निर्णय गरियो ।
त्यसका लागि “प्रतिबन्धित सामाजिक सञ्जाल खुल्ला गर, भ्रष्टाचारको अन्त्य गर, र सुशासनको स्थापना गर” भन्ने ३ वटा मागहरू अघि सारेर २३ भदौ २०८२ बिहान काठमाडौँको माइती घरबाट युवा विद्यार्थीको जुलुस निकालियो । त्यो जुलुस प्रशासनमा सहमति लिइकन शान्तिपूर्ण ढंगले सञ्चालन हुने प्रतिबद्धताका साथ सुरु गरिएको थियो ।
त्यसलाई “जेन्जी आन्दोलन” भनेर नाम दिइयो । त्यो आन्दोलनका अधिकांश सहभागीहरू इमान्दार युवा र बिधार्थीहरु थिए । उनीहरू शान्तिपूर्ण प्रदर्शन गरिरहेका थिए र उनीहरू त्यो आन्दोलनलाई वर्तमान संविधान र ऐन कानुनहरू अनुरूप नै सञ्चालन गर्न चाहन्थे । उनीहरूका अधिकांश नेताहरूले यही कुरा बताएका छन । तर यथार्थ त्यति मात्र थिएन ।
ती कलिला बालबालिकाहरूलाई अघि सारेर देशमा असाधारण हिंसा र महाविध्वंशको सञ्चालनको भित्री योजना पनि थियो । त्यो कुरा सभवत ः “जेन्जी” भाइबहिनीहरूलाई थाहा भएन र उनीहरूलाई थाहा पनि दिइएन । त्यस अनुरूप उनीहरूलाई सडकमा उतार्ने, जबरजस्त हिंसा भड्काउने, युवाहरूको हत्या गराउने र त्यसबाट उत्पन्न जनआक्रोशलाई उपयोग गरेर महाविध्वंश मच्चाउने उद्देश्य षड्यन्त्रकारी तत्वहरूको थियो भन्ने कुरा त्यसपछिका घटनाले प्रष्ट पारेका छन । त्यसबेलाको सरकारले यो षड्यन्त्रको सामान्य सुईको पनि पाउन सकेन । सम्भावित घटनाका बारेमा कुनै सर्तकता र तयारी पनि गर्न सकेन ।
भदौँ २४ गतेको महाबिध्वंश
त्यही योजना अनुरुप जेन्जी भाइबहिनीहरूको जुलुस एभरेस्ट होटेल नेर पुगेपछि त्यस जुलुसमा सण्ड मुसुन्ड गुण्डाहरु र टिओबी लेखिएका दलाइ लामाका समर्थकहरू समेत प्रवेश गर्न पुग्छन् । जेन्जी भाइबहिनीहरू भागाभाग हुन्छन् ।
त्यस आन्दोलनबाट बाहिर हट्न प्रयत्न गर्छन । तर निश्चित उद्देश्य लिएर आन्दोलनमा प्रबेश गरेका हिंसक तत्वहरूले प्रहरीको ब्यारिकेट समेत तोडेर संसद भवनमाथि तोडफोड, आगजानी र विध्वंश मच्चाउन थाल्छन । प्रहरी प्रशासनले भीड नियन्त्रण गर्न कोसिस गर्छ । तर सम्भव हुँदैन । भिड हिंस्रक बन्छ । प्रहरीसँगको भिडन्त बढ्दै जान्छ ।
यसै बीच गोली चल्न थाल्छ । एकपछि अर्को युवाहरू ढल्न थाल्छन । प्रहरी प्रशासनले आफ्नो नियन्त्रण पूर्ण रुपले गुमाउँछ । अनियन्त्रित रूपले भएको दमन र हत्याको बीचमा तत्कालीन सरकारले आफ्नो कर्तव्य र होस् दुवै गुमाउँछ । हेर्दा हेर्दै १९ जना युवाहरूको हत्या हुन्छ । विध्वंशकारीहरूको लक्ष्य पूरा हुन्छ । उनीहरू भित्रभित्रै खुसी हुन्छन् र उनीहरुले १९ जना युवाहरूको हत्याको विरुद्ध देशभरिका युवाहरूलाई त्यही म्ष्कअयचम मार्फत रातैभरि घृणा फैलाउने काम गर्छन् र जताततै विध्वंश मच्चाउन प्रेरित गर्छन ।
सरकारले दमनबाट नै समस्याको समाधान होला भन्ने ठान्यो । २४ भदौमा देशभरिमै के हुँदैछ, त्यसको सामान्य अनुमान पनि लगाउन सकेन । सरकारका सुरक्षा संयन्त्रहरू र अनुसन्धान संस्थाहरू समेत त्यसबेला कानमा ठेडी ठोकेर बसेका देखिन्छन । उनीहरू कोही पनि २४ भदौको घटना बारेमा सुसुचित रहेको देखिँदैन ।
मुलुकमा राज्यविहीन अवस्थाको सिर्जना र ओली सरकार विगठन
जब २४ भदौ २०८२ को बिहान आइपुग्छ । तब नेपालको राजधानीलाई केन्द्रीत गरेर देशव्यापी रूपमा महाविध्वशको सुरुवात हुन्छ । विभिन्न ठाउँमा विध्वंशकारी षड्यन्त्रकारीहरू तोडफोड आगजानी र विध्वंशका निम्ति तालिम प्राप्त गिरोहहरू र तिनीहरूलाई साथ दिने आवारा गुण्डा र लुटेराहरूको ग्याङहरू योजनाबद्ध ढंगले तयार गरिएका हुन्छन् । उनीहरूका हातमा आगजानी गर्ने रासायनिक बमहरू पहिले नै वितरण गरिएका हुन्छन ।
राजधानी र बाहिर समेत बजार बन्द छ, यातायात बन्द छ र सञ्चार पनि बन्द छ । तर विध्वंशकारीहरू विभिन्न नेताका घर जलाउनको लागि मोटरसाइकल लिएर दौडिरहेका हुन्छन । केही गुण्डाहरु र केही महिलाहरु समेत पूर्व योजना अनुसार घर जलाउने र तोडफोड गर्ने विशेष सामग्रीहरू लिएर निर्धारित ठाउँमा पुग्छन् । त्यस क्रममा एकपछि अर्को गर्दै सिंहदरबार जलाइन्छ, सर्वोच्च अदालत जलाइन्छ, संसद भवन जलाइन्छ, राष्ट्रपति भवन जलाइन्छ, एकपछि अर्को व्यापारिक प्रतिष्ठानहरू जलाइन्छ, प्रहरी चौकीहरू जलाइन्छ र मुलुकलाई पूर्ण रूपले सुरक्षाविहीन बनाइन्छ । त्यति मात्र होइन देशैभर सार्वजनिक भवनहरू जलाइन्छ, योजनाबद्ध रूपले विभिन्न नेताहरूका घर जलाइन्छ । एमसीसी सम्झौताका विरोधी नेताका घरहरू खोजीखोजी जलाइन्छ ।
देशैभर नगरपालिकाहरू समेत जलाइन्छ । तर काठमाडौँ नगरपालिका पूर्ण रुपले सुरक्षित हुन्छ । त्यसमा महानगरपालिकाको प्रमुख सुरक्षित हुन्छन् तर उपप्रमुखको घरमाथि भने हमला हुन्छ । यी सबै तोडफोड आगजानी विध्वंश र लुटपाटका क्रममा बिभिन्न राष्ट्रिय नेताहरूका घर–भवनहरु विध्वंश गरिन्छन ।
चम्पादेवी स्थित पुष्पलाल प्रतिष्ठानमा रहेको क.पुष्पलालको सालिक ढालिन्छ, पुस्तकालय भवन जलाइन्छ, गणेशमानजीको चाक्सीबारी जलाइन्छ,कृष्णप्रसाद भट्टराईको प्रतिष्ठान जलाइन्छ र विराटनगर स्थित विपि निवास जलाइन्छ । त्यस क्रममा झन्डै ५०० प्रहरी चौकीहरू नष्ट गरिन्छन । प्रहरीको हातबाट हजारौँ एस.एल.आर राइफलहरू कब्जा गरिन्छ । ९० हजारभन्दा बढी गोलीहरु कब्जा गरिन्छ र जेलहरू समेत खाली गराएर करिब १५ हजार कैदीबन्दीहरुलाई भगाइन्छ ।
त्यस अवस्थामा प्रहरी र प्रशासन पूर्ण रुपले निष्क्रिय बनाइन्छ । यस अवस्थामा देशै जलाइरहँदा सिंहदरबार, संसद भवन र राष्ट्रपति भवन जस्ता संस्थाहरु जलाउदा पनि त्यसकै सुरक्षामा बसेको नेपाली सेना समेत पूर्णरूपले रमिते बनेर बसेको हुन्छ । त्यस दिन र भोलिपल्ट पनि नेपाल करिब राज्यविहिन अवस्थामा रह्यो । सिङ्गो देश आगजनीकर्ता, विध्वंशकारी,लुटेरा, तोडफोडकारी र आवारा गुण्डाहरूको हातमा जान्छ ।
त्यसबेला सम्म पुगेपछि ओली सरकारले पनि राजीनामा गर्न बाध्य हुन्छ । त्यस अवस्थामा देशको धनजनको सुरक्षा गर्ने एकमात्र जिम्मेवारी सेनाको हातमा थियो । तर त्यो दायित्व नेपाली सेनाले पनि पूरा गरेको देखिएन । यस्ता घटनाक्रमले आम जनताको मनस्थिति खल्बलिएको मात्र होइन, झन बढी अन्योलग्रस्त बन्न पुग्यो । यो अन्योल ग्रस्त मनस्थितिमा पार्टीहरूका विरुद्ध झनै बढी मात्रामा जनतामा भ्रम छर्ने काम भयो र जनतालाई पार्टी र नेता विरोधी बनाउँदै लगियो ।
असंवैधानिक रूपले अन्तरिम सरकार गठन र चुनाव घोषणा
मुलुकलाई त्यो अस्तव्यस्त अवस्थामा पुगे पछि बल्ल नेपाली सेनाले वार्ता प्रक्रिया अघि बढायो । त्यसमा पनि राजनीतिक पार्टीका प्रतिनिधिहरुसँग छलफल गर्नेभन्दा पनि राजाबादीहरुसँग,टिओबिहरुसँग र “जेन्जी”का अगुवाहरूसँग वार्ता गर्न थाल्यो ।
त्यस अवस्थामा संविधानका वास्तविक रक्षकहरूले राजनीतिक पार्टीका नेतृत्वहरुसँग वार्ता गर्नुपर्दथ्यो र संविधानको रक्षाको ग्यारेन्टी गर्दै समाधान र निकासको बाटो पहिल्याउनु पर्दथ्यो । तर जेन्जीहरूको चाहनाका आधारमा कथित डिस्कर्डमार्फत निर्वाचनको बहाना गरेर प्रधानमन्त्रीमा सुशीला कार्कीलाई अघि सार्ने काम गरियो । संविधानलाई ठाडै मिचेर पूर्बप्रधान न्यायाधिस सुशिला कार्कीलाई प्रधानमन्त्री बनाइयो र जनताद्वारा निर्वाचित संसदलाई असंवैधानिक रुपले विघटन गर्ने काम गरियो र देशलाई थप अस्तव्यस्तता र संकटतिर धकेलियो ।
त्यति मात्र होइन देशको आन्तरिक स्थिति, राजनीतिक पार्टीहरूको स्थिति, लोकतन्त्रको स्थिति, २४ गतेको विध्वंश र त्यसले पारेको असर र संविधान र निर्वाचनका निम्ति गर्नुपर्ने तयारी जस्ता कुरालाई गम्भीरतापूर्वक नलिँइ “ ६ महिनाभित्र चुनाव गराउने” षणयन्त्रपूर्ण घोषणा गरियो । निर्वाचनमा नै मुलुकलाई लग्दा पनि राजनीतिक पार्टीहरूलाई तयारी गर्न पर्याप्त समय दिनुपथ्र्यो । चुनावका लागि आवश्यक पूर्वाधार तयार गर्ने काम भएन ।
२४ गतेका त्यस्ता संघीन अपराधहरूको सामान्य छानबिनसम्म पनि नगरी त्यसैको रापतापमा चुनाव गराउने योजना बनाइयो । कतिपय नेताहरूले खुब ठूलो “युक्ति” निकालेर चुनावको घोषणा गरियो भनेर आत्मप्रशंसा गर्नुभयो । तर देशलाई अन्तर्राष्ट्रिय शक्तिहरूको अखडा बनाइँदैछ भन्ने कुराको हेक्का सम्म पनि राख्ने काम भएन ।
मुलुकभित्र जनभावना के भइरहेको छ, कस्ता शक्तिहरूको खेलचलिरहेको छ, उनीहरू आधुनिक प्रविधिलाई समेत प्रयोग गरेर कसरी जनमतलाई गलत दिशातिर लगिरहेछन् भन्ने बारेमा पार्टीका औपचारिक ओहदामा रहेका कुनै नेताहरूलाई पनि अत्तोपत्तो भएन ।
जनतामा लामो समयदेखि गुम्सिएको असन्तोष,विरोध र आक्रोशले कुन मोड लिँदैछ भन्ने कुरा बुझ्ने प्रयत्न नै भएन । त्यस्तो अवस्थामा पार्टीहरू निर्वाचनमा होमिने स्थिति भयो । नेपाली कम्युनिष्ट पार्टी पनि होमियो । आखिर बाह्य शक्तिहरूको जस्तो चाहना थियो निर्बाचनका परिणाम पनि त्यहि अनुरुप आउनु अनिवार्य थियो ।
फागुन २१ को निर्वाचनबाट प्राप्त मतपरिणाम
वास्तवमा चुनावको अन्तिम दिनसम्म पनि विभिन्न पार्टीहरू आफैंले जित्ने सपना देखेर हिँडिरहेका थिए । नेपाली कांग्रेस नयाँ र युवा नेतृत्व निर्माण गरेर “एक्लै बहुमत ल्याउने” प्रचार गरिरहेको थियो ।
नेकपा (एमाले) आफैंले बहुमत ल्याउने र नयाँ सरकार बनाउने सपना देखिरहेको थियो । अन्य कैयौँ साना दलहरू पनि आफ्नो बर्चस्व बढ्ने सपना नै देखिरहेका थिए । तर यसपटकको चुनाव परम्परागत शैलीको थिएन । यसपटक नितान्त नौलो शैलीमा चलिरहेको थियो । ठूला भाषण, सभा, जुलुस, माइकिङ, रोड शो, प्रचार र पम्प्लेटहरू, चुनाव चिन्हका ध्वजा पताका, घोषणापत्रहरू, पर्चाहरू आदि कुराको खासै भूमिका देखिएन । प्रचार कार्यको मुख्य प्रवाह नै मोबाइल फोनबाट सम्पन्न भयो ।
तिनीहरू मार्फत सामाजिक सञ्जालहरू र एआईको प्रयोग समेत बाट निर्माण गरिएका छनोटपूर्ण “पार्टी विरोधी र नेता विरोधी” प्रचारको बाढी नै सिर्जना गरियो । मतदाताले उम्मेदवार हेर्ने,उनका कुरा सुन्ने, उनका एजेण्डा हेर्ने,उनले के गरे वा गर्न सक्छन् भनेर मूल्याङ्कन गर्ने औसर नै पाएनन वा औसर दिईएन ।
यसरी मोबाइल फोन वाट्सएप, म्यासेन्जर, टिकटक, भाइबर र फेसबुक,डिस्कोर्ड र इन्स्टाग्राम जस्तो डिजिटल प्लेटफर्महरूबाट आउने कन्टेन्ट (अन्तरवस्तु)ले नै मोबाइल बोक्ने जति मतदाताको मनस्थितिलाई आकर्षण ग¥यो । त्यस प्रक्रियामा यति गहिरो गरी उनीहरूको दिमागमा घन्टी चिन्हप्रति आकर्षण भयो कि उनीहरुको मस्तिष्क नै एक प्रकारले कब्जा जस्तै भयो ।
त्यसले गर्दा यसपटक मतदाताले उम्मेद्धार पनि हेरेनन,घोषणापत्रका वाचापत्र पनि हेरेनन, कसैका भाषण पनि सुनेनन तर विभिन्न माध्यमबाट उनीहरुले पाएका सूचनाले उनीहरुलाई घन्टी मात्र सम्झाउन पुगे र अन्त्यतः उनीहरुको ठूलो संख्याले घन्टीमा मत हाल्यो । त्यसकारण यसपटकको निर्वाचनमा निम्न बमोजिमको परिणाम प्राप्त हुन पुग्यो ।
उपर्युक्त तथ्याङ्कले के कुरा प्रष्ट पार्छ भने यसपटक सबै पहिलेका पार्टीहरूको सर्मनाक पराजय भएको छ । हाम्रो पार्टी नेपाली कम्युनिष्ट पार्टीले १६४ स्थानमा उम्मेद्धार उठाएको थियो । बाग्लुङको एक सिटमा नेकपा (मसाल)सँग कार्यगत एकता गरिएको थियो । त्यो पनि पराजित भयो । हाम्रो पार्टीले उठाएका १६४ सिटमध्ये ८ सिटमा मात्र जित्यौ । त्यस मध्ये पनि एउटा सिट प्राबिधिक कारणले मात्र जित्यौँ । १७ स्थानमा दोस्रो मत ल्याउन सक्यौ । ४० सिटमा जमानत जोगाएर पराजित भयौँ र ९९ सिटमा हाम्रा उम्मेद्धारहरूको जमानत समेत जफत भयो ।
त्यसरी नै नेकपा (एमाले )एक्लै हिँडेर बहुमत ल्याउने कुरा गरिरहेको थियो । त्यसले पनि हाम्रो भन्दा एक सिट मात्र बढी ल्याएर ९ सिट पुर्यायो । उता नेपाली कांग्रेस “विशेष महाअधिवेशन” गरेर युवा कांग्रेस बनायौं भनेर निर्वाचनमा होमिएको थियो । त्यसले प्रत्यक्षमा १८ सिट जित्यो । त्यसमध्ये पनि १४ सिट वामपन्थी मत विभाजनले मात्र जितेको देखिन्छ ।
कांग्रेसले यो चुनावमा आफ्नै सभापति समेतलाई जिताउन सकेन । त्यसले पनि नराम्रो हार बेहोर्न पुग्यो । यो चुनावमा भाग लिएका ९ वटा वामपन्थी समूहहरूमध्ये अरु कसैले पनि एक सिट प्राप्त गर्न सकेनन् । उपत्यकामा रास्वपाले सबै सिट जित्यो । मधेसमा पनि अधिकांश सिट रास्वपानै जित्यो । देशका धेरैजसो भागमा रास्वपा कै बस्चस्व देखियो ।
मधेसका आफूलाई मधेसी भन्ने सबै पार्टी र तिनका नेताहरूको समेत शर्मनाक हार भयो । यहाँसम्म कि भक्तपुरमा विगत दशकौंदेखि जित्दै आएको नेमकिपाले समेत नराम्ररी हार खायो । जहाँ जहाँ रास्वपाले जित्यो ती प्रत्येक जस्तो ठाउँमा ठूलो मार्जिनले जितेको देखिन्छ । नेकपा (एमाले)का नेता क. खड्ग ओलीलाई त वँहाको आफ्नै निर्बाचन क्षेत्रमा १८ हजारको विरुद्ध ६८ हजारले रास्वपाले जित्यो । यी तथ्यहरु हेर्दा यसपटक पहिलेको भन्दा निकै अनौठो परिणाम आएको देख्न सकिन्छ ।
तर यति हुँदाहुँदै पनि हिमाली क्षेत्र र उच्च पहाडी क्षेत्रका निर्वाचन क्षेत्रहरूमा भने रास्वपाको केही चलेन । त्यहाँ अल्गोरिदमले पनि भ्याएन । ती क्षेत्रहरूमा गणतन्त्रका वाहक पार्टीहरुले नै अधिकांश स्थानमा जितेका छन ।
इलाम,पाचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, सिन्धुपाल्चोक, मनाङ, मुस्ताङ, डोल्पा, पाल्पा, गुल्मी, रुकुम, रोल्पा, अछाम, बझाङ, दार्चुला जस्ता हिमाली र पहाडी जिल्लाहरुमा भने रास्वपाको प्रभाव निकै कमजोर देखियो । ती क्षेत्रहरुमा पहिलेका पार्टीहरुले नै विजय प्राप्त गरे । त्यसले के कुरा प्रष्ट पार्छ भने डिस्कोर्ड र अल्गोरिदमको प्रभाव यी जिल्लाहरूमा धेरै पुग्न सकेको रहेनछ । तराई भित्री मधेश र उपत्यकाहरुमा भने यो चुनावमा मोबाइल फोन मार्फत सामाजिक संजालले बढी काम गरेको छ भन्ने पनि पुष्टि हुन्छ ।
यसपटकको चुनावमा रास्वपाले उच्चस्तरको प्रविधिलाई जनता आकर्षण गर्ने काममा असाधारण रूपले प्रयोग गरेको प्रष्ट गर्छ । रुकुम पूर्व जस्तो पहाडी जिल्लाबाट लडेको हुनाले मात्र नेपाली कम्युनिष्ट पार्टीका संयोजक कमरेड प्रचण्डले पनि जित्न सफल हुनुभयो । पहिलेकै ठाउँबाट उठेको भए वहाँलाई पनि गाह्रो थियो । यसरी यसपटकको चुनाव एउटा विशेष अवस्थामा सम्पन्न भयो । कथित जेन्जी आन्दोलन र २४ भदौको महाविध्वंशको रापताप अनि देशी विदेशी शक्तिहरुको आड भरथेक र उच्च प्रविधिको प्रयोग समेतका कारणले रास्वपाले यो विजय प्राप्त गरेको छ ।
आखिर नेपालमा एउटा छोटो अवधिमा आम जनताको मन र मत किन यसरी पर्लक्क पल्टिन पुग्यो । आजभन्दा ८ वर्षअघि २०७४ मा भएको निर्वाचनमा अहिलेकै जसरी वामपन्थी शक्तिहरुले १७७ सिट प्राप्त गरेको थियो । सबै प्रदेशहरू र पालिकामा समेत ठूलो विजय प्राप्त गर्न सकेको थियो ।
यो आठै वर्षको छोटो अवधिमा त्यत्रो जनमत कसरी परिवर्तित भयो ? त्यसका आधारभूत र तत्कालिक कारणहरू के छन ? त्यसका आन्तरिक र बाह्य कारणहरू के छन ? आज हामी सबै कम्युनिष्टहरूले यो कुराको गहन र तथ्य संमत विश्लेषण गर्नु जरुरी छ । हाम्रो पार्टीले झनै जिम्मेवारीको भावनाका साथ यो निर्वाचनको सामग्रीक समीक्षा गर्नुपर्छ । त्यसरी गरिने समीक्षाबाट पार्टी र आन्दोलनले ठूलो शिक्षा प्राप्त गर्न सक्छ ।
कमरेडहरु ! हाम्रो यात्रा दीर्घकालीन यात्रा हो । हामी समाजवाद र साम्यवादसम्म पुग्ने महान ऐतिहासिक यात्रामा छौँ । समाजवाद प्राप्तिको यो यात्रा एउटा अविरल यात्रा हो । यो प्राकृतिक–ऐतिहासिक यात्रा पनि हो । यो यात्रा असफल हुन त सक्दै सक्दैन । कहिलेकाहीँ उतार चढाव भने भोग्नुपर्ने हुन्छ । कहिलेकाहीँ एक वा अर्को घटनामा हार पनि हुने गर्छ । तर ती प्रत्येक हारहरू र पराजयहरू सधैं अस्थायी र क्षणिक हुन्छन । तिनीहरूले हामीलाई अग्रयात्राका निम्ति ठूलो शिक्षा दिइरहेका हुन्छन् । त्यस्ता घटनाहरूको समीक्षाबाट आएका निष्कर्षहरू हाम्रा आगामी दिनका मार्गदर्शन हुन्छन ।
त्यसैले भन्ने गरिन्छ “असफलता नै सफलताको जननी हो” । हामीले यो कुरालाई ध्यानमा राखेर द्धन्दात्मक भौतिकवादी दृष्टिकोणका आधारमा २१ फागुनमा भएको यो चुनावको पनि गहन समीक्षा गर्नुपर्छ । त्यसका आधारभूत र बाहिरी तथा त्यसका तत्कालिक कारणहरूको गहिरो विश्लेषण र संश्लेषण गर्नुपर्छ ।








यस्तो परिणाम आउनुका आधारभूत कारणहरू
२०७४ को निर्बाचन पछि बनेका करिब दुई तिहाई बहुमत भएको शक्तिशाली वामपन्थी सरकारका काँधमा रहेका दायित्वहरू थिए ।
-करिव दुई तिहाईको बामपंथी सरकार बनेपछि जन आन्दोलन र सशस्त्र सङ्घर्ष दुवै क्रममा पीडित भएका जनताको आशा अपेक्षा चुल्लिएको थियो ।
-अब गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य,रोजगारी र सुरक्षा यी ७ कुराहरू प्राप्त हुने जनताको अपार आशा थियो ।
त्यो शक्तिशाली सरकारले गर्नुपर्ने कामहरू
-भूमिसुधार गर्नुपर्ने थियो केही भएन
-कृषि क्रान्ति गर्नुपर्ने थियो केही भएन
-कृषिमा सुधार (मल, बिउ,प्रविधि, औषधि, वैज्ञानिक सेवा, वित्तीय,सिँचाई,मूल्य सेवा र बजार सेवा) ९ सेवा लागु गर्नुपर्ने थियो,त्यो पनि भएन
-कृषकको बजारको संरक्षण पनि भएन (दुध पोखे,गोडभेडा पोखे,फुलका माला कुहेर फ्याके,उखु बोकेर राजधानी आए,लघुबित्त बिरोधी आन्दोलन गरे) तर उनीहरुका मागहरु सम्बोधन भएनन ।
-राष्ट्रिय औद्योगिकरण (एउटा उद्योग पनि खुलेन,रोजगारी विकास भएन हुदै भएन)
-तीन खम्बे नीति पोलेर खाईयो,कतै पनि लागु गरिएन ।
-देशमा भएका सार्वजनिक उद्योग समेत निजीकरण भए ।
-हाम्रो देश विदेशी सामानको उपभोक्ता मुलुक बन्यो ।
-महगीको मार बढ्दै गयो ।
– यो देशका भूमिहीन, गरिब र मध्यम किसानले पार्टी छोड्दै गए,किनभने उनीहरुले केहि पाएनन ।
– शिक्षा–स्वास्थ्यमा कुनै सुधार भएन, शिक्षा ऐन मात्र पनि बन्न सकेन । कुनै सरकारले पनि यो दिशामा पहल गर्न सकेन ।
राष्ट्रियताको संरक्षण पनि भएन
– महाकाली सन्धि गरियो, आजसम्म महाकालीको शिरको अत्तोपत्तो छैन ।
-एमसीसी सम्झौता गरियो, त्यसैका आधारमा अमेरिकीहरू नेपाललाई अखडा बनाउँदैछन ।
– भारतीय दूतावासलाई सोझै २० करोडको योजना लागू गर्ने अधिकार दिइयो
– १९५० को सन्धि सिहावलोकन सम्म भएको छैन ।
-लिम्पियाधुरा, लिपुलेक र कालापानी यी नेपालका अभिन्न भूमिमा विदेशी कब्जा छ ।
– लिपुलेकबाट–चीन–भारत व्यापार गर्न फेरि सम्झौता भएको छ । तर नेपाल र नेपाली राजनीतिज्ञहरूको मुख बन्द छ ।
विआरआई वामपन्थी द्धुविधा रह्यो नेतृत्वमै रहेको द्धिविधाका कारण अघि बढ्न सकेन ।
– चीनसँगको सन्धि र सहयोग पनि बढ्न सकेन तर एमसीसीमा पुरा पेलेर अनुमोदन गरियो । कथित “व्याख्यात्मक घोषणा” गरियो । त्यसले एउटा कमा र फुलिस्टप पनि परिवर्तन हुन सकेन ।
-दुई देश बीचको सम्झौतामा कथित व्याख्यात्मक घोषणा जस्ता लज्जास्पद “लाज छोप्ने टालो” खडा गरेर एमसीसी अनुमोदन गर्ने काम भयो ।
दुईतिहाइ बहुमत करिब भएको संसद विघटन गरियो,संविधान नराम्ररी मिचियो, पार्टी विभाजन गरियो
-पार्टी एकीकरणमै त्रुटि थिए ।. हामीले नेकपालाई हाम्रो आफ्नै पहिचानका आधारमा दर्ता नगरेर किन अर्को कम्युनिष्ट पार्टीका नाममा दर्ता गर्नुपरेको थियो । दर्ता गराउनेको कमजोरी हो ।
-सर्वोच्चले त्यसैलाई समात्यो र पार्टी बिभाजन गरिदियो ।
– नेकपा एमालेमा – माधव नेपालबाट विभाजन पुनः पार्टी विभाजन गरियो । तर वहाँले त्यसको औचित्य कहिल्यै पुष्टि गर्न सक्नुभएन ।
– माओवादी र एमाले दुवै विभाजन भएर अनेक समूह बने । आखिर अहिले आएर हामी एकीकृत बन्न पुगेका छौं ।
दुई तिहाइको सरकार विघटनदेखि बनेका एकपछि अर्को गठबन्धनका सरकारहरू
-अस्थिरता बढाए
-भ्रष्टाचार बढाए
-नीतिहिनतालाई प्रशय दिए
– सत्तालोलुप्तामा नै सिमित रहे
– एमाले नेपाली कांग्रेसको गठबन्धनले ति प्रवृतिहरूलाई चरम चुल्लीमा पु¥यायो ।
पार्टीहरूले प्रशस्त विकास भएको प्रचार गरे । केही नभएको होइन । विकास निकै भएको छ । ती विकासहरु निम्न क्षेत्रमा मात्र भए ।
-बाटाघाटाको विकास निकै ठुलो मात्रामा भयो ।
-निजी क्षेत्रमा बैकहरुको विकास पनि ब्यापक नै भयो ।
-निजी कम्पनीको विकास –हवाई कम्पनी, यातायात कम्पनी, वित्तीय कम्पनी, हवाई यातायात कम्पनी आदिको ठूलो विकास भयो ।
– निजी बीमा कम्पनीको विकास पनि भयो ।
-विद्युतीकरणको विकास देशै भरि भयो ।
-टेलिफोनको विकास देशभरि मात्र होइन धेरै जसो परिवार र व्यक्तिमा समेत पुग्यो
-खानेपानीको विकास पनि उल्लेखनीय भयो ।
– स्कुल कलेजको पनि विकास भयो । निजी स्कुल र कलेजहरू यो अवधिमा धेरै भए ।
– शिक्षा र स्वास्थ्य क्षेत्रमा निजी कम्पनीहरू ठूलो संख्यामा खुले ।
– त्यसले निम्न र मध्यम वर्गको विकास निकै व्यापक बन्यो
तर यी कुराले जनताको गास,बाँस र कपासका समस्या समाधान भएनन ।
– उनीहरूका बाल बच्चाहरूले शिक्षा,स्वास्थ्य र सुरक्षा पाएनन् ।
-आम श्रमजीवि जनताले रोजगारी पाएनन्
-कृषिको विकास गर्न पनि सकेनन, भन्सार नीतिले देशको कृषि र उद्यमीहरूको हित गर्न सकेन
-कृषकहरूको आर्थिक ब्यापारिक संरक्षण पनि हुन सकेन ।
यो अवस्थामा श्रमिकहरू,भूमिहीन, गरिब र मध्यम किसान, कमलरी, हरुवा चरुवा, हलि गोठाला आदिको कुनै प्रकारले पनि संरक्षण हुन सकेन । यो दायित्व कम्युनिष्ट पार्टीको थियो, त्यसको नेतृत्व नै बिचौलियाहरूको एजेन्ट जस्तो भयो । नेताहरुबाट जनता र कार्यकर्ताको कुरा सुनिएन । आलोचनात्मक कुरा गर्नेहरु माथि कारबाहीका डण्डा बर्सिन थाले । नेताहरुका सामु भ्रष्टाचारका काण्डहरू ठडिन थाले ।
दोस्रो निर्वाचनबाट त्रिशंकु संसदको निर्वाचन भयो
-एकपछि अर्को गठबन्धन सरकारहरू बने ।
-ती कुनै सरकारबाट जनहितका काम भएनन । वर्गीय हितको कुरा कसैले उठाउन सकेन ।
अन्त्यमा कांग्रेस–एमाले गठबन्धनबाट जनताको धैर्य नै टुट्यो । त्यसले गर्दा आम जनता यसरी कम्युनिष्ट पार्टी र अन्य गणतन्त्रका वाहक पार्टीहरूबाट टाढा हुँदै गए । त्यसका विशेष रूपहरू निम्न बमोजिम छन ।
१.प्रवासी नेपालीहरू
त्यसले गर्दा ठूलो संख्यामा भूमिहीन, गरिब र मध्यम किसान वर्गका जनता र श्रमिक जनता कामको खोजीमा साहु महाजन र बैकसँग समेत धेरै धेरै ऋण लिएर विदेश जान बाध्य भए, उनीहरूलाई रोक्न सक्ने क्षमता कसैमा रहेन । न हाम्रो पार्टीसँग नै रह्यो ।
-त्यसमा हाम्रै कार्यकर्ता र समर्थकहरूको ठूलो संख्या यसरी प्रवासतिर जान थाल्यो
-अहिले १७३ भन्दा बढी देशमा नेपाली पुगेका छन ।
-१११ देशमा औपचारिक सहमति प्राप्त गर्न गएका छन ।
– एनआरएनए मात्र पनि विश्वका ८५ देशमा संगठित र क्रियाशील रहेका छन ।
-तिनीहरूमध्ये मलेसिया र खाडी राष्ट्रहरू श्रमिक नेपालीका मुख्य गन्तव्य बनेका छन । ३० लाख त्यही छन् ।
-२०१६– २०२६ मा मात्र ५५ लाख नेपाली प्रवासतिर गएका छन ।
– विगत २० वर्षको अवधिमा (२०६२–२०८२) भित्र ७०–८० लाख नेपाली बाहिर गएका छन ।
– अहिले नेपालका कुल परिवार ६६ लाख ६६ हजार ९३७ मध्ये ७६.८% परिवारबाट कम्तीमा एक जना प्रवासमा छन र उनीहरू कुनै न कुनै मात्रामा रेमिट्यान्स पठाउने गर्छन् ।
यी जनता नेपालका गणतन्त्रका वाहक पार्टीहरूबाट असन्तुष्ट भएर यिनीहरूले केही गर्न नसक्ने रहेछन् भनेर बाहिर गएका छन । उनीहरूको ठूलो हिस्सालाई यो चुनावका बेला घन्टीको पक्षमा परिचालित गरियो । त्यसले मतदाताको ठूलो संख्यालाई प्रभावित पा¥यो ।
२. विद्यार्थी पलायन
त्यसरी नै श्रमिकहरू मात्र होइन नेपालमा शिक्षामा सुधार हुन नसक्नु, एउटा ऐन सम्म पनि बन्न नसक्नु, नयाँ पाठ्यक्रम आउन नसक्नु, डेढ दर्जनभन्दा बढी विश्व विद्यालयहरू भएपनि गुणस्तरको शिक्षा प्राप्त गर्न नसक्नु र रोजगारी प्राप्त गर्ने शिक्षा नहुनुको कारणले प्रत्येक वर्ष एनओसी लिएर युवा विद्यार्थीहरूको अर्को लाखौँको संख्या अस्ट्रेलिया, क्यानडा, भारत लगायतका अनेकौं देशमा बाहिर गईरहेका छन । उनीहरूको पनि ठूलो हिस्सा विद्यमान पाटीहरु र तिनीहरूका नेतृत्वसँग सन्तुष्ट छैनन् र थिएनन् । नयाँका नाममा उनीहरू पनि घन्टीतिर नै आकर्षित हुन पुगे ।
३. इसाईकरणको अभियान
त्यसरी नै नेपालमा क्रान्तिको स्वरूपमै परिवर्तन आएको २० वर्ष पुग्दा पनि र बारबार कलाकारहरुले समेत आफ्ना कार्यक्रमहरू मार्फत नयाँ देशभक्तिपूर्ण, राष्ट्रिय एकतामुखी र समाजवादी सांस्कृतिक आन्दोलन चलाउन आग्रह गरे पनि ती काम हुन नसक्दा, नेपाली समाजमा धर्म र आस्था परिवर्तन गराउने एउटा राष्ट्रव्यापी अभियान सञ्चालित हुँदै आएको छ । साम्राज्यवादीहरूले चलाउँदै आएको यो अभियानले विभिन्न जनजातिका जनतालाई तथा सीमान्तकृत अवस्थाका जनतालाई निकै ठूलो मात्रामा प्रभावित पारेको छ र नेपालमा इसाई समुदायको लाखौंको पंक्ति तयार भएको छ । अहिले त्यो समुदाय १०–१२ लाख रहेको मानिन्छ तर भित्री रूपमा विचार गर्दा त्योभन्दा बढी नै छन । यो समुदायका पनि निकै ठुलो हिस्सालाई योजनाबद्ध रूपले नै घन्टीका पक्षमा परिचालित गरियो ।
४. निजी स्कुलहरूको भूमिका
हाम्रो देशमा संविधान बमोजिम सार्वजनिक शिक्षालाई विकास गर्न नसक्नुको कारणले नेपालभरि निजी स्कुलहरू ठूलो संख्यामा विकास गरेका छन । तिनीहरू नेपालको उदाउँदो निम्न मध्यम र मध्यम वर्गका उद्यमहरूका रुपमा विकास गरेका छन । पार्टी र सरकारहरूले न सार्वजनिक शिक्षालाई प्रभावकारी बनाउन सकेका छन न निजी स्कुलहरूका मागहरूलाई नै पूरा गर्न सकेका छन । त्यसले गर्दा नीजि स्कुलका मालिकहरू, सञ्चालकहरू, शिक्षकहरू र विद्यार्थीहरू पनि पार्टीहरूप्रति असन्तुष्ट बन्दै गए ।
अहिले नेपालमा कुल स्कुलहरू– ३४३६८० छन ।
सार्वजनिक– ३६४५४ छन्
निजी स्कुल ६७६० छन । निजी स्कुलहरू ३५% छन । +२ सम्मका शिक्षकहरू,कर्मचारीहरु ४५०० छन ।
+२ सम्म पढ्ने विद्यार्थीहरू अहिलेको नेपालमा २५– ३० लाख छन ।
भदौ २३ को जेन्जी आन्दोलनमा मुख्य रूपले निजी स्कुलका विद्यार्थीहरू संलग्न भएको कुरालाई देख्न सक्नुपर्छ । उनीहरू त्यसदिन विभिन्न स्कुलहरूबाट र कलेजहरूबाट समेत खुद युनिफर्म ड्रेसमा समेत आएको देखेँ ।
यो समुदायको पनि निकै ठुलो हिस्सा गणतन्त्रबादी पार्टीहरूप्रति असन्तुष्ट बनेको थियो र तिनीहरू पनि घन्टी प्रति नै आकर्षित हुन पुगे ।
५. शिक्षक आन्दोलन र शिक्षा ऐन
त्यति मात्र होइन नेपालका आम शिक्षकहरूले धेरै लामो अवधिदेखि नयाँ शिक्षा नीति र नयाँ शिक्षा ऐन निर्माणको माग गर्दै आएका थिए । उनीहरू २०८२ मै पनि लाखौंको संख्यामा देशभरिबाट राजधानीमा भेला भएर शिक्षा ऐन अभिलम्ब बनाउन माग गरेका थिए । त्यो बनाउन कुनै गाह्रो कुरा थिएन । तर दुई ठूला पार्टी सत्तामा रहेर पनि उनीहरुले केहि गर्न सकेनन । शिक्षकहरूले आन्दोलनको मैदानबाट नै घोषणा गरेर फर्केका थिए । अब पनि नयाँ शिक्षा ऐन बनेन भने हामी आउने चुनावमा पार्टीहरुलाई देखाइदिनेछौं । वास्तवमा नेपालको सामाजिक–राजनीतिक परिवर्तनमा शिक्षकहरूको अत्यन्त महत्वपूर्ण भूमिका रहने गरेको कुरा कसैले पनि बेवास्ता गर्न मिल्दैन । शिक्षकहरूप्रति यसपटक वेवास्ता र अपमान पनि भएको थियो ।उनीहरुको पनि महत्वपूर्ण हिस्साले समेत यसपटकको निर्वाचनमा भूमिका खेलेको कुरालाई बिर्सनु हुँदैन ।
६. गरिबीको रेखामुनि जनता
-अहिलेको २०% जनता गरिबीको रेखामुनि छन् ।
-तिनीहरू अहिले ६० लाख छन । गरिबी उन्मुलन सम्बन्धी कुनै कार्यक्रम लागू भएनन ।
-यो पंक्तिको हितमा झन् कम्युनिष्ट पार्टीको तर्फबाट केही गरिएन
-उनीहरू समेत यसपटक वर्गलिए ।
-लघुवित्त उत्पीडनका बिरुद्ध विद्रोह र संघर्षमा उत्रिएका पचासौँ हजार किसानहरुका माग पनि पूर्ति भएनन ।
-गोलभेडा सडकमा फ्याक्ने किसानहरूका समस्यालाई पनि सरकारले सम्बोधन गरेन ।
– दुध पोख्ने किसानहरूले दूधको मूल्य पाउन सकेनन । बाध्य भएर सडकमा दूध पोखे । उनीहरूका मागलाई पनि सरकारले हल गर्न सकेन ।
-काठमाडौँसम्म आएर लड्ने उखु किसानहरू सबै परम्परागत पार्टीहरू विरुद्ध हुने परिस्थिति हुन गयो ।
यसरी विभिन्न उत्पादन समूहका व्यावसायिक किसानहरूका समस्या पनि समाधान भएनन । आखिर जनताका यस्ता पंक्तिहरू समेत गणतन्त्रका पक्षधर पार्टीहरूसँग विरक्त भए । आखिर तिनीहरूलाई पनि स्थापित पार्टीहरूका विरुद्ध उभ्याउने काम भयो ।
७. अरु सबै पार्टीका पक्षधर पनि घन्टीतिर गए ।
उपरोक्त कारणहरूले आधारभूत तहका जनताको ठूलो माग वामपन्थी पार्टीहरूबाट टाढा हुँदै गयो । यहाँसम्म कि विरोधीहरूको खेल समेत थपिँदै जाँदा र घन्टीलाई विकल्पका रुपमा देख्न थालेपछि कांग्रेसका पक्षमा र सबै बिद्यमान पार्टीहरूका पक्षमा रहेको जनमत पनि घण्टीतिर गयो ।
उक्त परिणामलाई सहयोग पु¥याउने बाह्य कारणहरू
१.नेपालको रणनीतिक अवस्थिति र बाहिरी शक्तिहरूको चलखेल । वर्तमान विश्व परिस्थितिमा नेपालको बढ्दो रणनीतिक महत्व
२.अमेरिकीहरूको १९५० देखि कै चीन विरोधी रणनीति
३.चीन विरोधी कार्यमा भारत–अमेरिकी सहकार्य पनि विभिन्न कालखण्डमा प्रकट भएकै हो ।
४.अमेरिकीहरूको आर्थिक हतियार युएसआइडी र सिआईएको लगानी (पत्रकार, कर्मचारी, बुद्धिजीवीमा) व्यापक रहँदै आएको कुरा सबैलाई थाहा भएकै कुरा हो ।
५.अमेरिकीहरू बाइबलको हतियार प्रयोग गरेर नेपालका सहर गाउँ सबैतिर
व्यापक रूपले इसाईकरण गर्ने अभियान चलाएका छन । देशभरि चर्चहरू खडा गरिएका छन ।
६.अमेरिकीहरूको पछिल्लो हतियार एम.सी.सी सम्झौता र त्यस मार्फत कर्मचारी, पत्रकार र बुद्धिजीवीहरूलाई उनीहरूको हितमा प्रयोग गरिँदैछ ।
७.त्यसमार्फत नेपालमा सैनिक–सम्बन्ध विस्तार गर्ने प्रक्रियामा अघि बढ्दैछ ।
– इन्डोप्यासिफिकका प्रत्येक बैठकमा नेपाली सेनाका प्रतिनिधि बोलाइन्छ ।
– इन्डोप्यासिफिकका कमान्डरहरू सैनिक विमान लिएर नेपाल आउँछन ।
– उनीहरू नेपालका विभिन्न सैनिक शिविरको भ्रमण गर्छन ।
– नेपाली सैनिक अधिकृतलाई तालिम दिने बहाना गर्छन ।
– उनीहरूको सैनिक र ब्यान्ड नेपाली सेनाको सेना दिवसमा बजाइन्छ ।
-यसपटकको २०८२ को सैनिक दिवस शिवरात्रीको बढाई कार्यक्रममा नै अमेरिकी सैनिकहरुलाई नृत्य गर्न समेत लगाइयो ।
– त्यति मात्र होइन उनीहरू नेपालमा आफू परस्त सरकार बनाएर एस.पी.पी पास गर्ने र नेपालमा अमेरिकी सैनिक अड्डा बनाउन चाहन्छन ।
८.उनीहरूकै प्रेरणामा च्क्ए(रास्वपा)२०७९ मा शेरबहादुर देउवाले एसपीपी नगर्ने निर्णय गरेको भोलि पल्ट नेपालमा दर्ता भएको हो ।
९.यो पार्टीलाई शुरु देखि नै उनीहरूले प्राविधिक र वित्तीय सहयोग गर्दै आएका छन ।
१०.यिनीहरूले सुरुदेखि निम्न डाटाहरू खेलाउँदै आएका छन ।
– नेपाली मतदाताको सूची
-प्रत्येक निर्वाचन क्षेत्रको नामावली
-ती निर्वाचन क्षेत्रबाट प्रवासमा गएकाहरूको नामावली
-उनीहरू कुन कुन देशमा गएका छन् ती प्रवासी नेपालीहरूको नामावली
– प्रवासमा रहेका श्रमिक, विद्यार्थी र व्यवसायीहरूको नामावली
-नेपालमा रहेका इसाईहरूको नामावली
-प्राइभेट स्कुलका शिक्षक र विद्यार्थीहरूको नामावली
११. त्यसमा उनीहरूले डिस्कोर्ड नामक सामाजिक संजाल प्लेटर्फमलाई व्यापक प्रयोग गरे । त्यसरी नै एल्गोरिदमको पनि प्रयोग भयो । यसरी उनीहरूले आफूले टार्गेट गरेको जनसमुदायलाई घन्टीको पक्षमा परिचालित गरे ।
१२. अमेरिकनहरूले निम्न संस्था मार्फत नेपालभित्र आफ्ना समर्थकहरूको एउटा पंक्ति तयार पारे ।
.NDI (National Democratic Institution)
.IRI (International Republican Institute)
.NED (National Endowment for Democracy)
.USYC (American Youth Council) यो २०११ देखि आफ्ना सदस्यहरू नेपाली युवाहरूमा बिस्तार गर्न तल्लिन छ । उनीहरूलाई विभिन्न ढंगका तालिम दिने काम हुँदै आएको छ । अहिलेका धेरै सांसदहरु यसका सदस्य छन ।
१३. त्यसबाहेक उनीहरूले विभिन्न माध्यमबाट वित्तीय परिचालन गरेका छन ।
-एमसीसीबाट ठूलो रकम बाँडिन्छ । (पत्रकार, बुद्धिजीवी, विश्लेषक आदिलाई)
-सिआईएले व्यक्तिहरूलाई नै समेत बित्त पोषण गर्छ र गरिरहेकै छ ।
-चर्चहरू मार्फत विभिन्न पास्टरहरुलाई तलबै दिएर काम गराइन्छ ।
– बारबारा फाउन्डेसन नेपालमा विभिन्न पक्षलाई वित्तपोषण गर्ने संस्थाका रूपमा प्रख्यात नै छ ।
१४. उपरोक्त क्रियाकलापबाट उनीहरूले नेपालमा एउटा प्राविधिक र बुद्धिजीवीहरूको पंक्ति तयार पारेका छन । जसले घन्टीलाई व्यापक पार्न ठूलो आधारका रुपमा काम गरेको छ ।
– चुनावकै प्रक्रियालाई हेर्दाखेरि उनीहरूले मासमा पैसा बाँडेर आफ्नो पक्षमा ल्याएको त्यति देखिँदैन ।
-उनीहरूका उम्मेदवारहरूले प्रकट रुपमा ठूलो खर्च गरेको पनि देखिँदैन ।
-उनीहरूले आफ्ना घोषणापत्र, नीति, सिद्धान्तको प्रचार पनि गरेनन्, त्यो सम्भव थिएन ।
-उनीहरूले देशभरि र प्रवासभरि सामाजिक सवाल प्लेटफर्महरू मार्फत हाम्रा मतदाताहरूका बीच एकमात्र विकल्पको रुपमा घण्टीको प्रचार गराए ।
– त्यो घन्टीको प्रचारलाई निरन्तर जारी राख्न उनीहरूले केन्द्रीय योजना अनुसार करोडौँ डलर खर्च भएको हुनुपर्छ तर हाम्रो निर्वाचन आयोगको प्रणालीमा त्यो खर्च देखिँदैन,देखिएन र देख्न सकेन ।
-उम्मेद्धवारहरू धेरैले व्यक्तिगत रुपमा खर्च पनि गरेनन, प्रचारमा पनि गएनन, कुनै सभा जुलुस पनि गरेनन्, तर उनीहरूको
प्रचार एउटा केन्द्रीय र केन्द्रिकृत प्रणालीमार्फत घन्टीको पक्षमा देशै भरि भयो । खासगरी इन्टरनेट पुगेको ठाँउमा घन्टीको प्रचार त्यहि केन्द्रिकृत प्रर्णाली मार्फत ब्यापक रुपले भयो । त्यही प्रणाली अन्तर्गत प्रत्येक मोबाइल बोक्नेहरूलाई क्युआर कोड मार्फत पैसा बाँडेको कुरा इन्कार गर्न सकिन्न । तर त्यो निर्वाचन आयोगको लेखा प्रणालीमा आएन ।
– पार्टीहरू प्रति र उनीहरूले चलाएका सरकारहरूप्रति असन्तोष, विरोध र आक्रोश बोकेका देश र प्रवासमा भएका जनतालाई प्रविधिको प्रयोगले एकहोरो बनाउन उनीहरुलाई सफलता प्राप्त भयो ।
-राजनीतिक पार्टीहरूले Facebook, YouTube, WhatsAPP, TikTok, Messenger, Linkedin, Snapchat, Viber, Discord, Vevo, Quest Raglan जस्ता सामाजिक सञ्जालहरुको निर्वाचनका सन्दर्भमा भइरहेको वा हुन सक्ने दुरुपयोगको बारेमा गम्भीर रूपले अध्ययन गर्ने, तिनीहरूको दुरुपयोगलाई रोक्ने र तिनीहरूलाई बरु जनता र राष्ट्रका निम्ति उपयोग गर्ने बारेमा गहिरो अध्ययन गर्न सकेनन । यिनीहरू मूलतः अमेरिकी प्लेटफर्महरू हुन । त्यस बाहेक चीन, रुस लगायत अरु देशका सामाजिक सञ्जाल प्लेटफर्महरू पनि छन । तिनीहरूलाई उपयोग गर्न सकिने बारेमा पनि हाम्रो अध्ययन तल्लो चरणमा नै छ । त्यसकारण पनि नेपालको जनमतलाई यसपटक घन्टीतिर आकर्षित गर्न बाह्य शक्तिहरू पनि सफल भए ।
नेपाली कम्युनिष्ट पार्टी स्थापना पछिका तत्कालीन कारणहरू
१.नेपाली कम्युनिष्ट पार्टी स्थापनाको घोषणा गरियो तर त्यसलाई संगठित रुप दिइएन ।
२.एकतामा आएका सबै “घटक” र समूहहरूसँग गरिएका प्रतिबद्धताहरू लागू गरिएन ।
३.पार्टी एकतामा अघि सारिएका चार आधारभूत सिद्धान्तहरू माक्र्सवाद–लेनिनवादको मार्गदर्शन सिद्धान्त, अहिले समाजवादी क्रान्ति र रूपान्तरणको युग, वैज्ञानिक समाजवाद–नेपाली विशेषताको समाजवादी कार्यक्रम, त्यसलाई प्राप्त गर्ने क्रान्तिकारी कार्यदिशाको बाटो, बिल्कुलै सही थिए र अहिले पनि छन तर तिनीहरूलाई लागू गर्ने कार्यदिशा तय गरेर शक्ति परिचालन गर्ने काम भएन ।
४.एकता प्रक्रियामा २०–२५ समूहलाई ल्याउनुका साथै तिनीहरूलाई सही कार्यदिशाका आधारमा संगठित गर्न प्रयत्न भएन । एकताको घोषणा मात्र गरेर सबैलाई आआफ्नै ढंगले चुनावी अभियानमा जान बाध्य पारियो ।
५.नेतृत्वदायी कोर टिम बनेन ः एकतापछि तुरुन्त पहिलो काम सिनियर नेताहरूको १०–१२ जनाको नेतृत्वदायी कोर ग्रुप बनाउनु पर्दथ्यो र पार्टी एकीकरण गर्ने कामलाई प्राथमिकता दिएर अघि बढाउन सक्नुपर्दथ्यो । तर त्यसो केही भएन ।
६.एकीकरणको संगठनात्मक अभियान सुरु नै भएन ः पार्टीमा १० समूहलाई एकीकृत गर्ने २०८२ कार्तिक १९ गतेको घोषणा भए पछि अर्को दिनबाट नै पार्टीलाई संगठनात्मक रुपले एकीकृत गर्ने अभियान सुरु गर्नुपर्दथ्यो र त्यो केन्द्र,प्रदेश, जिल्ला, पालिका, वार्ड र आधारभूत इकाई सम्म लानुपर्ने थियो । अझ एकतामा आउने समूहलाई त्यही प्रक्रियामा एकीकृत गर्दै पार्टी र शक्तिलाई सुदृढ गर्दै जानुपर्ने थियो । तर पार्टीको यो आवश्यकतालाई बिल्कुलै वेवास्था गरियो ।
७.सन्देश सभाको सट्टा एकीकरण गर्नुपर्ने थियो ः समयको चापलाई ध्यान नदिकन र कामको प्राथमिकतालाई ध्यान नदिइकन पार्टीलाई संगठनात्मक एकीकरणको दिशातिर लानुको सट्टा सात वटै प्रदेशमा “एकता सन्देश सभा” गर्ने भनेर पार्टीको ध्यान त्यतातिर केन्द्रित गरियो ।
माथिदेखि तलसम्म पार्टीका कुनै कमिटी छैनन, शक्ति एकताबद्ध छैन त्यस्तो अवस्थामा सन्देश सभाहरू भएपनि तिनीहरू आफै पनि पर्याप्त मात्रामा प्रभावकारी भएनन । अर्कोतिर ती सभाहरू कुनै भेला र उत्सव जस्ता मात्र भए । त्यसले संगठन शक्तिलाई विस्तार गर्न कुनै भूमिका खेल्न सकेन । घर फर्किदा सबै एकला एक्लै छरपष्ट भएर फर्के । खाली ती सभाबाट पार्टीको र कार्यकर्ता पंक्तिको खर्च मात्र भयो । पार्टी एकता भएकोमा सकारात्मक सन्देश गयो, तर त्यसले संगठित रुप लिन पाएन र सकेन ।
८.एकता घोषणापछि तीन महिनाको समय सदुपयोग भएन: कार्तिक १९ गते २०८२ मा एकता सम्मेलन गरेपछि पनि पार्टीलाई संगठनात्मक रुपले एकीकरण गरेर आम जनताबीच पार्टीलाई पुर्याउनका निम्ति हामीसँग मंसीर, पुस र माघका तीनवटै सिङ्गै महिनाहरूको समय थियो । ९० दिनको त्यो समय संगठनात्मक कामका निम्ति धेरै महत्वपूर्ण समय थियो । तर नेतृत्व गर्ने दायित्व बोकेका संयोजक र सहसंयोजक कमरेडहरु के काममा व्यस्त रहनुभयो र किन संगठनात्मक एकीकरणको कामलाई बेवास्ता गर्नुभयो । त्यो अहिले पनि बुझ्न सकिएको छैन । वास्तवमा त्यो वहाँहरूको गम्भीर कमजोरी हो । त्यसले गर्दा पार्टीको संगठनात्मक शक्ति विस्तार गर्न सकिएन । त्यसले पार्टीलाई २१ फागुनको चुनावको राम्रो तयारी गर्नबाट वञ्चित ग¥यो ।
९.अपानी र अपिल जारी गर्ने सहमति: त्यसै बीचमा सन्देश सभा गर्नु भन्दा ठिक अघि नेताहरूको एउटा जमघट पेरीस डाँडामा राखिएको थियो । मेरो मनमा पार्टीको नेतृत्वदायी एउटा सानो टिम बनाएर सबै कामलाई अघि लगे हुन्थ्यो, पार्टीलाई एकरुप ढङ्गले हाक्न सके हुन्थ्यो भन्ने लागेको थियो । त्यसैले मैले “यो बैठक हो कि, के हो मैले बुझिन” भनेर सोधेँ । प्रचण्ड कमरेडले “यो बैठक होइन भेला मात्र हो” भन्नुभयो । मैले त्यसै भएपनि यति धेरै विभिन्न समूहहरू एकताबद्ध बनाएका छौं, विभिन्नलाई विभिन्न कुरा लागेको हुनसक्छ ।
अब सन्देश सभामा जाने हो भने पनि पार्टीव्यापी रुपमा पुग्ने गरी एउटा “अपानी” जारी गरौं । सिङ्गो पार्टीलाई एउटै कार्यदिशा, नीति र सिद्धान्तको आधारमा खडा गरौं । तलका कार्यक्रमहरू कसरी आयोजित हुन्छन् तिनीहरूलाई पनि एक ढंगले अघि बढाउन निर्देशन गरौं भने । साथै हामीले कस्तो परिस्थितिमा एकता गरेका छौँ, हाम्रा सामु कस्ता कार्यभारहरु छन तिनीहरूलाई दिशाबोध गर्ने गरी एउटा “अपिल” पनि जारी गरौं भन्ने मैले सुझाव राखे । अरु पनि धेरै कमरेडहरूले यो कुरा उठाउनुभयो । त्यो कुरा स्वीकृत भयो । तर ती काम गर्नका लागि पनि कुनै कमिटीगत छलफल भएन । के अन्तरवस्तुका साथमा ती अपिल र अपानी जारी गर्ने बारेमा पनि कतै छलफल भएन ।
१०. कमिटी प्रणाली तब पनि भएन: त्यसपछि क्रमश एकपछि अर्को अपानीहरू जारी हुन थाले । तर ती अपानीहरु कसले तयार ग¥यो ? । त्यसमा के अन्तरवस्तु राखियो, तिनीहरूलाई कुन कमिटीले पास गरेर जारी गरियो ? केही थाहा पत्तो भएन । कम्युनिष्ट पार्टीमा त सामूहिक निर्णय सामूहिक नेतृत्व हुन्छ, कमिटी प्रणाली भनेको कम्युनिष्ट पार्टीको ज्यान नै हुन्छ । कम्युनिष्ट पार्टीमा कुनै पनि निर्णय नेतृत्वदायी कमिटीबाट सामूहिक निर्णयका रुपमा गरिन्छ । यो नेपाली कम्युनिष्ट पार्टी एउटा नयाँ पार्टी बनेको छ । तर यसमा कमिटी प्रणाली र सामूहिक नेतृत्व भन्ने कुरा त प्रकट नै भएन । के अब संयोजक र सहसंयोजकले नै सबै कुराको निर्णय गर्ने हो ? यी प्रश्नहरू उठे । उठ्दै गए । तर सुरुमा कमरेडहरूले भ्याउनु भएन होला हतारमा भएकाले मन जितेर दुईजनाले जारी गरेको होला भनेर चित्त बुझाइयो । तर धेरै पछिसम्म पनि त्यसमा सुधार आएन । यस्ता कुराले सुरुदेखि नै एकतामा आएका साथीहरुलाई वैचारिक रुपले र कार्यशैलीगत रुपले एकताबद्ध बनाउन सकेन । एकीकृत ढंगले हाम्रो शक्ति परिचालित नै हुन सकेन ।
११.शपथ ग्रहणपछि पनि कमिटी बन्न सकेन: त्यसपछि पनि नेतृत्वदायी कमिटी निर्माण गर्ने पहल हुन सकेन । २०८० पुस २९ (जनवरी १३, २०२६) मा पेरीस डाँडामा २५०० प्लस केन्द्रीय कमिटी सदस्यहरुको शपथ भयो । अब चाहिँ संगठन बन्ने रहेछ भनेर सबै नवगठित केन्द्रीय कमिटीहरूले आशा प्रकट गर्नुभयो । थुप्रै केन्द्रीय सदस्यहरूले “कहिले पार्टी एकीकरण हुन्छ” भनेर सोधेका प्रश्नहरूको सबै चित्त बुझाउने ढङ्गले आश्वस्त पार्दै “अब हुन्छ” भनेर सम्झाइयो । तर त्यसपछि पनि पार्टी एकीकरण कहिले हुन्छ र कसरी हुन्छ ? कतै पनि छलफल हुँदैन । संयोजकसँग सम्पर्क गर्न पनि कठिन छ । भइहाले पनि यस्ता कुरा गर्ने औसर नहुने । मैले धेरै अन्य नेताहरूसँग कुरा गरे । वहाँहरुले पनि मेरो जस्तै कथा सुनाउनुभयो । कसैसँग विचार विमर्श भएको सुनिँदैन । बरु उल्टै फेरि पनि “अपानी”हरू जारी हुँदै गर्छन् । कहीँ छलफल वा कुनै कमिटीमा निर्णय भएको बुझिँदैन । संयोजक र सहसंयोजकको यो कार्यशैली देख्दा दुःख पनि लाग्यो र आश्चर्य पनि लाग्यो । जब हामी नै संस्थागत रुपले सञ्चालित छैनौँ । अनि निर्वाचनमा प्रगति र विजय कसरी हुन्छ ? यो प्रश्न सधै हाम्रा सामु रहि रह्यो । के दुई जनाले जे ग¥यो त्यही संस्थागत हो त ? यी सबै केन्द्रीय कमिटी सदस्यहरूसँग रहेका अनुत्तरित प्रश्न रही रहे । त्यसले पार्टीलाई मात्र होइन नेतृत्वदायी शक्ति नै संगठित हुन सकेन ।
१२.राष्ट्रिय सभामा तीन सिट स्वीकार किन नगरेको: अब बिस्तारै निर्वाचन नजिक आइरहेको थियो । त्यसै बीच राष्ट्रिय सभाको २० सिट खाली भएकाले २०८२ को कोटामा २० जनाको निर्वाचन हुने भयो । त्यसमा संसदभित्र र तल्ला निकायमा रहेका हाम्रो शक्तिले काहीँ पनि अलग्गै एक सिट पनि जित्न सक्ने अवस्था थिएन । त्यस्तो अवस्थामा अन्य दलहरूसँग बुद्धिमत्तापूर्ण ढङ्गले समीकरण गर्न सक्दा केही सिट जित्न सम्भव हुन्थ्यो । तर त्यो निर्वाचनअघि पार्टी नेताहरूको एउटा भेला आयोजना भयो ।
त्यो “भेला”मा राष्ट्रिय सभाको चुनावबारे छलफल पनि भयो । त्यसमा संयोजक र सहसंयोजकले नेपाली कांग्रेस र एमालेसँग “चार सिट” मागेको कुरा गर्नुभयो । तर एमाले तीन सिटभन्दा बढी दिन तयार नभएको कुरा आयो । त्यो हुने बित्तिकै केही साथीहरुबाट “त्यसो भए उम्मेदवार नै नउठाउने, चार सिट दिए मात्र उम्मेदवार दिने” भन्ने कुरा आयो । त्यसमा छलफल होला भनेर म चाहिँ संयोजकको मुखतिर हेर्दै थिए । वहाँले “ल ल, चार सिट दिए दिन्छन नत्र नलड्ने” भनेर निर्णय सुनाइहाल्नुभयो । हामी अरुको बोल्ने ठाउँ नै रहेन । कमरेडहरू ! आखिर हाम्रो शक्तिले एक सिट पनि जित्न नसकिने त निश्चित थियो । उनीहरुले दिन्छु भनेका तीनवटै सिट मात्र स्वीकार गरेको भए पनि राष्ट्रिय सभामा हाम्रो शक्ति वृद्धि नै हुने थियो । त्यसले के बिगार्ने थियो र अस्वीकार गरेको ? मलाई लाग्छ, संयोजक र सह संयोजकले यसमा पनि गल्ती नै गर्नुभएको छ ।
१३. निर्वाचन घोषणापत्र: त्यसपछि त अब फागुन २१ को प्रतिनिधिसभाको निर्वाचनतर्फ केन्द्रित हुने बेला आइहाल्यो । अब त कमसेकम पार्टी सचिवालय गठन गरेर त्यसको बैठक हुन्छ होला र बैठकबाट नै आम निर्वाचन सम्बन्धी पार्टी कार्यदिशा, नीति, रणनीति र समग्र योजना बन्ला भन्ने आशा थियो । एक दिन बिहानै मलाई प्रचण्ड कमरेडले फोन गर्नुभयो र मलाई पार्टीको घोषणापत्र बनाउने काममा संयोजक तपाईँलाई बनाउँदा के हुन्छ भन्नुभयो । मैले सकारात्मक उत्तर दिए । त्यसदिन मैले एमाले, माओवादी, एकीकृत समाजवादीका विगतका घोषणापत्रहरु सङ्कलन पनि गरे ।
अहिले खासगरी “जेन्जी आन्दोलन” पछिका नयाँ कुरा के छन तिनीहरू पनि हेरे । तर फेरि फोन आएन, आउँदै आएन । मलाई त हाइ सन्चो नै भयो । घोषणापत्र यसपटकको अत्यन्त सीमित समयमा बनाइने र प्रचारमा लानुपर्ने भएकाले बढीभन्दा बढी बुँदागत र खिरिलो बनाएको भए राम्रो हुन्थ्यो । तर देख्न र पढ्न पनि नसकिने मधुरो रातो कलरमा छापिएछ । छर्लङ्ग देखिने सामान्य कालो अक्षरमा नै छापेको भए राम्रो हुने थियो । त्यस्तो भएको भए अलि बढीले पढ्न पाउथे होलान । मलाई लाग्छ त्यो घोषणा पत्र हाम्रो पंक्तिले आम रुपमा नै पढेन । तल जनता बीचमा लगेर पठाउने प्रयत्न पनि भएन । त्यसले चुनावको तयारीलाई मद्दत गर्नै सकेन ।
१४. उम्मेद्धवार चयनमा विधि हिनता: घोषणापत्रको कुरा त यस्तै भयो अब सबभन्दा महत्वपूर्ण एजेन्डा भनेको १६५ स्थानका प्रत्यक्ष निर्वाचनका उम्मेदवारहरू चयन गर्ने कुरा थियो । एउटामा जनमोर्चासँग कार्यगत एकता गरिएको थियो । २०–२५ वटा वाम समूहहरू एकताबद्ध भएका छौँ । माथिदेखि तलसम्म एकीकरण भएको छैन । कमसेकम जिल्लामा मात्र पनि एकीकृत कमिटीहरू बनेका भए तलबाट कमरेडहरूले कुन निर्वाचन क्षेत्रमा को उम्मेद्धार हुन सक्ने छन् भनेर प्रस्ताव पठाउन सजिलो हुन्थ्यो । एकीकरण काहीँ भएको छैन । कमिटीहरू बनेका छैनन ।
यस्तो अवस्थामा तलबाट प्रस्ताव आउन नै पनि जटिलताहरू थिए । त्यसले गर्दा सबैको चित्त बुझाउन यसै पनि गाह्रो थियो । त्यसमाथि तलबाट जुन रूपमा प्रस्तावहरू आएका भएपनि कमसेकम माथि त नेतृत्वदायी कमरेडहरूको कोर टिम बसेर टुङ्गो गरेको भए हुन्थ्यो । यत्रो गम्भीर सवालमा पनि सामूहिक रूपले कुनै छलफल भएन, कमिटीगत रुपले विचार विमर्श गर्ने कुनै वातावरण बनाइएन । यस सवालमा पनि संयोजक र सहसंयोजकले आफूलाई जेजे मनलाग्छ त्यही ढंगले उम्मेद्धार चयन गरेको देखियो । कम्युनिष्ट पार्टीमा पनि विचार र राजनीतिको, योग्यता र क्षमताको, ज्ञान र अनुभवको तथा आवश्यकता र जिम्मेवारीको कुनै मतलब राखिएन । त्यसले गर्दा पार्टीभित्रै असन्तुष्टिहरु विद्यामान रहे । पार्टी भित्र सबै शक्तिलाई एकताबद्ध बनाएर परिचालित गर्ने परिस्थिति बन्न सकेन ।
१५.समानुपातिकको बन्दसुची तयार गर्दा पनि सामूहिक छलफल हुन सकेन: त्यसरी नै उम्मेद्धार चयन गर्ने सिलसिलामा अर्को महत्वपूर्ण कुरा भनेको समानुपातिक निर्वाचनका निम्ति बन्दसूचीमा विभिन्न क्लस्टरबाट पार्टीको तर्फबाट अघि सारिने उम्मेदवारहरूको सूची तयार गर्नुपर्ने प्रश्न थियो । त्यसमा विभिन्न क्लस्टरबाट विभिन्न व्यक्तिहरूलाई अघि सार्ने मात्र होइन आजको चुनौतीपूर्ण अवस्थामा पार्टीको तर्फबाट जाने व्यक्तिहरूको गुणस्तर र उनीहरूको प्राथमिकताका बारेमा पार्टीले गम्भीर रुपले सोच्नुपर्ने थियो र उम्मेद्धारहरुलाई योग्यता र क्षमताको आधारमा छनोट गर्ने प्रश्न थियो ।
यसपटक पार्टीको आवश्यकता, संसदमा गएर गर्नुपर्ने क्रान्तिकारी सङ्घर्ष र त्यसका लागि आवश्यक पर्ने योग्यता र क्षमताको मूल्याङ्कन राम्ररी गरेको देखिएन । विभिन्न क्लस्टरबाट पठाइने उम्मेद्धारहरूको सूची तयार गर्दा पनि सामूहिक निर्णयको पद्धतिलाई बिल्कुलै वेवास्ता गरियो। त्यसले गर्दा बन्दसूचीकै बारेमा पनि एकतामा आएका विभिन्न घटकहरूबीच असन्तुष्टिहरू रहे । तिनै उम्मेदवारहरूलाई अघि सारे पनि सामूहिक रुपले र कमिटी मार्फत निर्णय गरिनुपथ्र्यो । यो कुरामा पनि संयोजक र सहसंयोजकले पार्टी पद्धति वेवास्ता गरेको देखियो ।
१६.जनसंगठनलाई पनि एकताबद्ध गरेर परिचालन गरिएन: कम्युनिष्ट पार्टीलाई त हामीले माथिदेखि तलसम्म एकीकृत गर्न सकेनौं । कम्युनिष्ट पार्टीका वरिपरि पार्टीका हात र खुट्टाका रुपमा दर्जनौं जनसंगठनहरु थिए । एकतामा आएका विभिन्न समूहका विभिन्न प्रकारका संगठनहरु समेत थिए । तिनीहरूलाई पनि एकीकृत गर्ने र परिचालन गर्ने काम हुन सकेन ।
जुन पार्टीले आफ्ना जनसंगठनहरू परिचालन गर्न सक्दैन त्यो आफ्ना हात र खुट्टा नभएको मुडो जस्तै हुन्छ । त्यस्तो पार्टीसँग आम जनताको सम्बन्ध गहिरो र घनिष्ठ बन्नै सक्दैन । यसरी जन संगठनहरुलाई एकीकृत गर्ने र परिचालन गर्ने काम नहुँदा हाम्रो पार्टी शक्ति नै परिचालित हुन सकेन । यस कुराले पनि हाम्रो पार्टीको मत परिणामलाई निकै ठूलो मात्रामा प्रभाव पारेको छ ।
१७.चुनावी अभियान कसका विरुद्ध त्यो पनि प्रष्ट पारिएन: एउटा वर्गीय समाजमा सञ्चालित हुने चुनावी अभियान आफैंमा वर्गसंघर्षको अभियान हो । वर्ग सङ्घर्ष विकासको हरचरणमा, हर अभियानमा वा हर अवस्थामा पार्टीले आफ्नो वरिपरि चुनावी मैदानमा भएका सबै प्रमुख पार्टीहरूको ठोस रुपमा वर्ग विश्लेषण गर्नुपर्ने हुन्छ ।
आफ्नो स्वतन्त्र पहल कदमीलाई अघि बढाउनुको साथै ती विभिन्न वर्गका प्रतिनिधित्व गर्ने पार्टीहरूको वर्गचरित्र विश्लेषण गर्नुपर्ने हुन्छ । त्यसमध्ये दलाल पुँजीपति वर्गका प्रतिनिधि पार्टीहरू प्रतिक्रियावादी पार्टीहरू हुन्छन । त्यो वर्गका पनि एउटै मात्र प्रतिनिधि पार्टी नहुन सक्छन् र एकभन्दा बढी हुन सक्छन । तिनीहरूमध्ये कुन चाहिँ पार्टी हाम्रो मुख्य प्रतिद्वन्दी र मुख्य प्रतिस्पर्धी पार्टी हो भन्ने कुरा निर्धारण गर्नुपर्ने हुन्छ । त्यही पार्टीलाई हराउने हाम्रो मुख्य कार्यनीतिक लक्ष्य हुनुपर्छ ।
तर हाम्रो चुनावी अभियानमा त्यस्तो मुख्य प्रतिद्वन्दी पार्टी को हो भन्ने बारेमा सामूहिक रुपले छलफल पनि भएन र मुख्य निशाना र प्रतिस्पर्धी शक्ति यो हो भनेर तोक्ने काम पनि भएन । हाम्रो अभियानलाई संयोजक र सहसंयोजकले ठोस दिशा दिने काम नै गर्न सक्नुभएन । हाम्रो चुनावी अभियान लक्ष्यहीन र दिशाविहीन जस्तै बन्न पुग्यो । परिस्थितिमा भित्रभित्रै आइरहेको परिवर्तन, जनताको मनस्थितिमा आइरहेको परिवर्तन र भित्रभित्रै राजनीतिक शक्ति सन्तुलनमा आइरहेको परिवर्तनका बारेमा नेतृत्व जानकार र सुसुचित नै हुन सकेन । त्यही कारणले सही मार्गदर्शन पनि गर्न सकेन ।
१८.युवाहरूलाई सम्म पनि परिचालन गरिएन: हामीले कुनै पनि अभियान सञ्चालन गर्दा युवा शक्तिलाई प्राथमिकताका साथ परिचालन गर्नुपर्ने हुन्छ । हामीसँग विभिन्न युवा संगठनहरू थिए र छन् । तर तिनीहरूलाई समयमा एकीकृत पनि गरिएन र उनीहरूलाई जुन प्राथमिकताका साथ परिचालन गरिनुपर्ने थियो । त्यस हिसाबले परिचालन गर्ने काम नै हुन सकेन । क्रान्तिकारी, दृढ र क्षमतावान युवाहरूलाई एकताबद्धसम्म पनि गरिएन ।
प्रचण्ड कमरेड आफैंले म बिना भेदभाव एकताबद्ध गर्छु भनेका युवाहरुलाई सम्म पनि एकताबद्ध गरिएन । उनीहरूलाई कुनै ठोस काम पनि दिएन । उनीहरू आफ्नै योजना अनुरुप आआफ्ना निर्वाचन क्षेत्रमा गएर भोट हाल्न मात्र पुगे । तर दिग्गज नेताहरूले योग्य र वरिष्ठ भनेका र युवाहरूको मुख्य जिम्मेवार बनाएका नेताहरू नै आखिर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्न पुगे । युवाहरूका गुण र क्षमतालाई बुझ्न नसक्नु र उचित जिम्मेवारी दिएर परिचालन गर्न नसक्नुले पनि पार्टीको पराजयलाई बल पुगेको छ ।
१९.चुनावी अभियान सञ्चालन गर्ने प्रभावकारी संयन्त्र नै भएन: कुनै पनि राष्ट्रिय स्तरका चुनावी अभियानहरू सञ्चालन गर्दा पार्टी शक्तिलाई दुई भागमा बाँड्नुपर्छ । एउटा प्रत्यक्ष निर्वाचनमा गएर मैदानमा भिड्ने समूह र अर्को पार्टीको राष्ट्रव्यापी निर्वाचन अभियानलाई मार्गदर्शन, समन्वय, सहयोग र आवश्यक व्यवस्थापनका निम्ति खट्ने नेताहरूको समूह र त्यस मार्फत पार्टीसँग भएको साधन स्रोतलाई बाँडफाड वितरण गर्नुपर्ने हुन्छ । यी कामका लागि पनि पार्टीले आफ्नो शक्ति विन्यास गर्न सकेन । एउटा निर्वाचन परिचालन कमिटी बन्यो । तर त्यसले अधिकार र क्षमताको साथै देशभरिको अभियानलाई समन्वय गर्न सकेको देखिएन ।
२०.साधन स्रोतको बन्दोबस्त र बाँडफाड पनि हुन सकेन: यो २१ फागुनमा भएको निर्वाचन पुँजीवादी संसदीय लोकतन्त्रको चुनाव हो । यो पहिलो हुनेले जित्ने निर्वाचन पद्धति एउटा विशेष पुँजीवादी पद्धतिको निर्वाचनमा हुन्छ । यस्तो चुनावमा पूँजीबिना लड्ने नै सम्भव हुदैन । यस्ता चुनावी अभियानहरूमा ठूलो खर्च हुन्छ ।
निर्वाचन आयोगले खर्चको सीमा त तोकेको छ तर यो निर्वाचन पद्धतिमा अधिकांशले त्यो सीमा पालना गर्न सक्दैन । वर्तमान चुनाव पद्धतिलाई नै परिवर्तन नगरी चुनाव खर्च घटाउन र घट्न सक्दैन । यस्तो खर्चिलो चुनाव कसरी सामना गर्ने भन्ने बारेमा पार्टीसँग ठोस आर्थिक योजना हुनुपर्छ, साधन स्रोतको बन्दोबस्त गर्नुपर्ने हुन्छ र सबै उम्मेदवारहरूलाई पार्टीले टिकट दिनका साथसाथै निर्वाचन क्षेत्रको स्थिति र उम्मेदवारहरूको स्थिति समेतलाई हेरेर साधन स्रोत उपलब्ध गराउनुपर्ने हुन्छ । त्यसका लागि पनि सामूहिक नेतृत्व र छलफलको आवश्यकता पर्छ ।
नेतृत्वको कोर समूहभित्र यी कुराको जानकारी हुनुपर्छ र प्रत्येक चुनावी अभियानमा पार्टीको आय व्ययको पनि लेखा राखीनुपर्ने हुन्छ । अन्यथा पार्टीभित्र नचाहिँदो आशंका उपशंकाहरु सिर्जना हुने, विरोधीहरूले फाइदा उठाउने र पार्टीलाई अनावश्यक रुपले बदनाम गर्ने काम हुनसक्छ । यसपटक यो काम भएको पनि अनुभूति भएन । मसँग कयौँ उम्मेदवारहरूले सहयोगको बारे जिज्ञासा राख्नुभयो । तर मसँग त्यसको कुनै तथ्ययुक्त जवाफ थिएन । यो कारणले पनि कयौँ ठाउँमा हाम्रो प्रचार र ब्यवस्थापन प्रभावकारी बन्न सकेन ।
२१.पार्टी नेता र कार्यकर्ताहरू नै जिम्मेवारी विहिन भए: यो निर्वाचन अभियानको दौडानमा उम्मेदवार बनेका कमरेडहरू र सम्बन्धित निर्वाचन क्षेत्रमा बनाइएका निर्वाचन परिचालन कमिटीहरूमा संगठित भएका बाहेक अरु धेरै कमरेडहरु परिचालित नै हुन सक्नुभएन ।
उनीहरुले पार्टीका कुनै न कुनै कमिटीमा आबद्ध भएर काम गर्न नपाउनुको कारणले बेरोजगार जस्तो भएर समय बिताउनु पर्ने भयो । कमसेकम पार्टी एकीकरण गरेर कार्यक्षेत्र जिम्मा दिन सकेको भए सबैको शक्ति चुनावमा केन्द्रित हुन सक्थ्यो । केही महत्वपूर्ण विभागहरू मात्र बनाइदिएको भए ती विभागीय क्षेत्रको काम अघि बढ्न सक्ने थियो । मेरै सन्दर्भमा मैले संयोजक कमरेडलाई पटकपटक जिम्मेवारीको कुरा गरे ।
मैले अन्तर्राष्ट्रिय सम्बन्ध विभाग मलाई जिम्मा दिनुहोस न त पनि भने । शुरुमा सकारात्मक कुरा गर्नुभयो । त्यो भएपछि “हामी यसरी नेपाली कम्युनिष्ट पार्टी निर्माण गर्दैछौ,ं एकताको प्रक्रिया यसरी अघि बढ्दैछ भनेर मैले आफ्नै पहलमा एउटा सानो नोट बिभिन्न पार्टीहरुलाई पठाए । ४० देशका कम्युनिष्टहरूले बडो खुसी भएर बधाई पठाए र एकता प्रक्रियाको विस्तृत जानकारी औपचारिक रुपमा पठाउन आग्रह गरे । त्यो भएपछि मैले जिम्मेवारी नपाईकन औपचारिक पत्र पठाउन मिलेन । यदि यसरी विभिन्न व्यक्तिलाई विभिन्न क्षेत्रको काम दिएको भए चुनावी अभियानलाई थप वैचारिक मद्दत र प्रेरणा मिल्ने थियो । त्यो पनि भएन ।
२२. मित्रशक्ति खासगरी वामपन्थी शक्तिलाई पनि एकताबद्ध गर्न सकिएन: निर्वाचनमा हामीले दलाल पुँजीपति वर्गको प्रतिनिधि पार्टीहरूसँग कुनै पनि प्रकारको चुनावी गठबन्धन वा कार्यगत एकता गरेनौ । बिल्कुलै ठिक नीति हो । हामीले पहिलेका चुनावमा पनि त्यही गर्नुपर्ने थियो । त्यसो नगरेर ठूलो गल्ती भएको छ ।
तर चुनावी मैदानमा उभिएका जनता पंक्तिका अन्य पार्टीहरू जुनसुकै वर्गका भएपनि तिनीहरू हाम्रा मित्र शक्तिहरु हुन् र थिए । त्यस्ता शक्तिहरू भनेका देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र वामपन्थी शक्ति र व्यक्तिहरू नै हुन । उनीहरू हाम्रा मित्र र सहयोगी शक्ति हुन् वर्गीय हिसाबले । उनीहरूलाई समेत गोलबन्द गरेर साझा कार्यक्रमका आधारमा चुनावी अभियानमा गएको भए हाम्रो बेग्लै स्थिति हुने थियो ।
निर्वाचन आयोगले प्रकाशित गरेको तथ्याङ्कहरूकै आधारमा हेर्ने हो भने पनि बाम कार्यगत एकता गरेको भए हामी प्रत्यक्षमा थप २५ सिट जित्ने थियौ । त्यसका आधारमा मात्र हेर्दा पनि हाल एमालेले प्राप्त गरेको २५ र नेकपाले प्राप्त गरेको १७ जोड्दा ४२ सिट हुन्छ । कार्यगत एकता भएको भए अहिलेकै तथ्याङ्कमा थप २५ सीट स्वभाविक रुपले वामपन्थीले जितेको देखिन्छ । हाम्रो मत विभाजन भएर मात्र अरुले जितेका छन ।
त्यसो गर्दा वामपन्थीको ६७ सिट पुग्ने थियो । यदि बाम एकता भएको भए जनतामा बेग्लै उत्साह र विश्वास हुने थियो । धेरै जनता निराश भएर घन्टीतिर भोट हाल्न जाने थिएनन । हाम्रो समानुपातिक मत निकै बढ्ने थियो र प्रत्यक्षमा पनि केही सिट बढ्दा वामपन्थीहरूको मत संसदमा १०० को हाराहारी पुग्न सक्थ्यो ।
त्यसले गर्दा संसदमा वामपन्थीहरूको शक्ति एउटा बलियो शक्ति बनि नै रहन्थ्यो । अरु कसैले बहुमत ल्याउन सम्भव हुने थिएन । तर एक्ले ढेडु मनस्थिति र मपाई बादी प्रवृतिले गर्दा त्यो पनि सम्भव भएन । यस्तो परिस्थितिको कारणले विभिन्न वामपन्थी पार्टीहरु भित्र संगठित नेता, कार्यकर्ता र शुभेच्छुकहरुको मनस्थिति नै खलबलिन पुगेको थियो । उनीहरूको पनि ठूलो भाग कर्तव्य विमुख बनेको थियो । आखिर त्यो पंक्तिले समेत घन्टीमा भोट हाल्न पुग्यो । तथ्यहरूले यही कुरा पुष्टि गर्दछ ।
२३.पार्टी मनोगत मूल्याङ्कनको शिकार भइरहेको थियो: स्थिति यस्तो अवस्थामा पुगिरहेको भएपनि हाम्रो पार्टी लगायत वामपन्थी नेताहरू विजय प्राप्तिको मनोगत र रङ्गीन सपनामा मस्त देखिन्थे । हाम्रा नेताहरूको पनि त्यही स्थिति थियो । तल भुइँमा के भइरहेको छ, जनताको मनस्थितिमा के पाकिरहेको छ, उनीहरूको मनोविज्ञान कता ढल्किरहेको छ, नेताहरुलाई त्यो केही पनि थाहा थिएन ।
कमरेड संयोजक आफ्नो प्रचार अभियानबाट समय निकालेर काठमाडौँ आउनु भयो र पार्टी अफिसमा उपलब्ध साथीहरुको भेला आयोजना भयो । कमिटी त बनेकै छैन, पार्टी कमिटीको बैठक हुने त कुरै भएन । त्यो भेलामा विभिन्न प्रदेशको तर्फबाट विभिन्न कमरेडहरूले हामीले कति सिट जित्छौ भन्ने कुरा राख्नुभयो । वहाँहरू बडो उत्साहको अवस्थामा हुनुहुन्थ्यो ।
त्यसैबीच सबैतिरको स्थितिको सार संक्षेप बनाएर संयोजक कमरेडले बडो रोचक र उत्साहपूर्ण तथ्याङ्क प्रस्तुत गर्नुभयो । वहाँका अनुसार त्यसबेलासम्मको स्थितिमा हाम्रो जीत ४४ सिटमा सुनिश्चित बनेको थियो । अरु ६०–७० सिटमा एकदम राम्रो प्रतिस्पर्धा थियो र त्यहाँ पनि जित्ने सम्भावना थियो ।
यो रिपोर्टिङले के प्रष्ट देखाइरहेको थियो भने अब नेकपा समानुपातिकमा समेत गर्दा पहिलो पार्टी बन्छ र संसदमा निर्णायक भूमिका खेल्न सक्छ । यस्तो थियो हाम्रो पार्टी नेतृत्वको मूल्याङ्कन र मनस्थिति निर्वाचनको तीन चार दिन अघि मात्र पनि । हाम्रो पार्टी तल भुइँमा रहेका आधारभूत तहका जनताबाट कति टाढा पुगेको रहेछ र कस्ता सूचनाहरूका आधारमा विश्लेषण र संश्लेषण गर्दै हिँडिरहेको रहेछ भन्ने कुरा यो विश्लेषणले प्रष्ट देखाउँछ ।
उपरोक्त आधारभूत र तत्कालीन कारणहरूले तथा भित्री र बाहिरी कारणले गर्दा यसपटकको निर्वाचनमा जनताको मनस्थिति मात्र होइन हाम्रा कार्यकर्ता, समर्थक र शुभेच्छुकहरूको समेत मनस्थिति खलबलिन पुग्यो । त्यसले गर्दा हाम्रा कति पार्टी कार्यकर्ता र समर्थकहरूले समेत घन्टीमा भोट हाल्न पुगेको देखिन्छ ।
त्यसैले हाम्रो पार्टी र सिंगो कम्युनिष्ट आन्दोलनले नै यसपटकको निर्वाचन, त्यसका परिणामहरू त्यसले देखाएका संकेतहरु र हाम्रो खतरनाक पराजयका सम्पूर्ण कारणहरुलाई अत्यन्तै गम्भीरतापूर्वक लिनुपर्छ । ती सम्पूर्ण कारणहरूको गहिरो विश्लेषण गर्नुपर्छ । यी हारका कारणहरूबाट कहिले बिर्सन नसक्ने शिक्षाहरु ग्रहण गर्नुपर्छ ।
हामी सबै प्रष्ट हुनुपर्छ यो हारका निम्ति आम जनता जिम्मेवार छैनन । हाम्रा मतदाताहरू जिम्मेवार छैनन । हाम्रा कार्यकर्ता, समर्थक र शुभेच्छुकहरू पनि मुख्यरूपले जिम्मेवार छैनन । तर यो हारको मुख्य र निर्णायक जिम्मेवारी हर हिसाबले पार्टी नेतृत्वको हो । त्यसैले पार्टी नेतृत्वले यो जिम्मेवारीलाई स्वीकार गर्नुपर्छ । पार्टी पंक्ति र आम जनता समक्ष आत्मआलोचना गर्नुपर्छ र पार्टीको वैचारिक–राजनीतिक कार्यदिशा तथा नेतृत्वमा समेत व्यापक पुनर्गठन र परिवर्तन गर्न तत्पर हुनुपर्छ ।
निर्वाचन पछि बिकसित राष्ट्रिय परिस्थिति
फागुन २१, २०८२ को प्रतिनिधिसभाको निर्वाचनले मुलुकको राजनीतिक परिस्थितिमा आधारभूत कुरा बाहेक अन्य कतिपय कुरामा महत्वपूर्ण परिवर्तन ल्याएको छ । ती सबै कुरालाई हामीले गम्भीर रुपमा लिनुपर्छ र नयाँ परिस्थितिको सटिक विश्लेषण गर्दै पार्टी र क्रान्तिलाई अघि लानुपर्छ ।
प्रथमतः नेपाली समाज २०६२–६३ को पूँजीवादी जनवादी क्रान्तिपछि समाजवादी क्रान्ति र रूपान्तरणको नयाँ युगबाट अघि बढ्दै छ । समाजवादी क्रान्ति र रूपान्तरणको त्यो ऐतिहासिक प्रक्रिया अहिले पनि जारी छ । त्यसका सामु नयाँ चुनौतीहरू थपिएका छन, तिनीहरूको गहिरो विश्लेषण गर्दै अघि बढ्नुपर्छ ।
दोस्रो,नेपाली समाजको आम वर्गीय स्थिति अहिले पनि उस्तै छ । वर्गीय अन्तरविरोधहरु पनि आम रुपमा उस्तै छन । अहिले पनि नेपाली समाजमा दलाल पुँजीवाद र व्यापक जनसमुदाय बीचको अन्तरविरोध नै प्रधान अन्तरविरोध रहिरहेको छ । साथसाथै बढ्दो साम्राज्यवादी र वैदेशिक हस्तक्षेप र घुसपैठका कारणले राष्ट्रिय अन्तरविरोध पनि पहिले भन्दा चर्को बनेको छ । तदनुरूप राष्ट्रियताका निम्तिका संघर्षहरुलाई अझ तीव्रता दिनुपर्ने आवश्यकता रहेको छ ।
तेस्रो जहाँसम्म प्रधान राजनीतिक अन्तरविरोध र मुख्य प्रतिद्वन्दीताको सवाल छ, त्यसमा भने ठूलो परिवर्तन भएको छ । २०६२–६३ को क्रान्तिसम्म प्रमुख राजनीतिक अन्तरविरोध राजतन्त्र र व्यापक जनताको बीचमा थियो । त्यो क्रान्तिपछि क्रमशः नेपाली कांग्रेस सँग हाम्रो मुख्य प्रतिद्वन्दीता थियो ।
तर यो २१ फागुनको निर्वाचनको परिणाम आएपछि र रास्वपाको एकलौटी सरकार बनेपछि त्यो पार्टीले नै अब दलाल पुँजीवादलाई मुख्य रुपले प्रतिनिधित्व गर्न थालेको छ र त्यो नै नेपालमा वामपन्थी शक्तिको पनि मुख्य प्रतिद्वन्दी शक्तिका रुपमा प्रकट भएको छ । त्यसले वर्तमान प्रतिनिधि सभामा करिब दुई तिहाई मत ल्याएको छ र आफ्नो एकलौटी सरकार बनाएर अन्य पार्टीहरुका विरुद्ध प्रतिशोधको कदम चाल्न थालिसकेको छ ।
चौथो, यो निर्वाचनले देशको शक्ति सन्तुलनमा ल्याएको उपरोक्त परिवर्तनले नेपाली समाजवादी क्रान्ति र रूपान्तरणको प्रक्रियाका सामु नयाँ चुनौतीहरू, नयाँ जटिलताहरू र नयाँ परिस्थिति जन्माएको छ । ठिक त्यही परिस्थिति अनुरुप पार्टीको कार्यनीतिक कार्यदिशामा पनि परिवर्तन ल्याएको छ । किनभने घरेलु प्रतिक्रियाबादले र साम्राज्यवादले आफ्ना मुख्य प्रतिनिधि अब फेरेको अवस्था छ ।
अब उनीहरू आफ्ना क्रियाकलाप यही प्रतिनिधि मार्फत लागू गर्न थालेका छन । स्वभाविक रूपले हाम्रो प्रहारको निशाना पनि बदलिनुपर्छ । अब हाम्रा प्रहारहरु पनि वर्तमान सरकारले गर्ने लोकतन्त्र विरोधी, संविधान विरोधी, जनविरोधी, राष्ट्रियता विरोधी र जनताका हक अधिकार विरोधी तथा देशको राष्ट्रिय हित विरोधी जति पनि नीति र क्रियाकलाप गर्नेछ, तिनीहरूका विरुद्ध केन्द्रित गर्नुपर्नेछ । हाम्रा सबै प्रचार, संगठन र सङ्घर्षहरू तब मात्र ठिक निशानामा केन्द्रित हुनेछन् ।
पाँचौं, निर्वाचनको परिणामपछि हाम्रो पार्टीको जनआधार खुम्चिएको छ । आम पार्टी पंक्तिमा अन्योल र दिशाहिनता छ । अझ २६ “घटक”का बीच गरिएको एकता एकीकरण हुन नसक्दा असरल्ल अवस्थामा छ । जनताको मनोबल तल छ । यो अवस्थालाई हामीले तुरुन्त बदल्नुपर्छ । पार्टी एकीकरण गर्ने कामलाई पहिलो प्राथमिकताका साथ टुङ्गो लगाउनुपर्छ ।
पार्टी संगठन र जनसंगठनलाई तुरुन्त संगठित गर्नुपर्छ । सबै समूहबाट आएका साथीहरूको भावनालाई समेट्नुपर्छ । यसरी पार्टी वैचारिक रुपले, राजनीतिक रुपले, सैद्धान्तिक रुपले, संगठनात्मक रुपले, पुनर्गठित गर्न, रुपान्तरित गर्न र कार्यशैली कार्यपद्धति र आचरणको हिसाबले पनि सही दिशामा अघि बढाउन सहज रुपमा एउटा क्रान्तिकारी कार्य योजनाका साथमा आगामी कार्यभारहरु तय गरेर अघि बढ्नुपर्छ ।
छैटौं, यो निर्वाचनमा भएको हार नेपाली क्रान्तिको महान ऐतिहासिक प्रवाहमा घटेको एउटा अस्थायी, तत्कालिक र कार्यनीतिक घटना मात्र हो । यो घटनाक्रममा नेपालमा माक्र्सवादको हार भएको होइन, समाजवादको हार भएको पनि होइन, र यो नेपाली क्रान्तिको हार पनि होइन। । माक्र्सवाद, समाजवाद र क्रान्तिको कहिल्यै हार हुन सक्दैन ।
तर यो नेपालको कम्युनिष्ट आन्दोलन र त्यसका विभिन्न समूहले २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनपछि अख्तियार गरेको कार्यनीतिक कार्यदिशाको हार हो, त्यसपछि अघि सारेका कैयौं गलत नीति, विचार, काम, व्यवहार, कार्यशली र कार्यपद्धतिको हार हो, समाजको विकासका नियमहरू, जनताका इच्छा, चाहना, आकांक्षा र आवश्यकताहरूलाई नजर अन्दाज गरेर आत्मकेन्द्रित र मनोगत रुपले हिँड्ने प्रयत्न र चिन्तनको हार हो ।
समग्र रुपमा भन्नुपर्दा कम्युनिष्ट आन्दोलन भित्र त्यस कालमा जम्न पुगेका दक्षिणपन्थी विचार र नीतिहरू तथा आफैंभित्र प्रकट भएका गल्ती र कमजोरीहरूले ल्याएको हार हो । यस अर्थमा यस कालखण्डमा पार्टीलाई सही वैचारिक–राजनीतिक कार्यदिशाका आधारमा अघि बढाउन नसक्ने नेतृत्वको पनि हार हो । अब हामीले हाम्रा आफ्नै विगतका गल्ती र कमजोरीहरुलाई चिन्नु, तिनीहरुलाई हटाउन तत्पर हुनु, आत्मआलोचना गर्नु,पार्टीलाई समग्र रुपमा पुनर्गठन गर्नु, पार्टीलाई विगतका सबै प्रकारका कमी कमजोरीबाट मुक्त बनाउनु र पार्टीलाई सबै स्तर र सबै पक्षमा रूपान्तरण गर्न जरुरी छ ।
सातौँ, गत निर्वाचनपछि मुलुकमा जुन परिस्थिति सिर्जना भएको छ । त्यसले हाम्रा सामु अवश्य नै गम्भीर चुनौतीहरू खडा गरेको छ । साथसाथै हाम्रा सामु ती चुनौतीहरूलाई चिर्दै नयाँ स्तरबाट अघि बढ्ने व्यापक सम्भावना पनि विद्यमान छ । हामीले हाम्रा सामु रहेको वस्तुगत स्थितिको ठोस विश्लेषण गर्नुपर्छ । अहिले रास्वपाले प्रतिनिधि सभामा १८२ सिट ल्याएर एकलौटी सरकार बनाएको छ । अब त्यसले आफ्ना सोच, नीति र उद्देश्य अनुरुपका कार्यक्रम र व्यवहार अघि बढाउने छन । सरकारका नीति, कार्यक्रम र बजेटहरु अघि सार्नेछन । मुलुकका साधन स्रोतहरू उनीहरूको इच्छा बमोजिम प्रयोग गर्न थाल्नेछन । मुलुकको जंगी र निजामती प्रशासनलाई आफ्नो हित र स्वार्थ अनुरुप परिचालन गर्न थाल्ने छन । राजनीतिक प्रतिशोधका लक्षणहरू प्रकट हुन थालिसकेका छन ।
जनताका मौलिक अधिकार र संगठनहरू माथि हमला सुरु भइसकेका छन । तर उनीहरूले जतिसुकै एकलौटी ढंगले चल्न खोजे पनि त्यसमा सहज ढङ्गले सफल हुन सक्ने स्थिति छैन । उनीहरूका सामु थुप्रै बाधा, अप्ठेरा र छेकेबारहरू छन । हामीले उनीहरूका सामु रहेका परिस्थितिको पनि विश्लेषण गर्दै अघि बढ्नुपर्छ । प्रथमतः यो रास्वपा आफै एउटा निश्चित दर्शन, नीति र सिद्धान्तमा आबद्ध छैन । त्यो सुसंगठित र अनुशासित पनि देखिँदैन । त्यो कार्यकर्ता आधारित पनि छैन । पुराना पार्टी र नेताहरूको विरुद्ध फैलाइएको विरोध, निन्दा र घृणाका आधारमा सिर्जित भावनात्मक तुफानमा निर्मित शक्तिका रुपमा प्रकट भएको छ ।
दोस्रो, वर्तमान संविधानले पनि त्यसलाई मनपरी गर्न दिँदैन । तेस्रो, संसदमा नै हाम्रो पार्टी लगायत अन्य पाँचवटा प्रतिपक्षमा रहेका दलहरु करिब ९० सिटको संख्यामा छन । ती प्रतिपक्षी दलहरू एक भएर उभिदा सरकारलाई अंकुश लगाउने धेरै ठाउँ छन । चौथो, राष्ट्रिय सभामा यतिबेला पूर्ण रूपले प्रतिपक्ष नै हाबी छ । प्रतिनिधि सभालाई राष्ट्रिय सभाले पनि अनेकौं क्षेत्रमा अंकुशल लगाउन सक्छ ।
पाँचौं, प्रदेश सभाहरुमा पनि अहिलेसम्म प्रतिपक्षी दलकै प्रभाव छ । उनीहरु पनि संघीय सरकारका एकलौटीका विरुद्ध उभिन सक्छन् । छैटौ,स्थानीय तहमा पनि अहिलेसम्म प्रतिपक्षी पार्टीहरूकै बाहुल्यता रहेको छ । सरकारले तल लाने सबै कार्यक्रमहरू प्रदेश र पालिकाहरुलाई छलेर लान सक्दैन । सातौँ,हाम्रो पार्टी र अन्य प्रतिपक्षमा रहेको पार्टीका संगठनात्मक सञ्जाल र उनीहरूको कार्यकर्ता शक्ति अहिले पनि छँदै छ । हामीले बदलिएको परिस्थिति अनुरुप हाम्रो पंक्तिलाई सकेसम्म चाँडो संगठित, रुपान्तरित, सबल र सक्षम बनाएर अघि बढ्नु पर्छ ।
आठौँ,यसरी बदलिएको परिस्थिति अनुरुप हामीले अब सदन र सडक दुवै तहबाट हाम्रा क्रान्तिकारी प्रचार, संगठन र संघर्षका कामलाई अघि बढाउनुपर्छ । यतिबेला हामी प्रतिनिधि सभामा १७ सिट र राष्ट्रिय सभामा पनि १७ सिट रहेको पार्टीका रूपमा छौँ । हामीले अब संसदभित्र र बाहिर परम्परागत हिसाबको “प्रतिपक्ष”मात्र होइन, देश र जनतालाई सहि नेतृत्व दिने एउटा क्रान्तिकारी प्रतिपक्षका रुपमा रहेर काम गर्न सक्नुपर्छ । हाम्रो संसदीय दलका सामु इतिहासले हिजोका भन्दा गहकिलो दायित्व ल्याइदिएको छ । हाम्रो संसदीय दल क्रान्तिकारी ढंगले अघि बढ्न सक्नुपर्छ ।
हाम्रा सांसदहरुले यताउताका फुटकर कुराहरु, आफ्ना निर्बाचन क्षेत्रका समस्याहरु र एक वा अर्को सुधारात्मक कुराहरुमा मात्र होइन,सिङ्गो पार्टीको राष्ट्रिय राजनीतिक कार्यदिशा अनुरुप काम गर्नुपछ र प्रत्येक बिषयमा देशभरिका जनतामा क्रान्तिकारी सन्देश पु¥याउन कोसिस गर्नुपर्छ । यद्यपि समाजवादी क्रान्तिको सिंगो कार्यकालका हर घडीमा सडकबाट गरिने काम र संघर्ष नै निर्णायक हुन्छ । तर त्यसलाई सफलीभूत बनाउन संसदीय संघर्षको अत्यन्त ठूलो भूमिका हुन्छ । हामीले यस सम्बन्धमा लेनिनको क्रान्तिकारी संसदवादको कार्यनीतिलाई दरो ढंगले समाउन सक्नुपर्छ र सडक र सदनका संघर्ष र आवाजलाई जोड्न सक्नुपर्छ ।
यसरी पार्टीलाई सही वैचारिक र राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तका आधारमा अघि बढाऔँ । पार्टीलाई नीति प्रधान पार्टी बनाऔँ । यदि हामीले पार्टीलाई कमिटी प्रणाली र सामूहिक नेतृत्वको आधारमा पुनर्गठन, रूपान्तरण, शुद्धिकरण र सुदृढीकरण गर्न सक्यौ र आम नेपाली जनतासँग पार्टीका सम्बन्धलाई आत्मीय,घनिष्ठ र गहिरो बनाउन सक्यौं भने आज दिशाहिन र अन्योलमा रहेको जनता र कार्यकर्ताको पंक्ति राष्ट्रव्यापी रुपमा पुनर्गठित र पुनर्जागृत भएर अघि बढ्नेछ ।
पार्टी र जनसंगठनको पंक्ति विस्तृत हुँदै जानेछ र पार्टी र क्रान्तिका सामु खडा भएका सम्पूर्ण बाधा, अवरोध र चुनौतीहरुलाई चिर्न सकिने छ र त्यही नीतिका आधारमा सम्पूर्ण देशभक्त र वामपन्थी शक्तिहरुलाई एकताबद्ध बनाउँदै देश र जनतालाई नेपाली विशेषताको समाजवाद प्राप्तिको दिशामा अघि बढाउन सक्नेछ । त्यसका निम्ति हामीले निम्न कार्यभारलाई लागु गर्दै अघि बढ्नुपर्छ ।
हाम्रा आगामी कार्यभारहरू
१. हारको गहिरो समिक्षा ः हाम्रो हारको गहिरो र निर्मम समीक्षा गर्ने,हाम्रा कमजोरीहरुका बारेमा आत्मालोचना गर्ने र हाम्रा आगामी कार्यभारहरूबारे पार्टीब्यापी रुपमा पशिक्षण गर्ने ।
२.एकिकरण सम्पन्न गर्नेः तुरुन्त एकीकरणको प्रक्रियालाई केन्द्र, प्रदेश, जिल्ला,पालिका, वार्ड र इकाईसम्म पूरा गनुपर्छ । त्यसो गरिरहँदा पार्टीमा एकताबद्ध भएका सबै समूहहरूको भावनालाई समेत समाहित गर्न सक्नुपर्छ र एउटा ठोस कार्ययोजनाका साथमा सिङ्गो पार्टीलाई एकीकृत बनाउनुपर्छ ।
३. चार आधारभुत सिद्धान्तका आधारमा कम्युनिष्ट एकता ः निम्न चार आधारभूत सिद्धान्त र लक्ष्यलाई कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउने आधारका रूपमा अघि बढाउने ।
-माक्र्सवाद–लेनिनवादलाई मार्गदर्शन सिद्धान्त मान्ने
– नेपाली समाज समाजवादी क्रान्ति र रूपान्तरणको चरणमा छ भनेर मान्ने
-यो क्रान्तिको कार्यक्रम नेपाली विशेषताको समाजवादी कार्यक्रम हो भनेर मान्ने
-यो समाजवादी कार्यक्रम प्राप्त गर्ने क्रान्तिकारी बाटो अवलम्बन गर्ने
४.प्रधान अन्र्तरबिरोध र मुख्य प्रतिद्धन्दी चिन्ने: नेपाली समाजको वर्तमान वर्गीय प्रधान अन्तर्विरोध र राजनीतिक प्रधान अन्तरविरोध किटान गर्ने,राजनीतिक रूपले मुख्य प्रतिद्वन्दीलाई चित्रित गदै त्यसका गल्ती र कमजोरीलाई विरोध र भण्डाफोरको केन्द्र बनाउने । त्यसो गर्दा तर्कयुक्त र तथ्ययुक्त प्रहार गर्ने ।
५.पार्टीको बर्तमान कार्यदिशा प्रष्ट पार्नेः पार्टीको कार्यनीतिक कार्यदिशा प्रष्ट पार्ने । प्रधान राजनीतिक अन्तरविरोध, प्रहारको निशाना, संगठन र संघर्षका रूप, सदन र सडकको संघर्ष, नेतृत्वदायी शक्ति, मुख्य शक्ति र सहायक शक्ति प्रष्ट पार्ने ।
६.पार्टी पुनर्रगठन र रुपान्तरण गर्ने: पार्टीलाई वैचारिक र संगठनात्मक रूपले समग्र रुपमा नै पुनर्गठन र रूपान्तरण गर्न सबै प्रतिबद्ध हुनुपर्छ र ती कार्यहरुहरूलाई पार्टीका नँया कार्यदिशा र नीतिका आधारमा तथा नयाँ कार्य योजनाको आधारमा अघि बढाउनुपर्छ ।
७.पुनर्रगठन र एकताको महाअधिबेशन गर्ने: अबको महाअधिवेशन विचार, पुनर्गठन र एकताको महाअधिवेशनका रूपमा आयोजना गर्ने त्यसका लागि ठोस कार्य योजना र समयतालिका अनुरूप अघि बढ्ने
-पार्टीभित्र विचारधारात्मक रूपान्तरणको कामलाई गहिरो बनाउने र पार्टी नेता र कार्यकर्ताहरुको वैचारिक समुन्नति गर्ने ।
-.पार्टीभित्रका वैचारिक र आचरणयुक्त असुद्धिहरूलाई हटाउन पार्टीव्यापी रुपमा शुद्धिकरण अभियान सञ्चालन गर्ने र सबै कमिटी भित्र आलोचना र आत्मआलोचनाको पद्धति लागू गर्ने ।
– विगतका कमीकमजोरीहरूबाट सिक्ने सम्बन्धमा सिङ्गो पार्टीलाई प्रशिक्षित गर्नुपर्छ
– महाअधिवेशनमा प्रस्तुत गर्ने प्रतिवेदन, कार्यक्रम, संगठनात्मक प्रस्ताव, विधान जस्ता दस्तावेजहरु तयार पार्नका निम्ति योजना बनाउने ।
-पार्टी एकीकरण गरी सदस्यहरूको र कमिटीको लेखा तयार पार्ने र प्रतिनिधिहरुको प्रक्रिया निर्धारण गर्ने ।
८. बदलिदो परिस्थितिको बिश्लेषण गर्ने: वर्तमान अन्तर्राष्ट्रिय र राष्ट्रिय परिस्थितिको गहन र सटिक विश्लेषण गर्ने र त्यसमा आइरहेका नयाँ परिवर्तनहरूले हाम्रो समाजवादी क्रान्ति र रूपान्तरणको प्रक्रियामा कस्तो असर पार्छ भन्ने कुरालाई प्रष्ट पार्ने ।
९.पार्टीहरुको बर्ग बिश्लेषण गर्ने: अहिलेका सबै पार्टीहरू विशेष गरेर रास्वपाको वर्ग विश्लेषण गर्ने र सबै पार्टीहरू प्रतिका हाम्रा वर्गीय र राजनीतिक नीति निर्णय गर्ने ।
१०. कार्यशैलीमा सुधार गर्ने: पार्टीको कार्यशैलीमा व्यापक सुधार गर्ने
११.पार्टी स्कुल ब्यबस्थित गर्ने: पार्टी स्कुललाई सुदृढ र संस्थागत गरी ठोस पाठ्यक्रमका साथ पार्टीव्यापी रूपमा प्रशिक्षण अभियान सञ्चालन गर्ने ।
१२. क्रान्तिकारी संसदबादको नीति लिने: संसदमा क्रान्तिकारी संसदवादको कार्यनीति अनुरूप काम गर्नुपर्छ, संसद्लाई जनता र राष्ट्रका आवाज घन्काउने केन्द्र बनाउने र पार्टीको संसदीय दललाई क्रान्तिकारी प्रतिपक्षका रूपमा खडा गर्ने र देशभरिका जनताको प्रतिनिधिका रुपमा खडा गर्नुपर्छ ।
१३. सांस्कृतिक रुपान्तरणको प्रकृया अघि बढाउने: समाजवादी सांस्कृतिक आन्दोलनलाई गहिरो र व्यापक पार्ने,कला,साहित्य र संस्कृतिका अलग सम्मेलन गर्ने र सांस्कृतिक अभियान सञ्चालन गर्ने
-सामाज्यवादले नेपालमा व्यापक रूपमा इसाईबाद फैलाइरहेको छ ठूलो लगानीका साथ गाउँ र सहरका टोलहरूमा धर्म परिवर्तन गराइरहेको छ । यसको राष्ट्रिय सांस्कृतिक धरातलबाट खोजी गर्ने र भण्डाफोर गर्ने काम गर्नुपर्छ ।
-साथै नेपालका मौलिक सभ्यताका बिभिन्न धाराहरुलाई गोलबन्द गर्ने र राष्टिय सांस्कृतिक मोर्चा निर्माण गर्ने ।
-जनमुखी,राष्ट्रमुखी,प्रगतिशील र बैज्ञानिक प्रचार कार्यलाई व्यापक पार्ने,एकीकृत मल्टिमिडिया ग्रुपको विकास गर्ने र अत्याधुनिक मिडियाका सबै रूपहरुलाई उपयोग गर्ने । त्यसका निम्ति आजका उच्चतम प्रविधिका रुपहरुलाई उपयोग गर्नुपर्छ ।
१४. प्रबासमा बिशेष कामको योजना बनाउने: प्रवास र प्रवासी नेपालीहरूका बारेमा विशेष अध्ययन गर्ने र प्रवासी नेपालीका बीच गरिने कामको विशेष कार्य योजना बनाएर लागू गर्ने । प्रवासीहरूका बीच परम्परागत रूपले काम गरेर मात्र अब हुनेवाला छैन । मुलुकको एक तिहाई जनसंख्या नै प्रवासमा छ भन्ने कुरालाई गम्भीरतापूर्वक लिनुपर्छ । अझ बालिग जनताको अझै ठुलो जनसंख्या प्रबासमा छ ।
१५. बर्ग भित्र कामलाई केन्द्रित गर्ने: पार्टीलाई सहर र गाउँ दुवै क्षेत्रका वर्गभित्र लान पार्टीको मुख्य शक्ति केन्द्रित गर्ने । श्रमिक वर्ग, गरिब,भूमिहीन र मध्यम किसानका बीचमा तथा युवा,बिधार्थी र पेशाकर्मीहरुको बीचमा पार्टी कामलाई गहिरो बनाउने
१६.पार्टी नेताहरू र कार्यकर्ताहरूका निम्ति सबै स्तरमा प्रष्ट कार्यक्षेत्र तोक्ने, कसैलाई पनि बेरोजगार नराख्ने प्रक्रिया अपनाउनु पर्छ ।
-कार्यक्षेत्र देश भित्र र देश बाहिर पुनर्संरचना गर्ने
-सबैलाई कार्यक्षेत्र तोक्ने
-केन्द्रीय कमिटीको आकार अनुरूप कार्यक्षेत्र बनाउने
– जनसंगठनहरुको जिम्मा सम्बन्धित संगठनको बारेमा जानकार कमरेडहरूलाई जिम्मा दिने
-विभागको जिम्मा दिँदा पनि सम्बन्धित क्षेत्रका विज्ञ र अनुभवी कमरेडहरूलाई दिने काम गर्नुपर्छ ।
१७.आजका ज्वलन्त सबालहरु उठाउने: नेपाली समाजको उत्पादक शक्तिको विकासका निम्ति दबाबमूलक प्रचार, संगठन र सङ्घर्ष गर्नका लागि निम्न बुँदाहरू उठाउनुपर्छ । यी बुँदाहरू संसदबाट जबरजस्त रुपमा उठाउनुपर्छ ।
-भूमिसुधार गर्ने
-कृषि क्रान्ति गर्ने
-कृषिलाई आधुनिकीकरण र यान्त्रिकीकरण गर्ने
-राष्ट्रिय औद्योगीकरण गर्ने
-तीन खम्बे नीति लागू गर्ने
– संविधानको भाग चार लागू गर्ने
– शिक्षा र स्वास्थ्यमा सुधार गर्ने
-सार्वजनिक शिक्षा र स्वास्थ्यलाई प्रभावकारी प्रभुत्वशाली बनाउने
-जलस्रोत र युरेनियम लगायत राष्ट्रिय साधन स्रोतको रक्षा गर्ने र राष्ट्रिय हित अनुरूप विकास गर्ने
-संविधान बमोजिम पाँच आधारको विदेश नीति (असंलग्नता) अपनाउने
– एक चीन नीति लिने
-हिमालय संरक्षणको विशेष नीति लिनुपर्ने –वातावरण संरक्षण
– चीनसँगका आर्थिक व्यापारिक नाका खोल्ने
– चीन–नेपाल आधुनिक रेल बनाउन ताकिता गर्ने
-बिआरआइलाई अघि बढाउने
– भ्रष्टाचारका प्रत्येक प्रकरणको विरोध र भण्डाफोर गर्ने
-सुशासनका निम्ति प्रत्येक तहमा कुरा उठाउने
-असमान सन्धि र सम्झौता रद्द गर्ने
– १९५० को सन्धि सिहावंलोकन गर्ने र नयाँ सन्धि गर्न आवाज उठाउने
– नेपाल–भारत बीच भएको प्रबुद्ध व्यक्तिहरूको प्रतिवेदन लागू गर्न दबाब दिने
– सरकारले ल्याएका १०० बुँदाका कार्यक्रमहरूका बारेमा हाम्रो पार्टीको आलोचनात्मक दस्तावेज तयार पारेर संसदमा विशेष समय लिएर पेश गर्नुपर्छ र हाम्रो पार्टीको दृष्टिकोण र उनीहरु बीचको भिन्नतालाई सुरुदेखि प्रष्ट पार्नुपर्छ ।
– महाकाली सन्धि लगायतका देशको हित विपरीतका सम्झौता रद्द गर्न माग गर्ने, सिंहावलोकन गर्ने र त्यसमा भएका आफ्ना गल्ती कमजोरीप्रति आत्मालोचना गर्दै सच्याउने काम गर्नुपर्छ ।
-एम.सी.सी सम्झौता खारेज गर्न माग गर्ने ।
यस्ता अरु पनि मागहरू अब विभिन्न तहबाट उठाएर जनतालाई जागृत र संगठित गर्नुपर्छ ।
१८ आधुनिक प्रविधिसम्बन्धी ज्ञानलाई उन्नत पार्ने: सिङ्गो पार्टीलाई अत्याधुनिक प्रविधिका बारेमा र तिनीहरूको उपयोगबारे प्रशिक्षण गर्ने र पार्टी पंक्तिको तिनीहरूलाई उपयोग गर्ने क्षमता अभिवृद्धि गनुपर्छ । त्यसका निम्ति उच्च प्रविधिका विशेषज्ञहरूको टिम नै बनाएर काम गर्नुपर्छ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रयोग गरेको सामाजिक सञ्जालका प्लेटफर्महरू र अल्गोरिदमको बारेमा अध्ययन र अनुसन्धान गर्ने र सिङ्गो पार्टीलाई यस्ता सामाजिक सञ्जालका प्लेटफर्महरू प्रयोग गर्ने क्षमताका बारेमा प्रशिक्षण गर्ने ।
१९. साम्राज्यवादी घुसपैठ र हस्तक्षेपको विरोध गर्ने: पार्टीले साम्राज्यवादको घुसपैठ, सांस्कृतिक क्षेत्रमा भइरहेका अतिक्रमणको व्यवस्थित रूपले अध्ययन, अनुसन्धान र भण्डाफोर गर्नुपर्छ र नेपाली समाजको ऐतिहासिक, राजनीतिक, आर्थिक र सांस्कृतिक विकासको प्रवाहको बारेमा गहिरो अनुसन्धान गर्दै त्यो प्रबाहसँग माक्र्सवादलाई गाँस्ने काम गर्नुपर्छ ।
२० प्रदेश र स्थानीय चुनावको तयारी गर्ने: स्थानीय चुनावको तयारीमा तत्काल जुटी हाल्नुपर्छ,त्यसका निम्ति विभिन्न पक्षमा गरिने कामहरूको अलग कार्य योजना बनाई लागू गर्नुपर्छ ।
२१. गाउँ र सहरको वर्ग विश्लेषण गर्ने: विगत २० वर्षमा नेपाली समाजको वर्गीय संरचनामा निकै ठूलो परिवर्तन आएको छ । विभिन्न रूपका पुँजीवादी कारोबारहरू र व्यवसायहरू समाजका सबै क्षेत्रमा विकास गरेका छन । उत्पादन, वितरण र सेवा क्षेत्रमा विकास गरिरहेका यस्ता नयाँ उद्योगहरूले मुलुकमा निम्न पुजीपति वर्ग र मध्यम वर्गको निकै तीव्र रुपले बिकास भइरहेको छ । त्यसले अन्य वर्गहरूलाई पनि प्रभावित पारिरहेको छ । प्रवासमा गएका नेपालीहरूको पनि वर्गीय स्थितिमा परिवर्तन भइरहेको छ । त्यसले उनीहरूका देशभित्र रहेका परिवारलाई पनि प्रभावित पारिरहेको छ । त्यसले गर्दा नयाँ प्रवृत्तिहरूको विकास भइरहेको छ । यी कुरालाई समेत ध्यानमा राखेर नयाँ परिस्थितिमा सहर र गाउँको वर्गहरूको विश्लेषण गर्ने र त्यहि अनुरुप बर्ग नीति निर्धारण गर्दै पार्टीको प्रचार संगठन र संघर्षका कामलाई अघि बढाउनुपर्छ ।
२२. पार्टी कमिटीहरूलाई छरिता र कामकाजी बनाउने: पार्टी कमिटीहरूलाई बिधिपूर्बक ठिक्क, छरिता, कामकाजी, गुणस्तरयुक्त र जिम्मेवार कमिटीका रुपमा पुनर्गठन र रूपान्तरण गनुपर्छ । उनीहरूका अधिवेशनहरू नियमित रूपमा गर्ने ब्यबस्था गर्नुपर्छ । साथै केन्द्रीय कमिटीका मुख्य पदाधिकारीहरू दुई कार्यकालमा अनिवार्य रूपले फेर्ने प्रणाली बनाउनु पर्छ । त्यसरी नै संसद,मन्त्री र सार्बजनिक पदमा बस्ने ब्यक्तिहरु पनि कतिपटक त्यो पदमा पुग्ने एउटा परिपार्टीको बिकास गर्नुपर्छ । केन्द्रदेखि इकाइसम्म योजनाबद्ध कामको प्रक्रियालाई अघि बढाउनुपर्छ ।
२३. स्वयंसेवक संघको स्थापना गर्ने: पार्टीले आफ्ना मिटिङ, बैठक सभा, सम्मेलनको संरक्षण र व्यवस्थापनका निम्ति युवा स्वयंसेवक संघको विकास गर्नुपर्छ र युवाहरूलाई यो क्षेत्रमा पनि तालिमका साथै संगठित गर्नुपर्छ ।
२४. कम्युनिष्टहरू बीच एकताको प्रयत्न गर्ने: अन्य सबै कम्युनिष्ट समूहहरूलाई मित्र संगठनका रुपमा मान्यता दिने, वहाँहरूसँग रहेका मतभिन्नताहरूका बारेमा मैत्रीपूर्ण वैचारिक–सैद्धान्तिक बहस गर्ने, मिलनका बिन्दुहरूलाई बढाउँदै लाने, भिन्नताका बिन्दुहरू घटाउँदै लाने र अन्त्यतः एकताबद्ध हुने दृष्टिकोण लिएर अघि बढ्नुपर्छ ।
-सबै कम्युनिष्टहरू र वामपन्थीहरूलाई एकताबद्ध पार्न पहल गर्नुपछ । त्यसलाई चार आधारभूत सिद्धान्तका आधारमा अघि बढाउनु पर्छ ।
-देशमा एउटै कम्युनिष्ट पार्टी बनाउन कोसिस गर्नुपर्नेछ ।
– नेपाली समाजवादी क्रान्ति एउटा एकीकृत क्रान्ति हो, यो एउटै क्रान्तिकारी कार्यदिशाबाट मात्र सम्पन्न हुन्छ, यसमा दर्जनौं कार्यदिशाले क्रान्तिलाई अघि बढाउँदैन ।
– त्यसैले एउटा देशमा एउटै कम्युनिष्ट पार्टी हुन्छ, त्यसले अघि सार्ने एउटै क्रान्तिकारी कार्यदिशाले नै नेपाली क्रान्तिले विजय प्राप्त गर्छ । त्यसैले कम्युनिष्ट पार्टीलाई एकीकृत गर्ने काम कार्यनीतिक मात्र नभएर रणनीतिक महत्वको काम हो भन्ने बुझेर काम गर्नुपर्छ ।
२५. दलाल पुँजीवादका मुख्य प्रतिनिधिको भण्डाफोर गर्ने: हामीले समाजवादी क्रान्ति र रूपान्तरणको कामलाई अघि बढाउदा आफ्नो पार्टीलाई सबै प्रकारले सबल र सुदृढ बनाउनुका साथै दलाल पुँजीवाद र त्यसको मुख्य प्रतिनिधि शक्तिका विरुद्ध व्यापकतम संयुक्त मोर्चा निर्माण गर्ने कामलाई हरघडी ध्यान दिनुपर्छ ।
-त्यसका निम्ति पहिलो कुरा आफ्नै पार्टीलाई बलियो र प्रभावकारी बनाउने
– दोस्रो अन्य मित्रशक्तिहरू–देशभक्त, बामपन्थी र प्रगतिशील शक्तिहरूलाई साझा आधारमा एकताबद्ध पार्ने
-तेस्रो कुरा संसदमा मुख्य प्रतिद्वन्दीका विरुद्ध अन्य शक्तिहरूलाई साझा सवालहरूमा विषय हेरिकन संयुक्त आवाज उठाउने
-त्यसरी नै ज्वलन्त राष्ट्रिय सवालहरूमा सडकबाट समेत संयुक्त संघर्षहरू उठाउने र वर्गसंघर्षलाई विकास गर्न प्रयत्न गर्ने काम गर्नुपर्छ ।
२६ युवाहरुलाई अघि बढाउने : निकै लामो समयदेखि युवाहरू बीचको काम कमजोर भएको छ । जबसम्म युवाहरुलाई जागृत, संगठित, एकताबद्ध र परिचालित गरिँदैन तबसम्म क्रान्ति, निर्माण वा अभियान कहिँ पनि गति प्राप्त गर्न सकिन्न ।
हामीले युवा र विद्यार्थीलाई प्राथमिकताका साथ जागृत र संगठित गर्नुपर्छ । उनीहरूका राष्ट्रव्यापी संगठनलाई प्राथमिकता दिएर विस्तार गर्नुपर्छ । युवा संगठनहरूमा महिला, दलित, जनजाति र अल्पसंख्यक सबैलाई गोलबन्द गरेर अघि बढ्नुपर्छ ।
अब पार्टीका समेत नेतृत्वदायी कमिटीहरु, अन्य सबै कमिटीहरूमा युवा कमरेडहरूलाई विशेष प्राथमिकताका साथ स्थान दिनुपर्छ,उनीहरूलाई प्रशिक्षित गर्नुपर्छ, उनीहरूको योग्यता र क्षमतालाई समुन्नत पार्नुपर्छ र क्रमिक रुपले युवाहरूको पंक्तिमा नेतृत्व हस्तान्तरण समेत गर्दै अघि बढ्नुपर्छ । अब सबै कमिटीमा पाका कमरेडहरू एक तिहाई, अर्धवैसे कमरेडहरू एकतिहाई र युवा कमरेडहरू एक तिहाईको अनुपातमा कमिटीहरु बनाउनुपर्छ । जेष्ठ उमेरका वा पदाधिकारीबाट बिदा हुँदै गएका कमरेडहरूलाई सम्मानपूर्वक वहाँहरूको क्षमता अनुरुपका दायित्व दिँदै सल्लाहकारको भूमिकातिर अग्रसर बनाउनुपर्छ ।
२७. अन्तर्राष्ट्रिय सम्बन्धको विकास: विदेश सम्बन्धलाई महत्वका साथ विकास र विस्तार गनुपर्छ । चीन र सबै समाजवादी देशका पार्टीहरू र विश्वभरिका कम्युनिष्ट पार्टीहरूसँग जीवन्त सम्बन्धको विकास गर्नुपर्छ । साथै हाम्रो पार्टीप्रति मैत्रीपूर्ण हुने अन्य पार्टीहरूसँग पनि मैत्रीपूर्ण राजनीतिक सम्बन्धको विकास गर्नुपर्छ ।
हाम्रो बाटो सधैंभरि सरल रेखा हुन्न
हाम्रो बाटो सधैंभरि सरल रेखा हुन्न
धक्कामुक्का नखाईकन शक्ति बलियो हुन्न ।
चुनाव पनि संघर्षको एउटा थलो हुन्छ
हारबाट सिक्यौ भने देशको भलो हुन्छ ।। १ ।।
प्रत्येक हार, प्रत्येक धक्का हाम्रा शिक्षा हुन्छन
शिक्षा लिने योद्धाहरू अझ बलिया हुन्छन ।
आफ्ना गल्ती जुन शक्तिले सहज देख्न सक्छ
विजयको टाकुरामा त्यो शक्ति नै पुग्छ ।। २ ।।
आफ्ना गल्ती शत्रुभन्दा धेरै बलिया हुन्छन
गल्ती चिन्ने साहसीले शक्ति प्राप्त गर्छन ।
जनताको सेवाबाटै शक्ति प्राप्त हुन्छ
हेर्दा हेर्दै परिस्थिति बदलिन पुग्छ ।। ३ ।।
जनता जागि सकेपछि धर्ती काप्न थाल्छ
शोषण र षड्यन्त्रको पहाड ढल्न थाल्छ ।
मुक्तिको त्यो चुलीमाथि बत्ति बल्न थाल्छ
युगले नै एउटा नयाँ कोल्टे फेर्न थाल्छ ।। ४ ।।
२१ चैत्र ०८२
डल्लु आवास क्षेत्र
( झलनाथ खनालले केन्द्रीय संयोजन समितिको बैठकमा राखेका प्रस्तुत बिचार)











