Logo
Logo

ओलीलाई संकट नै संकट- जसपाको सिंगै मत जोडेपनि सरकार टिक्दैन


प्रदीपराज दाहाल


काठमाडौं । सरकारले वैशाख २७ मा प्रतिनिधिसभाको अधिवेशन बेलाउन राष्ट्रपतिलाई सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गरेको हो । र, प्रधानमन्त्री ओलीले अधिवेशनको पहिलो दिन नै विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी भइरहेको बेला आफैले विश्वासको मत लिने निर्णय गरेका हुन् ।

के छ संसदको अंकगणित ?
२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा प्रधानमन्त्री बन्न १ सय ३८ सांसदको समर्थन आवश्यक हुन्छ । तर, संसदमा एमाले बाहेक सबै दलका सांसद निलम्बित र कारवाहीमा परेका छन् । यसअर्थमा अहिले संसदमा २६८ सांसद छन् । एमालेको १ सय २१ सांसद छन् भने कांग्रेसका सांसद अफताब आलम र विजयकुमार गच्छदार निलम्बित रहेकाले सांसद संख्या ६१ छ । माओवादी केन्द्रका ५३ मध्ये एमाले प्रवेश गरेका लेखराज भट्ट, टोपबहादुर रामयमाझी, गौरीशंकर चौधरी र प्रभु शाहको पद खोसिएसँगै संख्या ४९ छ ।

यस्तै, समाजवादी पार्टीका १६ र तत्कालीन राजपाका १७ सांसद छन् । हाल पार्टी एक भएकाले संसदमा संख्या जोड्दा ३३ हुन आउँछ । यद्यपी, रेशम चौधरी पनि निलम्बित र जेलमा रहेकाले संख्या ३२ छ । यि बाहेक बाबुराम भट्टराई, छक्कबहादुर लामा, राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेल, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राप्रपा सांसद राजेन्द्र लिङदेन स्वतन्त्र सांसदको हैसियतमा छन् ।

यो अंकगणित हेर्दा संसदमा अहिले कायम सांसद संख्या २६८ हो । अब प्रधानमन्त्री ओलीलाई विश्वासको मतका लागि १ सय ३४ मतको आवश्यक छ । एमालेका १ सय २१ सांसद रहेकाले ओलीलाई १३ सांसदको आवश्यकता पर्दछ । जसपासँग सत्ता सहकार्यका लागि छलफल भइरहेकाले १३ मत त्यहाँबाट आउनेमा ओली ढुक्क देखिन्छन् ।

सहज छैन ओलीलाई विश्वासको मत
प्रधानमन्त्री ओलीले विश्वासको मत लिन आँट गरेपनि सहज छैन । आफ्नै पार्टीका सांसदले फ्लोर क्रस गर्ने सम्भावना छ । माधवकुमार नेपाल पक्षका २७ सांसदले फ्लोर क्रस गर्न सक्छन् । त्यस्तो अवस्थामा ओलीसँग ९४ मत हुन्छ । बहुमतको सरकार बनाउन आवश्यक मत १ सय ३४ पुर्‍याउन ४० मत आवश्यक हुन्छ । जसका लागि जसपाको सबै मत पाएपनि ओलीले विश्वासको मत पाउने छैनन् ।

किनकि, ओलीसँग रहने ९४ र जसपाको सबै मत ३३ जोड्दा संख्या १ सय २७ मात्रै हुन्छ । जसपाको सिंगो मत जोड्दा पनि सात मत अपुग हुन्छ । तर, जसपाका पूर्व संघीय समाजवादी र नयाँ शक्ति गरी १७ मत ओलीको पक्षमा रहने सम्भावना छैन । यस्तो अवस्थामा स्वतन्त्र सांसदको सहायता लिएपनि विश्वासको मत पुग्दैन । किनकि, बाबुराम भट्टराई जसपामै गनिने भएकाले स्वतन्त्र संख्या चार मात्रै हो ।

ओलीले नेपाली कांग्रेससँग पनि सत्ता समीकरणका लागि भरपूर प्रयास गरिरहेका छन् । सभापति शेरबहादुर देउवा ओलीसँग साठगाँठमा रहेतापनि कांग्रेसले प्रधानमन्त्रीको राजीनामा मागिसकेकाले नैतिकताका आधारमा पनि विश्वासको पक्षमा मतदान गर्नेछैन । अन्जानमा, कांग्रेसले ओली सरकारलाई निरन्तरता दिने निर्णय गरे मात्रै विश्वासको मत पाउनेछन् । किनकि, एमाले र कांग्रेसको मत जोड्दा १ सय ८४ हुन्छ । जुन असभ्वप्राय छ ।

अबको सम्भावना
अहिलेसम्मको प्रयास हेर्दा कांग्रेसको नेतृत्वमा सरकार बन्ने देखिन्छ । तर, त्यो पनि सहज छैन । किनकि, कांग्रेसको ६१ र माओवादीको ४९ मत जोड्दा १ सय १० मात्र हुन्छ । बहुमतको सरकार गठनका लागि कांग्रेस–माओवादी समीकरणलाई २४ मत कम हुन्छ । यसमा जसपाको मत जोड्दा १ सय ४३ हुन्छ । जुन सरकार गठनका लागि पुग्दो मत हो । तर, जसपाको पूर्व राजपा समूहको मत ओलीलाई जाने निश्चित भएकाले बाँकी १७ मत मात्रै कांग्रेस–माओवादी समीकरणलाई जान सक्छ ।

यस्तो अवस्थामा वैकल्पिक सरकार बन्ने सम्भावना कम हुन्छ । यदि ओलीले विश्वासको मत नपाउने र नयाँ सरकार बन्न पनि संख्या नपुग्ने अवस्थामा देश मध्यावधि निर्वाचन तर्फ धकेलिन सक्छ ।

प्रतिक्रिया दिनुहोस्