
- सुनील आङ्बो
अक्सिजन पाउनु पुर्नजन्म सरह भएको छ । उपचार पाउनु त अर्को जुनी पाएजस्तै भयो । कोरोना महामारीले अवस्था यस्तो बन्यो कि, दुनियाँमा आशाभन्दा निराशाको विन्दु धेरै माथि चढ्यो । बाँच्ने आशा हुँदाहुँदै मर्नेहरुको संख्या गन्दै आफ्नो पालो कुर्नुको विकल्प देखिएन, हाम्रो देशमा । यसको मतलव यहाँका शासक नालायक हुन् ।
कोरोना महामारीको पहिलो चरण ‘ओली वाणी’ सुन्दा सुन्दै धेरैले जीवनलीला त्यागे । धेरै नागरिक मृत्युसम्मुख पुगेर फर्के । बेसारपानी खाने, नुनपानीले गार्गील गर्ने र खाक्कखुक्क गरे कोरोना भाग्ने प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको वाणीले महामारीको खट्को काटिएन ।
साँघुरो कोठामा भोको पेट लुकेर नागरिकले ज्यान बचाए, एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सर्न पाएन । गत सालको ‘लकडाउन’मा जनवीवन बन्धक भएको बेला एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सर्न नपाएकाले संक्रमित कम भए । नालायकहरुले कोरोना नियन्त्रण भएको माने !
नागरिक आफू मरेर कोरोनाको ‘चेनब्रेक’ गरेका थिए । तर, सरकारको अनैतिक गतिविधिले कोरोनाको चेन जोडियो । कोरोना महामारी नियन्त्रणमा आउँदै गर्दा खड्गप्रसादले चालेको असंवैधानिक कदमका कारण जनता सडकमा आए । लकडाउनमा तोडिएको कारोनाको चेन ओली प्रतिगमनले जोडेको सत्य हो । प्रतिगमनविरुद्ध र प्रतिगमनको पक्षमा देशभर भएका भीमकाय प्रदर्शनहरु वर्तमान परिस्थितिका कारक हुन् ।
पुस ५ को ‘ओली प्रतिगमन’बाट सुरु भएको राजनीतिक रडाको टुंगिने छाँटकाँट छैन । यस अवधिमा धेरैपटक मन्त्रिपरिषद विस्तार भए । मन्त्रीहरु फेरबदल भए । खड्गप्रसाद थप दुई पटक प्रधानमन्त्री भइसके । तर, जनजीवन झनै संकटमय बन्दै गयो । एक जनालाई कोरोना पुष्टि हुँदा देशकै मुटु कामेको थियो । तर, आज दैनिक दुई सयको मृत्यु सामान्य भएको छ ! किनकि, शासकको व्यवहारले बाँचिन्छ भन्ने आशा धेरैले मारिसके ।
कोरोना महामारीको दोस्रो लहरले देश लपेट्न सुरु गर्दैगर्दा खड्गप्रसाद भत्कन लागेको कुर्सीको ‘किला’ कस्दै थिए । देउवा–प्रचण्डहरु ओली आसीन कुर्सी खोस्न योजना बनाउँदै थिए । तर, भारतमा जनजीवन त्राहीत्राही बनाइरहेको कोरोनाको ‘दोस्रो भेरियन्ट’बारे सम्भावित खतरा आकालन गरेर सोहीअनुसार तयारी गर्न सरकार र राजनीतिक नेतृत्वलाई जाँगर चलेन । आजको संकट त्यसैको परिणाम हो । सरकारले त आफ्नो कर्तव्य भुल्यो भुल्यो, विपक्षी दल पनि नालायक नै बने ।
संकटको मौका छोपेर व्यवस्था नै समाप्त पार्ने योजनामा प्रतिगमन रच्नु अक्षम्य गल्ती थियो । प्रतिगमनविरुद्ध संघर्षको जेहाद छेड्नेहरु पनि संकटको यो समय सत्ताको खेलमा रुमलिनु झनै ठूलो गल्ती भयो । यस्तो अवस्थामा राजनीतिक दलका लागि ‘जनताको जीवन रक्षा’ सबैभन्दा महत्वपूर्ण काम र कर्तव्य थियो । तर, राजनीतिक दलका लागि जनताभन्दा सत्ता प्राथमिकतामा पर्यो । जनताको सेवा नै सर्वोपरी भन्ने मान्यताबाट राजनीतिक दल च्युत भए ।
राजनीतिक दल जिम्मेवार रुपमा प्रस्तुत भएको भए सत्ताको खेल त्यागेर जनताको जीवन रक्षाका लागि एक ठाउँमा उभिन्थे । जनताको जीवन रक्षाका लागि सामुहिक प्रयत्न गर्ने थिए । तर, सत्ताको भोकसामु जनताको चित्कार मूल्यहीन भयो । त्यसैले त राजनीतिक दलले सत्ता रोजे जनताको दुःख आफ्नो दुःख सम्झन आवश्यक ठानेनन् ।
इतिहासका लागि एउटा प्रश्न बनेको छ- कोरोना महामारीले जनता मर्दैगर्दा सरकार र राजनीतिक दल के गर्दै थिए ?
जवाफ यस्तो हुनेछ :
धरहराभन्दा अग्लो अहंकार र आडम्बर भएका खड्गप्रसाद भन्ने प्रधानमन्त्री थिए । वालुवाटार बस्थे । कोरोनाबाट मरेका जनताको संख्या गन्दै आनन्दको श्वास फर्थे ! कोरोना विरुद्धको लडाइँका लागि सामग्री खरिद गर्दा भ्रष्टाचार गर्थे, भ्रष्टाचार गर्ने भारदारहरुलाई स्यावासी दिँदै बस्थे ।
देश लकडाउन गर्दै जनतालाई भोकभोकै मारेर मन्दिरमा करोडौँको जलहरी लगाउँथे, कथाका काल्पनिक पात्रहरुको जन्मथलो खोज्न अर्बौ रकम खर्चन्थे, जनताको जीवनरक्षा गर्ने बेलामा व्यवस्था मास्ने प्रचञ्च रच्थे, जनतालाई कोरोना विरुद्धको खोप दिने बेलामा चुनाव दिन्थे ! यस्तै यस्तै…।
इतिहासका लागि अर्को जवाफ :
प्रमुख प्रतिपक्षी र विपक्षी दल थिए । तर, सत्ताधारी जस्तै ! सरकारले जे गरेपनि राम्रो मान्ने । कहिले पनि जनजीविकाको सवालमा नबोल्ने । जनता रोग र भोकले मर्दै गर्दा ‘आइ एम प्राइमिनिस्टर इन वेटिङ’ भन्दै सत्ताको भोकले छटपटाइरहेका हुन्थे । सरकार ढालेर आफ्नो सरकार बनाउ दिनरात दौडधुप गर्थे । तर, मलाई नेता बनाउने मेरा जनताको अवस्था कस्तो होला भनेर एक पल पनि सोच्दैन थिए । यस्तै…यस्तै…।
सरकार निषेधाज्ञा लगाएर सत्ता दौडमा छ । मानव जीवन रक्षामा जुट्नुपर्ने राजनीति दल कोरोनाबाट मृत्युवरण गरेका जनताको लासमाथि सत्ताका लागि म्याराथुनमा मस्त छन् । यो भन्दा ठूलो अपराध केही हुँदैन ।
मानव जीवन रक्षार्थ जुट्नुपर्ने राजनीति दल कोरोनाबाट मृत्युवरण गरेका जनताको लासमाथि सत्ताका लागि म्याराथुन दौडमा प्रतिस्पर्धा गर्नु दुर्भाग्य हो । सरकार फेरबदलमा लागेका राजनीतिक दल अक्सिजन र आईसियूको व्यवस्थामा लाग्नुपर्ने हो । सामान्य स्वास्थ उपचार नै नपाएर जनताले मृत्युवरण गरिरहेको बेला राजनीति दलको प्राथमिकतामा जनताको जीवन पर्दैन भने ‘जनताको लागि काम गर्छौ’ भन्ने राजनीतिक दलको दावी खारेज हुन्छ ।
संविधानले ‘हरेक नेपाली नागरिकले आधारभूत स्वास्थ्य सेवा पाउनु प्रत्येक नागरिकको मौलिक अधिकार’ भनेको छ । संविधानको धारा ३५ मा ‘कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन’ भन्ने उल्लेख छ । तर, यहाँ एक बुँद अक्सिजन नपाएर जनता मर्दैछन् ।
अस्पतालका आँगनहरुमा विरामी छटपटाइरहेका छन्, कोही अस्पताल पुगेर पनि उपचार नपाएर प्राण त्याग्दैछन्, अस्पतालले भर्ना नलिएका कारण अस्पताल चहार्दाचहार्दै धेरैले भौतिक संसार छोडेका छन् । यसरी उपचारसमेत नपाएर मृत्युवरण गर्नुपर्ने देशको संविधानमा ‘स्वास्थ्य उपचारलाई मौलिक अधिकार’ भनेर लेखिनुको के अर्थ ?
कात्रोमा पनि भ्रष्टाचार !
बाध्यात्मक परिस्थितिमा जनता विषेधाज्ञा सामना गर्दैछन् । सरकार निषेधाज्ञा लगाएर सत्ता दौडमा छ । जनता मर्ने वा बाँच्नेभन्दा पनि सत्ता जोगिने वा खोसिने महत्वपूर्ण बनेको छ । यत्ति नै बेला भ्रष्टाचार मौलाएको छ । जीवन–मरणको अन्तिम प्रहरमा पनि भ्रष्टाचारका समाचारहरु पढ्नुपर्दा नेपाली जनताको मन कति बिक्षिप्त होला ? कसैले आकालन गर्न सक्दैन ।
गतसाल स्वास्थ्य सामग्री खरिदमा भएको अर्बौको घोटालाबारे सरकारलाई अहिलेसम्म अत्तोपत्तो छैन । संस्थागत भ्रष्टाचार भएको थियो । तत्कालिन स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा संस्थागत भ्रष्टाचार भएको कतै लुकेन । त्यो क्रम कोरोनाको दोस्रो लहरमा झनै बढेको छ ।
कोरोना संक्रमणले स्वरुप परिवर्तन गरेसँगै कोरोना संक्रमितको उपचारमा अक्सिजन अनिवार्य बन्यो । भ्रष्टहरुले त्यसैलाई कमाउने अवसर बनाए । त्यसैले त बालुवाटारको छहारीबाट अक्सिजन खरिदमा समेत भ्रष्टाचार भयो । यो कुरा त स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले नै भनेका हुन् ।
अक्सिजन अभावमा मन्त्री र नेताहरुको असली अनुहार देखियो । बल्लतल्ल विदेशीले दिएको अनुदान अक्सिजन सिलिण्डरमा पनि आफ्नो कुरुप अनुहार टाँसेर बाँड्दैछन् । ‘चुनाव आउँदैछ, भोट दिने भए अक्सिजन दिन्छु’ भन्दै ‘ब्ल्याकमेल’ गर्दैछन् । योभन्दा ठूलो मावन अपराध केही हुँदैन । नेताको चाला हेर्दा लाग्छ, ‘पाए कात्रोमा पनि भ्रष्टाचार गर्छन !’
स्वास्थ्य जस्तो संवेदनशील विषय, त्यसमा पनि माहामारीको बेला राज्यपक्षबाट भइरहेको अपराध कुनै पनि कोणबाट कसैले पनि उचित मान्न सक्दैन । स्वास्थ्य सेवामा सरकार वा अरु जो कोहीबाट भइरहेका र हुने गरेका यस्ता कृयाकलापहरु मानवता विरोधी अपराध हो । यसविरुद्ध हामी सबैले लड्नुपर्छ ।
जनता सामान्य उपचार नपाएर प्राण त्याग्र्दै गर्दा व्यवस्था समाप्त पार्न असंवैधानिक खेलका रचियता शासक र त्यो खेलमा अनावश्यक रुची देखाउने राजनीतिक दलका नेता अबदेखि जनताका नेता होइनन् । यो बेला सत्ताको खेल खेल्ने बेला हुँदै होइन, जनताको जीवनरक्षा गर्ने समय हो । आफूलाई जनताको प्रतिनिधि दावी गर्ने नेताले जनताको जीवनरक्षा गरेर आफूलाई प्रमाणित गर्नुपर्ने हुन्छ । नत्र, जनताले हिसाबकिताब एक–एक गरेर चुक्ता गर्ने दिन टाढा छैन ।











