Logo

नेपाल गाथामा समृद्धिको गीत


Published On : 11 June, 2019

¬श्याम रिमाल

हे मनमोहक पर्वतमाला ! गौरवशाली उच्च हिमाल !
शान्त मनोहर भव्य उपत्यका ! तराईका हे फाँट विशाल !
निर्मल, कञ्चन जलका धारा गण्डकी, कोशी गर्दछन् गान
सुन्दरताको खानी भएको वैभवशाली देश महान् !

मुनामदन, कुञ्जिनी, मालती मङ्गले, सिम्मा आदि कुनै न कुनै समयमा मञ्चित गीति नाटक हेरिसकेका दर्शकको भोक मेट्न केही वर्षयता राजधानीमा कुनै गीतिनाटक मञ्चन भएजस्तो लाग्दैन । पतिपत्नी वा युवकयुवतीबीचको आत्मीय प्रेमका विषयमा लेखिएका पहिलो तीन गीतिनाटक महाकवि देवकोटा र राष्ट्रकवि घिमिरेले लेखेका हुन् । पञ्चायतको उत्कर्षका बेला प्रगतिशील गायक रायनले लेखेको सिम्माले सामन्ती र औपनिवेशिक शोषण चित्रण गर्दै त्यसविरुद्ध सचेत रही आन्दोलन गर्न आग्रह गरेको थियो । अर्थात्, नारी र कृषि समस्या उठाई लाहुर हुन विवश अवस्थाविरुद्ध सङ्घर्ष गर्न जनचेतना जगाइएको थियो । देवकोटाकै कृषिबाला(२०१५लेखन, २०२१ प्रकाशन)पछि सिम्मालाई दोस्रो प्रगतिशील गीतिनाटक भनिएकोे छ ।

यसै सिलसिलामा आरोहअवरोहका साथ विकास भएको नेपालको इतिहास अहिले समृद्धितिर उन्मुख भएको कथाका साथ ‘नेपाल गाथा’ गीतिनाटक यही जेठ २० गते राष्ट्रिय नाचघरमा प्रस्तुत गरियो । साहित्यकार तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली‘शीतविन्दु’को लेखन र प्राज्ञ डा देवी नेपालको सहलेखनमा प्रस्तुत नेपालको गौरवगाथा समेटिएको ऐतिहासिक गीतिनाटक नेपालको गीतिनाटकको इतिहासमा कोशेढुङ्गा भएको छ । राष्ट्रवन्दनाबाट शुरु भएको गीतिनाटकमा हाम्रो प्रकृति, जाति, बुद्ध, सीता, भृकुटी जस्ता विभूति, धर्म, संस्कृतिको सम्झना गरिएको छ । बुटवलमा तीन हजार एक सय वर्ष पुरानो रामापिथेकसको कंकाल भेटिएकाले त्यही बेलादेखि प्रामाणिक इतिहास शुरु भएको अनुमान गरिएको छ । लिच्छविकालदेखि लिखित इतिहास भेटिए पनि त्यसभन्दा अघि गोपाल र किराँतले शासन गरेको पनि पाइएको छ ।

नाटकका रचयिता शीतविन्दु विगतको इतिहासलाई बिर्सिएमा भविष्य नबन्ने बताउँछन् । उनी भन्छन्, “इतिहास बिर्सने राष्ट्रको भविष्य सम्भव छैन । ” राजनीतिकर्मी ज्ञवाली साहित्य क्षेत्रमा अझै परिपक्व हुँदै गएका छन् । गीतिनाटकको निर्देशन वीरेन्द्र हमालले गरेका छन् । नाटकमा नृत्य निर्देशन गोरन चौधरी र सहनृत्य निर्देशन सवनम सिलवालको छ । करीब ६० जना कलाकार समेटेर प्रस्तुत गरिएको आधुनिक गीतिनाटक हेर्न राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री आदिसहित सयौँ व्यक्तिको सहभागिता थियो ।

गौतमबुद्धबाट प्राप्त बुद्धत्वबाट यहाँको उचाइ झन् चुलिएको छ । जसले मानव जीवनमा आइपर्ने दुःखको कारण र यसको निवारणको उपायबारे ज्ञान प्राप्त गरेर त्यसबारे आफू र आफ्ना अनुनायीमार्फत जनमानसमा प्रचारप्रसार गरे । लिच्छवि र मल्लका विभिन्न कलासंस्कृतिको विकास भएको थियो । नेपाल कालान्तरमा विभिन्न राज्यमा विभक्त भयो जसले गर्दा अङ्ग्रेज र मुसलमानले यसलाई खान लागेकाले नेपालको अस्तित्व बचाउन गोरखाका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा एकीकरण भई उनका सन्तति र अमरसिंह थापा, भीमसेन थापा, बलभद्र कुँवर जस्ता योद्धाले यसलाई विस्तार गरे, जोगाए ।

पछि नेपाल दरबारमा भएको कमजोरीबाट फाइदा उठाएर भयङ्कर रक्तपातबीच जङ्गबहादुरले सत्ता हातमा लिएः
आँैसीझैँ कालो नि यो जङ्गे शासन तर्साउँछ रातीमा
बोलेमा जिब्रो नि थुतिन्छ गोली बर्सिन्छ छातीमा
भयो कोतपर्व नि भण्डारखाल पर्व लासै भो खातैखात
राणालाई मात्रै नि स्वर्ग भो देश हाम्लाई त कालो रात ।

राणाकालमा जनताले कहिल्यै स्वतन्त्रताको अनुभूत गर्न पाएनन् । राणाले जे भन्छन्, सोही अनुरुप नै जनता चल्नुपथ्र्याे । ‘मकैको खेती’ नामक पुस्तक लेखेकै कारण कृष्णलाल अधिकारीलाई राणा प्रधानमन्त्री चन्द्रशम्शेरले कारागारमा सडाए । राणाकालको अन्त्यका लागि योगमायाको सुधार अभियान पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । आफ्नो माग राणाशासनले नमानेपछि उनले आफ्ना अनुयायीसहित जलसमाधि लिएकी थिइन् । राणाशासनको ज्यादती बढी भएपछि धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, शुक्रराज शास्त्री र दशरथ चन्द आदिले पनि शहादत दिए ।

यस्तै विद्रोहहरुले विसं २००७ मा १०४ वर्षीय राणाशासनको अन्त्य भई प्रजातन्त्रको स्थापना भएपछि जनता स्वतन्त्र भई बाँच्न थाले । विसं २०१५ को आमनिर्वाचनपछि बिपी कोइराला प्रधानमन्त्री भएपछि जनतामा थप उत्साह बढे पनि त्यो धेरै समय टिक्न सकेन । विसं २०१७ पुस १ गते प्रजातन्त्रको हत्या गरी राजा महेन्द्रले राज्यको सम्पूर्ण शक्ति आफ्नै हातमा लिई निर्दलीयता चलाए । त्यसै क्रममा २०२९ सालमा भएको झापा आन्दोलनलाई महत्वपूर्ण रुपमा लिने गरिन्छ जसले कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन तथा पञ्चायत तथा राजतन्त्र विरोधी भावना मलजल गर्न मद्दत गर्यो ।

पञ्चायतको उत्कर्षपछि २०४६ सालको जनआन्दोलनबाट संसदीय बहुदलीय व्यवस्था स्थापना भयो । सोही कालमा उदीयमान नेकपा(एमाले)का तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठक जीवराज आश्रितबाट जनताले केही आशा गरिरहेका बखत तिनको दुःखद अवसान भयोः

सिमसिमे झरी आकाशैभरि बादल गर्जिन्छ
खै किन किन उदास दिन छ त्रिशूली सुसाउँछ
एक्कासि खस्छ त्रिशूली भेलमा चढेको पजेरो
खै किन भयो घाम छँदै आज निष्पट्ट अँधेरो !
राष्ट्रको दियो खसेको थियो उर्लंदो पानीमा
कुन पापी आई रोप्यो नि झीर आँखाको नानीमा
त्रिशूलीभन्दा ठूलो भो भेल जनताको आँशुको
देशका वैरी हाँस्दैछन् आज अन्त्य भो खुशीको ।

संसदीय व्यवस्था परम्परागत ढङ्गले चल्दै गर्दा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी(माओवादी)ले भूमिगत भएर सशस्त्र युद्ध थाल्यो । यही बीच राजा ज्ञानेन्द्रले शासन हातमा लिएपछि सात राजनीतिक दल र माओवादी मिलेर २०६२-०६३ को आन्दोलनको नेतृत्व गरे । द्वन्दकाल र जनआन्दोलनमा हजारौंँ जनताले ज्यान गएको थियो । दोस्रो जनआन्दोलनको उपज देशमा लोकतन्त्र हुँदै गणतन्त्र स्थापना भयो । विसं २०७२ मा गएको भूकम्प नेपालको राजनीतिमा एक अर्काे कोशेढुङ्गा भयो ः

वैशाख महिना पालुवा होइन प्रलय पलायो
त्यो धरहरा, त्यो काष्ठमण्डप, छिनमै ढलायो
घर थियो एउटा गौँथलीसरि दुःखले अर्जेको
के थियो गल्ती किन प्रकृति बेस्सरी रिसायो ?
सङ्कटमा देश एउटै बन्यो विश्वले सघायो
युगले साँच्चै समानताको पाठ नै पढायो
भत्के नि हाम्रा शहर र गाउँ भरोसा भत्किन्न
खरानीबाटै उमार्छौं जीवन विश्वास रित्तिन्न ।

गोरखा भूकम्पछि नेपालको संविधान बनी मुलुक समृद्धितिर लागेको आशा देखाएर कविले उज्यालो नेपालको सम्भावना देखाउनुभएको छ । नाटकमा कोतपर्व, गङ्गालालको विद्रोह, दासढुङ्गा प्रकरण आदिको जीवन्त अभिनय पाइन्छ । देशका विभिन्न भाषा, संस्कृति, रहनसहन, वेशभूषा, कला आदिलाई समेट्ने प्रयत्न गरिएको छ । कुन समयमा जनताले कस्तो अनुभव गरेका थिए भन्ने भावलाई नाटकमार्फत चित्रण गर्न खोजिएको छ । नाटकमा वास्तविकता प्रस्तुत गर्ने किसिमबाट सन्दर्भ सुहाउने तस्बीर र छायाङ्कन समेत गरिएको छ जसलाई पृष्ठभूमिमा राखेर प्रष्टयाउने प्रयास गरिएको छ । प्राज्ञ अशोक राईले १६ दिनमै रातबिहान नभनी पूर्वेली, सङ्गिनी, पालम, साकेला, भोजपुरी, नेवारी, सेलो, सालैजो, डेउडा, हुडकेली लय, हिमाली लय, भजन र रागमा आधारित आधुनिक सङ्गीत नाटकमा प्रयोग गरी गीतिनाटकको खास मर्मलाई प्रस्तुत गरेका छन् ।

नाटकका रचयिता शीतविन्दु विगतको इतिहासलाई बिर्सिएमा भविष्य नबन्ने बताउँछन् । उनी भन्छन्, “इतिहास बिर्सने राष्ट्रको भविष्य सम्भव छैन । ” राजनीतिकर्मी ज्ञवाली साहित्य क्षेत्रमा अझै परिपक्व हुँदै गएका छन् । गीतिनाटकको निर्देशन वीरेन्द्र हमालले गरेका छन् । नाटकमा नृत्य निर्देशन गोरन चौधरी र सहनृत्य निर्देशन सवनम सिलवालको छ । करीब ६० जना कलाकार समेटेर प्रस्तुत गरिएको आधुनिक गीतिनाटक हेर्न राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री आदिसहित सयौँ व्यक्तिको सहभागिता थियो । शायद मुलुकको जनताको इतिहास समेटेर यति बृहत्स्तरको गीतिनाटक पहिलो पटक प्रस्तुत गरिएको हुनुपर्छ जसले मुलुकको समृद्धिको भविष्यलाई नजिकै देखाइरहेको छ । सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापा पनि नाचघरको छ दशकको यात्रामा नेपाल गाथा कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्छन् । गीतिनाटक पुनः प्रस्तुत गर्नेबारे योजना बनिरहेको बताइएको छ ।

[email protected]

प्रतिक्रिया दिनुहोस्