Logo
Logo

ओलीलाई प्रतिकृयावादी कित्ताबाट फर्काउन घनश्यामहरुले जित्नुपर्छ



कम्युनिष्ट आन्दोलन र कम्युनिष्ट पार्टी भनेको फरक कुरा हो । कम्युनिष्ट आन्दोलनले माक्र्सवादी दर्शनमा आधारित राजनीतिक, आर्थिक र सामाजिक व्यवस्था प्राप्तिका लागि विभिन्न आन्दोलनहरुलाई संयोजन गर्ने काम गर्दछ ।

सवै प्रकारको आन्दोलनहरुको सांगठनिक संरचना एउटै हुनुपर्छ भन्ने जरुरी छैन । ध्येय एउटै भएपनि आन्दोलनभित्र थुप्रै कम्युनिष्ट पार्टीहरु हुन सक्छन् । यही नियम पुँजीवादी पार्टीभित्र पनि लागु हुन्छ । एउटै मुलुकभित्र पँुजीवादी विचारका थुप्रै पार्टी क्रियाशिल हुन सक्छन् भने कम्युनिष्ट पार्टीहरु पनि एक वा एकभन्दा बढी हुन किन नसक्ने ?

नेपालको सन्दर्भमा पनि थुप्रै कम्यनिष्ट पार्टीहरु भए भनेर चिन्ता मान्नुपर्ने कारण छैन । कम्युनिष्ट पार्टीहरु धेरै भएर आन्दोलन कमजोर हुँदैन । कम्युनिष्ट पार्टीहरु वैचारिक लिकवाट बाहिर गए भने चाहिँ चिन्ताको विषय हो ।

हामीले यही चिन्ताका कारण एमालेबाट बिद्रोह गर्यौ । विभिन्न कारणले बिद्रोह गर्न नसक्नु भएका थुप्रै कमरेडहरु अझै एमालेमै हुनुहुन्छ । उँहाहरु कम्युनिष्ट नै हो ।

यो लेखको उद्देश्य पार्टी एकताको आवश्यकता दर्शाउने होइन । निर्वाचन जित्न कम्युुुनिष्टहरु एक हुनुपर्छ भन्ने पनि होइन । भन्न खोजिएको कुरा कति मात्र हो– कम्युनिष्ट आन्दोलनभित्रका घटक संगठनहरु आन्दोलन विरोधि गतिविधीवाट अलग हुनुपर्छ ।

वृहत् कम्युनिष्ट आन्दोलनभित्रका घटक पार्टीबीच संघर्ष र सहकार्य भने हुनुपर्छ । त्यसका निम्ति बहस जरुरी छ । बहसलाई बन्देज गर्ने तरिका माक्र्सवादी होइन ।

निर्वाचनको जितहार जनमत मापनको माध्यम होला, तर कम्युनिष्टहरुका निम्ति पुँजीवादीहरुको झै जीवन–मरणको सवाल होइन । संसारभरका कैंयौ कम्युनिष्ट पार्टीहरु चुनावमा भाग नै लिँदैनन्, तथापि समाज विकास र सामाजिक चेतना अभिवृद्धिमा उनीहरुको भूमिका अद्धितिय छ ।

त्यसैले, कुन कम्युनिष्ट पार्टीले कति सिट जित्यो वा कति भोट पायो वा कस्ले हार्यो अथवा कति भोट पायो ? यो छलफलको विषय होइन, सवाल त आन्दोलनको हो ।

आन्दोलनले कति विकास गर्याे ? सामाजिक चेतनामा कति अभिवृद्धि भयो ? आम मान्छे र खासगरी श्रमिक वर्गहरु समाजवादप्रति कति विश्वस्त भए ? आन्दोलनभित्रका खरावीलाई कति निर्ममतापूर्वक कमजोर बनाइयो ? प्रतिक्रियावादी घुसपैठबाट आन्दोलनलाई कति जोगाइयो ? यसको शुद्धिकरणको विधि के हो ? आजको बहसका विषयहरु यीनै हुन ।

बहस शुरुवातको अग्रपंक्तिमा घनश्यामहरु छन् । घनश्यामहरु एमालेमा मात्र होइन, अरु कम्युनिष्ट पार्टीहरुमा पनि छन् । यसलाई निरन्तरता दिन पनि घनश्यामहरुले हार्नु हुँदैन ।

अहिले एमालेभित्र बहस बर्जित छ । त्यतिमात्र होइन, एमाले भन्ने पार्टी नेपालको कम्युनिष्ट आन्दोलनको घेराबाट बाहिर रमाइरहेको छ । आजको मितिमा उसका नीति र नेतृत्व नेपाली कम्युनिष्ट आन्दोलनको एउटा हिस्सा होइन । उसलाई कम्युनिष्ट आन्दोलनको घेराभित्र हुल्न अन्य कम्युनिष्ट घटकहरुले सहयोग गर्नै पर्दछ । त्यो भन्दा धेरै त्यहिँ पार्टीका इमान्दार कम्युनिष्टहरु सतहमा देखा पर्नुपर्छ । यो काममा केही घनश्यामहरु देखा पर्ने कोसिस गर्दैछन् । यो खुशीको कुरा हो ।

एमाले कम्युनिष्ट आन्दोलनको हिस्सा भएन भने के हुन्छ ? यस्तो घटनाले मुलुकको लोकतान्त्रिक आन्दोलन र वाम आन्दोलनसमेत धरापमा पर्न सक्छ । एउटा बिग्रेको कम्युनिष्ट पार्टी सामान्य प्रतिक्रियावादी होइन, घोर प्रतिक्रियावादी पार्टीमा परिवर्तन हुनसक्छ ।

गत स्थानीय तहको निर्वाचनमा लोकतान्त्रिक र वाम पार्टीहरुले एमालेलाई एक्लो बनाए । परिणामत उसले राजावादी कमल थापा, भारतवादी महतो र विखण्डनको गन्ध बोकेका सीकेसँग चुनावी तालमेल गर्यो । यो हाम्रो लोकतन्त्रको लागि खतराको संकेत होइन ? उसलाई घोर प्रतिक्रियावादी कित्तावाट फर्काउने हो भने त्यँहाभित्रका घनश्यामहरुले हार्नु हुँदैन ।

स्थानीय निर्वाचनमा एक्लो परेको एमालेले घरेलु प्रतिक्रियावादसँग सम्झौता गर्याे । आउने संसदीय निर्वाचनमाा पनि उ एक्लै पर्याे भने घरेलु प्रतिक्रियावादीसँग मात्र होइन, विदेशी प्रतिक्रियावादीसँग समेत साठगाँठ गर्नेछ । लक्षणहरु देखा पर्दैछन् ।

आजकाल एमाले महासचिव दुई दलीय व्यवस्थाको वकालत गर्दैछन् । यो भुटानी मोडेल हो । ‘जबज’ले प्रस्तावित गरेको राजनीतिक व्यवस्थाभन्दा भिन्न र हाम्रो संविधानले परिकल्पना गरेको व्यवस्थाको बर्खिलापमा एमाले महासचिवले किन बोले ? यसको उत्तर हामीले सोचेभन्दा भयानक हुनसक्छ ।

नियन्त्रित प्रजातन्त्र र संरक्षित राज्य व्यवस्था भारतले भुटानलाई लादेको प्रबन्ध हो । त्यही प्रबन्धको पक्षमा एमालेले आपूmलाई किन उभ्यायो ? कमल थापा, राजेन्द्र महतो र सीकेसँगको चुनावी गठबन्धन कसले गरायो ? ठोरीमा राम मन्दिर निर्माण गर्ने हुटहुटी केपीमा कसरी पैदा भयो ? के यी सबै घटना परिघटनाहरु केवल संयोग मात्र हुन ? यस्ता प्रश्नहरु एमालेवृत्तवाट नै घनश्यामहरुले उठाएका छन् । त्यसकारण उनीहरु त्यहाँ हार्नु हुँदैन ।

कम्युनिष्टहरु व्यक्तिपुजाको विरोधि हुन्छन् । वंशाणुगत शासन प्रणाली मान्दैनन् । तर आज एमाले कँहा छ ? एमालेको कुनै पनि कार्यक्रममा ‘केपी बा आई लव यु’ को गीत बज्छ, मानौं यो उनीहरुको ‘राष्ट्रिय गान’ हो ।

महाधिवेशनमा छलफल हुँदैन । केन्द्रीय सदस्यहरुको नाम पढेर सुनाइन्छ । महाधिवेशन प्रतिनिधिहरु मनोनित हुन्छन् । यस पार्टीका अधिकांश नेताहरु अशिष्ठ, अभद्र र अमर्यादित भाषण गर्छन् । एउटा कम्युनिष्ट पार्टीमा हुनुपर्ने सामान्य कार्यशैलीबाट उनिहरु दिनप्रतिदिन स्खलित हुँदैछन् । यी प्रवृत्तिहरुका विरुद्धमा घनश्यामहरु उठनै पर्दथ्यो, उठे । त्यँहाभित्र घनश्यामहरु जिते भने एमाले पुरानो लयमा फर्कने संभावना छ । यो संभावना एमाले जिवनका लागि मात्र होइन, समग्र कम्युनिष्ट आन्दोलनका लागि सुखद हो । यो सुखद त्यान्द्रो समात्नका लागि नेपाली कम्यनिष्टहरुले कन्चुस्याई गर्न हुँदैन । एमालेको उद्धार, एमालेका लागि मात्र होइन, समग्र लोकतान्त्रिक र कम्युनिष्ट आन्दोलनका लागि हो ।
एमालेभित्र रहेका कम्युनिष्टहरु आशाका नजरले हामीलाई हेरिरहेका छन् । तिनीहरु हाम्रै साथीहरु हुन् । नेपाली कम्युनिष्ट आन्दोलनमा योगदान पुर्याउने अभिष्टका साथ पार्टीमा लागेका ती स्वाभिमानीहरु हातहरु बाध्यतावश “आइ लव यु” भन्दै ताली पड्काउन बाध्य छन् । उनिहरुको स्वाभिमानलाई उच्च बनाउन नै घनश्यामहरु साहसका साथ उभिएका हुन् । उनको साहसलाई लालसलाम भनौं । धन्यवाद

(लेखक नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य हुन् ।)

प्रतिक्रिया दिनुहोस्