Logo
Logo

मलाई जिउँदै देखेर साथीहरू छक्क परे



जीवन आफ्नै भए पनि आफ्नो जस्तो भएन । पार्टीको सदस्य भएपछि जीवनशैली अर्कै हुनथाल्यो । खुसी र दुःख, उपलब्धि र क्षति, विजय र पराजय सबै कुराको मिश्रण हो जिन्दगी– पार्टी जीवनमा यो मिश्रण झन् स्पष्ट हुन थाल्यो ।

यथार्थ सपना जस्तो नरम होइन, कठिनाईसँग जोडिएको थियो । जिन्दगीलाई अगाडि बढाउन फलामको जब्बर ढोका खोलेर अगाडि बढेको थिएँ । अब अर्कै जीवन सुरु भयो– भूमिगत बस्नु पर्ने भयो ।

आफ्नो घर छोडेर कार्यकर्ता र शुभचिन्तक शेल्टरदाताहरुको शरणमा बस्नुपर्ने भयो । व्यक्तिगत स्वतन्त्रताभन्दा ठूलो केही हुन्छ र बाँच्नु भनेको त्यही लक्षका निम्ति हो भन्ने विश्वासमा जीवनको नयाँ अनुभव शुरु भयो । पार्टीका अहिलेका नयाँ पुस्ताका नेता वा कार्यकर्ताहरुको निम्ति यो सब काल्पनिक कथा जस्तो लाग्नु स्वाभाविक छ ।

एक साँझ म मजदूर साथीहरु जम्मा भएको शेल्टर हाम्रा पुराना साथी प्रणय मानन्धरको पुरानो घरमा पुग्दा– साथीहरु छक्क परे– मलाई जिउँदै देखेर । पत्रिकामा गिरफ्तार हुनेहरुको नामावलिमा मेरो नाम पनि परिसकेको थियो ।

हस्याङफस्याङ गर्दै पुगेकी थिएँ– केही बेर लामो–लामो श्वास लिएर बसेँ र साथीहरुको कुरा सुनेँ । उनीहरुको कुरा सुनेर खुसी पनि लाग्यो । त्यो समय भनेको २०३७ सालको सुरुको बेला हो । देशव्यापि मजदूर आन्दोलनको सुरुकै समयको कुरा हो यो । ३६ सालको अन्त्यतिरको देशभरिका मजदूर नेताहरुको भेलाले नै यो निर्णय गरेको थियो ।

एक साँझ म मजदूर साथीहरु जम्मा भएको शेल्टर हाम्रा पुराना साथी प्रणय मानन्धरको पुरानो घरमा पुग्दा– साथीहरु छक्क परे– मलाई जिउँदै देखेर । पत्रिकामा गिरफ्तार हुनेहरुको नामावलिमा मेरो नाम पनि परिसकेको थियो ।

‘बटनपुस कामरेड’को नेतृत्वमा भएको निर्णय थियो त्यो । मजदूरको यथास्थितिलाई नजिकबाट हेर्दै नहेरीकन कोठामा बसेर थिचेको बटनले व्यवहारमा संघर्षकै मैदानलाई हाँक्न सहज थिएन । मेरो अन्तरमनले नदिएको गलत निर्णय थियो त्यो । तर, म अल्पमतमा परिसकेकी थिएँ । सुरुकै बैठकमा मेरो कुरा सुन्न कोही तयार थिएन ।

३६ सालको सफलताको धङधङी अझै बाँकी नै थियो, नेताहरुमा । मैले पनि बलियोसँग आफ्ना कुरा भन्न सकिन । भर्खरै पसेको पार्टी संगठनसँग विमति जनाउन गाह्रो पनि भएको थियो मलाई । त्यसैको नतिजा थियो– मेरो भूमिगत बस्नुपर्ने बाध्यता ।

पुलिसको हातबाट त बचेँ, दिनभरी नै बालाजु औद्योगिक क्षेत्रमा पुलिस तैनाथ थिए र म लगायत चारजना मजदूर नेतालाई जहाँ भेटे पनि पक्राउ गर्ने र परिआए गोली नै हान्न पाउने समेत आदेश थियो रे भन्ने कुरा पछि सुन्दा धन्न बाँचेछौं भन्ने लाग्यो । नत्र यो कथा कहाँबाट भन्न पाउनु ?

पुलिसले पहिलेदेखि नै चिनेका मजदूर नेताहरुलाई औद्योगिक क्षेत्रपुग्नु अगाडि नै अरु मजदूरले रोके । म भने भित्र पसिसकेकि थिएँ । आन्दोलन सुरुहुने दिन भएकोले अलिकति अगाडि नै पुगेकी थिएँ ।

केही महिला मजदूर साथीहरुले मलाई देख्ने बित्तिकै कारखानासम्म पुग्नै नदिई लुकाउने प्रयत्न गरे । सोचेको भन्दा भिन्दै स्थिति देख्दा पुरै होशियारीमा बस्नुपर्ने अवस्थालाई बुझिसकेकी थिएँ ।

ठूलो गेटबाटै बाहिर निस्कन मिल्ने अवस्था पनि भएन । सबै मजदूरहरुलाई छानिछानी बाहिरैबाट घर फर्काउने आदेश पुलिसबाटै भैरहेको थियो । त्यो गम्भीर क्षणलाई आफ्नै आँखाले देखेपछि बुझेँ– मेरो बाहिर जाने मौका गुमिसकेको कुरा ।

अब गर्ने के ? सबै कारखानाका ढोकाहरु बन्द भैसकेका थिए, प्रशासन र मिल मालिकको मिलोमितोमा । मात्र एउटा मैदा कारखाना नेबिकोकै मालिकको कारखाना नयाँ बन्दै गरेको भएर सिकर्मीहरुको काम भैरहेको थियो । त्यहीभित्र म स्वाट्ट पसेँ र एउटा सिकर्मी दाइलाई नेवारीमा भनेँ– ‘मलाई एकछिन बस्न दिनुस् ! मेरो झोला पनि तपाईंसँगै राखिदिनुस् । केही गरी मलाई लगेछन् भने पनि भने पनि झोला त बच्छ । पछि मिले लिउँला । नभए केही छैन…’

मेरो झोलामा एउटा नोटबूक् र कलम अनि हड्ताल हुने भएकोले मजदूरलाई सुनाउन मिल्ने चेतनामूलक गीत र कथाका दुइटा पुस्तक थिए । अनि दिउँसो खाजा खानलाई राखेको अलिकति पैसा थियो । नोटबूकमा केही योजना पनि थिए, जो पुलिसको हातबाट बचाउनु थियो ।

जेठको टन्टलापूर घाम टल्किरहेको थियो । पुलिसले बन्दूक मात्र होइन ठूलो ढ्वाङ् जस्तो माईक पनि बोकेर हिँडेको देखेँ । औद्योगिक क्षेत्रमा कर्फ्यु लागिसकेको घोषणा गर्दैथियो । त्यो ठाउँबाट ओहोरदोहर गर्नै नपाइने भैसकेको थियो ।

त्यतिञ्जेल सम्ममा धन्न ती सिकर्मी दाईलाई मेरो झोला बुझाउन पाएँ । उनीहरुले पनि कुरा बुझेर केही भनेनन् मलाई । एकछिन पछि मैले मिल मालिकको चिल्लो कार र पाका भलादमी मिलमालिक गोरखबहादुर श्रेष्ठलाई पनि देखेँ । डराई डराई हेरेँ । उनले पनि देखे मलाई– हाम्रो आँखा नै जुध्यो । कार त तुरुन्तै फर्किहाल्यो ।

आफ्नै छोरी जस्तो लाग्यो कि बुढा मान्छेलाई, देखेर पनि केही प्रतिकृया नजनाइकन देखेको नदेख्यै जस्तो गरि चुपचाप फर्किए । एकछिनमै पुलिस म बस्ने ठाउँसम्मै पुग्ने हो कि भन्ने डर पनि भयो । तर त्यस्तो भएन ।

वास्तवमा ती कारखानामालिकले त्यो बेला मलाई बचाएकै हुन् । त्यो क्षण पनि म कहिल्यै बिर्सिन्न । अब उनी यो संसारमा पनि छैनन्– मलाई थाहा छ । यसबाट मैले के बुझें भने पूँजीपति हुँदैमा सबै क्रुर हुँदैनन्, विवेक भएका पनि हुन्छन् ।

बाहिर सुनसान थियो ! लडाइँ पछिको मैदान जस्तो थियो, त्यो सिङ्गै क्षेत्र । म लुकेको कारखानाभित्र भने सिकर्मीहरु काठको काम गर्दै थिए । मनै चिरापार्ने जस्तो झिं झिं झिर् झिर् को आवाज आइरहेकोथियो ।

म दुइटा चुल्ठो बाट्ने गर्थें त्यतिबेला । झट्ट मलाई कसैले नचिनुन् भनेर पहिले आफ्नो कपाल बिगारें । अनि पोको पारें । ती सिकर्मी दाइकै परिवार जस्तो देखियोस् भनेर सँगै बसी काठहरुसँग खेल्न थालें ।

कलेजमा हुँदा सानोतिनो नाटक पनि खेलेकी थिएँ, ख्यालख्यालमै । यतिबेला भने साँच्चै नै अर्को नाटक खेल्नुपरेको थियो । ठूलो परिक्षा थियो र प्रतिक्षा पनि । त्यहीँ बसेर पुलिसका अरु क्रुर गतिविधि पनि हेर्न पाएँ ।

‘मजदूरहरु अब कहिले नउठुन’ भनेर होला, मे दिवसका दिन फहराएको रातो ठूलो झन्डा च्यातचुत् पारी झारे र बुटले, कुल्चेर धुजाधुजा पार्दै छताछुल्ल हुनेगरी फ्याँकिदिए । यो दृश्यले भने मेरो मन बेस्सरी दुख्यो । मजदूरको विजयको झण्डा थियो त्यो ।

कर्फ्युको निश्चित समय सकेपछि सिकर्मी दाइहरु घर फर्कने बेला भयो । दिनभरिमा हाम्रो मित्रता र समझदारी गाढा भैसकेको थियो । औद्योगिक क्षेत्रको पछाडिको बाटोबाट उनीहरुलाई जान दिने भएछन् । म पनि सँगै फर्किन पाएँ, उनीहरुकै परिवारको सदस्य भएर । धन्न एउटा सस्तो धोती लगाएकी थिएँ ।

बाहिर सडक नपुगुञ्जेल मेरो मन ढुकढुक नै भैरहेको थियो । बाहिर पुगेपछि म अर्कै भएँ । सुभद्रा कोइरालाको घर त्यहाँबाट नजिकै थियो– उनकै घरमा गएर झट्ट कपडा फेरें, अनि विष्णुमतिको किनारै किनारबाट फर्कें…

क्रमश…

प्रतिक्रिया दिनुहोस्