Logo

बालबालिकासँग राष्ट्रपति


Published On : 15 September, 2019

काठमाडौँ । राष्ट्रपति कार्यालय शीतल निवासको सभाहलमा बालबालिकाहरू राष्ट्रपतिको तीव्र प्रतिक्षामा थिए । राष्ट्रपति विद्यादेवी भण्डारी आउनुभएपछि राष्ट्रियगान बज्यो । त्यसपछि बालकहरू समिर बस्याल, प्रकाश नेपाली, सवीन तामाङ, राम भण्डारी र शिव रावलले राष्ट्रपतिलाई बाल गीतले स्वागत गरे । ‘सुनिश्चित बाल अधिकार : समृद्ध नेपालको आधार’ भन्ने मूल नारासहित मनाउन लागिएको ‘राष्ट्रिय बाल दिवस–२०७६’ को अवसरमा आज महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आयोजित “बालबालिकासँग राष्ट्रपति” कार्यक्रममा बालबालिकाले राष्ट्रपतिसँग आफ्ना जिज्ञासा राख्न शुरु गरे ।

शुरुमा झापाकी प्रेनुषा पाण्डेले जिज्ञासा राखिन्, “राष्ट्रपतिज्यू हजुरको बाल्यकाल कसरी बित्यो ?” राष्ट्रपतिले भन्नुभयो, “मेरो बाल्यकाल फरक थियो, अहिलेको समय धेरै फरक छ, त्यतिबेला आजभन्दा करीब ६० वर्ष पहिला बालबालिकाको लागि धेरै कुराहरू सोचिएको थिएन ।

त्यतिबेलाको समय, देश, काल परिस्थिति, हाम्रो देशको चेतनास्तर, समाज सबै कुराले फरक थियो । त्यो अवस्था र अहिले हेर्ने हो भने धेरै सकारात्मक परिवर्तन आएको छ ।”

राष्ट्रपति भण्डारीले आफू नेपालको राष्ट्रपति निर्वाचित भएपछि २० वर्षपछि आफ्नो माइती गाउँ भोजपुर पुगेको सुनाउनुभयो । राष्ट्रपति भण्डारीले करीब ३५÷३६ सालमा गाउँ छोडेको र विद्यालय पढ्ने समयमा बाटोघाटोको समस्या भएको , जङ्गल र पुल नभएको खोला पार गर्नुपर्ने अवस्था रहेको सुनाउनुभयो । उहाँले आफू विद्यालय अध्ययन गर्ने क्रममा कत्ति पनि सूचना, सञ्चार प्रविधिको विकास नभएको र अहिलेका विद्यार्थीको हातहातमा मोबाइल भएको प्रसङ्ग ल्याउनुभयो ।

“त्यतिबेला त साँझ परेपछि बत्ती हुँदैन थियो, सानो टुकी बाल्ने हो त्यो पनि मट्टितेल नभएर कहिले तोरीको तेलमा बत्ती बालेर पढिन्थ्यो । तर अहिले तपाईँहरूले पनि मैले भोगेको केही अंश भोगिरहनुभएको जस्तो लाग्छ”, राष्ट्रपति भण्डारीले भन्नुभयो ।

त्यतिबेला अक्षर चिन्न गाह्रो थियो, तपार्इँहरूले कलम कपीबाटै अक्षर चिन्नुभयो होला, मैले भने पहिलोचोटि अक्षर लेख्दाखेरि रातो माटो धुलो बनाएर काठको फलेकमा सिन्काले कोरेर हजुरबुबाले लेख्न सिकाइदिनुभएको थियो उहाँले थप्नुभयो “पछि विस्तारै विद्यालय खोलेर शिक्षकहरू राखेर पढाइहुन्थ्यो । हामी एकदमै विकट क्षेत्रबाट हुर्केर आएको हो, त्यसैले यहाँको भौगोलिक अवस्था र जनताको दुःख मलाई राम्रैसँग थाहा छ, मैले त्यो महसुस गरेको छु ।”

त्यसपछि राष्ट्रपति भण्डारीले बालबालिकाले राखेको अर्को जिज्ञासाको प्रसङ्ग ल्याउँदै पहिलेदेखि गाउँगाउँमा शिक्षा र स्वास्थ्यको समस्या थियो दुई छाक खान नपाउनेले पाउनुपर्छ भन्ने थियो परिवर्तन हुनुपर्छ भन्ने मलाई लागेको थियो तर मैले कहिल्यै म यो पदमा हुन्छु भनेर कल्पना गरेको थिइन भन्नुभयो । उहाँले थप्नुभयो, “कल्पना नगरेपनि त्यसमा लाग्दै जाँदा समय र परिस्थितिले यो ठाउँमा पुगँे त्यो हिसाबले खुसी लाग्छ कि नेपाली जनताको घरमा हुर्केको एउटा छोरी मान्छे भएर ।”

उहाँले आफ्नो पालामा आफ्नो घर छोराछोरीबीच खासै विभेद नभएपनि बाबुहरूको पालामासम्म भने विभेद भएको बालबालिकालाई सुनाउँदै आफ्नो पालामा गाउँकी छोरी मान्छे हाइस्कुल गएको सायद पहिलो आफू मात्रै भएको सुनाउनुभयो । उहाँले भन्नुभयो, “त्यसपछि सबै जनाले विस्तारै पढ्न शुरु गरे । केही बनिन्छ भन्ने कुनै आकांक्षा भने थिएन । गाउँमा औषधि उपचार नपाएर मान्छेहरू मरिरहेको देखेपछि देश बन्नुपर्छ भन्ने थियो ।”

बालिका सम्झना गोराथोकीले राखेको जिज्ञासामा राष्ट्रपति भण्डारीले बालबालिका भनेको देशको एउटा निर्णयक जनशक्ति भएको र भोलि देश समाल्ने नेतृत्वकर्ता भएको बताउनुभयो । त्यसैले राष्ट्रको सम्पूर्ण ध्यान बालबालिकाको उज्यालो भविष्यतर्फ केन्द्रित हुनुपर्ने उहाँको भनाइ छ । उहाँले बालबालिकाको सवालमा राज्यको जति जिम्मेवारी छ त्यति नै गैरसरकारी क्षेत्र र अभिभावकको पनि हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले राज्यले बालबालिकाको अभिभावकत्व लिन्छ तर त्यसलाई सही सदुपयोग गर्ने भूमिका अभिभावकले निभाउनुपर्छ भन्नुभयो । निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई अभिभावकले जति समय दिएका हुन्छन् सरकारी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई समयनै दिँदैनन् भन्दै उहाँले सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराउनुभयो । कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले बालबालिकासम्बन्धी ऐन, २०७५ को प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस्