Logo
Logo
चिठ्ठी

कमरेड घनश्यामलाई अर्को चिठ्ठी



कमरेड घनश्याम,
हार्दिक अभिवादन !
स्थानीय चुनावको केही दिन अगाडि नेपालको एउटा प्रतिष्ठित अखबारमा कमरेडको एउटा लामो लेख छापिएको थियो । त्यसको शीर्षक थियो, ‘कम्युनिष्ट पार्टीको भविष्यः एकता वा सर्वनाश ।’ त्यो लेख देशभित्र र बाहिर व्यापक पढियो । मान्छेहरूले खुबै मन पराए ।

त्यसैक्रममा उक्त लेखलाई नै आधार बनाएर ८ चैत २०७८ मा दृष्टि पत्रिकामा मैले पनि कमरेडलाई एउटा चिठ्ठी लेखेको थिए । कमरेडको लेखको मुख्य आशय आगामी निर्वाचनमा कम्युनिष्टहरू एक हुनुपर्छ अन्यथा सत्यानाश हुन तयार हुनुपर्छ र त्यो एकताको अगुवाइ नेकपा (एमाले)ले गर्नुपर्छ भन्ने थियो ।

मैले कमरेडलाई लेखेको पत्रमा कम्युनिष्ट पार्टीको भविष्य निर्वाचनमा हुने स्वाभाविक जित–हारले निर्धारण गर्दैन, बरु विचारहीनता र सिद्धान्तहीनताले यसको आयु छोट्याउँछ भन्ने थियो ।

त्यसबाहेक उक्त पत्रमा कम्युनिष्ट एकताको मुख्य केन्द्र अब एमाले हुन सक्दैन र यसले आफ्नो पुरानो गौरवपूर्ण गाथा र यसले निर्माण गर्ने सामथ्र्य अनि नैतिकता गुमाइसकेको छ भन्ने कुरामा जोड दिएको थिएँ । खैर ! निर्वाचन सम्पन्न भएर परिणाम आइसकेपछि परिस्थितिमा केही फेरबदल आएको छ । केही प्रश्नका उत्तरहरू आइसके, अझै केही अनुत्तरित सवालहरू बाँकी नै छन् ।

कमरेड र कमरेडका तत्कालीन सहयोगीहरूले एमालेसँग गर्नुभएको १० बुँदे सहमति उत्कृष्ट थियो । यसका सन्दर्भमा कुनै शंका नभए पनि त्यसलाई लागू गर्ने सवालमा भने उत्पन्न भएको संशयले नै त्यो सहमति त्यतिखेर सर्वमान्य हुन सकेन । परिणामस्वरुप पार्टी विभाजन भयो । यो पनि अब इतिहासको विषय भयो, इतिहासका विद्यार्थीहरूले छलफल गर्लान् ।

तर, त्यो संशय केपी ओलीका दुर्नियतका कारण सत्यतामा परिणत भइसकेको तथ्यमा भने अहिले हामी सबै एक ठाउँमा छौँ । यी त भए निकट विगतका कुराहरू । यो चिठ्ठीको आशय विगतका पत्रहरू खोतल्ने होइन ।

कमरेडले एमालेबाट विद्रोह गर्नुभएको यो घडीमा यो विद्रोहको ऐतिहासिक महत्व, वर्तमानका हाम्रा दायित्वहरू र भविष्यको गोरेटो कता हो ? यसको निरुपण, निर्धारण र नेतृत्वमा कमरेडको महत्वपूर्ण भूमिका कसरी सम्पन्न होलान् भन्ने जिज्ञासासहित प्रस्तुत हुन खोजेको छु ।

कमरेडको समग्र राजनीतिक जीवनमा कार्यकर्ताहरूले यति ठूलो आयतनमा अपेक्षा राखिएको शायद यो पहिलोचोटी होला । यो अपेक्षा नेकपा (एककृत समाजवादी) वृत्तभित्र मात्र होइन, सिंगो नेपाली कम्युनिष्ट आन्दोलनले कमरेडलाई हेरिरहेको छ ।

कमरेडले एमालेभित्र वैचारिक हिसाबले बिताउनुभएको बन्दी जीवन र तोड्नुभएको साङ्लोले हाम्रो पार्टीभित्र र अन्य कम्युनिष्ट पार्टीभित्र मात्र होइन, स्वयं एमालेभित्र पनि त्यहाँको कम्युनिष्ट क्रान्तिकारीहरूलाई समेत मार्गनिर्देशन गरेको होला भन्ने ठान्दछु ।

अब कमरेडसहितको एकीकृत समाजवादी पार्टीले निरुपण गरिहाल्नु पर्ने एउटा महत्वपुर्ण प्रश्न भनेको कम्युनिष्ट एकताकै हो । सामान्य मान्छेहरू पार्टी एकतालाई सङ्गठनको एकतामा मात्र सीमित भएर बुझ्छन । पार्टी एकता भनेको मूलत वैचारिक एकता हो । यो वैचारिक एकता कायम गर्न इतिहासप्रतिको समान र बुझाइ पनि महत्वपूर्ण हुन्छ । इतिहासका प्रश्नलाई छरपष्ट छाडेर गरिने एकता ओली र प्रचण्डको विगतको एकताभन्दा भिन्न हुँदैन ।

त्यसबाहेक अर्को प्रश्न हो, कम्युुनिष्ट पार्टीहज्ञको एकता कि कम्युनिष्टहरूको एकता ? कम्युुनिष्ट पार्टीहरूको एकता धेरै गाह्रो विषय होइन । त्यसका लागि त्यति मेहेनत गर्नु पनि पर्दैैन । आवधिक निर्वाचनको सन्निकटमा कुनै एउटा महान दिनको कुनै पनि क्षण र प्रहरमा, कुनै व्यापारीको भव्य बैठक कोठामा त्यो एकता अचानक प्रकट हुन सक्छ ।

कार्यकर्ताहरू त्यो सुसमाचार अखबारबाट थाहा पाएर भावविहोर हुनेछन । त्यो त्यतिखेर हुन सकेन भने सरकार निर्माणमा हुनसक्छ । तर, मुलुकले अहिले खोजेको कम्युनिष्ट एकता त्यस्तो प्रकारको होइन । इतिहासमा हामी त्यो असफल प्रक्रियाबाट गुज्रिसकेका छौँ ।

वि.सं. २०७४ को संसदीय निर्वाचनमा एमाले र माओवादीका बीचको चुनावी तालमेल र त्यसपछि सरकार निर्माणका सन्दर्भमा भएको पार्टी एकता दुई कम्युनिष्ट पार्टीहरूका बीचको पार्टी एकता थियो, जुन रातारात भयो । त्यो पार्टी एकताको महिमा र भजनको ठूला–ठूला कर्कश स्वरहरू अहिले पनि हामी सवैलाई सम्झना छ । त्यो घटनाले हामीलाई दिएको शिक्षा के हो भने मुलुकले अब कम्युनिष्ट पार्टीहरूको एकता होइन, कम्युनिष्टहरूको एकता खोजेको छ ।

त्यसकारण अब हामीले प्रयत्न गर्ने भनेको कम्युनिष्टहरूको एकता नै हो । यस काममा कमरेड स्वयं सामेल हुनुभएको एकीकृत समाजवादीले पहल गर्नुपर्छ । यो अपेक्षाको ठूलो भार र यसको ठूलो अंश तपाईँले नबोकी धर पाउन हुन्न, कमरेड !

यति भनिसकेपछि कम्युनिष्ट पार्टीहरू बीचको एकता र कम्युनिष्टहरूको एकताका बीचमा के फरक छ ? दुई चार लाइन यसमा खर्च गरिनु सान्दर्भिक हुन्छ नै ।

विश्व राजनीतिमा प्रभाव पार्ने क्षमता विकशित गरेका दुई ठूला छिमेकी मुलुकहरू र उनीहरूका बीचमा रहेका अन्तर्विरोध र प्रतिस्पर्धाहरू हाम्रा लागि अनुकूल छैनन ।

त्यसबाहेक अत्यन्त सानो भूगोल, जनसंख्या र अर्थतन्त्र विरासतमा पाएको नेपालका बारेमा उनीहरू बेखबर हुनै सक्दैनन् । उनीहरूको हामीप्रति प्रशस्त चासोको बीचमा हामी बाँचिरहेका छौँ ।

त्यसबाहेक नेपालमा विकसित हुँदै गइरहेको वामपन्थी जनमतप्रति विश्व प्रतिक्रियावाद चुप लागेर बस्ने कुरै आउँदैन । उनीहरू कम्यनिष्ट पार्टीहरूलाई कि सक्छन् कि बिगार्छन् ।

त्यसबाहेक आफ्नो स्वार्थअनुसार कम्युनिष्ट पार्टीलाई चलाउन खोज्छन् या त यसभित्र प्रवेश गरेर कम्युनिष्ट पार्टीको राजनीतिक मौलिकता र विशिष्टतालाई ध्वंश पार्न प्रयत्न गर्छन् । यही प्रयत्न बमोजिम कम्युनिष्ट पार्टीभित्र व्यापक गैरवामपन्थीहरूको घुसपैठ गराउन खोज्नु स्वाभाविकै हो ।

कम्युनिष्ट पार्टीभित्रको नेतृत्व तहमै गैरवामपन्थीहरूको उपस्थितिले उनीहरू सफल भएको देखिन्छ । कमल थापा, हृदयेश त्रिपाठीहरूले कम्युनिष्ट पार्टीको चुनाव चिह्नबाट चुनाव लड्नुमात्र होइन, दुर्गा प्रसाईँ, कोमल वली र मोतीलाल दुगडहरू नेतृत्व तहमै पुग्नु संयोगमात्र होइन ।

मात्राका हिसाबले एमालेमा व्यापक घुसपैठ भए पनि अन्य कम्युनिष्ट पार्टीहरूमा पनि धेरथोर नहोलान् भन्न सकिन्न । कम्युनिष्ट पार्टीहरूका बीचमा एकता गर्नु भनेको घुसपैठियाहरूसहितको एकता हो ।

तसर्थ, कम्युनिष्ट पार्टीहरूबीचको एकता होइन, सबै कम्युनिष्ट पार्टीहरूभित्र रहेका साँच्चिकै कम्युनिष्टहरूको एकता आजको माग हो । यसको केन्द्र एकीकृत समाजवादी बन्नुपर्छ । यसका लागि पनि कमरेड घनश्याम ! तपाईँसहित भएको नेतृत्व तह यसका लागि तयार हुनुको विकल्प छैन ।

जब हामी कम्युनिष्टहरूको केन्द्र एकीकृत समाजवादीलाई बनाउन खोज्छौँ भने यो पार्टीले पनि आफूलाई व्यापक परिष्कृत गर्न जरुरी छ । यसका लागि गर्नुुपर्ने अर्को प्रयत्न भनेको अध्ययन, बहस र छलफल हो ।

हाम्रो समाजमा दिनप्रतिदिन भइरहेको भौतिक परिवर्तन र यसले निर्माण गरेको सामाजिक चेतनालाई बुझ्न जरुरी हुन्छ । कम्युनिष्ट हुनु भनेको माक्र्स, लेनिन, रोजा र माओका कृतिहरू कण्ठस्थ पार्ने पंक्तिमात्र होइन, आज हामी बाँचिरहेको समाज र यसका प्रवृत्तिहरू बुझ्न सक्ने, विश्लेषण गर्न सक्ने जमात तयार बनाउनु पनि हो ।

आजको हाम्रो नयाँ पुस्ता रामेश र नारायणगोपाल सुन्छ कि भिटेन र बालेनहरू सुन्छ ? हाम्रो मौलिक खाना र पोशाकहरूप्रति रुचि राख्छ कि च्यातिएको जिन्समा रमाउँछ ? लुम्बिनी र सगरमाथाप्रति गौरव गर्छ कि नायग्रा ल्फसप्रति लोभिन्छ ? हाम्रो इतिहास, हाम्रो संविधान र हाम्रा अग्रजहरूप्रति कति नतमस्तक छ ?

श्रमको सम्मानप्रति उसको धारणा के छ ? हाम्रा गाउँघरका खेतबारीहरू बाँझै राखेर मलेसिया र कुवेत जान युवाहरूलाई कसले प्रेरित गर्दैछ ? हाम्रो संस्कृति र चालचलनहरू दिनप्रतिदिन पश्चिमाकरण किन भइरहेको छ ? यावत कुराहरू अध्ययनका विषय होइनन् र ?

यसको अध्ययनबाट निस्केको निष्कर्षले निकाल्ने समाधानले मात्र हाम्रो समाजलाई सांस्कृतिकरूपले प्रगतिशील रुपान्तरणतर्फ डो¥याउन सक्छ । यो कामको जिम्मा पनि सदाझैँ अहिले पनि कम्युनिष्टहरूकै काँधमा छ । यो बोझ उठाउने काममा कम्युनिष्ट पार्टीलाई दिशानिर्देश गर्न पनि कमरेड घनश्याम ! तपाईँसहितको नेतृत्वको भूमिका अपेक्षित हुनु अस्वाभाविक होइन ।

कम्युनिष्ट पार्टीभित्र संगठनसम्बन्धि नीतिमा ठूलो समस्या छ । नेपालको राजनीतिक परिवर्तन, विकास र यसका उपलब्धिहरूको संरक्षणमा कुनै योगदान नभएका र उमेरकै हिसाबले पनि ३० वर्षकै वरिपरि रहेका तोसिमा कार्की र ज्ञानेन्द्र शाहीहरू नेपाली राजनीतिको केन्द्र भागमा आइपुग्दा हाम्रा सुदेश पराजुली, आरती लामा र नरेश शाहीहरूलाई युवा र विद्यार्थीका संगठनहरूमा थुनेर राखेका छौँ । उनीहरूलाई नीति निर्माण तहमा सामेल नगराई बालेन, तोसिमा, ज्ञानेन्द्र र रविसँग कसरी प्रतिष्पर्धा गर्न सकिन्छ ?

जनवादी केन्द्रीयताका नाममा हाम्रो पंक्तिको क्षमतावान् कमरेडहरू तत्तत् स्थानहरूमा खुम्च्याइएको छ । उनीहरूको प्रतिभा र क्षमतालाई समुचित प्रष्फुटन हुनसक्ने संगठनसम्बन्धी नयाँ नीतिको विकास आजको आवश्यकता हो । सही नीतिले पार्टी लोकप्रिय हुन्छ, प्रतिष्पर्धाले लोकप्रिय नेतृत्व जन्माउँछ । यसका लागि हाम्रो विधानमा रहेको बारबन्देज र तगारोलाई हटाउनैपर्छ ।

तसर्थ, सरकारमा जाने र फेरि पनि निरन्तर जान प्रयत्न गरिरहने गोलचक्करबाट कम्युनिष्ट पार्टीलाई मुक्त पार्ने अभियानमा, समाजवाद निर्माण र यसको अनिवार्यताबाट आम जनतालाई आश्वस्त पार्ने काममा एकीकृत समाजवादी लाग्नुपर्छ ।

घुसपैठमुक्त कम्युनिष्ट पार्टी बनाउने संकल्पमा, लोकप्रिय पार्टी र लोकप्रिय नेतृत्व विकसित गर्ने र राष्ट्र, राष्ट्रि«यता र यसको स्वाधिनतालाई अक्षुण राख्ने नीति निर्माणमा, दलाल पुँजीवादका विरुद्ध निर्मम संघर्ष गर्दै स्वाधिन अर्थतन्त्र विकसित गर्नुका साथै राष्ट्रिय पँुजीको विकासका लागि काम गर्दै मुलुकलाई समाजवादतर्फको यात्रामा उत्प्रेरित गर्ने संकल्पमा र निर्मम वर्गसंघर्षको वैचारिक लडाइँमा एकीकृत समाजवादी पार्टीको भूमिका अब्बल हुनु अनिवार्य छ ।

यो पार्टीको काँधमा आइपरेको यो युगिन दायित्व हाम्रा लागि सुअवसर पनि हो । यो दायित्व पूरा गर्ने महान् अभियानमा तपाईँको विद्रोहले निःसन्देह ऐतिहासिक अर्थ राख्छ । त्यसबाहेक यतिखेर हामी गौरव गर्छौँ, तपाईँ हामीसँग हुनुहुन्छ । बाँकी भेटमा ।

हार्दिक अभिवाद !

दामोदर अर्याल,
बर्दिया

प्रतिक्रिया दिनुहोस्