Logo
Logo
समाचार टिप्पणी

एक गोली, दुई सिकार



काठमाडौं । कानमा चिनी हाल्न खप्पिस एमाले अध्यक्ष केपी शर्मा ओली बाँदरे प्रवृत्तिका मान्छे हुन्, जसले न आफ्नो घर बनाउँछ, न त अरूको घर नै बन्न दिन्छन् । यो उनको व्यवहारले पुष्टि गरेको तथ्य हो ।

सुरुदेखि नै यो गठबन्धन भत्काउने षड्यन्त्रमा लागेका उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीको प्रस्ताव राखेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई जिल्लाए । त्यसपछि कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका नेता शेखर कोइरालालाई उचालेर मुख्यमन्त्रीमा माओवादीका उम्मेदवारलाई हराए, कांग्रेसलाई जिताए ।

यी दुवै घटनाले ओली रणनीति स्पष्ट हुन्छ । राजनीतिमा ओली चतुर खेलाडी हुन् । त्यस्तो चतुर खेलाडीलाई पनि धुलो चटाउन सक्ने अर्को महान् खेलाडी प्रचण्ड हुन् । जसले ओलीको समर्थनमा प्रधानमन्त्री बनेपछि ओलीलाई लात हानेर पुरानै गठबन्धनमा फर्किए । अहिले फेरि तिनै प्रचण्डले देउवालाई लात हानेर ओलीतिरै फर्किएका छन् ।

पुरानो गठबन्धनको सहमतिअनुसार प्रचण्ड दुई वर्ष, त्यसपछि माधवकुमार नेपाल एक वर्ष र देउवा दुई वर्ष प्रधानमन्त्री बन्ने सहमति भएको थियो । यही गठबन्धन पाँच वर्षसम्म निरन्तर अगाडि बढ्ने हो भने ओली पाँचै वर्षसम्म सत्ता बाहिर रहनुपर्ने हुन्थ्यो ।

पाँच–पाँच वर्षसम्म सत्ता बाहिर रहन ओलीको मनले मानेन । हरेक भाषणमा उनको छटपटी झल्किन्छ । उनले जसरी भएपनि यो गठबन्धन भत्काएर मध्यावधिमा जाने रणनीति बनाएका छन् । त्यसका लागि उनले कांग्रेस र माओवादीलाई घाँस हालेका थिए ।

माओवादी एक मुठा घाँसको लोभमा फसेको छ । यसले ओलीको जित भएको छ । कांग्रेसका नेता शेखर कोइराला, गगन थापाहरू २०८२ को महाधिवेशन अगाडि नै देउवालाई प्रधानमन्त्री हुन नदिने खेलमा लागेका थिए । त्यसका लागि गठबन्धन भत्काउनुपर्ने हुन्थ्यो । त्यसलाई ओलीले भित्रबाट बल पु¥याए । यो गठबन्धन भत्किँदा सबैभन्दा घाटा कांग्रेसलाई लागेको छ ।

गठबन्धनले निरन्तरता पाए अर्को वर्ष माधवकुमार नेपाल प्रधानमन्त्री हुने थिए । नेपाललाई प्रधानमन्त्रीबाट रोक्न पनि गठबन्धन भत्काउनुपर्ने थियो । देउवा र नेपालले यही गठबन्धनको निरन्तरता चाहिरहेका थिए । तर, ओलीकै चाहना अनुसार गठबन्धन भत्किएको छ ।

ओलीले प्रचण्डको कानमा चिनी हालेपछि प्रचण्ड धरमराउन थालेको हो । ओलीको दाउ कांग्रेस र माओवादीबीच फाटो ल्याउने मात्रै हो, प्रचण्डलाई निरन्तरता दिन होइन भन्ने कुरा प्रचण्डले समयमै बुझेनन् । यसले उनको राजनीतिक भविष्य समाप्त हुने देखिन्छ । ओलीको उद्देश्य एउटा गोलीले दुईवटा सिकार गर्नु थियो– एउटा कांग्रेस, अर्को माओवादी । त्यो पूरा भएको छ ।

राजनीतिमा सहमति र सहकार्य ठूलो कुरा हो । तर, ओली र प्रचण्ड सहमति र सहकार्य जति बेला पनि तोड्न सक्ने प्रवृत्तिका नेता हुन् । यी दुई नेताहरूको विगतको चरित्र र व्यवहारले पुष्टि गरेको कुरा पनि त्यही नै हो । बरु तुलनात्मक रुपमा देउवा विश्वासिला नेता मानिन्छन् ।

आगामी निर्वाचन कांग्रेस एक्लैले लड्ने घोषणा गरेपछि कम्युनिस्टहरू बढी आत्तिए । २०७९ को निर्वाचनमा गठबन्धन दलहरू मिलेको कारण गठबन्धनले बहुमत हासिल गरेको हो ।

त्यतिबेला कांग्रेस, माओवादी, समाजवादी र जनता समाजवादी एमालेविरुद्ध मैदानमा उत्रिएका थिए । जसका कारण २०७४ मा प्रत्यक्षमा ८० सिट जितेको एमाले २०७९ सालमा ४४ सिटमा खुम्चियो । अब पनि एमालेले चेतेन भने सिद्धिने एमाले नै हो । त्यसैले वाम पार्टीहरूबिच सहकार्यको संस्कृति विकास गर्नुपर्छ । त्यसको सुरुवात एमालेबाटै हुनुपर्छ ।

ओलीको उक्साहटमा प्रचण्डले खुट्टा उचाल्नु लोकतन्त्रका लागि घातक हुनेछ । किनभने, ओलीले सत्ता आफ्नो हातमा लिएपछि जे पनि गर्न सक्छन् भन्ने कुरा प्रचण्डले व्यहोरेर पनि चेत खाएको देखिँदैन ।

प्रतिक्रिया दिनुहोस्