Logo
Logo
समाचार टिप्पणी

ओली-माधव पुनर्मिलनको संकेत



नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल दुवैले राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थिति र कम्युनिस्ट पार्टीका चुनौती सामना गर्न एकताको आवश्यकता महसुस गरेका छन् । तरल दुवैले पार्टी एकताको प्रस्ताव भने राख्न सकेका छैनन् ।

‘बबरमहलस्थित बसेरामा बसेका दुई पार्टीका नेताहरूबिच लामो कुराकानी भयो । एमाले अध्यक्ष ओलीसहित, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, एकीकृत समाजवादीका अध्यक्ष नेपालसहित उपाध्यक्ष प्रमेश हमाल, महासचिव घनश्याम भूसाल बस्दा पनि दुई अध्यक्षबाट पार्टी एकता गरौँ भन्ने प्रस्ताव भएन । तर, अन्य नेताहरूले भने यो विषयलाई अघि बढाउन खोजियो’, स्रोतले भन्यो ।

बसेराको बसाईले दुवै नेताहरूबिच विश्वासको वातावरण बनाउने काम भएको विषयमा भने दुवै पक्षका नेताहरू सहमत भएका छन् । यसले अन्ततः दुई पार्टीको एकता प्रक्रिया अघि बढ्ने निश्चित छ ।

भेटमा दुवै नेताले आगत–विगतको समीक्षा गरेका थिए । दुवै नेताहरूको सम्बन्ध करिब ४९ वर्ष पुरानो हो । तर, दुई वर्षअघि एकले अर्कालाई गाली गरेर नथाक्ने चरणमा पुगेपछि अहिले आवश्यकताको महसुस गरेका छन् ।

एमाले र एकीकृत समाजवादी एकीकरण भए संसदमा एमाले ठूलो पार्टी बन्नेछ । अहिले प्रतिनिधिसभामा एमाले ७८ र एकीकृत समाजवादीका १० सांसद छन् । यतिबेला दुवै नेताहरूमा अविश्वास कायमै छ ।

२०७४ को निर्वाचनमा एमाले अध्यक्ष रहेका ओलीले वरिष्ठ नेता रहेका नेपाललाई थाहै नदिई प्रचण्डसँग चुनावी गठबन्धन गरिदिए । चुनावी गठबन्धनपछि नेपालनिकट रहेका नेताहरूलाई पाखा लगाउन प्रचण्डको साहरा लिएपछि चुनावमा माधव नेपाल पक्षीय नेताहरू ‘जिउँदा सहिद’ बनाइयो ।

त्यतिमात्र होइन २०७५ जेठ ३ गते पार्टी एकता भयो । पार्टी एकतापछिका केही दिनमा उनीहरू बीचमा सम्बन्ध सुमधुर बनाउने प्रयास पनि नेताहरूले गरेका थिए । उनीहरूको त्यो प्रयास सफल भएन । सफल नहुनुमा नेपाल समूहमा रहेका जिल्ला अध्यक्षलाई जिम्मेवारी नदिने बरु माओवादीलाई जिम्मेवारी दिन थालेपछि ओली र नेपालका बीचमा तिक्तता झाँगिँदै गयो । यसले गर्दा सधैँ अविश्वास सिर्जना हुन थाल्यो ।

२०७७ पुस ५ गते तत्कालीन प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि नेपाल त्यस कदमलाई प्रतिगमनको संज्ञा दिँदै सडकमा पुगे । अदालतले पनि ओलीको कदमलाई असंवैधानिक भनिदियो ।

संसद् विघटनपछि र २०७७ फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई अलग–अलग अस्तित्वमा फर्काइदिएपछि पनि अध्यक्ष ओली र नेपालबिच संवादका शृङ्खला नचलेका होइनन् । तिनले सार्थकता पाउन नसकेपछि २०७८ भदौ ९ गते एमाले विभाजन भयो । नेपालसहितका नेताले एकीकृत समाजवादी गठन गरे ।

निर्वाचनमा एमाले एक्लै दौडियो, माधव नेपालको पार्टीले माओवादी–कांग्रेससँगको सहकार्यमा निर्वाचन जितेर आयो । एमालेले एकीकृत समाजवादीका कारण करिब ३० स्थानमा हार्नुपरेको निष्कर्ष निकाल्यो । यसपछिका दिन एमालेका लागि त्यति सुखद भएनन् ।

ओली र नेपालबिच करिब अढाई वर्षपछि शनिवार साँझ ‘सम्बन्ध सुधार’का लागि ‘वान टु वान’ वार्ता भएको छ । तत्कालीन नेकपा विभाजन नहुँदै ओलीविरुद्ध दाहाल र नेपाल उत्रिएपछि सम्बन्धमा दरार उत्पन्न भएको थियो । २०७८ भदौमा पार्टी विभाजन भएपछि दुई नेताबिच बोलचाल बन्द थियो ।

पार्टी विभाजनकै कारण गत निर्वाचनमा ठूलो क्षति भएको निष्कर्ष एमालेले निकालेपछि दुई पार्टी र नेताबिच सम्बन्ध झनै चिसियो । यही फागुन २१ मा बनेको एमाले र माओवादीसहितको नयाँ समीकरणमा नेकपा एकीकृत समाजवादी पनि मिसिएको छ ।

गठबन्धनमा सहभागी हुन ओली र प्रधानमन्त्री प्रचण्डले आग्रह गरेपछि एकीकृत समाजवादीका अध्यक्ष नेपालले सरकारमा सहभागी हुने निर्णय पार्टीबाट गराएपछि ओली पनि सकारात्मक बने ।

१५ वर्ष एमालेको महासचिव र पछिल्लो कालखण्डमा वरिष्ठ नेता रहेका नेपालले ओलीसँग मतभेद भएकै कारणले पार्टी विभाजन गरेका थिए । झन्डै पाँच दशक माले हुँदै एमालेमा जीवन बिताएका नेपाल अहिले ७१ वर्षको उमेरमा हिँड्दै छन् । एमाले बनाउन विगतमा उनलाई साथ दिने झलनाथ खनाल, मुकुन्द न्यौपाने, प्रदीप नेपालले पार्टी विभाजनमा हस्ताक्षर गरेका थिए ।

अहिले उनीहरूबिच सजिलै सम्बन्ध बन्ला वा पार्टी एकता होला त भन्ने प्रश्न उठेको छ । नेपालले नयाँ पार्टी बनाएपछि करिब २५ हजार कार्यकर्ता संगठित भएका छन् । कतिपय नेताहरू अझै पनि जुझारु रहेका छन् । उनीहरू सबैको व्यवस्थापन गर्ने जिम्मेवारी उनै नेपालको हुनेछ ।

कुनै एक समय २०७७ साल कात्तिकमा नेपाललाई ओलीले तपाईँ नै पार्टी अध्यक्ष बन्नुस् भनेर भनेका थिए । त्यतिबेला माओवादी पनि एमालेकै साथमा रहेको नेकपा रुपमा थियो ।
‘एकताको महाधिवेशनपछि तपाईँ नै अध्यक्ष हुनुहोस्, मेरो साथ रहन्छ । तपाईँका मान्छेहरूको नाम दिनुहोस्, कसलाई कहाँ राख्नुपर्ने हो, सहकार्य गरौँ ।

तत्कालीन प्रधानमन्त्री एवं नेकपा अध्यक्षसमेत रहेका ओलीले वरिष्ठ नेता नेपालसँग यस्तो प्रस्ताव गरेका थिए । पार्टी विवाद उत्कर्षमा रहेका बेला तपाईँ प्रधानमन्त्री बन्नुस् पनि भनेका थिए । तर, नेपालले अध्यक्ष र प्रधानमन्त्री दुवै अस्वीकार गरेर पार्टीको विधि र विधानलाई महत्त्व दिए ।

त्यसको केही समयपछि अर्थात् पुस ५ मा ओलीले संसद् विगठन गरिदिएर सबैलाई सडकमा लगिदिए । नेपालको अहिलेको चिन्ता पनि ओलीमा रहेको पुरानो प्रवृत्ति दोहोरिएला कि भन्ने हो । ओली–नेपाल बीचको सहकार्य र संघर्ष भने २०५४ बाट देखिने गरी थालनी भएको थियो ।

एमालेको छैठौं महाधिवेशनमा कार्यनीतिक दस्ताबेज पेस गर्ने गरी ओलीलाई नेपालले पार्टीमा तेस्रो वरीयता दिलाए । ओलीलाई आफूभन्दा माथि राखेपछि रिसाएका वामदेव गौतमले महाधिवेशनमा फरक दस्ताबेज नै पेस गरेर पार्टीलाई क्षति पु¥याए । त्यसयता भएको सम्बन्धलाई दुवै नेताहरूले आपसमा विश्वासको वातावरण तयार नगर्दा अहिले दुई खोलाको किनारजस्तो देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्