Logo
Logo

सामिप्य पृथ्बी/प्रकृतिसँग


- दृष्टि न्युज/संवाददाता


.बिन्दिया प्रधान

सानोभन्दा धेरै सानो आँखाले नदेखिने भाइरस कोरोनाको आतंकमा आज संसारै ग्रसित छ । यता देशभरि लकडाउन थपिदै गएको छ । देश लकडाउनको यो क्षणमा म भने एक प्रकारको आनन्दमा छु । सबेरैे बिहानीमा पृथ्बी र प्रकृतिसँग मेरो संबाद हुन थालेको छ । पृथ्बी र प्रकृतिसँग नजिक हुने मेरो रहर खुम्चिएर कैद बसेको थियो । अहिले हुदैछ । यस्तो सामिप्य कहिल्यै भएको थिएन ।

बिन्दिया प्रधान

आज नजिकबाटै नियाँले मैले पृथ्बी आकाश र प्रकृतिलाई । पृथ्बीको अनुहार यति आनन्दमयी र शान्त देखे मैले । पूर्ण थकाई मारेपछिको अवस्था जस्तो । कहिलेकाहीँ मुस्किलैले मेरो आफ्नै अनुहार यस्तै देखिने गर्छ । शान्त । रातभरि मस्त निदाएर एकैचोटी बिहानमात्र ब्यूँझिएजस्तो । कुनै मानसिक तनावबिना तथा बढता शारीरिक परिश्रम गर्नु नपरेको दिनमा यो अवसर मलाई जुट्छ । भोलिपल्ट बिहान ऐनामा आफ्नै अनुहार स्वच्छ, शान्त, सफा र अति आनन्दको सुकुमार देखिन्छ । लोभलाग्दो । धेरै बर्ष अगाडिको जस्तै । नत्र सधैँ आँखा तलको डिल अनि गालाभरि कालो निलो । निलो आकाशमा कालो बादलका धर्साहरुजस्ता ।

स्वच्छ निलो आकाश, पूर्णकदको गोलाकार शीतल चन्द्रमा । अनि पृथ्वीलाई बिल्कुलै मैले शान्त, सकुमार, आनन्दको, पुलकित देखे । जो मुस्किलैले देखिन्थ्यो । नत्रभने सधैँ थाकेकी ध्वाँसे खैरी मैली, तुवाँलोले ढाकिएकी र थाकेकी पृथ्बी । कैयन ममतामयी हजुरआमा र आमाहरुझैं । अधिक परिश्रम, थोरै खाना, कुटाई पिटाई अनि चरम शोषणले जर्जर भएकी अधिकांश मैली झुत्री गृहिणी, पिल्सिएका नोकर्नी चाकर्नीहरुझैँ । त्यसैले त भन्ने गरिन्छ महिलाहरु धरतीमाता जस्तै हुन्छन् । सहनशील । तर आज मैले पृथ्बीको अनुहार सुकुमारी, पुल्पुलिएकी चञ्चले चुलबुले छोरीको जस्तो देखे । कलकल बहिरहने सुन्दर शान्त झरना जस्तो । पृथ्बी तिमी सधैँ यस्तै रहनु !!

प्रकृतिको त झन छटानै अर्कै । उज्याली, फुर्किएकी सानी बालिकाको पट्टर पट्टर चिरबिर जस्तो । धेरै समयपछि चराहरुको चिरबिर र कुहु कुहू स्पष्ट कानमा ठोकिएको थियो । बिहान सबेरै देखि गडडडड, कानै पट्ट फुटाउला जस्तो अनि आँधि तुफान आएजस्तो गरी गुड्ने मोटर गाडीहरु र यमानका जेट प्लेनहरुको कर्कस आवाजले बिचरा चराहरुको मसिना चीरबीर चीरबीर दबिएर कतै लोपनै हुन्थ्यो । अर्को फेरि, पीच गर्नका लागि छुट्ट्याइएको बजेट पनि समयमै उपयोग हुन नसकेका कच्ची सडकका खाल्डा खुल्डीहरुमा दिनैभरीजस्तो गाडीहरु गुडिरहदा धुलाम्य वातावरणमा बिचरा प्रकृतिको स्वच्छता कहा भेटिनु । बगैचामा फूलेका थरिथरिका रंगीबिरंगी फूलहरु धुलाम्मे हुन्थे सधैभरि । अस्ति एकचोटी पानी बर्षियो आकाशबाट । त्यसपछि लकडाउन । बजार बन्द छन् । धेरै कुराालाई असर परेको छ । ठूला र बलिया अर्थतन्त्रहरु डग्मगाएका छन् । हाम्रो लेपालको त कुरै भएन । सानो झट्काले पनि हल्लिरहने अर्थतन्त्र । झन अहिले त लुग्लुग्नै कांप्दै छ । यसको बारेमा छुट्टै चर्चा गर्नु पर्नेनै छ । तर अहिलेको प्रसंग प्रकृतिसंग सामिप्यको हो । धैरैबर्ष पछि म यसलाई सम्झनामा कैद गर्दैछु । किनभने बगैचामा पहिलोपटक रुख बिरुवा र फूलहरु आफ्ना मौलिक रंगमै हाँसिरहेका छन् ।

मेरो जस्तै एकदमै आनन्ददायी र आरामको अनुभव पृथ्बीले पनि पक्कै पहिलोपटक अनुभव गर्दै होली । र म जस्तै पक्कै डराइरहेकी पनि होलीकि केहि समय पछि फेरि उहि चर्को ध्वनी प्रदूषणको कोलाहल, उहि तछाडमछाडको प्रतिस्पर्धि भीड, मानबीय कलंकका रुपमा प्रदर्शित नैतिक पतनका खेलहरु । होटेल क्लबहरुमा रात्री जीवनका नैतिक प्रदुषण अनि शोषण र हिंसा उस्तैगरी बढ्नेनै छन । एकातिर घर घरमा चीर प्रतिक्षामा बहिरहने अबिरल मूल्यबिहिन आँशुहरु र अर्कोतिर रात्री जीवनका बारहरुमा बहिरहने अधोगतिका आयातित मूल्यवान मदिराहरु । यो अधोगतिको भेलबाढीले हाम्रा युवा पिढी र कलिला बाल मस्तिष्कहरुलाई समेत नराम्ररी प्रभावमा पार्दै बिस्तारै बिस्तारै बहाउदै लगिरहेकोछ । र हामी चूपचाप निरीह यो डरलाग्दो असररुपी सरुवा रोगको प्रकोपलाई टुलुटुलु हेरिरहन बाध्य छौ ।

त्यतिमात्र कहाँ हो र ? क्षेप्यास्त्र, बम गोलाहरुको प्रतिस्पर्धात्मक निर्माण र परीक्षण । महाशक्तिहरुको भौतिक, वाक र व्यापाररुपी भीषण युद्धहरु । निरन्तर शक्ति प्रदर्शन । कसले कसलाई बढीभन्दा बढी घाटामा पार्न सक्ने । अझ कसले कसलाई सिध्याएर त्याँहाको अमूल्य स्रोतहरुमाथि कब्जा जमाउने र संसारलाई थर्काएरै सबैभन्दा एक नम्बरको महाशक्ति बनिरहने । एकातिर बम गोला बारुद अनि अर्कोतिर सहयोग राहतका नाटकमा छोपिएका जघण्य अपराध र संहारहरु ।

त्यसैले यी खपिनसक्नु यस्ता कुकृत्यहरुको अन्त्य हुनुनै थियो । यस्ता प्रदूषित सरुवा रोगहरुलाई निष्तेज पार्न अर्को शक्तिसाली सरुवा रोग आउनुनै थियो । यो अतिबादको पराकाष्ठाको अन्त्य हुनुनै थियो । अन्त्य त के होला तर अलिकति करेक्सन अर्थात सच्याउनु पर्ने आवश्यक्ता पक्कै थियो । त्यहि भएको हो । त्यसैले त क्षणिक रुपमै सही पृथ्बी र प्रकृति दुबै उज्यालो मुहार सहित हाँसिरहेकी देखेर यता म आश्चर्यमा छु । मनभरी प्रश्न उठेका छन कि यो महामारी रुपी भाइरस आतंकपछि मान्छेहरु के अलिकति चेत्लान ? अथवा के फेरि पृथ्बी उस्तै कुकर्महरुले प्रदूषित भएरै तुँवालोले ढाकिइनै रहनु पर्ने हो ?

यो कोभिड १९ को बिनासकारी भयाबहले मान्छेहरुलाई गतिलो सन्देश भने दिएको छ । बिकास बिनास र फेरि बिनासको चक्र हो यो । त्यसैले सकेसम्म हामीले हाम्रो जीवनको, रहनसहनको, नैतिक मूल्यहरुको,उपभोगको आफ्नो प्राकृतिक स्वरुपलाईनै सम्हालेर राखौं । प्रकृतिको चरम दोहन नगरौ । पृथ्बी र प्रकृति दुबैलाई जोगाऔँ । जुनसुैकै चीजको एउटा सीमा हुन्छ र त्यो सीमा भित्रै बसौं । भूकम्पको भयाबहलाई छिट्टै बिर्सेको हुनाले त्यो भन्दा पनि ठूलो भयाबह स्थिति आएको छ । अबको यो अतिबादको पराकाष्ठा नाँध्दै गएको बिश्वलाई बेलामै सचेत गराउन ‘यो’ अथबा ‘त्यो’ नाममा आइरहने यस्ता महामारी वा बिनासका शृङ्खलाले हामीलाई छाड्नेछैन । यो बेलाबेलामा आइरहन्छनै । त्यतिबेलासम्म जब हामी पूर्णरुपले सच्चिदैनाँै ।

त्यसैले उल्टो कदम चाल्न पनि अभ्यस्त बन्दै जाऔ ‘ब्याक टु नेचर’ अर्थात् फर्क पृथ्वी र प्रकृतिको सामिप्यमा । हालको लकडाउमा फसेको नेपालको यो नयाँ वर्ष २०७७ को अवसरमा संसारलाई नै पृथ्वीको एउटा महत्वपूर्ण सन्देश पनि हो । आशा गरौँ हाम्रो यो नयाँ वर्ष अपेक्षितरूपले समृद्ध हुन नसके पनि कमसेकम रोग, भोक र शोकबिना बिताउन सकौँ । शुभकामना सम्पूर्ण आकाशको ।

प्रतिक्रिया दिनुहोस्