- सागर पाण्डेय
भित्तामा अधुरो स्व. महाकवि देवकोटाको चित्र झुण्डिएको छ, त्यसमा रंग भर्न बाँकी छ । कतै फ्रेम हाल्न बाँकी चित्रले सोध्दैछन् कहिले आउँछ हाम्रो ब्यवस्थापनको पालो ? यत्तिकै छाडिने त होइन ? झ्यालमा राखिएका ‘एक घर एक किताब’ शिर्षकमा लेख्न थालिएका पान्डुलिपिले गिज्याउँदै भन्छन्, अरुले उचालेको बाघले सिकार गर्दैन बरु त्यसको साटो खुरुक्क अर्को काम समातेको भए हुन्थ्यो या लाग्ने नै हो भने तुरुन्तै लाग ।
दुई वटा अफिस घर, समाजको कार्यालय राजनीतिक थलो, जहाँ पुगिन्छ उहीका समस्याले मोबाइलमा नेट्वर्कको टावरले समाते जस्तै समात्न आइपुग्छन्, जहाँ पुगिन्छ त्यही विधाका मान्छे भेटिनु पनि स्वाभाविक हो । त्यसैको सेरोफेरोमा कुराकानी हुन्छन् ।
‘एक घर एक किताब’ कहिले सकिन्छ थाहा छैन, तर सकिएको भए समाजको लागि मेरो तर्फबाट एउटा उपहार बन्न सक्थियो, राजनीतिलाई फोहोरी बनाइएको हो या यस्को चरीत्र यस्तै हुन्छ ? सामाजिक कामबाट छलाङ मारेर राजनीतिको केन्द्रमा पुगेर अझै राम्रा काम गरेर जनताको नजरमा बस्न सके कुरो बेग्लै हुन्थ्यो तर यहाँ नदी धमिल्याएर माछा मार्ने काम हुन्छ भन्छन् तर त्यो नदिलाई सुदृढीकरण गर्न भने कमैले प्रयत्न गर्ने जोखिम मोल्छन् । राजनीतिकै रसका कारण भनौँ पार्टीको बार्षिकोत्सवको तयारीले मलाई ठ्याक्कै १२ दिन पछाडि धकेलिदियो ।
गौतमजीको किताब प्रकाशनकै अफिस पुगेर १० दिन बस्दा पनि पूरा हुन सकेन । साहसी मित्र लोकबहादुर टण्डनले ग्रिन सिटी अस्पतालमा बिरामी भेट्न् जाँदा सोध्नुभो, पाण्डेजी किताब तयार भो ? म अचम्म मानेर आफैँलाइ सोधेँ ? कुन किताबको कुरा गरेका होलान् ? मैले भेउ नपाएपनि शुष्म स्वरमा अँ अँ गरेर फरक प्रसंग घुसाए ।
राष्ट्रियताको भूत पनि कम चढ्दैन बेला बखत, नाट्य क्षेत्रमा क्रियाशिल मित्र किशोर अनुरागसँग सबै नेपालीलाई एकसुत्रमा बाँध्ने नेपाली चलचित्र बनाम् भने उहाँले एउटा उद्योग दर्ता गरौँ भन्नु भो, मैले रुग्ण उद्योगवाला सँग मिलेर काम गरे खर्च पनि कम हुने उपाय देखाए । तर, उता एउटा मित्र रिमेश अधिकारीले झ्याप्पै ‘नालापानी’ शिर्षकमा फिल्म बनाउनुभो, ठिकै लाग्यो । कमसेकम अर्कोले त प्रयत्न गरे ।
काठमाडौंको लागि केही नयाँ काम गरौँ भनेर उद्देश्य नक्सा बनाइ तत्कालीन कार्यकारी प्रमुख दिनेशकुमार थपलियासँग पुगियो र उहाँको सकारात्मक कुराले प्रभाव पारेपनि मेरो आर्थिक कमजोरीले मोबाइल शौचालयले गति पाउन सकेन । तर, पछि महानगरले ती काम दुई बर्षपछि गर्यो, लाग्यो कमसेकम ढिलो भएपनि सुरुवात त भयो ।
काठमाडौं छिर्दा एउटा सामाजिक संस्थाको महासचिव भएपनि मेरो क्रिशिलता देखेर ठमेलमा पनि संस्था खोल्न र त्यसमा पनि मलाई महासचिव दिने भए, त्यस्ताका नै प्रसिद्ध उद्यमी वसन्त चौधरीसँग चिनजान र उहाँकै घरमा चियापान हुन पायो ।
उहाँका सकारात्मक सोचको कदर गर्छु । आफूमात्रै धनी भएर हुँदैन, पुरै समाज र देश समृद्ध भए विश्वमै नेपालीलाइ हेर्ने दृष्टि बदलिन्छ भन्नु हुन्थियो । उहाँसँग पनि दोस्ती लामो गएन, कारण संस्थामा फुट आयो । तत्कालीन पर्यटन सचिव लीलामणि पौडेलको उद्घाटनमा पर्यटन र दिगो बिकासमा हाम्रो संस्कार र संस्कृति शिर्षकमा श्रीमद्भागवत आयोजना गर्यौ । तर, काठमाडौंमा बाहिरबाट आएर कोठा डेरा लिएर बसेकाहरुको ठाउँमा उत्साहजनक हुन सकेन तर एउटा पवित्र अनुभव संग्रह भने भयो । त्रिभुवन अन्तर्राष्ट्रिय हवाई अड्डामा तत्कालीन जिएम मोहन अधिकारीलाई भारतीय जहाजलाई हाईज्याक गरि अफगानिस्तान पुर्याएपछिको बन्द प्याराबिट खोल्न ज्ञापनपत्र दिइयो । तर, त्यो काममा धेरै कार्यकारी आएपनि अधावधि खोल्ने कार्य भएको छैन ।
ठमेल पर्यटन परिषदमा नाम्ग्याल लामा हुँदा भएका क्रियाकलाप पनि महत्वपूर्ण छन् । तर, भने जस्तो काम अझै हुन सकेका छैनन् । लीलामणि पौडेलज्यु घरेलुको महानिर्देशक हुँदादेखि मेरो सम्बन्ध प्रमुख सचिव हुँदासम्म रह्यो तर चीनको राजदूत भएपछि भने हुन सकेको छैन । बागमती अभियानको नेतृत्व सबैको लागि उदाहरणीय कार्य हो । उहाँका कामको तारिफ धेरै नेपालीको मुखमा झुण्डिएको छ । देशले बिषयविज्ञ खोज्नुपर्छ तर त्यस्ता पढेलेखेका बेरोजगार देशमा कामकै खोजिमा छन् । तर असल नीति निर्माण र कार्यान्वयनको अभावमा ती योजनामै थन्किएका छन् ।
लाग्छ, जानेको शिप र क्षमता लिएर सुदुरपश्चिम जाउँ र त्यताकालाई केही प्रशिक्षण दिउँ । तर, त्यसमा उपयुक्तदाता नपाइएकोले ती पनि सपनामै सिमित हुन पुगे । जिवनपयोगी शिप तालिम र उद्यमशिलता तालिम दिएर निम्न आय भएकालाई उठाउन सके आधारभूत आवश्यकताको जोहो गर्न सक्थेँ कि भन्ने हो । दिन, घण्टा हुँदै लम्किरहेको छ । महिना बित्यो, बर्ष बित्यो तर ती काम अधुरै छन् । देशमा पञ्चायती अवस्थाबाट लोकतान्त्रिक हुँदै गणतन्त्रमा आइपुगियो तर संस्कार उहीँ छ, परम्परा उहीँ छ । तर, शासक भने परिवर्तन भएकै छन् ।
सागर पाण्डेय, काठमाडौ, २२ जेठ २०७७