बर्मन बुढाको सम्झना : ‘त्यसपछि कम्युनिष्ट भए’


Published On : 28 July, 2020

  • दुर्गालाल केसी/दाङ

रोल्पाको थबाङ सँधै एकजुट र विद्रोही रह्यो । देशमा फरक पहिचान दिने यही थबाङी एकताका एकजना अगुवा बर्मन बुढाको बुधबार ९० बर्षको उमेरमा निधन भएको छ । थबाङको जुर्बाङ गाउँमा जन्मे, हुर्केका बुढा नै थबाङका राजनीतिक अगुवा थिए ।

थबाङको एकता र इतिहाससँग उनको नाम जोडिएको छ । उनले थबाङ मात्रै होइन आफूलाई पनि सँधै फरक पहिचान दिए । आफ्नो पद, प्रतिष्ठा र उचाईलाई उनले कहिलै नापेनन् । उनले जहिले पनि आफूलाई भेडी गोठालोका रुपमा उभ्याए, सर्वसाधारण नै ठाने । जनताको सहज पहुँचबाट कहिलै टाढा रहेनन् ।

उनले आफ्नो भेषभुषा र रहनसहन कहिल्यै भुलेनन् । कछाड उनको परिचय बन्यो । बर्मन भनेपछि कछाड जोडिएर आउँछ । उनले कछाड थबाङमा मात्रै लगाएनन्, सिंहदरवारमा पनि पु¥याए । २०४८ सालको संसदीय चुनावमा रोल्पा क्षेत्र नं. १ बाट सांसद जितेका बुढा घरमै लगाइरहेको कछाडसहित नै संसद् भवन छिरेका थिए । शुरु शुरुमा धेरैले उनलाई ‘पागल’ भने । त्यतिबेला जातिय पहिचानको कुरा त्यती साह्रो उठेको पनि थिएन तर, उनलाई लाग्यो सांसद् हुनेबित्तिकै आफ्नो पहिचान र संस्कार किन छाड्नु ? त्यसैले उनले काठमाडौ बसिरहदा पनि गाउँकै पोशाक छोडेनन् ।

‘म सँधै यस्तै कछाड र चप्पलसहित संसद्मा गएँ,’ उस्तै पोशाकमा २०७१ मा जुर्बाङस्थित घरमा लामै समय गफिएर बुढाले भनेका थिए,‘मेरो पोशाक नै यही हो त किन अरु खोजुँ ?’ बुढाको जोश जाँगर र राजनीतिक उत्साह अन्तिम समयसम्म पनि उस्तै थियो । अनि उस्तै थियो मिठो मुस्कान र राजनीतिक हाउभाउ पनि । कोठामा बिभिन्न कार्यक्रममा प्रमुख अतिथि भएर सहभागी हुँदाका व्याचहरु लहरै झुण्ड्याएका थिए । घरीघरी त्यतैतिर मुन्टो बटारेर विगत सम्झन्थे ।

२०४८ सालमा सरकारको नीति तथा कार्यक्रम सम्बोधन गर्न संसद्मा राजा वीरेन्द्र आउँदै रहेछन् । संसद् सचिवालयका सचिवले छुट्टै लिएर बुढालाई भनेछन्– ‘माननीयज्यू, आज त राजा आइबक्सने कार्यक्रम छ । जसरी पनि राष्ट्रिय पोशाक लगाइदिनुप¥यो ।’ यति सुनेपछि बुढा जंगिएछन्– ‘के यो अर्राष्ट्रिय पोशाक हो ?’ त्यसपछि संसद्का सचिव पनि केही बोल्न सकेनछन् । त्यसेला राजा आउनुभन्दा अघि नै बुढा संसद्भित्र छिरेछन् । कछाड र चप्पल लगाएको मान्छे संसद् भवनमा छिरेपछि सबैले उनलाई नै हेरेछन् । ‘को ‘बहुला’ आयो भन्ने ठानेछन् । राजालाई भन्दा पनि मलाई नै हेरिरहे,’ उनले भेटमा भनेका थिए, ‘तैपनि मैले केही अप्ठेरो महशुस गरेन ।’

उनलाई सबैभन्दा बढी सम्झना आउने र बिर्सन नसक्ने घटनाहरु कछाडकै थिए । उनलाई कछाड सामान्य लाग्थ्यो । तर अरुका लागि यो अचम्मको बिषय बन्थ्यो । उनलाई सांसद् चलिरहँदा सबैले कछाडवाला नै भनेर चिने । २०४८ सालमा सरकारको नीति तथा कार्यक्रम सम्बोधन गर्न संसद्मा राजा वीरेन्द्र आउँदै रहेछन् । संसद् सचिवालयका सचिवले छुट्टै लिएर बुढालाई भनेछन्– ‘माननीयज्यू, आज त राजा आइबक्सने कार्यक्रम छ । जसरी पनि राष्ट्रिय पोशाक लगाइदिनुप¥यो ।’ यति सुनेपछि बुढा जंगिएछन्– ‘के यो अर्राष्ट्रिय पोशाक हो ?’ त्यसपछि संसद्का सचिव पनि केही बोल्न सकेनछन् ।

त्यसेला राजा आउनुभन्दा अघि नै बुढा संसद्भित्र छिरेछन् । कछाड र चप्पल लगाएको मान्छे संसद् भवनमा छिरेपछि सबैले उनलाई नै हेरेछन् । ‘को ‘बहुला’ आयो भन्ने ठानेछन् । राजालाई भन्दा पनि मलाई नै हेरिरहे,’ उनले भेटमा भनेका थिए, ‘तैपनि मैले केही अप्ठेरो महशुस गरेन ।’ जातिय पहिचानका कुरा उठेर अहिले केही सभासद्हरुले जातिय पोशाक र जातिय भाषा बोलेको देखिन्छ । बुढा भने यसलाई देखावटी कुरा मात्र ठान्थे । ‘उतिबेला मैले कुनै जातिय नारा उठाउन होइन । थबाङ जस्ता रोल्पाका विकट मानिसले लगाउने कपडाको बारेमा सबैलाई जानकारी होस् भनेर जे छ त्यही लगाएको हुँ,’ बुढाले भनेका थिए,‘मैले कतै खोजेर लगाएको पनि होइन । मैले घरमा जे लगाइरहेको थिएँ त्यही कपडा लगाएर गएँ । अहिले खोजी खोजी, मागी मागी जातिय पोशाक लगाउने चलन आयो । यस्तो देखावटी कुराको कुनै अर्थ छैन ।’

उनले गाउँदेखि शहर पस्दासम्म कहिलै पनि आफूलाई फरक देखाएनन् । एकपटक राजाको सवारीमा सुर्खेत जानुपर्ने भयो । थबाङबाट तीन जना छानिएका थिए । अरु सबैले दौरा सुरुवाल खोजी खोजी मागेर भएपनि लगाए तर बुढा कछाडमै गए । २०१३ सालमा थबाङमा कम्युनिष्ट पार्टीको स्थापना गरेका बुढा जीवनभर कम्युनिष्ट नै भएर लडिरहे ।

जिजु बाजेदेखि चली आएको भेडी गोठाला जाने चलन । बुढा पनि भेडी गोठतिर जान्थे । त्यतिबेला गाउँमा ठूला ठालुहरुले गरिवहरुलाई निकै हप्कीदप्की गर्थे । तत्कालिन मुखिया तथा काँग्रेस नेता कृष्ण झाँक्रीको दादागिरी थियो गाउँमा । ‘गाउँमा दमन हुने भएपछि लामो समय हामी युवाहरु गोठमै बस्थ्यौं, गाउँ आउन सक्दैनथ्यौं,’ उनले विगतको क्षण सम्झिए,‘भेडी गोठमा युवाहरुबीच गाउँका ठूला ठालुलाई कुट्ने सल्लाह भयो । कुटेपछि २०१२ सालमा कम्युनिष्ट भनेर एक महिना जेल हाल्यो । त्यसपछि कम्युनिष्ट भनेको के रहेछ भनेर जान्न मन लाग्यो र कम्युनिष्ट भइयो ।’

जेलमा कम्युनिष्ट नेताहरु मोहनबिक्रम सिंह र खगुलाल गुरुङसँग भेट भयो । झगडिया भएका कारण झाँक्री पनि जेलमै थिए । सिंह र गुरुङले बुढा र झाँक्रीलाई कम्युनिष्ट बनाएर थबाङलाई कम्युनिष्ट गाउँ बनाउने योजना बनाए । त्यसपछि २०१३ सालमा जेलबाट छुटेपछि सिंह र गुरुङले बुढा र झाँक्री पक्षका तीन÷तीन जना प्रतिनिधि राखेर थबाङमा पहिलोपटक कम्युनिष्ट संगठन बनाए । त्यसपछि बुढा नै नेतृत्वमा रहे, झाँक्री ओझेल पर्दै गए ।

बुढाले थबाङलाई एकजुट बनाउन निकै भूमिका खेले । थबाङ एकजुट हुनुका पछाडि उनकै महत्वपूर्ण भूमिका देखिन्छ । २०१५ सालमा गाउँलेले उनलाई मुखिया चुने । २०१५ सालको आम चुनावमा थबाङको सबै भोट कम्युनिष्टलाई गयो । यसको अगुवाइ पनि बुढाले नै गरे ।

पञ्चायतकालमा उनी थबाङका प्रधानपञ्च भए । २०३७ सालमा जनमत संग्रह हुन थालेपछि सरकारका प्रतिनिधिले जिल्लाका सबै प्रधानपञ्चहरुलाई लिबाङमा बोलाए । सबै पञ्चहरुलाई निर्दलमा भोट हाल्न भनियो । ‘सबैले हात उठाएर हुन्छ भने । तर, मैले म त जिम्मेवार छैन है । जनताले जे पनि गर्न सक्छन् भनें,’ बुढाले त्यतीबेला जिल्लामा एक्लै राज्यबिरुद्ध उभिदाको क्षण सम्झिए‘चुनावमा थबाङबाट एकमुष्ट बहुदलको पक्षमा भोट गयो । त्यसपछि सरकारले मलाई निशाना बनायो ।’

यही कारण बुढालाई २०३७ मंसिरमा शान्ति सुरक्षा मुद्धा लगाएर जेल हालियो । ‘२७ महिना जेल हाल्यो । प्रधानपञ्चको अवधि नै जेलमा बित्यो,’ उनले भनेका थिए,‘त्यतिबेला पञ्चायतबिरोधी देखिएपछि शान्ति सुरक्षा लगाएर जेल हालिन्थ्यो । म एक्लै मात्र पञ्चायतबिरुद्ध उभिएन, सिंगो थबाङलाई नै तयार पारें ।’ सुधारिएको पञ्चायतले २०३८ सालमा आम निर्वाचन गरायो । त्यसलाई पनि थबाङले पूर्ण बहिस्कार गरी शुन्य मतदान गरिदियो ।

२०४८ सालको संसदीय निर्वाचनमा संयुक्त जनमोर्चा चुनाव लड्न थाल्यो । बुढाको निर्वाचन क्षेत्र २ नं. अर्थात थबाङ भए पनि जित्न सजिलो भएकाले कृष्णबहादुर महरा त्यहाँबाट उठे भने बुढालाई क्षेत्र नं. १ बाट टिकट दिइयो । ‘हारे पनि बुढाले हार्छ भनेर मलाई आफ्नो क्षेत्रमा नउठाएर १ नं.मा पठाए तैपनि मैले जितें,’ उनले चुनावको समय सम्झँदै भनेका थिए,‘जनताको पक्षमा काम गरे जहाँ पनि जित्न सकिने रहेछ ।’

गाउँमै राजनीति गरिरहेका बुढा सांसद भएपछि राजधानी काठमाडौ छिर्नुपर्ने भयो तैपनि उनको जीवनस्तरमा कुनै फरक भएन । सांसद् भएर उनले एक पैंसा कमाउन पनि सकेनन् । ‘मासिक ४ हजार तलव थियो । २ हजार पार्टीले लगिहाल्थ्यो, बाँकी २ हजार गाउँका मानिसहरुलाई काठमाडौ आउँदाजाँदा खाने खर्च, भाडा दिदैमा सकियो,’उनले भनेका थिए,‘तलवले मुस्किलले खान पुग्थ्यो । कमाउने कुरा त कहिलै सोचिएन ।’

सांसद् सकिएपछि उनी कछाडसहित सिधै थबाङ फर्किए । गाउँमै पुरानै अबस्थामा राजनीति गर्न थाले । गाउँको अगुवाइ गर्दै उनले त्यसपछिका निर्वाचनहरुमा पनि गाउँलाई एकजुट देखाए । तत्काकलिन नेकपा माओवादीले २०५१ सालको मध्यावती निर्वाचन बहिस्कार गर्ने नीति लिएका कारण सिंगो थबाङले बहिस्कार गरिदियो । त्यतीबेला चार मत मात्र खसेको थियो ।

२०५२ सालमा माओवादीले युद्ध थालेपछि थबाङ युद्धमै होमियो । २०५४ को स्थानीय निर्वाचनमा पनि शुन्य मतदान भयो । २०५६ को आम निर्वाचनमा सरकारले सदरमुकाम लिवाङबाट दुई जनालाई हेलिकोप्टरमा लगेर मतदान गरायो । अरु बाँकी भोट खसेन । युद्धकालमा दुःख पिडा भोग्दा थबाङ गाउँले एकमुष्ट नै भोग्यो । २०५८ चैत १५ गते नेपाली सेना थबाङ गाउँमा पसेपछि सबै गाउँलेहरु जंगलतिर भागे । गाउँ खाली भयो ।

भोलिपल्ट सेनाले माओवादी पार्टी कार्यालयसहित १३ घरमा आगो लगाइदियो । त्यसपछि सेना ४६ दिनसम्म थबाङमै बस्यो । यसक्रममा ३७ घरहरु जलाइए । थबाङबासीहरु सेना फर्केपछि मात्र ४८ दिनपछि घरमा आए । त्यतिबेला २ सय ५० घरधुरीका अशक्त बृद्धबृद्धावाहेक ४ सय २२ भन्दा बढी मानिसहरुले घर छोडेका थिए । युद्धकालमा थबाङमा ३३ जनाले ज्यान गुमाए ।

यी सबै पीडा र क्षतिका बाबजुद २०६४ को संबिधानसभा निर्वाचनमा थबाङले एकमुष्टरुपमा भोट माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई हालेर जितायो । दाहाल दुई ठाउँ चुनाव लडेका कारण रोल्पा छोडेपछि उपनिर्वाचनमा थबाङले सन्तोष बुढालाई एकमुष्ट भोट दिएर जितायो । २०७० को दोश्रो संबिधानसभामा भने थबाङले एक भोट पनि नखसालेर बिद्रोह ग¥यो । यी सबै घटनाक्रममा बुढाको महत्वपूर्ण भूमिका रह्यो । २०७४ को स्थानीय निर्वाचनमा तत्कालीन माओवादी केन्द्रले गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित बहुमत सदस्य जित्यो । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले अहिले पनि थबाङलाई आफ्नो आधार क्षेत्र मान्दै आएको छ ।

थबाङ २०१२ सालदेखि नै क्रान्तिकारी गाउँका रुपमा परिचित छ । थबाङको फरक परिचय छ । २०१३ सालदेखि नै थबाङ कम्युनिष्ट गाउँका रुपमा एकताबद्ध हुँदै आयो । थबाङलाई धेरै कम्युनिष्ट नेताहरुले सेल्टर बनाए तर अवसर पाउँदा उनीहरुले थबाङलाई भुलिदिए । मोहनबिक्रम सिंह २०१३ सालपछि फेरी थबाङमा फर्केनन् । पुष्पकमल दाहाल, सिंहसँग फुटेपछि मात्र २०४२ सालमा पहिलोपटक थबाङ गएका थिए । २०४३ सालमा थबाङमा तीन दिन बसेर दहालले ग्रामीण वर्ग संघर्षको खाका तयार पारेका थिए । रोल्पा रुकुम क्षेत्रका मगर समुदाय लडाकु बन्नसक्ने कुराको निष्कर्ष निकाली उनले १० बुँदे दस्ताबेज तयार पारे ।

यही निष्कर्षका आधारमा दाहालले रुकुम रोल्पाका अधिकांश मगर समुदायका लडाकु सामेल गरेर युद्ध लडे । थबाङलाई आधार इलाका बनाएर दश बर्षे युद्ध लडे तर युद्धपछि उनले थबाङलाई जनताको चाहना अनुसार सम्झन नसकेको बुढाको गुनासो थियो । दाहालभन्दा अघि नै २०३२ सालमा मोहन बैद्य, २०३६ सालमा कृष्ण सेन र २०३८ सालमा रामबहादुर थापा बादलले थबाङलाई कार्यथलो बनाएर काम गरिसकेका थिए । यी सबै घटनाक्रममा बुढा नै थबाङका अगुवा भए ।

युद्धकालमा बुढा लामो समय ललितपुरस्थित छोरी ज्वाईको घरमा बसे । कछाड लगाउँदा सबैले चिन्ने भएकाले उनले फरक देखिन लुङी लगाए । युद्धकालमा माओवादीले सिधै राजा ज्ञानेन्द्रसँग वार्ता गर्ने भनेपछि त्यसको चाँजोपाँजो पनि बुढाकै पहलमा मिलाइयो । उनकै छोरी ज्वाई खड्कबहादुर घर्तीको ललितपुरको कुसुन्तीस्थित घरमा माओवादी नेताहरु रामबहादुर थापा र कृष्णबहादुर महरा आए । राजाले पनि ज्वाई राजबहादुर सिंह र सैनिक सचिव विवेककुमार शाहलाई पठाए । दुई दिन त्यहाँ बसेर बार्ता गरे तर कुरो मिलेन ।

पार्टी फृटेको सम्बन्धमा उनलाई पुरानो उखान निकै घत लागिरहेको छ । ‘बाक्लो मकै फल्दैन—बाक्लो भलाद्मी मिल्दैन’ भने जस्तै माओवादीभित्र धेरै नेता भएकाले नमिलेको उनको बुझाइ थियो । उनका तीन छोरा र तीन छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्