Logo
Logo

राष्ट्रप्रेमी उद्यमी सधैँ किन निशानामा ?


1.1k
Shares


मीनबहादुर गुरुङ, एउटा साधारण नाम तर असाधारण व्यक्तित्व । उनको संघर्ष र आत्मबल धेरैको प्रेरणाको स्रोत बनेको छ । जीवनका हरेक मोडमा उनीले आँधिहुरी बेहोरे, तर कहिल्यै झुकेनन् । किनभने उनलाई थाहा थियो– सफलताको शिखर चढ्न, पीडाको पहाड उठाउनु पर्छ । र, आत्मा शुद्ध पार्न आगोको परीक्षा अनिवार्य हुन्छ । उनको जीवनले यही सन्देश दिन्छ– सुनलाई पनि आगोमा पगालेर शुद्ध बनाइन्छ, त्यसैले त सुनको मोल छ । मान्छे पनि तिनै जलनहरूबाट निखारिन्छ । र, उदाउँछ आत्मशक्तिको तेज ।

मीनबहादुर, नामले सामान्य लागे पनि उनको जीवन एउटा चेतनाको दीप हो । जहाँ– संघर्षहरू घाउ होइनन्, गहना बनेका छन् । आशुहरू कमजोरी होइनन्, आत्मा शुद्ध पार्ने जल बनेका छन् । जो मानिस आगोमा जलेर पनि मुस्काउँछन्, उसैले त निर्माण गर्छ आफ्नो भाग्य । र, मीनबहादुर गुरुङ यही वर्गका एक उज्याला पात्र हुन् ।

मीनबहादुर एक ठूलो मन भएका उद्यमीका रूपमा ख्यातिप्राप्त छन् । जब देश विपत्तिमा ढाकिन्छ, जब जनजीवन संघटमा पर्छ, मीनबहादुर सधैँ अग्रपङ्क्तिमा देखिन्छन् । महाभूकम्प होस् या कोरोना महामारी, बाढी–पहिरो होस् या अन्य कुनै प्राकृतिक संकट सहयोग गर्न उनी सधैँ अघि बढ्छन् ।

शिक्षालाई समाजको मेरुदण्डको रूपमा लिइन्छ । त्यसैले आर्थिक अभावले ओझेलमा परेका सयौँ प्रतिभाशाली विद्यार्थीहरूको जीवनमा उनले आशाको उज्यालो छरेका छन् । मीनबहादुर विरलैमध्ये एक यस्तो नाम हो, जसले केवल सम्पत्ति मात्र कमाएका छैनन्, विश्वास पनि जितेका छन् ।

साधारण किराना पसलबाट आरम्भ भएको उनको व्यावसायिक यात्रा आज देशैभरि फैलिएको भाटभटेनीसम्म पुगेको छ । “आफ्नो माटोमै केही गरौँ, देशमै केही बनाऔँ” भन्ने दृढ संकल्प बोकेर अघि बढेका मीनबहादुरले आफ्नो इमानदार श्रम, निष्ठा र दूरदर्शी सोचमार्फत नेपाली उद्यम र आत्मनिर्भरताको नयाँ अध्याय रचेका छन् । भाग्य पनि सायद उनको अथक परिश्रम र अपराजेय इच्छाशक्तिको अघि नतमस्तक भएको छ ।

देशमा अर्ब, खर्बपति त धेरै छन् तर, यिनमा एउटा मौलिक भिन्नता छ । जहाँ बहुसंख्यक धनाढ्यहरू मूल्य अभिवृद्धि कर (भ्याट)जस्ता राष्ट्रिय दायित्वहरूबाट पन्छिन खोजिरहेका देखिन्छन्, मीनबहादुर वर्षेनि राज्यको राजस्व सूचीमा शीर्ष स्थानमा देखिन्छन् ।

आर्थिक सफलताको शिखर चुमेर पनि राष्ट्रप्रतिको उत्तरदायित्व नबिर्सने र सामाजिक उत्तरदायित्वलाई व्यावसायिक एजेन्डामा रूपान्तरण गर्न सक्ने व्यक्ति विरलै पाइन्छन् । विडम्बना तिनै मीनबहादुर सधैँ सबैको निशानामा परिरहन्छन् । राजावादीको निशानामा परेको ६ महिना नपुग्दै उनी फेरि जेन–जीहरूको निशानामा परेका छन् ।

यही भदै २४ गते भएको ‘जेन–जी आन्दोलन’मा उनकै भाटभटेनीलाई निशाना बनाइयो । व्यक्तिगत रिसइवी, भावनात्मक आवेग र क्षणिक आक्रोशको नाममा अराजक तत्त्वहरूले भाटभटेनी स्टोरहरूमा तोडफोड, लुटपाट र आगजनी गरे ।

देशका सातवटै प्रदेशमा फैलिएको, नेपाली उद्यमशीलताको मेरुदण्डजस्तै ठडिएको भाटभटेनी सुपरस्टोरका २७ स्टोरमध्ये ११ वटा जेन–जी आन्दोलनकारीको आगजनीबाट खरानीमा परिणत भए । बालुवाटारस्थित केन्द्रीय गोदामदेखि महाजगञ्ज, बौद्ध, कोटेश्वर, पोखरा, चितवन, हेटौँडा, बिर्तामोड, दमक, इटहरी, विराटनगर र धरानका स्टोर ध्वस्त पारिए ।

१२ वटा पूर्णरूपमा नष्ट भए भने ९ वटा स्टोरमा तोडफोड र लुटपाट भयो । मात्र ७ वटा स्टोर बाँकी छन् । यो आक्रमण केवल इँटा र सिमेन्टका संरचनाहरूमा भएको थिएन । एक उद्यमीको जीवन–दर्शनमाथि प्रहार थियो । यो आगोले हजारौँको रोजगारी मात्रै जलाएन, त्यसको निहित आशा, भरोसा र भविष्यलाई खरानी बनायो ।

आज देशको सबभन्दा जटिल समस्या हो, बेरोजगारी । कोही जीवनको खोजीमा, कोही केवल पेट पाल्न । बेरोजगारी गाउँ–गाउँ, बस्ती–बस्ती र सहरका हरकुनाका साझा पीडा बनेको छ । हरेक दिन हजारौँ युवा त्रिभुवन विमानस्थल हुँदै विदेश पलायन हुन्छन् ।

देशभित्र न भविष्य छ, न अवसरको विश्वास । त्यो विश्वास बनाउने थोरै प्रयासहरूमध्ये एक थियो– भाटभटेनी । २०५० सालको भदौ १ गते नक्सालस्थित एक सानो कोल्ड स्टोरबाट सुरु भएको त्यो भाटभटेनी सिर्जनशीलता, मिहेनत र लगनशीलताको प्रमाण बनेर फैलियो । तर इतिहास फेरि भदौमै दोहोरिएको छ– सपना जुन महिनामा जन्मिएको थियो, त्यसै महिनामा जलेर खरानी भयो ।

रोजगारी गर्नेबाहेक भाटभटेनीका स्टोरमा बिक्री गर्न मकै भुट्ने र रोटी बेल्नेदेखि पूजाका धूप बाट्नेसम्मका मानिसका लागि ढोका बन्द भयो । धेरै घरेलु उद्यमको निर्धक्कको बजार गुम्यो । अनर्सा, सेलरोटी, पापडदेखि तरकारी, कागती, फलफूल, दूध, दही, घ्यू उत्पादन गर्ने किसान र डेरी उद्योगलगायत उद्यमीका सपना एकै निमेषमा खरानी भए । भाटभटेनी जलाउनेले मीनबहादुरको सपना जलाइयो भनेर हर्षोल्लास गरे ।

मीनबहादुर तिनीमध्ये एक थिएनन् जो विदेशी लगानी, विदेशी बैंक वा विदेशी भविष्यको पछि दौडिए । उनी त तिनै थिए जो ‘माटो नछोडिने’ जिद्दी बोकेर देशमै रहे । जसले एउटै हातले कमाएर अर्को हातले समाजलाई दिइरहे । उनको उद्यमको नाफा केवल स्टोरको संख्यामा थिएन, त्यो त हजारौँलाई दिएको अवसरमा थियो । देशभित्रै सिर्जिएको आर्थिक स्वाभिमानमा थियो ।

तर यही माटोमा उभिएका मीनबहादुरहरू राजनीतिक प्रतिशोधका रेखाले घेरिन्छन् । आन्दोलनको लक्ष्य बन्न बाध्य पारिन्छन् । राजा फर्काउने, व्यवस्था बदल्ने, क्रान्ति गर्ने नाममा हामी आफ्नै सम्भावनालाई जलाइरहेछौँ ।

आज जेन–जी पुस्ता भनिने युवाहरूको भविष्य भाटभटेनीसँग गाँसिएको थियो । १० हजारभन्दा बढी प्रत्यक्ष रोजगारी र हजारौँले गरेको उत्पादन त्यहीँबाट बिक्थ्यो । तर, जेन–जी पुस्ताले आफ्नै भविष्य जलाएको छ ।

जेन–जी आन्दोलनको मर्म सही थियो । ७० भन्दा बढी युवाहरूको ज्यान जानु अत्यन्तै पीडादायक र दुःखद हो । त्यस्तै, संसद् भवनदेखि राष्ट्रपति निवाससम्म, सिंहदरबारदेखि सर्वोच्च अदालतसम्म र हजारौँलाई रोजगारी दिने भाटभटेनीजस्ता व्यापारिक संरचनाहरूमा आगो लगाउनु न्यायसंगत थिएन ।

क्रान्तिको नाममा पुँजीलाई खेद्ने, समाजवादको नाममा रोजगारीको मैदानमा आगो लगाउने तर्कले आजसम्म कुनै पनि राष्ट्र समुन्नत हुन सकेका छैनन् । समाजवादको आत्मा भनेको राष्ट्रिय पुँजीको सुदृढीकरण हो । राष्ट्रिय पुँजी भनेकै मीनबहादुरहरू हुन्, जसले आफ्नो जरो यही माटोमा गाडेका छन् । जसले विदेश नगइ देशमै पसिना बगाएका छन् । उनीहरूलाई लखेटेर होइन, उभ्याएर मात्रै राष्ट्रको समुन्नति सम्भव छ ।

आजका दिन हामी सबैले आत्ममन्थन गर्नुपर्ने समय हो– हामी के जलाउँदैछौँ ? र, के बाँकी राख्दैछौँ ? सपना जलाउने यो आगोले केवल भवन होइन, हाम्रो भविष्य, भरोसा र अस्तित्व पनि खरानी भइरहेको छ । विरोधको उद्देश्य परिवर्तन होस्, विनाश होइन भन्ने बुझ्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्