
महाकवि लक्ष्मीप्रसाद देवकोटाको एउटा वाक्यांश सँधै मनमा खेलिरहन्छ- ‘घर चिन्न घर छोड, तर घर नबिर्स ।’ महाकविले भनेझैँ, मैले पनि घर चिन्न घर छोडेको १२ वर्ष भइसकेछ । भनिन्छ-१२ वर्षमा खोला पनि फर्किन्छ रे, तर म फर्कन सकिनँ । सायद, मेरो मन खोला होइन, पहाडजस्तै कठोर भइसक्यो ! या त, घर चिन्नै बाँकी छ । तर, घर बिर्सेको पनि छैन ।
मजस्ता लाखौँ छन्, जसको मन घरतिर छ । तर खुट्टा बाध्यताले बाँधिएका छन् । कोही सहरका धुलो र घाममा पसिना झारिरहेका छन्, कोही परदेशका कारखानामा आफ्नै सपनाको जग गढिरहेका छन् । उनीहरूको चाहना एउटै हो– कुनै दिन आफ्नो भनिने घर बनाउने ।
घर इँटा र ढुंगाको संरचना मात्र होइन, त्यो त मन अटाउने ठाउँ हो । जसले जहाँ पुगे पनि भनोस्– तिमी फर्क, तिमी यहीँका हौँ ।’ तर, त्यो सपनाको घर कस्तो होला ? र, कहिले बन्ला ? जवाफ छैन । तर, यता घरको सपनामा भौतारिरहँदा, उता गाउँको झुपडी भने सँधै पर्खाइमा बसिरहेको छ ।
ढुंगेयुगमा मान्छेको घर ओढार थियो । छानो आकाश, ओछ्यान पृथ्वी । त्यो बेलाको घरमा बाँच्ने अर्थ थियो– सुरक्षित रहनु । तर, अहिले हामी पुँजीवादको सभ्यतामा छौँ, जहाँ घर केवल बासस्थान होइन, प्रदर्शनको प्रतीक बनेको छ । महलहरूलाई मात्र घरको दर्जा दिइन्छ, अरू त “झुपडी” भनेर खिसी गरिन्छ । विडम्बना, ती ठूला–ठूला घरका भित्ताहरूमा सुगन्धित रङ होला, तर त्यही भित्ताभित्र मनहरू अटाउँदैनन् । मानिसहरूको भिडमा मानिस हराइरहेका छन् । घरहरू नजिक छन्, तर मनहरू टाढा छन् ।
००
फेरि पनि दोहो¥याउँ– घर चिन्न सकेको छुइनँ, तर घर बिर्सेको पनि छैन । जब बिसन्चो हुन्छ, घरको सम्झना आउँछ । जब मन दुख्छ, आँसु बग्छ, घरको अनुहार झल्किन्छ । बिजुली चम्किँदा, गड्याङगुडुङ हुँदा, हुरी चलेर ढोका ठटाउँदा मन घरतिर भाग्छ । पानी दर्किँदा घरै झल्को आउँछ । असिना बर्सिँदा कौसीको सम्झना । स–सानो सपना छुँदा पनि घरको सुगन्ध महसुस हुन्छ । साथमा कोही नहुँदा मन चुपचाप घर फर्कन्छ । भीडभाडमा एक्लो हुँदा पनि मन त्यही पुरानो आँगन खोज्छ ।
घरको सबैभन्दा गहिरो सम्झना त चाडपर्वले ल्याउँछ । दिनभर आकाश चिर्दै उड्ने चरी साँझ गुँड फर्किएजस्तै, मानिसहरू पनि चाडपर्व आउँदा पखेटा फैलाएर घर फर्किन्छन् । तर सहरका ठूला–ठूला घरहरूमा त्यो आत्मीयताको स्पर्श भेटिँदैन । त्यहाँ बत्तीको उज्यालो त छ, तर मनहरू अँध्यारामै छन् । ती घरहरूमा हाँसोको आवाज हराएको छ, बाँकी छ केवल एकान्तको गुनासो । ००
२०८२ असोज १३ गते फूलपातीको दिन । संयोग यस्तो कि त्यही दिन विश्व मुटु दिवस पनि परेको थियो । साँझ ढल्किसकेको थियो, दिनलाई रातले निलिसकेको थियो । हामी छुटिने क्रममा थियौँ । ठीक त्यहीबेला, एक घनिष्ठ साथीको मुखबाट फुत्त निस्कियो– ‘अब भतुवा लाग्न त जानु होला नि !’
मुटु दिवसको दिन, मुटुमा नै चोट लाग्ने वाक्य ! शब्द सानो थियो, तर त्यसको प्रभाव गहिरो । म नाजवाफ भएँ । आफ्नो भनेको घर विरानो भइसकेको थियो । आफन्तहरूको व्यावहार पनि पराई नै थियो ! त्यसैले उनी साथीको घर लागिन्, म मेरो डेरातिर… । तर, त्यो वाक्यले ननिदाएसम्म मुटुमा घोचिरह्यो । त्यसपछि हरेक रात त्यसैको पुनरावृत्ति भइरह्यो ।
काठमाडौंमै घर छ उनको । सही अर्थमा भन्दा उनको होइन, परिवारको भनौं । तर आजभोलि त्यस घरमा उनको मन अट्दैन । बारम्बार डेरा खोजेर बस्ने कुरा गर्छिन् । कहिले एक्लै बस्ने सोचिन् । कयौँ पटक घर छाडेर साथीको बास बसेकी पनि छन् ।
म आफैँ पनि साक्षी छु– त्यो घर किन्न बैंकको ‘लोन’ निकाल्दा उनले भोगेकी पीडाको, सरकारी कामको ढिलासुस्तीबीच दौडधुपको, सहकर्मीको उपहासको र हाकिमका तीता वचनको । मालपोतमा दलाल र कर्मचारीले मागेको घुसको अपमानले उनलाई अझै सताइरहन्छ !
चार–पाँच वर्षको संघर्षपछि उनको र उनको परिवारको एउटा ठूलो सपना पूरा भएको थियो । तर, सहकर्मीको उपहासको र हाकिमका तीता वचनका कारण उनले खुशी साट्नसमेत पाइनन् । जुन, कुरा गहभरि आँसु पार्दै सुनाएकी थिइन् । ती सब ताजै छ अझै ।
त्यो घरमा उनको आर्थिक लगानी प्रत्यक्ष रुपमा नदेखिएला । तर, जुन तन–मन र भावनात्मक लगानी गरिन्, त्यो ठूलो आर्थिक लगानीभन्दा कम छैन । घर खोज्दै थुप्रै गल्ली चहारिन् । साथीहरूसँग भिखारीझैँ सापटी मागिन् । कति त आफ्नै तनखाबाट तिरन् । ‘साहु’हरूको मुख टालिन् । त्यसै पनि उनको कमाई घर खर्चमै ठिक्क हुन्थ्यो ! अरु विदेश गएर कमाए, जमाए, रमाए । उनले घर धानिन् । घर खोजिन् । घर रोजिन् । तर, उनी आफैँले रोजेको, खोजेको घरमै अर्घेलो भइन् ।
जुन ऊर्जा र माया उनले त्यस घरमा खनाइन्, आज त्यही घर विरानो हुँदै गएको छ । त्यहाँ उनको मन अटाउन छाडेको छ । त्यसैले कहिलेकाहीँ उनका मनका तीता भावहरू अनायासै मुखबाट फूट्छन । जसरी फूूतपातीको दिन निस्किएको थियो ।
घरमा ठूलाठूला कोठा, झिलिमिलि बत्ति । तर, ती ठूला कोठाहरूमा उनको सानो मन अउटाउँदैन । झिलिमिलि बत्तिले मुहारमा उज्यालो दिन सकेको छैन । घरमा बसेपनि घरको महसुह भएको छैन । आपत् पर्दा पनि त्यो घर सम्झिँदैनन् । पानी दर्कदा ओत लाग्न जाने सोच पनि आउँदैन । घरभित्र बसेर पनि मनभित्र बसेको छैन । त्यसैले बनेको होला ठूला–ठूला घरले बनेकै सहरमा ठूला–ठूला वृद्धाआश्रम । बालआश्रम ।
सायद, महाकविले भनेजस्तै घर नछाडेकीले घर नचिनेको पो हुन् की ? कि उनको सम्झने मनै छैन ? कि परिस्थितिहरूले उनलाई घर बिर्सन बाध्य पार्दै छ ?००
घर एउटा यस्तो ठाउँ हो, जहाँ मन बस्छ । नांगो आँखाले हेर्दा घरभित्र मानिसहरू बस्छन्, तर मनले हेर्दा घरभित्र मनहरू बस्दारहेछन् । सायद त्यसैले होला, विद्यालयमा शिक्षिकाले गाली गर्दा मन दुखेको अवोध बालक आँसु झार्दै भन्छ– ‘घर जान्छु ।’
गाउँ–सहरमा पक्की घरहरू बढिरहेका छन्, तर सम्बन्धहरूको जग धरमराएको छ । सिमेन्टको बल र फलामको मजबुतीले भवन ठडिएका छन्, तर ती सबै घर भएको छैन । भित्ताहरू ठूला छन्, तर मनहरू साना । सिंगारिएका कोठाहरू छन्, तर मनहरू भत्किएका । सँगै बसेका छन्, तर मनहरू टाढिएका । एउटै छानामुनि छन्, तर हृदयहरू छरपष्ट ।
घर भनेको केवल बस्ने ठाउँ होइन, बाँच्ने ठाउँ हो । त्यहाँ बिहानको चियामा माया मिसिएको हुन्छ । तन्नाभन्दा अगाडि मुस्कान ओछ्याइन्छ । ढोका ताला होइन, विश्वासले बन्द हुन्छ । घरलाई सुन्दर बनाउने चित्रहरू होइनन्, त्यसमा बस्ने आत्माहरू हुन् । माया, आदर र आत्मीयताको स्पर्श बिना घर केवल वास्तुशिल्प मात्रै बन्छ ।
ठूलो महल, आलिशान कोठाहरू र झिलिमिली सजावटले घरको बाहिरी रूप त सजाउन सक्छ, तर वास्तविक घर त त्यहाँ बस्नेहरूको मन, माया र आपसी समझदारीले बन्छ । घर केवल ईंटा, ढुंगा र काठको संरचना मात्रै होइन, भावनाको आश्रयस्थल पनि हो । जहाँ माया, विश्वास र सम्मान हुन्छ, त्यहाँ सानो झुपडी पनि स्वर्ग बन्छ । तर जहाँ मन जोडिएको हुँदैन, त्यहाँ ठूलो महल पनि खाली र चिसो लाग्छ ।
साँचो घर त्यही हो जहाँ हरेक सदस्यले आफूलाई पूर्णरूपमा ‘स्वीकारिएको’ महसुस गर्छन् । जहाँ गल्ती माफ हुन्छ, मौनता पनि अर्थ बोकेको हुन्छ । र, जहाँ फर्कँदा केवल शरीरले मात्र होइन, आत्माले पनि विश्राम पाउँछ । त्यसैले घर ठूलो भवन भएर होइन, ठूलो मन भएर टिक्छ ।
मन अटाउनु भनेको एकअर्कालाई बुझ्नु, सुख–दुख साझेदारी गर्नु र हरेक परिस्थितिमा साथ दिनु हो । जहाँ सबैले एकअर्काको भावनालाई कदर गर्छन्, त्यो घरमा टुकी नै बालेपनि उज्यालो बन्छ । त्यसैले भौतिक सम्पन्नताभन्दा भावनात्मक सम्बन्धको महत्व बुझ्न जरुरी छ । ०००











