‘तपाईँ किन बुद्धिष्ट हुन भएन ?’ « Drishti News – Nepalese News Portal
Logo

‘तपाईँ किन बुद्धिष्ट हुन भएन ?’


तीर्थ सिग्देल


पहिलो अनुभव

एकोहोरो अरुका कुरा सुन्नु जति अल्छि केही नलाग्दो रहेछ ।

लगातार जसो विनाश र विकृतिका कुरा कति सुन्नु ? आज पनि उही कुरा । पृथ्वी मानवका कारण विनाशतिर जाँदैछ । हामीले हाम्रो धर्ती माथि न्याय गरिरहेका छैनौं । दिनानुदिन वातावरण विनाश भइरहेको छ । ओजोन तह पातलिदैछ । मानवीय आवश्यकताले प्रकृतिका अनुपम उपहारहरुको दोहन भइरहेको छ । कुनै पनि बेला प्रकृतिले रुप फेर्न सक्छिन् । प्रतिरक्षामा कुनै पनि विपत्ति आउन सक्छ ।

वातावरण जस्तो सवालमा दिन दिनै बहसमा उत्रिनु कहाँ सजिलो थियो र ? त्यसमा पनि विदेशको बसाइ । खासमा यस्ता विषयमाथि बहस गर्ने र निस्केको निष्कर्षलाई आधार बनाएर थप कार्ययोजना बनाउने हाम्रो कन्फेरेन्सको उद्देश्य थियो । युवा सहभागिताले यस्ता विपत्ति रोक्न गरिने पहल र दीर्घकालीन पक्षमा पनि विशेष ध्यान दिनुपर्ने थियो । नेपालबाट हामी तीनजनाको सहभागिता थियो, त्यो कन्फेरेन्समा ।

सन् २०१३ सेप्टेम्बर ५ मा ‘आइडिया फर यूएस’ नामक अन्तर्राष्ट्रिय संस्थाको आयोजनामा श्रीलंकाको राजधानी कोलम्बोमा भएको ‘इन्टरनेशनल युथ काउन्सिल ग्रीन कन्फेरेन्स’मा सहभागी भएका थियौं । नेपालबाट मदन खरेल, श्रीजन घिमिरे र म । संसारभरिका २२ बटा मुलुकका युवाको सहभागितामा भएको यो कन्फेरेन्सले मलाई श्रीलंकाबारे धेरै कुरा बुझाएन मात्र अन्तर्राष्ट्रिय कन्फेरेन्सको पहिलो अनुभव पनि गरायो ।

आर यू फ्रम नेपाल ?

विदेश भनेपछि यसै ध्यान ताानिन्छ । जसरी हामी विदेश र विदेशीको मोहमा पर्छौं, त्यसरी नै उनीहरु पनि मोहित नहुने कुरै छैन । किनभने हामी पनि उनीहरुका लागि विदेशी नै हुन्छौं ।

अचानक कसैले पछाडिबाट कुममा हात राख्यो ।

यसै त ढिलो भइरहेको छ । बिहान ७ बजेदेखि उही धाराप्रवाह कतिपय अमिल्दा र अफ्ठ्यारा शीर्षकभित्र अलमल गरिरहँदा कता–कता आफँैलाई बिर्सेको भान भइरहेको हुन्छ । त्यसमा पनि आफ्नो फिरन्ते जीवनशैली भित्र एउटा अव्यस्त दैनिकी बिताउनु जटिल नै थियो ।
‘हेल्लो, हाउ आर यू …?,’ पछाडिबाट नै प्रश्न तेर्सियो ।

‘फाइन्,’ स्वाभाविक उत्तर दिन कर लाग्छ ।

आज बल्ल तेस्रो दिन थियो, कोलम्बो बसाइको । अझै केही दिन बिताउँनै पर्नेछ ।

कस्तो भने । मान्छे अनुसारको स्वभाव हुँँदो रहेछ । बल्ल तीन दिनको बसाइमा मात्र कसैले हेल्लो हाइ गरिरहेको छ । तै पनि अफ्ठेरो । के गर्ने ? बोल्ने कि नाबेल्ने ?

उसले दोहोर्याई, ‘आर यू फ्रम नेपाल ? द कन्ट्री अफ बुद्ध ?’

‘यस, आइ एम फ्रम नेपाल’ जवाफ दिनै पर्यो ।

उसले कुरा खोतली । किनभने देश अनुसारको भेष र भेष अनुसारको रेसमा दगुर्नु नै पर्ने रहेछ । नत्र पछि पर्ने निश्चित प्रायः छ ।
त्यो कुरा नबुझेर पनि धरै थिएन ।

लगत्तै चियर्सको आवाज आयो । अब आफूले पनि त्यसै गर्नुको विकल्प थिएन । सँगै गएका नेपालीहरुले पनि त्यसै गरे । अलिकति बियर त पिउनै पर्ने भयो । तेस्रो दिनको सेड्युलमा नै लेखिएको थियो, रिफ्रेसमेन्टबारे । अनि त के चाहियो र ?

संसारलाई थाहा छ । श्रीलंका माछामा आत्मनिर्भर मुलुक हो । त्यहाँ पुगेपछि त अझ मज्जाले देख्न पाइयो । किनभने ब्रेकफाष्टमा पनि माछाका परिकार खानु परिरहेको छ । यतिसम्म कि चियासँगै लिने बिस्कुटमा पनि माछाको गन्ध आइरहेको हुन्छ ।

चारैतिरबाट समुद्रै समुद्रले घेरिएको मुलुक भएर मात्र नभएर लामो समयसम्म युद्धले जकडेको देश हो यो । त्यस अर्थमा पनि केही जान्ने उत्सुकता र कौतुहलता जाग्नु स्वाभाबिकै हो । अझ विश्वका अरु मुलुकबाट आएका प्रतिनिधिसँगको घुलमिलसँगै वैचारिक आदानप्रदान र सामिप्यताले निक्कै आनन्द भइरहेको छ ।

तिनै महिला, जो मेरो नजिकिरहेको महसुस भइरहेको छ । फेरि उनैका केही सवालहरुका जवाफ दिनै पर्ने बाध्यताले म जेलिएको छु ।
पूरै परिचय आदानप्रदान भयो । उनको नाम अमिला सामन्थी, श्रीलंकन् हुन् ।

उनी बोल्न थालिन् ।

‘आई एम हेप्पी, मिट् टु यू ।’

‘थेंक्यू’

‘आइ एम रेस्पेक्ट, नेपाल । बिकज्, नेपाल इज अ बुद्ध बर्न कन्ट्री ।’

खासमा उनी मसँग पहिलो दिनदेखि नै कुरा गर्न चाहिरहेकी थिइन् ।

श्रीलंका बुद्धिष्ट कन्ट्री हो । त्यही भएर श्रीलंकनहरु नेपालप्रति श्रद्धाभाव दर्शाउँछन् । नेपालीहरुप्रति आदर दर्शाउँछन् । अमिलासँगको कुराकानीले त्यो भाव झल्किन्थ्यो । मानौ, म नै बुद्ध भगवान हुँ । वा, स्वयम् म बुद्धको अवतार हुँ !

‘आरयू बुद्धिष्ट ?’, उनको यो प्रश्नमा भने म नाजवाफ बनें ।

के जवाफ दिऊ ? यस् अर नो । अलमलमा परियो ।

म देखिरहेको छु । ऊ आफ्नो प्रश्नको उत्तर आउने ब्यग्र प्रतीक्षामा छे । उसको अनुहार मतिरै फर्किरहेको छ । मानौ, म उसको कोही हो । नजिककै मान्छे हुँ । र, ऊ मेरै भर परिरहेकी छे । मेरै शरणमा छे र मबाट के जवाफ आउला र त्यसै गरुँ भने जस्तो गरेर बसेकी छे । एउटा आज्ञाकारी छात्रा झैं ।

भन्न कर लाग्यो ।

मैले भने, ‘नो आइएम नट् बुद्धिष्ट ।’
उसले मेरो कुरा भुँइमा खस्न नभ्याउँदै प्रश्न तेस्याई ।
भनी, ‘ह्वाट्…यू आर नट् बुद्धिष्ट …। ह्वाई…?’
सोधी, ‘हू… आर यू…? मुस्लिम ?’
‘नो नो… आइएम हिन्दू…।’

लुम्बिनीः एक गौरब

उनको मुहारमा अलिकति भएपनि खुशी झल्कियो । कालो वर्ण भएपनि उनको बनावट हिस्सी परेको छ । त्योभन्दा पनि कन्फेरेन्स एटेन्ड गरेदेखि नै देख्नु परिरहेको छ । त्यो के भने ऊ सँधै सारी लगाएर आउँछे । एउटी कामकाजी महिला, उसलाई देख्ने वित्तिकै यस्तो लाग्छ- ऊ एकदमै भलाद्मी छे, कम बोल्छे, मेहनती र परिश्रमी छे ।

त्यही ग्रीन कन्फेरेन्समा भाग लिन आएकी श्रीलंकन युवती निर्मलिनी अबेसोरियासँग मैले बिगतका ती दिनहरु कोट्याउन खोज्दा उनको लामो जिब्रो बाहिर निस्कन्थ्यो । त्यतिबेला उनी भन्थिन्, नो..नो..नो..डन्ट थिंक दिस अबाउट…

उसले आफु एक पटक नेपाल आएको बताइ । लुम्बिनी बुद्ध जन्मेको ठाउँ हो, ऊ त्यहाँ पुगेकी रहिछ । उसले यो पनि जानकारी दिई कि श्रीलंकनहरु आफ्नो जीवनमा एक पटक लुम्बिनी जान पाउँनुमा गौरव अनुभूत गर्छन् । अझ जीवनभरमा जतिसुकै दुःख गरेपनि एक पटक लुम्बिनी पुग्न पाए आफुलाई धन्य ठान्छन् । जसरी मुसलमानहरु मक्का मदिना पुग्न पाए आफूलाई धन्य ठान्छन्, त्यस्तै ।

मैले तत्कालै गर्व महसुस गरें कि हामी त्यो देशका नागरिक हौं, जुन देशमा भगवान् गौतम बुद्धको जन्म भएको थियो । जसका कारण आज मुलुक विश्वमा चिनिएको छ । आज नेपाल भन्ने वित्तिकै विश्वभर लुम्बिनी र सगरमाथाको देश भनेर चिनिन्छ । बरु हामीमा ती ठाउँप्रतिको गौरव छैन ।

उसले बताई कि ऊ लुम्बिनी जाँदा सानी थिई । मात्र पाँच बर्षकी । ऊ अहिले पनि सम्झिन्छे रे । आफ्ना बाबु आमासँग काखमा खेल्दै आफ्नो आस्थाको केन्द्र पुगेको क्षण ऊ सम्झिन खाजिरहेकी छे ।

उसले भनी,
अहिले सम्झिँदा अचम्म लाग्छ । त्यसबेला हामीले साह्रै दुःख पाएछौं । हामी कोलम्बोबाट एक दिनको बाटो पानी जहाज चढेछौं । त्यहाँबाट बल्लतल्ल भारतको हालको चेन्नई आइपुग्यौं । त्यहाँबाट तीन दिनको रेल यात्रा गरेर बल्ल नेपालको बोर्डरमा पुगेका रहेछौं । घरबाट हिँडेको सात दिनमा मात्र हामी लुम्बिनी पुगेछौं ।

फर्किदाको क्षण ऊ सम्झन चाहन्न । किनभने समान प्रकृतिमा पीडाबोध गरेकी छे उसले । भारतको यात्रा सबैभन्दा कठिन ठान्छे ऊ । भारतीय रेलको यात्रा सम्भवतः संसारकै सबैभन्दा कठिन र डरमर्दो लाग्छ रे, उसलाई पनि । बरु उसले २ दिनको नेपाल बसाई निक्कै आनन्ददायक ठानी रे ।

ऊ सक्षम महिला हो । त्यही भएर एक पटक फेरि लुम्बिनी जान चाहन्छे । उसलाई थाहा छ, अबको लुम्बिनी यात्रा विगतको जस्तो कठिन र पीडादायी हुने छैन । किनभने अब सिँधै कोलम्बो टू काठमाण्डौ प्लेन चल्छ । अब उसले व्यस्ततामा धेरै दिन खर्चिनु पर्ने छैन । लुम्बिनीमै अन्तर्राष्ट्रिय विमानस्थल बन्दैछ । अब त झन् सहज हुनेछ ।

तपाईं अति नै भाग्यमानी हुनुहुन्छ । किनकि तपाइँको देश भगवान् गौतम बुद्धको जन्म थलो हो । तर, दुःखको कुरा तपाईको देशमा पनि लामो समयसम्म हिंसा चर्कियो रे ।

किन यस्तो हुन्छ ? किन मान्छेहरु मर्न र मार्न तयार हुन्छन् । बिनाकारण मर्नु हुन्न मान्छेहरु । किनभने हाम्रो मुलुक पनि लामो समयसम्म हिंसाको चपेटामा परेको मुलुक हो । त्यसको पीडा हामीले राम्ररी बुझेका छौं । अहिले पनि त्यो दिन सम्झिँदा शरिर काँप्छ, थररर…।

आज हामी ती दिन सम्झँन चाहदैनौ, बिर्सेर पनि ।

तपाईं पत्याउनु हुन्छ ? हामीले लामो समयसम्म युद्धलाई झेल्यौं । के गुमाएनौ हामीले ? ८० हजारको त ज्यानै गयो । धेरैको घर परिबार बिग्रियो । ब्यबहार बिग्रियो । समाज दिग्भ्रमित भयो । शिक्षा, स्वास्थ्य, वातावरण क्षेत्रसँगै विकास निर्माण तहस नहस भयो । भौतिक संरचना भत्किए । बर्षौंसम्म हिंसा र प्रतिहिंसाको मारमा पर्यो मुलुक ।

बुद्धिष्ट मुलुक भएर पनि हामीले शान्ति बिथोल्यौं । सिंहाली र तमिलका नाममा काटमार गर्यौं । लामो समयसम्म पनि स्कूलहरु खुलेन् । पढ्ने पढाउने अवस्था रहेन । शिक्षा क्षेत्रमा हामी पछि पर्यौं । कृषि र पर्यटनका आधारमा अगाडि रहेको मुलुक धेरै पछि पर्यो ।

यक्ष प्रश्न

के तपार्इंको देशमा यस्तो भएन र ? नेपाली जनताले दुःख पाएनन् ? के नेपाली जनता शान्तिप्रिय छैनन् ? जसरी बुद्धिष्ट देश भएर पनि श्रीलंकामा युद्ध भयो, हिंसा चर्कियो । त्यसरी नै नेपाल बुद्धको जन्मभूिम भएर पनि जनयुद्धको नाममा मान्छेहरु मारिए, राजनीतिका नाममा । किन…?

झण्डै उसले एक घण्टा जति एक्लै बोली । म सुनिरहेको छु उसका कुरा, निरुत्तर बनेर । त्यो भन्दा पनि म ऊप्रति धन्य छु । किनभने उसको देशको बारेमा धेरै कुरा थाहा पाउने मौका मैले पाएको छु । त्यो भन्दा पनि एउटी महिला, जो आत्मनिर्भर छे ।

ऊ आफ्नो बारेमा आफै सोच्न सक्छे र बोल्न सक्छे । त्यस्तो ब्यक्तिसँग भलाकुसारीसँगै अन्तरंग गर्न पाउँदा सन्तुष्टि पाइरहेको छु । म एउटा पराई पुरुष, त्यो पनि विदेशीसँग ऊ कुनै बिनापर्वाह कुरा गरिरहेकी छे । अचम्म, आम नेपाली महिलाहरुमा यस्तो आत्मनिर्भर सोच सबैमा भइदिए कस्तो हुने थियो ?

म भने उसको जेनेरल नलेज देखेर प्रभावित भइसकेको थिएँ । उसमा मैले एउटा अचम्मको क्षमता देखें । एउटा पराईसँग एकान्तमा घण्टौसम्म बिना हिच्किचाहट कुरा गर्ने सामाथ्र्य राख्थी ऊ । त्यसमा उसमा कुनै नकारात्मक भाव देखिँदैन । न म ऊप्रति त्यस्तो केही नराम्रो कुरा सोच्न सक्थें । तर, अहिले पनि उनको एउटा जटिल प्रश्नले भने मेरो मन मस्तिस्कमा घर गरिरहेको छ ।

उनले भनेकी थिई, ‘आज संसारले श्रद्धा गर्ने बुद्ध जन्मेको देशको नागरिक भएर पनि तपाई किन बुद्धिष्ट हुनु भएन ?’

उसको यो प्रश्न नै आजसम्म पनि मेरालागि यक्ष प्रश्न बनेर खडा भएको छ । म प्रश्नको यसको उत्तरको खोजीमा निरन्तर लागिरहेको छु ।

धर्म के हो ? मुलुकको धर्म हुन्छ कि हुँदैन ? यसको प्रयोग र विस्तार कसरी हुँदै गयो भने विभिन्न खाले तर्क र अर्थ लगाउन सकिन्छ । तर, हामी जुन धर्मावलम्बीको परिबारमा जन्म लियौं । सामान्यतयाः त्यही धर्म धारण गर्ने आम प्रचलन छ । म पनि त्यही धर्मको पालन गरिरहेको थिएँ । म यो तर्क गरेर उनको मन दुखाउन चाहन्न थिएँ । यद्यपि, त्यो प्रश्नको सपाट उत्तरको खोजीमा लाग्नलाई भने मलाई प्रेरित गर्यो ।

जस्तो कि श्रीलंकाका चोक(चोक र गल्लीहरुमा जताततै देख्न सकिने बुद्धका मूर्तिहरुलाई नियाल्दा काठमाडौका सत्तल, पाटी, देवल र मन्दिरहरुको झझल्को आउँछ । त्यहाँका हरेक चोक, गल्ली र कुइनेटोहरुमा बुद्ध भगवान्लाई ढोग्दै हिँड्ने अवसर प्राप्त हुन्छ । स्वयम् बुद्धले भने मूर्ति पूजाको बिरोध गरेका रहेछन् । तर, अहिले संसारभर सबैभन्दा बढी मूर्ति बुद्धकै छन् भनिन्छ । म यता धेरै जान चाहिँन ।

बिगतमा श्रीलंका भन्ने बित्तिकै एउटा दृश्य आँखामा आइरहन्थ्यो । जतिबेला भारतीय टेलिभिजनमा महाभारत र रामायाणजस्ता सिरियल आउने गर्दथ्यो । घरमा टेलिभिजन नहुँदा पनि घण्टौ धाएर पनि त्यो सिरियल हेरिन्थ्यो । रामायणमा राम र रावणबारेको कथाले रामलाई हिरो र रावणलाई भिलेनको रुपमा देखाउने गरेका कारण मनस्थितिमा यही दृश्य नाचिरहेको हुन्थ्यो ।

त्यसखाले कथाहरुमा रावणलाई राक्षसको रुपमा चित्रित गरिने र रावणका दशवटा टाउका थिए भनेर ब्याखा गर्दै त्यस्तै पात्रमार्फत् उनको खलचरित्र प्रदर्शन गर्दा आजपर्यन्त यही सोचले काम गरिरहेको छ । तर, जब मेरा पाइला श्रीलंकाको भूिममा पर्यो । तब अर्कै सोच र खोजको विकास भयो ।

त्यो बेलाको कथामा देखाइएको वा असली रावण हिन्दु थिए । उनी तत्कालीन लंकाका राजा थिए । रावण रामायणको एक पात्र हुन् । रावणको दशवटा शिर थिए । दसवटा टाउकाको कुरा प्रतीकात्मक हो । उनमा दसजना मान्छेको जति बुद्धि थियो, दसजना मान्छेको जति बल थियो भनिन्छ ।

धर्मको मामलामा कोही किन उदार बन्न सक्दैन ? किन मान्छे यो मामलामा कठोर हुन्छ ? यो प्रश्नको उत्तर म दिन सक्दिन । किनभने धर्मको मामलामा कोहीपनि धेरै उदार बन्न सक्दैन भने म त को हुँ र ?

रावणको खोज

रावण को थिए त ? धर्मग्रन्थहरुका अनुसार रावण सृष्टिकर्ता ब्रम्हाका पनाति, पुलस्त्यका नाति र विश्वाऋषिका छोरा हुन् । उनी शिवका परम भक्त तथा नारायणका कट्टर विरोधी थिए । शिव विजयी रावण वैदिक १० विषय वेदवेदांग (४ वेद र ६ शास्त्र)का विद्वान थिए । तरपनि अभिमान गरेको र नारीको अपमान गरेकाले उनको पतन भयो भनिन्छ ।

विश्वाकी दोस्रो पत्नी सुमालीकी पुत्री कैकसीबाट रावण आदि सन्तानको जन्म भयो । रावणका मामाहरु प्रहस्त, अकम्पन, विकट, कालिकामुख, धूम्राक्ष, दण्ड, सुपार्श्व, संह्रादि, प्रघस र भासकर्ण हुन् । रावणको वास्तविक नाम दशानन् हो ।

त्रिंकोमाली भन्ने ठाउँमा रावणको मूर्ति छ । श्रीलंकामा प्राचीन तमिल पोर्ट, पद्मपुराण, श्रीमद्भागवत पुराण, कूर्मपुराण, रामायण, महाभारत, आनन्द रामायण, दशावतार चरित आदि ग्रन्थहरूमा उल्लेख भएको पाइन्छ । वाल्मीकिद्वारा लिखित रामायण महाकाव्यमा रावण लंकापुरी महानगरको सबभन्दा शक्तिशाली तमिल राजा थियो भनिएको छ ।

रावण पद्मपुराण तथा श्रीमद्भागवत पुराणका अनुसार हिरण्याक्ष एवम् हिरण्यकशिपु पुनर्जन्म भएर रावण र कुम्भकर्णको रूपमा जन्मेका हुन् । वाल्मीकि रामायणका अनुसार रावण पुलस्त्य मुनिको नाति थिए । विश्वश्रवाकी वरवर्णिनी र कैकसी नामक दुई पत्नी थिए ।

वरवर्णिनीले कुबेरलाई जन्माएपछि सौतिने डाह वश कैकसीले कुबेला अशुभ समयमा गर्भधारण गरेको कारण रावण तथा कुम्भकर्ण जस्ता क्रुर स्वभाव भएका भयंकर राक्षस उत्पन्न भए पनि भनिएको छ । तुलसीदासजीको रामचरितमानसमा रावणको जन्म श्रापको कारण भएको भनेर लेखिएको छ । नारद एवम् प्रतापभानुको कथालाई रावणको जन्म कारण मानिन्छ ।

यस्ता खाले भारतीय सिरियलका कथा, धर्मग्रन्थ र किताबहरुमा उल्लेख भएका रावण र उनका बारेमा पढे लेखेका सामाग्रीको अध्ययनले यो कुरा त साबित गर्छ कि रावण अत्यन्त बलिष्ठ र शक्तिशाली थिए । तत्कालीन समयमा शासन गर्ने नै शक्तिको बलमा हो र जो बढी शक्तिशाली थियो, उही राजा भएका इतिहास पाइन्छ । सम्भवतः रावण तिनै खाले शक्तिशाली र बलिया थिए, त्यै भएर त उनले सीतालाई हरण गरेर लैजाने हिम्मत गरेका थिए ।

अहिले पनि मनमा यस्ता प्रश्न उब्जिरहन्छ । के रावण राक्षस वा दानव कुलका थिए ? रावणले सीतालाई किन अपहरण गरेका थिए ? के रावण वैज्ञानिक थिए ? त्यै भएर उनी पुष्पक विमान चढेर यात्रा गर्ने गर्दथे ।

खासमा इतिहास जित्नेहरुको ‘घोडा’ हो । जसले जित्यो त्यो पराक्रमी, वीर र महान् सावित गर्ने पुरानै प्रचलन हो । खासमा सत्य र असत्यलाई जित र हारको कथासँग जोडेर हेर्ने गरिन्छ । हार्ने पात्र जति नै ज्ञानी वा कुशल किन नहोस् । हारेपछि सक्कियो । ऊ दुर्बल र असक्षम साबित हुन्छ । कतिपय मिथकहरुले रावणलाई अहिलेसम्मकै खलपात्रको रुपमा चित्रित गरेको छ । यो कुरा भने पक्का हो ।

रावणलाई उनको योगदानको बलस्वरुप दशमुखा अर्थात् दशवटा टाउको भएको भनेर पनि चिन्ने गरिन्छ । तर, वास्तवमै उनको दशवटा टाउको नभएको र दशवटा पण्डित बराबरको बौद्धिकता भएकाले उनलाई दशमुखा भनिएको भनेर सम्बोधन गरिएको मान्ने पण्डितहरू पनि छन् ।

चारवटै वेद र ६ वटै उपनिषद्को ज्ञाता भएकाले उनलाई दश टाउको बराबरको मानेर दशानन (दश र आनन भनेको मुख अर्थात् दशमुख) रुप दिइएको तर्क तिनीहरूको छ । अरु केही व्याख्याता भने उनको असली टाउको बौद्धिकताको प्रतीक भएको र बाँकी नौ टाउकाले उनी सम्पूर्ण नवरस (शृंगार, वीर, करुण, हास्य, रौद्र, भयानक, विभत्स, अद्भुत र शान्त) ले युक्त पूर्ण मान्छे भएको जनाउने पनि बताउने गरेका छन् । माया अवतार जानेका कारण दश टाउको देखाउन सक्षम भएको भन्नेहरूको पनि कुनै कमी भने छैन ।

माथिका प्रसंगबाट रावण बौद्धिक मान्छे थिए भन्नेमा त कुनै शंका भएन । बरु उनको बौद्धिकतालाई वर्णन गर्ने थप प्रमाणका रुपमा उनको अध्ययन तथा अनुसन्धानलाई लिन सकिन्छ । रावणलाई आयुर्वेद, ज्योतिर्विद्या र कूटनीति विज्ञको रूपमा रामायणमा स्वीकार गरिएको छ । हिन्दू ज्योतिषविद्याको महत्वपूर्ण पुस्तक ‘अरुण संहिता’ र ‘रावण संहिता’का रचनाकार रावण नै थिए ।

यी दुवै पुस्तकलाई आज पनि ज्योतिष विज्ञानमा महत्वका साथ लिने गरिन्छ । उनले शिव भक्तिको पुस्तक ‘शिव ताण्डव स्तोत्र’ पनि रचना गरेका थिए । साथै विणा बजाउने कलामा पनि उनी ज्यादै पारंगत थिए भनेर उल्लेख गरिएको पाइन्छ ।

रावण हिन्दू धर्मका आराध्य देव शिवका भक्तको रुपमा रामायणले चित्रण गरेको छ । शिवलाई खुसी पार्नका लागि ‘शिव ताण्डव स्तोत्र’ आफैंले रचना गरेबाट पनि उनको विद्वता र शिवभक्ति प्रस्ट हुन्छ । भारतको आन्द्र प्रदेशमा रावणले स्थापना गरेको शिवलिंगको पूजा आज पनि हुने गरेको छ ।

लंका राज्यको निर्माण विश्वकर्माले ऋषि विश्वश्रवाका पुत्र कुवेर (रावणको सौतेनी दाजु) का लागि गरिदिएका थिए । विश्वकर्माले यो राज्यलाई निकै सुन्दर बनाएर कुवेरलाई दिए पनि जनता त्यति सन्तुष्ट थिएनन् । समृद्धिबिनाको सुन्दरताको अर्थ खास रहने कुरा पनि भएन । तपस्याहरूबाट फर्केपछि कुवेर र रावणबीच मनमुटावको अवस्था सिर्जना भयो र विश्वश्रवाले कुवेरलाई राज्य सञ्चालनबाट पछि हटेर लंकाको राजकाज रावणलाई सुम्पन आदेश दिए ।

यसरी लंकाको राजा भएका रावणले राज्यलाई समृद्ध बनाउन अनेक पहल गरेका थिए । लंकामा सबैभन्दा गरिबहरूको घरमा पनि खानपिउन स्वर्णपात्र (सुनबाट बनेको भाँडा) को प्रयोग हुन्थ्यो भनेर रामायणमा नै उल्लेख छ । अनेक अन्य राज्यहरूमाथि विजय प्राप्त गर्दै रावणले लंकालाई ठूलो साम्राज्य बनाएका थिए । त्यसपछि लंका राज्यको राजकाज उनले भाइ अभिरावणलाई सुम्पेर आफू सम्पूर्ण साम्राज्यको बादशाह बनेर रहेका थिए ।

वनबास जीवन बिताइरहेका राम, उनकी पत्नी सीता र भाइ लक्ष्मणसँगको सम्बन्धका कारण नै रावण सबैभन्दा आलोचित भएका थिए । रावणकी बहिनी शूर्पणखा वनबासी जीवन बिताइरहेका रामका भाइ लक्ष्मणबाट निकै प्रभावित भएर एकतर्फी प्रेम गर्न लागिन् ।

लक्ष्मणले कुरुप शूर्पणखालाई कुनै वास्ता नगरेपछि उनी आफैँले लक्ष्मणको अगाडि गएर प्रेम प्रस्ताव राखिन् । सनकी प्रकृतिका लक्ष्मणले शूर्पणखाको यो साहसलाई घोर गाली बेइज्जती गरेर नाक–कान काटेर पठाइदिए । आफ्नी बहिनीको यो हविगतलाई रावणजस्तो शक्तिशाली बादशाहले हेरेर बस्ने कुरै थिएन ।

यसकै बदला लिनका लागि रावणले सीतालाई बन्धक बनाएर आफ्नो बहिनीसँग माफी माग्न वा युद्धमा आउन रामलाई चुनौती दिए । यद्यपि, लक्ष्मणसँग बदला लिन उनकी भाउजु सीतालाई अपहरण गर्नु निन्दनीय कार्य नै हो । सीतालाई अपहरण गरेर लगे पनि रावणले उनीमाथि कुनै दुव्र्यवहार गरेनन्, बरु बन्धक सीतालाई राम्रो हेरचाह र खानपानको व्यवस्था गरे भनिएको छ ।

रावणलाई देवताकै स्वरुपमा पूजा गर्ने समुदाय पनि छ । भारतको आन्द्र प्रदेश, मध्य प्रदेश, उत्तर प्रदेश, राजस्तान, जोधपुर, गुजरात, कानपुर, कर्नाटक लगायत श्रीलंका, थाइल्यान्ड आदि देशमा रावणका मन्दिर स्थापना भएका छन् । हरेक दशैंको दशमीको दिनमा त्यहाँ रावणको बलिदानको स्मृति गर्दै पूजा गर्ने गरिन्छ । रावणको कतिपय मन्दिरहरूमा रावणसँगै मन्दोदरी, कुम्भकर्ण र इन्द्रजितको पनि पूजा गर्ने गरिएको पाइन्छ । दक्षिण श्रीलंकामा त आफ्नो ठाउँलाई रावणकालीन राजधानी मानेर रावणको पूजा आजा र सम्झना गर्ने रावणपुर नामक ठाउँ नै छ ।

जहाँ रामलाई राक्षसको रुपमा र विभिषणलाई दुष्ट मान्छेको रुपमा परिभाषित गर्ने गरिन्छ । रावणको जीवनगाथा र लंकापुरीको बारेमा आनन्द नीलकांतनले ‘असुर, टेल अफ भ्यांक्युइस्ड, द स्टोली अफ रावण एन्ड हिज पिपुल’ अर्थात् असुर र पराजितहरूको कथा, रावण र उनका जनताहरूको कथा’ नामक एक महाकाव्य नै तयार गरेका छन् ।

त्यसैगरी आचार्य चतुरसेनले ‘वयम् रक्षामः’ र पण्डित मदन मोहन शर्मा शाहीले पनि तीन भागमा ‘लंकेश्वर’ नामक उपन्यास लेखेको पाइन्छ । भारतमा एकजना दलित अधिकारकर्मी रामास्वामी नायकरले रामायणको विरोधमा तथा रावणको समर्थनमा ‘रावणायण’ नै तयार पारेको पढ्न पाइन्छ ।

यतिधेरै रावणको गाथा गाएपछि हिन्दु राजा रावणको मुलुक कालान्तरमा कसरी बुद्धधर्मी भयो ? यो प्रश्नको उत्तर फेरि मन भित्र उर्लिरहेको बेला उनैले म माथि ‘आज संसारले श्रद्धा गर्ने बुद्ध जन्मेको देशको नागरिक भएर पनि तपाई किन बुद्धिष्ट हुन सक्नु भएन ?’ भन्ने प्रश्नको बदलामा मैले उनीमाथि ‘ज्ञानी, बुद्धिजीवी रावणको देशको नागरिक भएर तपाई किन हिन्दु हुन सक्नु भएन ? तपाईको देश कसरी बुद्धिष्ट मुलुक भयो ?’ भन्ने प्रश्न गरेको थिएँ ।

नो..नो..नो..डन्ट थिंक दिस अबाउट…

म हरेक क्षणमा कल्पना गर्छु । श्रीलंकाकै जस्तो कथा ब्यथा बेहोरेको हाम्रो मुलुकमा अहिले एकप्रकारको शान्ति त छ । तर, हिंसाको चपेटामा परेका परिवारहरु के चैनसँग बसिरहेका होलान् ? के उनीहरुको मन शान्त छ ? युद्धको चपेटामा परेको परिवारले आज के सोचिरहेको होला ?

युद्धरत पक्ष वा त्यसको विपक्षमा रहेको प्रहरी प्रशासनको तर्फबाट देशको लागि लडिरहेको मानिस, जो आज हातखुट्टा गुमाएर बसिरहेको छ । उसको मनस्थिति कस्तो छ ? उसको मनोविज्ञान कस्तो छ ? उनीहरु के खाएर, के लाएर बाँचिरहेका छन् ? वा, उनीहरुका बालबच्चा के गर्दे होलान् ? यसबारेमा कसले सोचेको छ ?

हिंसाले मानिसको जीवनलाई तहसनहस बनाउँछ । युद्धले मानव सभ्यतामा धावा बोल्छ । जुन कालखण्डमा श्रीलंकाले हिंसालाई प्रश्रय दियो, त्यो दिन आज त छैन । यद्यपि, श्रीलंकाली युद्धका अवशेषहरु आज पनि ज्यूदै छन् । जस्तो नेपालमा माओवादी जनयुद्ध चर्कियो, त्यसले पनि एकप्रकारले हिंसाकै रुप लिएको थियो । प्रकारान्तरमा युद्धको प्रभाव देखिन्छ । अन्ततः हिंसाको असरले मानवता खल्बलिन्छ ।

खासमा श्रीलंकनहरु हिंसाको चपेटामा परेको एकदिन पनि सम्झन चाहँदैनन् । जसरी हामी पनि ती दिनहरु बिर्सन चाहन्छौं । जहाँ जनताका आवाज बुलन्द गर्ने कैयन क्रान्तिकारीहरुले ज्यान गुमाए । जहाँ मुलुकको तत्कालीन शासन, प्रशासनको आदेशको परिपालन गर्ने क्रममा ज्यान गुमाउन बाध्य भएका सेना र प्रहरी घुन पिसिए सरह पिसिए ।

कोलम्बोस्थित एक टेलिभिजनमा कार्यरत पत्रकार सुदर्शा डी. सिल्भाको भनाइ सम्झन्छु, अब श्रीलंकामा हिंसाको पुनरागमन हुने छैन । किनभने ती दिन कति कठिन थिए भन्ने जनताले बल्ल बुझे ।

खासमा युद्धको शंखघोष गर्नु जति सहज र सरल छ, त्यसलाई गति प्रदान गर्नु जटिल र अफ्ठ्यारो हुन्छ । जसरी युद्धको उठान गर्न सजिलो हुन्छ, त्यसको बैठान गर्न गाह्रो पर्छ । हाम्रै देशको उदाहरण लिऊँ । माओवादी जनयुद्धले एउटा समयमा जति उचाइ प्राप्त गरेको थियो, त्यो त्यही गतिमा अगाडि बढ्न सकेन । अन्ततः त्यो एउटा शान्ति सम्झौतामा पुगेर सकियो ।

आजपनि भारतका कतिपय भूभागमा चलिरहेको नक्सलवादी आन्दोलनलाई नजिकबाट नियाल्ने हो भने यही निष्कर्षमा पुग्न बाध्य भइन्छ । उनीहरुले चलाइरहेको नक्सलवादी संघर्षले पनि उचाई प्राप्त गर्न सकेन र धेरै मानिसहरुले अनाहकमा ज्यान गुमाइरहेका छन् । सत्ताले त्यस्ता आन्दोलनको दमन गरिरहको छ ।

सत्ताको चरित्र यस्तो हुन्छ, जसले जहिले पनि यस्ता आन्दोलन दबाउँछ, जसरी श्रीलंकाका जनताले आफ्नो जातीय, भाषिक, शैक्षिक अधिकारका लागि लडेको लडाइ पछि आतंकमा परिणत भयो । अन्ततः जसलाई सारा विश्वले आतंक र हिंसाको रुपमा चित्रित गरिदियो ।

एलटीटीईका नेता भिल्लुपाई प्रभाकरणले जुन सोच र मान्यताका आधारमा श्रीलंकामा युद्धको शंखघोष गरेका थिए । त्यो तत्कालीन सत्ताका बिरुद्ध जनबिरोधी कार्यको उजागर गर्ने गरी मात्र सुरु भएको थियो । त्यो पनि यति भयानक र डरलाग्दो भयो कि सिंगो विश्वनै त्यसबिरुद्ध खनियो । उनले आफ्नो अन्त्यसँगै यो युद्धको पनि अन्त्य गरे । अर्थात्, उनी बाँचुन्जेल यो युद्ध जारी रह्यो । आफ्नो मृत्युसँगै श्रीलंकाबाट उनले उठाएको सवालको पनि मृत्यु भयो ।

त्यही ग्रीन कन्फेरेन्समा भाग लिन आएकी श्रीलंकन युवती निर्मलिनी अबेसोरियासँग मैले बिगतका ती दिनहरु कोट्याउन खोज्दा उनको लामो जिब्रो बाहिर निस्कन्थ्यो । त्यतिबेला उनी भन्थिन्, नो..नो..नो..डन्ट थिंक दिस अबाउट…

यतिसम्म कि, अलगै देशको मागसम्म बोकेर उदाएकोे लिट्टेको संघर्षका कारण तत्कालीन भारतीय प्रधानमन्त्री राजीव गान्धीको ज्यान गयो । हरेक क्रियाको विपरीत प्रतिक्रिया हुन्छ । त्यही प्रकरण बढ्दै जाँदा श्रीलंकाबाट लिट्टेवादको समुल अन्त्य भयो ।

अहिले म सम्झन्छु, मानवता बिरोधी युद्धप्रति किन आजको सत्ता र सत्तासीनहरु लालायित भएका होलान् । जबकि आजसम्म भएका जुनसुकै युद्धले मानव कल्याण गरको छैन । बरु संसारलाई मानवीयताबाट पर धकेल्दै लगेको छ । पीडा दिउको छ । दुःख दिएको छ ।

यात्रा संस्मरण : एक दिन (समय कथा) बाट

प्रतिक्रिया दिनुहोस्