Logo
Logo

जीवन हरेक दिन नयाँ


252
Shares

जीवनयात्रामा हरेक क्षण नयाँ नै हुन्छ । जापानको सुमधुर यात्रापछि दुई रात तीन दिन समुद्री यात्राको फेरि अनुभव गर्दै म शाङ्हाई पुगेँ । पुरानो ठाउँमा पुगेजस्तो भन्दा पनि फेरि एउटा नयाँ संसारमा आइपुगेको महसुस भयो । म उत्साहित भएँ । यात्रापछि घर फर्कंदाको आनन्द । यद्यपि, चीन मेरो जन्मभूमि थिएन । त्यहाँ मेरो भन्ने घर पनि थिएन ।

बस्ने ठाउँ त बुढाको युनुभर्सिटीको उही पुरानो होस्टेलमै थियो । उही एउटा कोठामै गुम्सिनु थियो । तर पनि सबै नौलो लाग्यो । होस्टेल होस् या शाङ्हाई सहर । आफ्नै बुढा सरोज पनि नौलो लाग्यो । नेपालबाट फर्केका धेरै दिन भएको थिएन । ज्यादै उत्साहित मन लिएर देशमा नयाँ काम गर्ने सोच लिएर फर्केका थिए । यतिबेलाको हाम्रो भेट भनेको पुनर्मिलन थियो । एकार्कालाई सुनाउनु पर्ने धेरै कुरा थिए । उनी नयाँ नेपालको बारेमा सुनाउन चाहन्थे । हाम्रो मातृभूमिको बारे– जहाँ भर्खरै नयाँ परिवर्तन भएको थियो । म जापानको बारेमा सुनाउन चाहन्थेँ– जुन देशबारे सरोजले अझै नदेखिसकेका धेरै कुरा थिए त्यतिबेला ।

जहाज दिउँसो चार बजे शाङ्हाई पुग्नुपर्ने, एकदम ठीक समयमा पुग्यो । एक मिनेट पनि ढिलोचाँडो भएन । जापानको समय र अनुशासन ! बुढा र बुढाका एकजना साथी ट्याक्सी लिएर पर्खेका रहेछन् पोर्टमा । कति खुसीको क्षण थियो त्यो ।

चीनमा बस्ने दिनहरु पनि घट्दै थियो । सरोजको विद्यावारिधिको थेसिस डिफेन्स भएपछि फर्किने योजना बन्दै थियो । अर्को दुई महिनापछि नेपाल फर्किन पाइन्छ भनेर मन खुसी थियो । मलाई नेपाल पुग्न झनै आत्तुरी लाग्यो । छोरीलाई कति बेला भेटुँ भनेर छटपटी जस्तो झन् बढी लाग्न थाल्यो । शाङ्हाई फर्केको केही दिनपछि नै म फेरि ‘होम–सिक’ हुन थालेँ ।

‘होम–सिक’ भने पनि त्यो बेलासम्म आफ्नो ‘होम’ भने थिएन । फर्केर कहाँ बस्ने ? यो ठूलो प्रश्न बाँकी नै थियो । सरोज चीन पुगेपछि एक वर्षसम्म म मेरी छोरीलाई लिएर माइती बसेकी थिएँ आमासँग । काठमाडौंमा सरोजको बुबा–आमाको घर त थियो, तर म अट्दिन थिएँ । छोरीलाई केही महिनाको निम्ति भनेर, नेपाली स्कूलमा पढाउनको निम्ति भनेर सरोजले छोडेर एक्लै चीन फर्केका थिए । केही समयको निम्ति हामी तीन जना तीन देशमा बस्नुपर्ने पनि भयो । अब छोरी नेपालमा एक्लै हामी अझै चीनमा भयौं ।

मेरो पढाई पनि सकिसकिएको भएर मैले प्रशस्त समय पाउन थालेँ । जति खाली समय भयो, त्यति नै छोरीको चिन्ताले पिरिन थालेँ । बरु म एक्लै भएपनि उँडेर नेपाल फर्कुं कि भन्ने सोच पनि नआएको थिएन । सरोजले विद्यावारिधि सकेर टोपि लगाएको दिन हेर्ने इच्छा पनि त्यतिकै तिव्र थियो । त्यो छोडेर हतारमा नेपाल फर्किनु पनि व्यवहारिक थिएन नै ।

म कस्तो दोधारमा परेकी थिएँ त्यतिबेला ! यो आमाको मन बुझ्ने को होला ? हुन त सराजले मलाई सम्झाएका थिए– नेपालमा पुगेर छोरी खुसी भएकी छे भनेर । होला, बुबा पनि साथमा हुञ्जेल त खुसी पनि भई होली । तर फेरि चीन फर्केपछि त ऊ त एक्लै हुने नै भई, घरमा धेरै परिवार भए पनि आफ्नै आमा–बुबा नभएपछि र बिल्कुलै नयाँ वातावरणमा अनेक व्यावहारिक समस्यासँग कसरी जुझिरहेकी होली भन्ने कुराले मलाई गाह्रो हुन थाल्यो ।

जापानी पाठकका निम्ति भनेर हरेक महिना एउटा लेख लेख्नुपर्ने काम पनि अब सकिसकेको थियो । मेरो छात्रवृत्ति पनि सकिसकेको थियो । त्यही खाली समयमा मैले केही नयाँ कामहरु गर्नु जरुरी ठानेँ । त्यतिबेला बच्चालाई नै सम्झिरहेको बेला ‘बच्चाको निम्ति’ ‘वैल हाइच्च्’ भन्ने चिनियाँ पत्रिकाको निम्ति लेख लेख्न चिनियाँ साथीहरुले भने । म लेख्न थालेँ । लेख्ने मान्छेको निम्ति समय बिताउन गाह्रो पनि नहुँदोरहेछ ।

मेरा प्रोफेसरहरु र अन्य बच्चाका अभिभावकहरुले समेत मन पराइदिए लेखलाई । मलाई सबैभन्दा मनपर्ने भाषा पढाउने याङ् लाउश्र्लाई भेट्न गएँ त्यो पत्रिका लिएर । उनी पनि धैरै खुसी भइन् । आफूले पढाएका विद्यार्थीले चिनियाँ भाषामा लेखेको लेख महत्वपूर्ण पत्रिकामा छापिएकोले आफ्नो कामप्रति खुसी लागेको कुरा पनि सुनाइन् । भविष्यमा राम्रो लेखक हुनु भनेर आफ्नो भाषामा आशिष पनि दिइन् । मेरो जीवनमा अर्को एउटा खुसी थपियो ।

जापानको निम्ति भनेर लेखेका लेखहरु दुईटा भाषामा छापिएर आउँथ्यो । म नेपाली भाषामा कापीमा लेख्थेँ, त्यसैलाई सरोजले अंग्रेजीमा उल्था गरिदिन्थे । अंग्रेजीमा उल्था भएपछि जापानको मित्र सुसुमु सानलाई पठाउँथे र त्यो फेरि जापानी भाषामा आफैँले उल्था गरी नियमित पाठकहरुको हातमा अंग्रेजी र जापानी भाषाको दुवै अनुवाद जान्थे । जापानी नजान्ने अन्य देशका साथीहरुलाई अंग्रेजीमा लेखहरु पढ्न दिन मिल्थ्यो ।

साथीहरुले आ–आफ्नो देशमा लगेर फेरि छापिदिन्थे । कतैबाट पारिश्रमिक पाइयो कतैबाट पाइएन । त्यो आफ्नै ठाउँमा छ । एकजना नेदरल्याण्डकी लोनी नामकी आफूभन्दा निकै पाकी साथीसँग भेट भयो । उनले ती लेख पढेपछि “यी त युनिसेफमा दिनु पर्ने लेखहरु रहेछन्” भनिन् । उनी आफँैले नेदरल्याण्डको युनिसेफमा छपाइदिने आश्वासन दिइन् । फेरि अर्को खुसी थपियो ।

केही समयपछि त साँच्चै नै डच भाषामा मेरो लेख छापिएको युनिसेफको पत्रिका मेरो हातमा थमाइदिइन् । साथमा पारिश्रमिक पनि डलरमा पाएँ । त्यो बेला लेखको निम्ति दुई सय डलर पाउँदा मलाई आर्थिक रूपमा पनि ठूलै मद्दत मिलेको थियो । मेरो पैसा आउने अन्य स्रोत बन्द थियो त्यो बेला । पैसाकै अभावले पनि जापानका पाठकका निम्ति लेख्ने गरेकी थिएँ सुरुमा । जापानी साथीहरुको त्यो विशेष सहयोग थियो– कहिल्यै बिर्सन नमिल्ने । अन्य विदेशी साथीहरुको सहयोगमा अन्तर्राष्ट्रिय जगतमा पनि मेरा लेखहरु पुग्नुले म भावविह्वल भएकी थिएँ । ती असल मनका साथीहरुप्रति धन्यवाद व्यक्त गर्ने मेरो कुनै शब्द नै छैन ।

त्यसपछि फेरि अर्को लेखको माग आयो– युनिसेफकै निम्ति । फेरि अर्को खुसी ! आफ्नै बच्चाको सम्झनाले पिरोलिरहेको बेला संसारभरका बच्चाहरुको निम्ति लेख्ने अवसरले गर्दा लेखनले मेरो जीवनमै ठुलो असर पा¥यो । छोरीले त्यो बेलाबेलामा सोध्ने गरेको एउटा प्रश्न– “विल दे डिस्ट्रवाय् आवर वल्र्ड मामु ?”– भन्ने शीर्षकमै छापिएको त्यो लेख त न्यूयोर्कमा भएको बच्चाहरु सम्बन्धीको सम्मेलनमा पाठ पनि गरेका रहेछन् । त्यस लेखको निम्ति राम्रो पैसा पनि हात परेको थियो । समस्याहरु पनि कहिलेकाहीँ यसरी वरदानको रुपमा आउँदा रहेछन् ।

प्रतिक्रिया दिनुहोस्