Logo
Logo

सुन्दर बेप्पु


189
Shares

हिरोशिमामा दुईरात बिताएपछि हामी बेप्पु पुग्यौं । रेल स्टेशनमा मेरी प्रिय साथी निशिकावा आफ्नो गाडी लिएर पर्खिरहेकी थिइन् । केही वर्ष भइसकेको थियो भेट नभएको । अँगालोमा बाधियौँ । उनले ‘बेप्पुमा आउनु है !’ भनेर निकै अघि नै निम्तो गरेकी थिइन् । समयले बल्ल त्यहाँ पु¥यायो ।

प्रकृति मन पराउने सरल र प्रेमिल स्वभावकी निशिकावासंगको मेरो सम्बन्ध साथीको जस्तो मात्र थिएन । कुनै बेला आमाले जस्तै गरि मेरो वास्ता गर्ने गर्थिन् । मैले अलिअलि ठट्टा गरेजस्तो गरि उनलाई ‘आमा’ पनि भनेकी थिएँ । अहिले यो सुन्दर शहर बेप्पुमा हामी आमाछोरी पुग्नु पनि उनकै कारण थियो । उनको गाडीमा चढेपछि कति समयमा उनको घर पुग्यौं यादै भएन । बेप्पुको सुन्दरता अनि सुन्दर हृदय भएकी साथीको साथ कुनै सुन्दर सपना जस्तै थियो ।

दिउँसो जस्तो लाग्छ समय । घर पुग्नु अगाडि एउटा रेस्टोराँमा लगिन्– भोक लागेको छ कि भनेर । केही खायौं । उनी हतारमा आएकी भएर पैसा ल्याउन नै बिर्सेकी रहिछन् । रमाइलो भयो । हाँस्यौ मज्जाले । छोरीसँग जापानी येन भएकोले केही समस्या भएन । अनि हाँस्दै उनले आफू बस्ने घरमा पु¥याइन् । त्यो घर शान्तिको मन्दिर जस्तो थियो । शान्त ठाउँमा एउटा चिटिक्क परेको सानो घर ! उनको स्वभाव र विचारसँग ठ्याक्क मिल्ने घर थियो । सुन्दर, सफा ।

जापानी संस्कृतिको एउटा महत्वपूर्ण पाटो नै हो ‘ओन्सेन’मा न्यानो पानीमा जीउ डुबाएर रमाउने । बेप्पु सुन्दर ओन्सेनहरूका निम्ति विख्यात छ । ठाउँ ठाउँमा जमिनबाट पानीको न्यानो बाफ निस्किराख्दो रहेछ । समुद्र र पहाड एकै ठाउँमा देख्न पाइने ठाउँ त्यसैपनि सुन्दर नै हुन्छ । बेप्पु अझै विशेष लाग्यो । कति सुन्दर ठाउँ !

निशीकावाको घरमा सामान थन्क्याएर तुरन्तै हामी तिनैजना एउटा ओन्सेनतिर लाग्यौं । उनको दैनिक रुटिन नै रहेछ हरेक साँझ ओन्सेन पुग्ने, न्यानो पानीमा डुब्ने, एक क्यान बियर पिउने, अनि घर फर्केर आराम गर्ने । उनी आफ्नो जीवनको उत्तराद्र्ध एक्लै स्वतन्त्रपूर्वक आनन्दले बिताइरहेकी रहिछन् । हामी पुगेर उनको त्यो शान्तिमा केही डिस्टर्ब पो भयो कि भन्ने पनि लाग्यो मलाई । उनलाई हेर्दा भने खुसी नै देखिन्थिन् । बेप्पुमा भेट्ने हामी दुवैको पुरानै चाहना थियो ।

भोलिपल्ट बिहानैदेखि बेप्पुका बिभिन्न सुन्दर ठाउँ घुमाउन लगिन् । बाटोमा त्यहाँ पाइने विशेष खानेकुराहरु पनि खुवाइन् । भुईंबाट निस्केको को तातो बाफले अण्डा पकाउने चलन पनि रहेछ त्यहाँ । त्यसरी पाकेको अण्डा पनि किनेर खायौं । घुम्ने त हो, जहाँ जे छ त्यो अवलोकन ग¥यो, नयाँ नयाँ कुराको अनुभव बटुल्यो, बाटोभरी हाँस्यो … कति मज्जा !

त्यहाँ एउटा प्रख्यात पोखरी रहेछ– बाफले पुरै ढाकेको । पानी पनि रातो थियो । ज्यादै सुन्दर देखिन्थ्यो । तर नाम भने नराम्रो दिएका रहेछन् –‘जिकोगु’ ‘रक्त कुण्ड नर्क’ भनेजस्तो अर्थ लाग्ने । किन यस्तो उल्टो नाम दिएको होला भन्ने लाग्यो । शायद पानीको रातो रङ्गका कारण होला रक्तकुण्ड भनेको । त्यस्तै अर्को सुन्दर ’निलो जिकोगु’मा गयौं। हामी आमाछोरीलाई त भूस्वर्ग जस्तो लागेको थियो ती ठाउँ ।

त्यसपछि उनकी आफ्नै बहिनीको अपार्टमेन्टमा लगेर भेट गराइन् । नजिकै रहेछ । समुद्रको नजिक त्यत्तिकै सुन्दर ठाउँमा, झ्यालबाट नै पहाड र समुद्र एकै ठाउँमा देख्दा पनि उतिक्कै राम्रो लाग्यो ।
जाँदाजाँदै मेरो साहित्यप्रतिको प्रेम थाहा पाएकी साथीले भनिन्– ‘पख है, तिमीलाई नदेखाई नहुने एउटा ठाउँ छ ।’

गाडी रोकेर एउटा सानो ढिस्कोको सानो चउरमा लगिन् । त्यहाँ कुर्सी टेबुल जस्ता लाग्ने ढुङ्गाहरू रहेछन् । तर लामो समयदेखि मान्छेले प्रयोग भने नगरेको जस्तो देखिन्थ्यो । त्यहीं भित्तामा एउटा बाकस रहेछ । पोष्ट बक्स जस्तो लाग्ने । त्यसको सँगै कागज र सिसाकलम पनि राखि दिएको रहेछ । त्यो बाकसलाई ‘हाइकु बाकस’भन्दा रहेछन् ।

हाइकुका सौखिन त्यहाँ पुग्दा आफैले हाइकु लेखेर त्यहीं बक्समा खसालि दिने गर्दा रहेछन् । र तीमध्ये बाट छनौटमा परेका हाइकु भने स्थानीय हाइकु संग्रहमा छापिने पनि रहेछन् । हाइकु विधाले त्यो सम्मान पाएको देख्दा मलाई असाध्य खुसी लाग्यो । मेरा कविताहरु साना भए पनि हाइकुको नियममा बाँधिन सक्तिन । मेरो कविताले स्वतन्त्रता नै खोज्छन् । र पनि मलाई मीठो हाइकु असाध्य मन पर्छ ।

हाइकुको जन्म स्थल पनि जापान नै हो भन्ने सुनेकी थिएँ । ईसाको १७औं शताब्दिमा विकसित भएको मानिन्छ क्यारे । पहिले ‘होक्कु’ भनिने लामो कविताको अंश थियो रे । हाइकुको विकासमा सबैभन्दा ठूलो योगदान दिने ‘बासो’ को नाम पनि कता कता सुनेकी थिएँ । निशिकावाले त्यो ठाउँमा लगेको बेला प्रत्यक्ष देखेँ – हाइकुले जापानी जनजीवनमा कसरी ठाउँ बनाएको रहेछ । त्यति व्यस्त ठाउँमा पनि साहित्यमा त्यसरी रुचि राख्ने जापानीहरुलाई सम्झँदै पनि मन प्रशन्न हुन्छ । म निशिकावाप्रति थप कृतज्ञ भएँ ।

त्यसपछि अर्को एउटा ‘सप्र्राइज गिफ्ट’ले त म झण्डै रोएँ । केही नभनी उनले मलाई कतै लगिन् । त्यहाँ बसुञ्जेल उनी नै अभिभावक थिइन् । हामी खुरुखुरू पछि लाग्यौँ । गन्तव्यमा पुग्ने बेला बल्ल भनिन् – ‘तिमीलाई भेट्न नुरिको पनि आउँदैछिन्, अब केही सेकेण्डमै भेट हुन्छ !’

यसो फर्किँदा त नुरिको हाँस्दै मलाई अँगाल्न आइ पुगिन् । नुरिको– मेरी अर्की अति प्रिय साथी । उनी एकपल्ट नेपाल पनि आएकी थिईन् । हामीलाई भेट्न र नेपाल हेर्न । उनले नै हो पहिलोपाली म टोकियो जाँदा जापानमा भोकै नपरोस् भनेर लुकाएर खाममा पैसा राखिदिएकी । उनले आफ्नो राम्रो कपडा पनि जापानमा ठाउँ अनुसार लगाउन् भनेर राखिदिएकी थिईन् । उनको जीवन बाँच्ने दृष्टि अलग छ । खुल्ला हृदयकी, संसारकै असल मान्छेहरु मध्येकी एक हुन् उनी ।

घर पुगेपछि पुराना साथीहरूबीच न्यानो कुराकानी भयो । उनको जीवन बाच्ने शैली पहिले भन्दा धेरै फरक नभए पनि उमेरले अलिकति पाकी भइसकेकी थिईन् । बेप्पु भन्दा केही टाढा एउटा सानो सहरमा योग र ‘हिलिङ’को सेवा दिने एउटा सानो क्लिनिक राखेकी रहिछन् । आफ्ना बुढा बाबु–आमालाई पनि सेवा र साथ दिएर बसेकी रहिछन् । दुई तीन घण्टाको निम्ति अर्कै सहरबाट मलाई नै भेट्नको निम्ति मात्र आएकी थिइन् । जाने बेलामा ४० हजार येन खाममा राखेर दिइन् । नेपालमा कुनै एउटा राम्रो कामको निम्ति खर्च गरिदिनु भनेर । फर्केपछि उनको भावनालाई सम्मान गर्दै त्यस्तै राम्रो ठाउँमा त्यो पैसा राखिदिएँ ।

सुन्दर छ बेप्पु । साथीहरुको स्नेहका कारण झन् सुन्दर भएर कहिल्यै नबिर्सिने गरि मनमा बसिरहेको छ अझै ….

प्रतिक्रिया दिनुहोस्